आमाको उधारो हिसाब–किताब

देशका विभिन्न ठाउँ घुम्दा थुपैै्र नेपाली आमा भेटेकी छु । उनीहरूका जीवन र संघर्षका कथा सुनेकी छु । कथा सुन्दा लाग्यो, सबै नेपाली आमाका भोगाइ एकै खालका छैनन् । यहाँ केही आमाले सुनाएका वास्तविक कथा लेखेकी छु, मोनोलगका रूपमा ।

भैँसी जत्ति नुहाए नि गाई हुन्न, दमिनी जत्ति नुहाए नि चोखो बाहुनी हुन्न !’ साइँली औँलामा अन्तनो (लुगा सिउँदा लगाउने औँठी) लगाएकी छु, तर नि ठूलाघरे विष्टिनी बज्यैको नमिठो वचनले घोच्न छोड्दैन । धिपधिप बल्दै छ फलामको टुकी, जिन्नगीजस्तै । मट्टीतेल सक्न लाग्या छ । अँगेनोमा साँझको चिसो दाउराको धुँवा पुतपुताउँछ । आँखा पिरो हुन्छ । रातमा आँखाले त्यति मेसो पाउँदिनँ ।  एकटंकारले सियोको टुप्पो हेर्दै चोलो तुर्पाइँ गर्दै । आँखा टट्टाउँछ । चहराउँछ । दिनभरि मिसिन चलाउँदा ढाड अचम्मै दुख्या छ । किन हो, हात नि बाउँड्या छ । पातो झर्लाझैँ भएको छ । भोलि सबेरै बज्यैको चोलो दिनुपर्छ । टपक्क मिलेको, कतै नकस्सिएको ।

पैले लुगा पु-याउन ठूला घराँ गएकिम्, विष्टिनी बज्यैले खर्चमा चार माना मकैमाथि नुनको ढेका राखेर दिइन् । सबैले चामल, दाल, तरकारी, जिरा, धनियाँ, घिउ, नुन, बेसार, अदुवा पु-याएर दिन्छन् भन्ने छैन । कसै–कसैले आँटोमा नुनको ढेका राखेर दिन्छन्, खर्च नहुँदा ‘पछि लगौली’ नि भन्छन् । कोही–कोही त ‘नदिने बज्यै बुधबार बार्छन्’ भनेझैँ गर्छन् ।
धेरै वर्षपछि आज मन खुलास् भएको छ । झिसमिसेमा अँजुलीभरि गोबर दिन पाएँ ठूलाघरे कान्छालाई । विष्टिनी बज्यै त मरेर गइन् । नाति केटो आएको थियो । यो ठाउँमा मलाई गोबरसम्म पत्याउँदैनथे ।

भाटा र स्याउलाको घर लिप्न गोबर माग्न गएकी थिएँ । ‘आफ्नै गोबरले लिप्’ भन्दै गोबर दिइनन् विष्टिनी बज्यैले । मन असाध्यै चिरिएको थियो ।  नाथे गोबरसम्म नि नपत्याउनी जिन्नगी ! त्यसवेलादेखि माग्न डराउँछु । एक छाकको भुटुन दुई छाक बनाउँछु । तर, केही माग्न जान्न छिमेकीसँग । अइँचोपइँचो गरेको सम्झना छैन । अइँचोपइँचो दुवै घरकाले गरे हुने हो नि, मैले छोएको केही जात चल्दैन । हाम्रो चल्ने यै हात–पाखुरा हो । यै नि नचले त तिनको मुखाँ नि कसरी माड लाग्छ र !

गोबर कसैले नदिँदा तीस रुपैयाँ गोटाले तीनवटा गाई किनेकी हुम् । त्यसवेलादेखि गाई टुट्या छैन घराँ । गाउँमा गाईको गोबर पत्याउन्जेल छोरो खाडी गइगो । अछुतलाई दूध, दही दिँदा गाई भैँसी रूखमा चढ्छ भन्छन् । पधेलो पधेलो आँसुजस्तो मोही दिन्छन्, यो कर्मले खान पाउने हो भन्दै । गोबर दिँदा चैँ के हुन्छ कुन्नि ! खै, गाई नै बिटुलो हुने हो कि ? रूख नै पो हिँड्ने हो कि ?

हाम्रो घराँ गाउँलेहरू कि लुगा सिउन आउँछन्, कि खेताला भन्न आउँछन् । अरू वेला न कोही हाम्रामा आउँछन्, न हामी कसैकोमा जान्छौँ । छोटाको संगतले नाककान काटिन्छ, बडाको संगतले मान्छे बनाउँछ रे ! हामीसँग संगत गर्दा मान्छे बन्दैनन् रे ! त्यसैले बडाहरू रुचाउँदैनन् हामीलाई । तिनका बच्चा हाम्रा बच्चा सँगै पढ्दा–खेल्दा जात नै सर्लाझैँ गर्छन् । छिछि र दुरदुर । कनिका जत्रो गल्ती गर्दा नि सास रोक्किनी गरी कुट्छन् । तिनका बच्चा कुन मेरा बच्चा कुन ? बालखा त एउटै हुन्छ नि । रिसले गइनँ तिनको मकै गोड्न । हाताँ इलम छ, जसरी नि गरेर खाइन्छ ।

पोहोर साल नाति केटोले जाँचमा कस्तो गरेछ भनेर सोध्न गइथीँ । सरले भने, ‘यी डुमिनीको यत्रो हिम्मत ? आँखा आँखा हेरी बच्चाको पढाइ सोध्ने !’ दिनरातको निमेकले बच्चा पढाइछु, तिनलाई बच्चाले जाँचमा कस्तो गरेछ भनेर नि सोध्न नपाउनु ? मुखभरिको जवाफ दिएकी हुम् मैले । तिनका छ्याङ्कटे बोली सुन्दा दाइँ लाउँदै ग-या गोरु सम्झिन्छु ।
पेटभरि छन् यी गाउँलेका कुरा । के गर्ने, हाम्रा कुरा कसले सुन्छन् र ? उठेर बोलूँ हावाले लान्छ, बसेर बोलूँ कसैले सुन्दैन ।

घर सुनो लाग्छ । त्यसैले कहिलेकसो पाहुनाहरू आउँदा वस्तुभाउ नि रमाउँछन् । गाउँ ठूलो छ, गाउँलेहरूको मन भने हिउँदे कुवाजस्तै । गाउँभरिमा एक्लो दमै घर । ससुरा बा भन्थे– विष्टहरूले पहिले– पहिले हँसिया, कचिया, कोदालो बनाउन कामी, लुगा सिलाउन दमै सँगै ल्याएका रे ! अब त हाम्रै दाजुभाइ नि एकै ठाउँ छैनन् । एक्लै भएकाहरूलाई जसले जे गरे नि भो । जहीँतहीँ उनीहरूकै राइँदाइँ।

ठूलाबडाहरूकोमा खेताला जान्छु । सबै खेताला साथीजसरी नै मेलो टुंग्याउँछु । खाली पेटमा एकनासले काम गर्दा भोकले अमिलो पानी आउँछ । सँगसँगै धान काट्दा कुइनो लाग्छ । अस्ति धान काट्दाकाट्दै हँसियाले काइँली बज्यैको औँला काट्यो । हत्तपत्त राउन्ने घाँस माडेर हालेँ । रगत थामियो । पछि काइँली बज्यैले भनिन्, ‘दिदी, तिमीसँग हिँड्दा ढुक्क हुन्छु ।’

ढुक्क भइकी साथी नि खाने वेलामा तर्किन्छन्, नचिनेको मान्छेझैँ बन्छन् । म त वस्तुभाउलाई कुँडो ख्वाउँदा नि अलि नजिक गएर दिन्छु । जिउमा भएको किर्ना यसो टिप्छु । तर, मलाई मेलापात जाँदा खाना दिँदा रिसिएर फालेझैँ गर्छन् । मलाई दिइने सिलाबरको भाँडो नि छुट्टै छ । त्यो भाँडासँग भिन्दै साइनो छ ।विष्टिनीहरूले डिङ्गा धपाएका हुन् कि मलाई काममा लगाएका हुन्, वेलावेला झुक्किन्छु । काम लाउँदा नि मेरो नाउँले बोलाउँदैनन् । कसैले नि नाउँले नबोलाउँदा आफ्नै नाउँ नि भुलिसकेँ । घरीघरी आफैँसँग सोध्छु– के हो मेरो नाउँ ? सबैले कान्छी दमिनी भन्छन् । मायाले हो रे ! कति वर्षकी भएँ, कुन्नि ? खर काट्न जाँदा लेकबारीमा पाएकी रे !

ठूला घरकाले भन्छन्, सगुनी जातकी हुँ रे ! बिहान–बिहान दमिनीको मुख देख्दा साइत पर्छ रे ! सगुनी हातले सिएको कपडा शुभ छ रे ! त्यसैले होला, मेरो धोतीको टुक्राले ठूलाघरे कान्छालाई भोटो सिउन लाउँथे । बर्सेनि बच्चा मर्दा तल्लो जातको थर राखे भूतपिचास नलाग्ने, बच्चा बाँच्छन् रे ! त्यसैले दमै, कामी, सार्की नाउँ राख्थे । हामी भूतपिचास नै भएर भूतपिचास नलाग्ने हो कि ? हामीलाई भूतपिचास बनाउने देउता को होला ? ढुंगामाटाले बनाएनन् होला । यिनै बराजुले त बनाएनन् कतै ?

अब पैलेजस्तो छैन । मान्छे उही भए नि जमाना फेरियो । माओवादी आएदेखि बालीघरे गयो हाम्रामा । टाउकाको टोपी र खुट्टाको जुत्ता मालिकको अघि नखोली हिँड्नेसम्म बनाए । माओवादीले जातभात मान्दैनथे । मान्नेहरूलाई नि छाड्दैनथे । छातछुत गर्नेहरूको चोेटाकोठा नै पस्थे । हाम्रा छोराछोरी, तिनका साथी नि विष्टबराजुका घरभित्रै पसेर खान्थे ।
गाउँभरिका तन्नेरी बिरामी बाउआमा, दुधे बालखा सबैजना छाडी जंगल पसे । छोरोले त शरीरभित्र पसेको गोलीलाई सिटामोलझैँ पचायो । शरीरमा दौडिँदै गरेको रगतभन्दा बढी रगत यै माटोमा मिलायो ।

माओवादी नि जंगल छाडे, सहर पसे । जुन रूखको बोक्रो उही रूखमा टाँसिन्छ भन्थे । आखिरमा आफू–आफू मात्रै मिले । मर्ने र मार्ने वेलाँ हाम्रा छोराछोरी, ठाम लिने वेलाँ हाम्राले गर्न सक्दैनन् रे ! सेनासँग मिल्ने वेला छोरो अछुत भो । कर्णेल, जर्नेल हुँदा अरू ठूला जातलाई अपमान हुन्छ रे ! आफ्नो अपमान सहन नसक्दा आफैँ निस्क्यो छोरो । खोइ, जातभात र छातछुत फाल्न मै बुढीआमाहरूले कति काख रित्याउन पर्ने हो ! विरक्त भएर छोरो बिदेसियो । छोरोले ल्याएसि बुहारी भन्नै प-यो । जंगलमा त के जात, के भात ! गाउँ–सहर छिरेपछि त्यही मान्छेले नि पानी खानु मूलको, बिहे गर्नु कुलको भन्न थाले । हामी कुलका भएनम् । वेला–वेला बुहारीले घोचो लाउँछे ।

हिजो साँझ रेडियोले बोलेको । अचेल अजात स्वास्नीलाई उनीहरू छाड्दै छन् रे ! आफ्नै जातका केटीसँग बिहे गर्दै छन् रे ! यस्तो बोल्ने रेडियोलाई हाम्रातिर ‘डुमाको रेडियो’ भनेर खिस्सी काड्छन् । अचेल त हाम्रा बारेमा नि कोही कुरो रेडियोले बोल्छ । दुईजना केटाकेटी आधा घन्टासम्म बोल्छन् । मलाई तिनको कुरो अच्चमै मन पर्छ । कोही वेला रेडियो सुन्दा ठूला घरकाले देख्यो भने ‘रेडियो सुन्ने भइछ अचेल’ भन्छन् । कोही कुरो सुन्न, जान्न हामीले नि हुन्छ नि गाँठे । अलि मिठो–मसिनो खाँदा, लाउँदा नि रिस गर्छन् ।

वर्षाैंदेखि कपडाको नापो लिँदै आइछु । हेपाइको नापो लिन यो इन्ची टेपले भ्याउँदिनँ ।  जति हामी उनीहरूको लाज ढाक्छौँ, त्यति नै उनीहरू हामीलाई नंग्याउँछन् । त्यसैले त पुस–माघको जाडो नि हामीलाई नछोई जान्छ, जसरी जान्छ चैत–वैशाखको घाम ।

छोरोले विदेशबाट ल्याएको पाउर लाएकी थिएँ । मन हौसिएको थियो । तर, ठूलाघरे बज्यैले ‘धोतीको जुम्रा टाउकामा पुगेसि यस्तो हुन्छ’ भनेपछि मनै खिस्रिक्क भो ।
किन एक्कासि वचन लाइन्, पहिले हेक्का राखिनँ । खासमा मेरो र उनको धोती फरिया मिल्दोजुल्दो परेछ । उनको छातीमा गाँठो प¥यो रे, दुरुस्तै कपडा लाएको देखेर ।
दिउँसो पराल बोक्न जाँदा भनिन्, उनकै कान्छी बुहारीले । हैन यो ज्यानमा जडौरी मात्रै भिर्न किन पर्ने हो र हँ ? जलले न्वाएर चोख्खिने रहर छैन । आफूलाई जुठी नै मान्दिनँ । दमिनी कसरी बिटुलो अनि बाहुनी कसरी चोखो, म जान्दिनँ । ठूलाघरे बज्यैले आफू चोखो हुन हामीलाई कत्ति बिटुलो बनाउन सक्या भन्या ? मेरो घुँडाको रौँ फुलिसक्यो, अब कतिन्जेल सहने !?  ‘दमैको थुक चोखो, बाउनको मुख चोखो’ भन्छन् । चोखो कहलिँदै आएको मुखले जे भने नि चोखो !?

आफ्नो मानो खाइछु । आफ्नो इमान जमानमा चलिछु । नबिराउनू, नडराउनू । हात कतिखेरै खाली हुन्न । सधैँ कामको चटारो । राति बारह बज्दा नि आँखा थाक्यो भन्न पाइँदैन । कहिलेकाहीँ त गाउँ नै सिस्नुघारीझैँ लाग्छ । जहाँ छोयो, त्यैँ पोल्ने । कति कुरो खेल्छ मनमा । मानो खाएर मुरी उब्जाउने वेला हो चाडपर्व । वेलामा काम नसके कराउँछन् विष्टिनीहरू, ‘ओई डुमिनी, मेरो कपडा किन ढिला गर्दिस् ?’ गाली सुन्दा कैँचीबाहेक केही देख्दिनँ, साँच्चै । रिसले इन्चिटेप र कपडा नै काट्दिऊँ जस्तो लाग्ने । मिसिनको पटेरा नै भाच्दिऊँ जस्तो लाग्ने । फेरि कपडा काटे कसरी तिर्न सकिन्छ र ? बुढापाकाको वचनले झस्किन्छु । आइमाईको रिस खप्परमा भए सह हुन्न रे ! फेरि मेरो बुढो रिसिए सह हुन्न भन्दैनन् त कसैले । तिनै विष्टबराजुले जे गरे नि सह हुन्छ । आफ्नो मनलाई खुम्च्याउँदै हाँस्छु ।

बेलाँ कपडा नभ्याउँदा रिसाउँछन् विष्टबराजुहरू । ‘एक छिन बस्नुस्, छिट्टै कपडा मेट्दिन्छु । सिउँदा एकजनाको मात्र चित्त बुझाएर भएन, धेरैको चित्त बुझाउनुपर्छ । सिउने जात जसकाँ लगे नि एक छिन समय लाउँछन् नै’ भनेर तिनको चित्त बुझाउन खोज्छु । जति चित्त नपरे नि, नमिठो बोली गरे नि आफ्नै मुख सिउनुपर्छ । बोल्यो कि पोल्यो । ‘कत्ति मत्ताएका, त्यहाँ कपडा सेउन नलैजाओ’ भन्छन् छिमेकीलाई । काम नआए बिहान–बेलुका घराँ चुलो कसरी जोर्नु ! त्यसैले रिसिन नि पाइन्न बरै ।

जत्ति सिए नि आफ्नो जिउमा भने एकसरो जडौरी हुन्छ । अरूका नयाँ कपडा सिउँदा–सिउँदै म आफैँ नै पुरानो भइसकेँ । चाडपर्वमा विष्टिनीहरू सबैजसोले चोखो कपडा लाउँछन् । उनीहरूका आँखामा हामी त मान्छे नै जुठो । नयाँ कपडा लाउ नि जुठो, नलाउ नि जुठो । किन हो खै, चोखा मान्छेका चाड जुठाहरूले नि मनाइदिनुपर्ने ! यै सियो धागो र कैँचीले अरूका चाड चोखो पार्नुपर्ने ! यै सियो धागोले धेरै पर्व उतारँे । खै कसरी चोखिने हो, मेसो पाउँदिनँ ।

सेतो चामल खान मधेस झ-यम् । यो परिवार, यो घर, यो खेतबारी यै सियो र धागोले आज्र्या मुलुकजस्तो लाग्छ । मलाई त यै परिवार मेरो मुलुक । यै दुःखले जोरेको दुइटा गह्रा खेत हो मुलुक । यी खेतका गह्रा राति–राति टुकी बत्ती बालेर खनेकी हुम् । तीन वर्ष लाग्यो खन्न । आन्दोलन हुँदा मानिसहरू पल्लो गाउँतिर दौडिन्थे । कति डराउँथ्यौँ । डरैडरमा नि खन्न छाडिनँ । खेत खन्दै जाँदा बने घर नि । यो घरसम्म दशवटा बनाएँ । खेत बनाएपछि छाप्रो तल पर्र्ने र फेरि छाप्रो सार्नुपर्ने ।

म आफैँ घर छाउँछु । वर्षैपिच्छे छाउँछु । छाएको खरलाई पल्टाउँछु । फेरि छाउँछु । अब छोरोले कमाएर ल्याएपछि पकाएर खाने पक्की वास छ । यै माटोमा मेरो बैँस गयो । आजसम्म लालपुर्जा हात परेको छैन । तर, गाउँलेलाई अँजुलीभरि गोबर दिन पाएकी छु । लालपुर्जा नपाउनेहरू कोही–कोही घर छन् । तिनैले नि अच्चमै छातछुत गर्छन् । गुरुङ, मगरले नि छातछुत गर्छन् । आफूहरू भने कोदाको छाया देखिने झोल खान्छन् । हामीलाई खिसिट्याउरी गर्छन् । तर, मुख फर्काउन सकिन्न । मुख फर्काए ‘दमैको जात अगतिलो’ भन्छन् ।

केही वर्षअघि माइतमा आमा बितिन् । मलामी जान कोही मानेनन् । गाउँभरिमा एक घर दमै । गाउँका गुरुङहरू ठूला जातकाले भातपानी बाहेक गराउँछन् भनेर मलामी आउन डराए । घोत ल्याउने त टाढैको कुरो भो । आमाको लास रातभरि पिँढीमै रह्यो । रुँदै, रुङ्दै बित्यो चिसोले कठ्याङ्ग्रिँदो रात । अर्को दिन मात्रै पल्लो गाउँबाट आफ्नै जातका मलामी आए । ठूला जातकाहरूको मलामीमा हामी छुइन्छौँ रे ! त्यसैले हामीलाई मलामी बोलाउँदैनन् । पहिले मनमनै सोच्थेँ– किन गए होलान् हाम्रो काइँला बाउका खलक पूर्वी मधेससम्म ? कस्तो गाउँ, मलामी जानसम्म नि मान्छे नहुने ! खै कति मिलेर बसेको देखाउन सक्या । हामीले सहँदासम्म देखिने रहेछ मिलेको । यहाँ त न जिउँदाको जन्ती, न मर्दाको मलामी !

घरीघरी सोच्छु, मेरो नि आमाकै चाल हुने हो कि ? आजभोलि जिउ नि बिसन्चो भइरहन्छ । धेरै बच्चा पाएँ । सुत्केरी छँदै अर्को बच्चा बस्ने, पाउने कुरो भएन, त्यसपछि तुहाउने । गर्भ फाल्न काँचो कुभिन्डोे खाइन्थ्यो । पैलेको जमाना त्यस्तै थियो । कसले लान्थ्यो र डाक्टरकाँ ! बुढोलाई थाहासम्म दिन्नथेँ । उनलाई थाहा दिएर पो के हुन्थ्यो र ! मेरो ज्यान भए पुग्थ्यो ।
एकपटक त बच्चा सप्रिसकेको थियो । बच्चा खस्दा कलिला औँलाहरू नै देखिन्थे ।

आमा बितिन् । मलामी जान कोही मानेनन् । गाउँभरिमा एक घर दमै । गाउँका गुरुङहरू ठूला जातकाले भातपानी बाहेक गराउँछन् भनेर मलामी आउन डराए । आमाको लास रातभरि पिँढीमै रह्यो । अर्को दिन मात्रै पल्लो गाउँबाट आफ्नै जातका मलामी आए । 

एकनासै खुन बग्थ्यो । खुनको हस्को आउँथ्यो । ढुङ्गामाटो धेरै बोक्दा घाँस–दाउरा गर्दा छिट्टै आङ खस्यो । आफ्नो जिउ आफैँलाई गनाउने । मान्छे नजिक जान नि अप्ठ्यारो लाग्ने । उसै नि फोहोरी जात ठान्ने । मान्छे नि काली न काली । केही गर्न नि आउन्न । त्यै घाँसदाउरा गर्छु, खनजोत गर्छु, खर छाउँछु र अलि–अलि सिउँछु । पहिला यै कपडा नि काट्न आउन्न थियो । नआउँदा कैंचीको झटारो खाएको हिजोझैँ लाग्छ । पछि काटेको हेर्दाहेर्दै सिकेँ । त्यसैले गाउँघरमा अहिले नि ‘रूपकी राम्री सर्किनी, सीपकी धनी दमिनी’ भन्छन् ।

लुगा सिउँदा कुम, छाती, कम्मर, हात नाप्न चाहिँदैन इन्ची टेप । बाहिर देखिने हाडछालाको शरीर कोही पहाडजस्तो उकालो ओरालो, कुनै तराईजस्तै सम्म ।
वर्षाैंदेखि कपडाको नापो लिँदै आइछु । हेपाइको नापो लिन यो इन्ची टेपले भ्याउँदिन । तर, कपडा र हेपाइको नापोमा धैरै फरक पर्दैन । उही सिस्नुले पोल्छ मनमनै भनेझैँ । जत्ति हामी उनीहरूको लाज ढाक्छौँ, त्यति नै उनीहरू हामीलाई नंग्याउँछन् । त्यसैले त पुस–माघको जाडो नि हामीलाई नछोई जान्छ, जसरी जान्छ चैत–वैशाखको घाम ।

एक दिन ठुलाघरेको लुगा सिउँदैथेँ । एन्ज्यो कि के जातिमा काम गर्ने एकजना नानी आँगनमा टुप्लुक्क आइपुगिन् । दलितहरूको अवस्था बुझ्न आकिन् रे ! ती नानीले के–के सोधेर फाराममा लेख्दै गइन् । कति छिट्छिटो हात चलाकी ! तिनलाई देख्दा मनमा अनेकन् तर्कना आयो । आफू त लेखपढको नाउँमा कालो अक्षर भैँसी बराबर । सियोको साटो यो हातले कलम समाएको हुन्थेँ भने ?
– लबेदा सिएको कथा लेख्थेँ हुँला ।
– भुल्ला खुटेको लेख्थेँ हुँला ।
– मुतसितको कपडा तकेको लेख्थेँ हुँला ।
– बालिघरे लुगा सेउँदा बराजुको गोठनजिकै गुन्द्री बारेर कटाएको रातको कुरा लेख्थे हुँला ।
– मलामी नआउँदा पुस–माघको सिरेटोमा आमाको लास पिँढीमा लडिरहेको कथा लेख्थेँ हुँला ।
– सिलाबरको थालमा भातमाथिबाट तातो तिउनको झोलले पोलेको लेख्थेँ हुँला ।
– गोबर नपत्याउँदाको पीडा लेख्थेँ हुँला ।
– हामीलाई नंग्याएको दृश्य लेख्थेँ हुँला ।
– बच्चा तुहिँदाको छटपटाइ लेख्थेँ हुँला ।
– जडाउरीले ढाकेको हाम्रो लाज लेख्थेँ हुँला ।
– बुढो परदेश जाँदा मलाई समाउन आएको बराजुको गिद्दे नजरबारे लेख्थेँ हुँला ।
– सुत्केरीमा तातो झोल पेटमा नपरेको वेदना लेख्थेँ हुँला ।
– माओवादीलाई सिलाएको बर्दीको कथा लेख्थेँ हुँला ।
– चिमोट्ने छातछुतबारे रत्यौली लेख्थेँ हुँला ।
– मान्छेलाई मान्छे नठान्ने चलनको उछित्तो काढेर रामायनै लेख्थेँ हुँला ।
– अमान्छे बनाइएको कथा लेख्थेँ हुँला ।
– घरमा साँझ–बिहान चुलो नबल्दा, छोरीलाई १०४ ज्वरो आउँदा नि कम्मर मर्काई–मर्काई पञ्चेबाजामा नाच्ने मेरो दमैको कथा लेख्थेँ हुँला ।
– साहुबाजेले उधारो खातामा पछि थपेको सुन्नाको हिसाब नि लेख्थेँ हुँला ।
तर, भएन हातमा कलम ।
खैर, हिसाब मेरो कमजोर छ ।
मनको सन्दुसभरि छ– गाउँको खुद्रा मसिना हिसाबकिताब । अनि सबैले गाउँ प्यारो लाग्छ भन्दा मलाई हाँसो उठ्छ । यो मध्यरातमा विष्टिनी बज्यैको चोलो च्यातेर गाउँ नै थर्किने गरी खित्का छाडीछाडी हाँस्न मन लाछ ।

यो सामाग्री नयाँ पत्रिकाको झननायँबाट जस्ताको तस्तै साभार गरिएको हो ।


प्रकाशित | २५ जेष्ठ २०७६, शनिबार ०९:५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

error: Content is protected !!