सांसदको गुनासो– दलित भएकै कारण काठमाडौंमा डेरा पाइनँ

दलित अनलाईन ८ चैत्र २०७९, बुधबार १८:२५

काठमाडौँ—दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार वेलावेलामा सार्वजनिक हुने गरेको छ ।

दलित समुदायका मानिसलाई डेरामा राख्नुहुँदैन भन्ने सोच भएका मानिसका कारण यस्ता विभेद समाजमा रहँदै आएको छ । ग्रामीण क्षेत्रमा त विभेद भयो, तर शिक्षित भनिएको सहरी क्षेत्रमा नै विभेद गरियो भन्ने सुन्दा नमिठो लाग्छ । तर, भएको यस्तै छ ।

दलित समुदायका सामान्य नागरिकले डेरा नपाएको विषय वेलावेलामा सार्वजनिक भएको भए पनि सांसद नै त्यस्तो विभेदमा परेको विषय आज राष्ट्रिय सभाको बैठकमा सांसद तुलप्रसाद विश्वकर्माले सार्वजनिक गरेका हुन् ।

उनले राष्ट्रिय सभाको सदस्यका रूपमा निर्वाचित भएर काठमाडौं आएपछि चार महिनासम्म डेरा पाउन नसकेको सुनाए । विभिन्न ६ स्थानमा डेरा खोज्न गए पनि अन्त्यमा जात सोधेर डेरा नदिइएको तीतो अनुभव सुनाए । उनले आफू राष्ट्रिय सभाको सदस्य हुँदा पनि यस्तो पीडा भोगेको भन्दै सामान्य दलित समुदायका मानिसको हालत के होला भनी प्रश्न गरे ।

सांसद विश्वकर्माले छुवाछुत र भेदभाव समाजमा के–कति मात्रामा गहिरो छ भन्ने कुराको फेहरिस्त सुनाउँदै आफूमाथि परेको विभेदको घटना सुनाए । राष्ट्रिय सभाको बैठकमा सांसद तुलप्रसाद विश्वकर्माले भने, ‘सांसद भएर काठमाडौं आएपछि प्रत्यक्ष रूपमा मैले भोगेँ । चार महिनासम्म मैले डेरा पाइनँ । ६ ठाउँमा मेरो पक्का भएपछि रद्द भयो ।’

‘कुरा गर्न जाँदा सबै मिल्छ । अन्तिममा हिँड्ने वेलामा हजुर के थरी भन्नुहुन्छ ? म विश्वकर्मा हो भनेपछि श्रीमतीसँग कुरा गरेको छ भने श्रीमानलाई सोध्नुपर्छ भन्नुहुन्छ । श्रीमानसँग कुरा गरेको छ भने श्रीमतीसँग सोध्नुपर्छ भन्नुहुन्छ । त्यसरी ६ ठाउँमा डेरा रद्द भयो,’ सांसद विश्वकर्माले भने, ‘लास्टमा म दलित समुदायकै मानिसको घरमा बसिरहेको छु अहिले । त्यसखालको दुःखद अवस्था छ अहिले पनि ।’

२१औँ शताब्दीमा पनि दलित समुदायमाथि सहर तथा सहरी क्षेत्रमा मात्रै नभई ग्रामीण क्षेत्रमा विभेद भइरहेको उनको गुनासो छ । सांसद विश्वकर्माले मधेस प्रदेशका जनप्रतिनिधिले नै दलित समुदायमाथि विभेद गरेको तथ्य पेस गर्दै त्यस्तो घटनाप्रति दुःख व्यक्त गरे । विभेद र छुवाछुत अन्त्यका लागि योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ । सहरी क्षेत्रमा नै जातीय विभेदको घटना भए पनि कारबाही नभएको उनले गुनासो गरे ।

संविधान र कानुनमा व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको, दलित समुदायको सीप र श्रम चल्ने, पानी नचल्नेजस्ता व्यवहारको अन्त्यका लागि सामाजिक जागरण जरुरी रहेकामा उनले जोड दिएका छन् । सरकारको तर्फबाट सम्पादन हुनुपर्ने कामसमेत नभएकामा सांसद विश्वकर्माले गुनासो गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank