नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक जिताउने जितबहादुरलाई राजा विरेन्द्रले दिएको आश्वासन यस्तो थियो

कहिले जितबहादुर अगाडि हुन्थे भने कहिले कोरियन खेलाडी । रगतले लतपतिएको खाली खुट्टाका भरमा कुदिरहेका जितबहादुर यसै कारण तेस्रो भए ।

नेपाली खेलकूद क्षेत्र अहिले पनि समयअनुसार परिवर्तन हुन सकेको छैन । जुनसुकै खेलको पनि न त अभ्यास नै पर्याप्त हुन्छ, न त खेलाडिलाई प्रोत्साहन नै गरिन्छ । अधिकांश खेलका खेलाडि देशका लागि भन्दै आफ्नै मिहिनेतबाट परिश्रम गरिरहेका छन् ।

तर राज्यका तर्फबाट खेल र खेलाडिलाई गर्नुपर्ने सहयोग भएको छैन । न त खेल क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी नै गरिएको छ ।

नेपाली खेल जगतको एउटा यस्तो इतिहास छ, जुन अहिले सुन्दा पत्यार नलाग्न सक्छ । देशको नाम राख्नका लागि विदेशमा गएर पदक जिताउने पहिलो नेपाली खेलाडि जीतबहादुर केसीको खेल संघर्षले अहिले पनि आङ सिरिङ्ग बनाउँछ ।

नेपाली एथ्लेटिक्स खेल जगतमा चिर परिचित नाम हो जीत बहादुर केसी । सायद पूर्व एथ्लेटिक्सका नायक केसीको सुप्रशिद्ध नाम थाहा नहुने मानिस कमै मात्र होलान् । उनको संघर्ष वाल्यकालदेखी नै कष्टकर तर महत्वपूर्ण हुने गर्दथ्यो । तिनै महत्वले आज उनको नाम अनमोल बन्न पुगेको छ ।

धावक केसी जस्तो खेलाडी पछिल्लो समय नेपालमा उत्पादन हुन सकिरहेका छैन । राज्यको वेवास्ताका कारण खेलाडिमा आएको नैराश्यताले गर्दा अन्तराष्ट्रिय पदक भित्र्याउने खेलाडि भेट्न मुस्किल छ ।

उनको जन्म वि.स. २००८ भाद्र ४ गते दोलखा जिल्लाको पोगटी गा.वि.स. वार्ड नं. ५ मा पिता बिर्ख बहादुर केसी र माता बन्दना केसीको कोखवाट भएको थियो । केसी साधारण परिवारमा जन्मिनुु कुनै नौलो कुरा भएन, उनलाई आफ्नो वावु आमाको अनुहारसम्म थाहा छैन । कारण उनको मातापिता दुवै जना केसी ५ वर्षको हुंदा नै संसारबाट विदा भए ।

पुरानो जन्म घर दोलखा भए पनि हाल भने उनी काठमाडौ महानगरपालिका १४ कलङ्कीमा विगत ३० वर्ष यता स्थायी रुपमा वसोवास गर्दै आएका छन् । उनको चार छोरा र एक छोरी गरी पाँच सन्तान छन् । उनको माईला छोरा पनि पूर्व राष्ट्रिय फुटवल खेलाडी हुन् ।

उनी विगत केही वर्ष अगाडी हिमालय शेर्पा फुटवल क्लवमा प्रशिक्षकका रुपमा कार्यरत थिए । धावक केसी खेलकुद क्षेत्रमा आवद्ध हुनु अघिसम्म गाउँले जीवनसंग लुकामारी खेली रहे । तर गाउँले जीवन संघर्ष गरीरहदा उनी वि.स. २०२१ सालमा भक्तपुरमा नुन लिन आएका थिए । उनको लागि त्यो दिन संयोगबस मिलेको थियो । जति बेला उनी नुन लिन आएका थिए । तर त्यहि समयमा उनी नेपाली सेनामा भर्ती भए । र उनको जागीरे जीवनको सुरुवात भयो ।

खेल जीवनमा प्रवेश

उनी जागीरे जीवनको सुरुवातसँगै दैनिक ५ माईल दौडन्थे । उनको नियमित व्यायाम पछि केसीमा थप आयामहरु थपिन थाले । त्यसै क्रममा प्रत्येक वर्ष नेपाली सेनाले आन्तरिक रुपममा आयोजना गर्ने खेलकुद गतिविधि अन्तर्गत एथ्लेटिक्स विद्यामा सधै प्रथम हुन्थे ।

 त्यति मात्र नभई एथ्लेटिक्स खेलकुद कै दौरान उनले सयौं पदकहरु हात पार्न सफल भए । उनले नेपाली सेनामा १३ वर्ष जागीरे जीवन व्यतित गरे । १३ वर्षको सेवापछि उनी नेपाली सेनामा रहदा हासील गरेको जम्दार पदलाई राजीनामा गरी वि.स. २०३५ सालमा राष्ट्रिय खेलकुद परिषदमा एथ्लेटिक्सका सहायक प्रशिक्षकका रुपमा ९ वर्ष ६ महिनासम्म आवद्ध भए । ९ वर्ष ६ महिना सम्मको सेवा पछि उनले अवकास पाए ।

त्यसपछि पुनः उनी त्यही हर्को करारमा जागीर सुरु गरे । वि.स. २०५२ सालमा उनले एथ्लेटिक्सका प्रशिक्षकका रुपमा काम गरे  । केसी १२ वर्षे लामो प्रशिक्षण सेवाबाट वि.स. २०६४ सालमा सेवानिवृत भए । उनी लगतै पुनः २०६४ सालमा नै करारमा प्रशिक्षकको रुपमा नियुक्त भए ।

वि.स. २०६६ साल यता विशेष प्रशिक्षकका रुपमा काम गरी रहदा अहिले सम्म पनि उनी रंगशालको संरक्षणमा जुटिरहन्छन् ।

अन्तराष्ट्रिय खेल जीवन

खेल जीवनको दौरानसंगै सन् १९७० मा थाईल्यण्डको राजधानी बैंकमा सम्पन्न एसियन खेलकुद प्रतियोगितामा एथ्लेटिक्स अन्तर्गत म्याराथन विधामा भाग लिए । उनले पहिलो सहभागीतामा सातौ स्थान हासिल गर्दै म्युनिख ओलम्पिकका लागि छनोट हुन सफल भए ।

उनले सन् १९७२ मा जर्मनीको म्युनिखमा आयोजित ओम्पिकमा सहभागीता जनाए । उनी सन् १९७३ मा मोरक्कोमा सम्पन्न प्रथम एसियन ट्रयाक एण्ड फिल्ड च्याम्पियनसिपमा खाली खुटाले दाडेर तेस्रो स्थान हासिल गर्न सफल भए । उनको त्यो तेस्रो स्थान नेपालको लागि पहिलो अन्तराष्ट्रिय पदक थियो ।

उक्त च्याम्पियनसिपमा नेपालका अन्य खेलाडीहरु बैकुण्ठ मानान्धर, केशर बहादुर वानीया, भक्त बहादुर वानियाँ तथा प्रशिक्षकमा मधुशमसेर राणा सहभागी थिए । उनी सन् १९७४ मा ईरानमा सम्पन्न सातौ एसियन गेममा अनितम १२ औ स्थानसम्म पुग्न सफल भए । सन् १९७५ मा दक्षिण कोरियामा सम्पन्न दास्रो एसयिन ट्रयाक एण्ड फिल्डमा पुनः तेस्रो स्थान हासिल गर्न सफल भए ।

 उक्त प्रतियोगितामा अर्का नेपालका धावक बैकुण्ठ मानान्धर पनि सहभागी थिए भने प्रशिक्षकमा लक्ष्मण विक्रम शाह थिए । उनले सन् १९७८ मा भएको आठौ एसियन खेलपश्चात खेलबाट सन्यास लिए । खेलवाट सन्यास लिएता पनि उनी रंगशालालाई आफ्नो कर्म सुरुवाती थलोको रुपमा लिएका कारण कहिल्यै भुल्दैनन् ।

उनी हरेक दिन रंगशालामा उपस्थित भई रेखदेख गरिरहन्छन् ।

खाली खुट्टा दौडेर पदक

केसीले आफ्नो खेलप्रतिको लगनशिलतालाई आत्मसात गर्दै खाली खुट्टाले नेपाललाई पहिलो पटक अन्तराष्ट्रिय पदक दिलाए । योसंगै उनी नेपाली एथ्लेटिक्स खेलमा नयाँ आयाम थप्न सफल भए ।

सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियन ट्याक एन्ड फिल्ड च्याम्पियनसिपमा उनले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदकका रूपमा कांस्य पदक दिलाएका हुन् । उनले कांस्य पदक जितेको दिन वास्तवमै नेपाली खेलकुदका लागि ऐतिहासिक बन्यो ।

रंगशालाभित्र प्रवेश गरेपछि तीन धावकबीच मात्र पदक छिनोफानो पक्कापक्की भयो । अगाडिका कोरियन लगभग ४ सय मिटर अगाडि थिए । अर्का कोरियन र जितबहादुरबीच दोस्रो र तेस्रो हुनमा जुहारी चल्यो । कहिले जितबहादुर अगाडि हुन्थे भने कहिले कोरियन खेलाडी । रगतले लतपतिएको खाली खुट्टाका भरमा कुदिरहेका जितबहादुर यसै कारण तेस्रो भए ।

 त्यसबेलाको घटना स्मरण गर्दै केसी भन्छन्, ‘खुट्टा रगतले लतपतिएको थियो, पैताला अति दुखेको थियो, केवल राष्ट्रको नाम राख्नुपर्ने मनमा थियो, यसै उच्च मनोभावका साथ दौडिँदा म तेस्रो भएँ ।’ जुत्ता लगाएर दौडिन पाएको भए स्वर्ण नै जित्ने उनको दाबी छ ।

अपूरो आश्वासन

काठमाडौं फर्केपछि सम्मान स्वरूप नगरपरिक्रमा गराइएको थियो । एक कार्यक्रममा तत्कालिन राजा वीरेन्द्रले जितबहादुरलाई बधाई दिँदै काठमाडौंमा एउटा घर, दैनिक १० रुपैयाँ भत्ता र मधेसमा जमिनको व्यवस्था गर्ने आश्वासन दिए । वीरेन्द्रले आश्वासन त दिए, तर उक्त आश्वासन पूरा गरिदिने राज्यको निकायले भने वेवास्ता गर्यो ।  प्राप्त गरेको अभिनन्दन तथा सम्मान

उनले एथ्लेटिक्स यात्रा पछि दर्जनौ अभिनन्दन तथा सम्मान प्राप्त गरे । उनले वि.स. २०५६ सालमा तत्कालिन नेकपा एमालेको तर्फवाट, वि.स. २०६३ सालमा नेपाल गणतान्त्रिक खेलकुद महासंघको तर्फवाट, वि.स. २०६९ सालमा नेपाल लोकतान्त्रिक फोरम खेलकुद महासंको तर्फवाट, वि.स. २०६५ सालमा राष्ट्रिय खेलकुद परिषदको तर्फवाट, वि.स. २०६० सालमा नेपाल राष्ट्रिय खेलकुद परिषदकै तर्फवाट, वि.स. २०६९ सालमा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको तर्फवाट र वि.स. २०५४ सालमा नेपाल खेलकुद पत्रकार मञ्चको तर्फवाट अभिनन्दन तथा सम्मान प्राप्त गरे ।

सन्देश शेर्पा (लामा)


प्रकाशित | १८ असार २०७५, सोमबार ०४:१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')