तीन जोर माला

सरस्वती पूजाको दिन । स्कुलमा ध्वजापताका टाँगिएका थिए । विद्यार्थीको लस्कर पूजाको थाली बोकेर सरस्वतीको मूर्ति राखिएको कोठातिर गइरहेको थियो । त्यही भिडमा थिइन्, कक्षा ६ पढिरहेकी– सीतादेवी बौडेल । पूजाको थाली बोकेर जब सीता ढोकामा पुगिन्, उनलाई शिक्षकले रोके । अघि बढ्न खोजिन् । शिक्षकले फेरि रोके । सीतालाई पूजाकोठाभित्र पस्नै दिइएन । रुखो स्वरमा शिक्षकले भने, ‘तिमी भित्र जान पाउँदैनौ । झ्यालबाटै पूजा गर ।’

सीताको अनुहार कुहिरोले ढाक्यो । एकछिनअघिको उमंग चकनाचुर भयो । आँसुले आँखा भरियो । आक्रोशले मुठी कसिन् । हो, त्यही घटनाबाट सीताले आफूलाई चिनिन् । छुवाछुतमा आधारित सामाजिक संरचनालाई चिनिन् । र, मनमा रोपिन्– विद्रोह । सीताले स्कुल पढिरहँदा देशमा पञ्चायतकाल उत्कर्षमा थियो । अन्ततः पञ्चायत ढल्यो । नेताहरू सत्तामा गए । सीताले सोचिन्– अब त सरस्वतीलाई कोठाभित्रै गएर पूजा गर्न पाइन्छ होला । तर, भगवान् टेन्डरमा पाएजस्तै सधैँ उपल्लो जातिकै नियन्त्रणमा रह्यो । पञ्चायतपछि पनि सीताले विभेद उस्तै भोगिन् ।

अधुरो परिवर्तनको जगमा माओवादी ‘जनयुद्ध’ सुरुभयो । गाउँमा माओवादीबारे दुईथरी हल्ला फैलियो । एउटा– उनीहरू मान्छे मार्दै जंगल–जंगल हिँड्छन् । अर्को– होइन,उनीहरू विभेदमुक्त समाज चाहन्छन् । धनी–गरिबको खाडल मेटाउन चाहन्छन् ।

सीताको घर पाल्पा, मदनपोखरा । बुबा अम्बरराज बौडेलले बँदेल पालेका थिए । नजिकै थियो आर्मी क्याम्प । आर्मीहरू बँदेल लिन आइरहन्थे । माओवादीबारे सधैँ बँदेल लिन आउने दैलेखका एक आर्मीले सुनाए, ‘हाम्रो गाउँमा एकजना बुढीआमाको सबै मकै माओवादीले खाइदिए रे ! केही दिनपछि माओवादीले बोराका बोरा चामल ल्याइदिए रे !’ सीतालाई के चाहियो अब ! विभेदमुक्त समाजको निर्माण माओवादीले गर्छ भन्ने लाग्यो उनलाई । त्यसपछि खोज्न थालिन् माओवादी ।

गाउँमा, चोक–चौतारामा, चिया पसलमा माओवादीको सम्पर्क सूत्र खोज्न थालिन् । धेरै दिनपछि बल्ल गाउँका एकजनाले माओवादी कलाकार चुनु गुरुङसँग भेट गराइदिए । चुनु गुरुङ (जो पछि मारिइन्)ले सीतालाई प्रशिक्षण दिइन् । भाषण गर्न सिकाइन् । सांस्कृतिक टिममा नाच्न सिकाइन् । ती दिन सम्झिँदै सीता भन्छिन्, ‘जातीय विभेद माओवादीले अन्त्य गर्छ भन्ने विश्वास लाग्न थाल्यो ।’ एसएलसी परीक्षा सकिएको एक साँझ । आमा रूपा बौडेललाई सम्झाइन् । बुबा र दुईजना भाइलाई सम्झाइन् । आमाले भुटिदिएको मकै झोलामा हालिन् । अनि राँके जुलुसको हुलमा मिसिएर गाउँ छाडिन् ।

स्कुल र मेलापात धाइरहने सीताको बाटो फेरियो । बाटोले पु-याउने गन्तव्य फेरियो । अरू त फेरियो नै । सँगै सीताको नाम पनि फेरियो । अब उनी बनिन्– कमरेड ज्योति ।
झोलाभित्र बस्दोबस्तीको सामान । बाल उपन्यास ‘रातो चम्किलो तारा’ र ‘कम्युनिस्ट घोषणापत्र’ । कम्बरमा ग्रिनेट । एक डाँडा छाडेर अर्को डाँडासम्मको यात्रा । भीर, खोला, जंगल अनि उकालो–ओरालो । जहाँ पुगिन्छ, त्यहीँ संगठन बनाउनु आदि उनको दैनिकी हुन थाल्यो । भर्खर २० वर्ष टेकेकी । भाषणकलामा निपुण । गाउँ, टोलछिमेक हुँदै जिल्लाभरि चिनिन थालिन् कमरेड ज्योति ।

ज्योतिलाई धेरैले प्रेम प्रस्ताव पठाउन थाले । प्रस्ताव गर्नेमा जनमुक्ति सेना धेरै थिए । धेरैको प्रस्ताव अस्वीकार गरिन् । किनकि विवाह, प्रेम र यौनबारे नेताहरूबाट सुनेकी थिइन्, ‘युद्धका वेला प्रेम नभएकाले प्रेम नगर्ने । प्रेम भएकाले बिहे नगर्ने । बिहे गरेकाले बच्चा नजन्माउने ।’ ०५९ मा गोरखाको ताकुकोट प्रहरी चौकी कब्जा गर्ने तयारी हँुदै थियो । उनीहरू तनहुँको शान्तिपुर पुगेका थिए । नेता देव गुरुङ पनि सँगै थिए । पूर्व र पश्चिममा सेनाहरू कोही लडाइँ हारेर, कोही जितेर, कोही भाग्दाभाग्दै त्यहाँ जम्मा भएका थिए । ज्योतिलाई कसैले सुनाए, ‘आज तीन जोडीको बिहे हुँदै छ रे यहाँ ।’ ‘होला कसैको !’ उनले भनेकी थिइन् त्यसवेला ।

सेनाले सर्च अप्रेसन बढायो । विद्रोही र राज्यपक्षबीच दर्जनौँ भिडन्त हुन थाले । उता सेनाको गस्ती बढ्दो छ । यता सीताको पेटभित्र बच्चा पनि बढ्दै छ । रात–दिन हिँडेको हिँड्यै– जंगलको बाटो, भीरको बाटो । अहिले सम्झिन्छन्, ‘जिउ सुन्निन थाल्यो । हिँड्ने तागत हराउँदै गयो ।’ 

अघिल्लो दिन आधारातमा शान्तिपुर पुगेकी ज्योति सुतिरहेकी थिइन् । कोही जनसेना विवाहका लागि मञ्च तयार गर्दै थिए । कोही घाममा बसेर हतियार सफा गर्दै थिए । कोही खाना पकाउँदै । झ्यालबाट ज्योतिले देखेकी थिइन्, दुईजना महिला जनसेना फूल टिप्दै गरेका । ज्योतिले मनमनै सोचिन्, ‘होला कसैको बिहे ।’ ३ जोर माला र मञ्च तयार भयो । दुई जोडी सेनाले एके फोर्टिसेभेन साटासाट गरी बिहे गरे । अब तेस्रो बिहे कसको ? अत्तोपत्तो थिएन । सबैजना एक–अर्कालाई हेरिरहेका थिए । कसैलाई खोजिरहेका थिए उनीहरू ।

ज्योतिलाई कसैले उठायो । अर्धनिद्रामै ज्योति भुइँतलामा ओर्लिइन् । तल थिए देव गुरुङसहितका नेताहरू । नेतामध्ये एकजनाले भने, ‘कमरेड दीपेशसँग तपाईंको बिहे गरिदिन लागेका छौँ ।’ अचानक आफ्नै बिहेको खबर सुन्दा ज्योतिलाई बिजुलीको नांगो तार समाएजस्तो लाग्यो । को दीपेश ? कहाँको दीपेश ? सम्झिन कोसिस गरिन् । तर, अहँ कुनै दीपेशको मुखाकृति आँखाअघि आएन । बल्लबल्ल सम्झिइन् ज्योतिले । सैन्य फर्मेसनमा हिँडिरहँदा आक्कलझुक्कल देखेकी थिइन्– दीपेशलाई । राइफल बोकेका दीपेश ज्योतिलाई एकोहोरो हेरिरहन्थे । ढोकाबाट बाहिरिँदै एक नेताले भने, ‘यो पार्टीको निर्देशन हो । मान्ने–नमान्ने तपाईंको स्वतन्त्रता ।’निर्देशन मान्नुपर्ने यो कस्तो स्वतन्त्रता ? ज्योतिलाई तनाव भयो ।

अम्खोराको पानीले मुख धोइन् । भित्तामा झुन्ड्याइएको चर्किएको ऐना हेरिन्– एक छिन टक्क रोकिएर । अनुहारमा लत्रिएको कपाल मिलाइन् । र, विवाहको मञ्चतिर अघि बढिन् ।
एकअर्काबीच माला साटासाट, टीका साटासाट भयो । तरर ताली बज्यो । देव गुरुङले एउटा पुस्तक उपहार दिए । एकाध मिनेटमै बिहे सकियो । गाउँले र जनसेनाले बधाई दिए ।
अब ज्योति बनिन् चन्द्रबहादुर गुरुङ (कमरेड दीपेश)की श्रीमती । दीपेश जनमुक्ति सेनाको प्लाटुन भाइस कमान्डर थिए । ज्योति विद्यार्थी संगठनको केन्द्रीय सदस्य थिइन् ।

घाम डुब्दै गएपछि दीपेशको सैन्य टोली लडाइँका लागि बिदा भयो । बिहान ९ बजे बिहे गरेका उनीहरू बेलुकी ४ बजे छुट्टिए । केही घन्टा मात्रै सँगै बसेका उनीहरूबीच के कुरा भयो, ज्योतिलाई सम्झना छैन । आफ्नो बिहेको खबर जिल्ला कमिटीलाई दिन देव गुरुङले एउटा कागजको चिर्कटो थमाए । अब ज्योतिसँग बिहे प्रमाण भन्नु त्यही कागजको टुक्रा थियो । चिठी लिएर पाल्पा फर्किन् । जंगलको बाटो हिँडिरहँदा जति सम्झन खोजे पनि श्रीमान्को सग्लो विम्ब आँखा अगाडि आएन । भन्छिन्, ‘जति सम्झन खोज्दा पनि उहाँको अनुहार यादै भएन ।’

०६० फागुनमा युद्धविराम भएपछि उनीहरूको भेट भयो । उनीहरू दीपेशको घर चितवन गए । जम्मा ६ दिन सँगै बसे । अनि फेरि छुट्टिए । युद्धविराम भंग भयो । फेरि चर्कियो– युद्ध । ०६१ मा दीपेश पक्राउ परे । सिभिल ड्रेसमा पक्राउ परेका दीपेशलाई एक सातापछि आर्मीले छाडिदियो । रिहापछि ज्योति र दीपेशले बेलुकी भेटे, बिहान छुट्टिए ।
फेरि पाल्पाको मार्सिडाँडामा ३ महिनापछि भेट भयो दीपेशसँग । त्यो भेट अविस्मरणीय थियो । दुईजना एउटै गन्तव्यका लागि हिँडे पनि त्यो दिन दुईजना दुई विपरीत यात्रामा निस्किएका यात्री थिए ।

भेटमा दीपेशसँग अंकमाल गरी ज्योतिलाई भन्न मन थियो, ‘कमरेड, पेटमा हाम्रो तीन महिनाको बच्चा छ ।’ तर, ज्योतिले अंकमाल गर्न सकिनन् । सामान्य तरिकाले भनिन् । दीपेश मुसुक्क हाँसे । दह्रो हात मिलाएर दीपेशले भनेका थिए, ‘कमरेड, चिन्ता नगर्नू । हामी चाँडै भेट्नेछौँ ।’ तर, कहाँ भेट्ने, कहिले भेट्ने, कसरी भेट्ने कुनै टुंगो थिएन । ज्योतिलाई फर्किफर्की हेर्दै दिपेश ओरालो झरे । निकै परसम्म ज्योतिले दीपेशलाई हेरिरहिन् । त्यही वेला पारि डाँडामा बन्दुक पड्किएको आवाज आएको थियो । युद्ध चर्किँदै थियो । यता ज्योतिको पेटमा बच्चा पनि हुर्किँदै थियो । बच्चा ६ महिना पुग्दा ज्योतिले अप्रिय समाचार सुनिन्– आफ्नै कान्छो भाइ युद्धमा मारिएको खबर । ज्योतिको दैनिकीमा अब वियोग थपियो ।

सेनाले सर्च अप्रेसन बढायो । विद्रोही र राज्यपक्षबीच दैनिक दर्जनौँ भिडन्त हुन थाले । पेटको बच्चा बढ्दै गयो । भाइको शोकमा रुँदारुँदै ज्योति दुब्लाउँदै गइन् । खाने टुंगो छैन । बस्ने टुंगो छैन । उता सेनाको गस्ती बढ्दो छ । यता पेटभित्र बच्चा पनि बढ्दै छ । रात–दिन हिँडेकोहिँड्यै । जंगलको बाटो । भिरको बाटो । खोलैखोला । भन्छिन्, ‘जिउ सुन्निन थाल्यो । हिँड्ने तागत हराउँदै गयो ।’

यता राजधानीमा ७ राजनीतिक दलका नेताहरू शान्ति–वाटिकामा फाट्टफुट्ट जम्मा भइरहँदा उता ज्योति पेटमा बच्चा बोकेर अनाम जंगलमा भोकै हिँडिरहेकी थिइन् । यता रुवीन गन्धर्व र गगन थापाहरूले प्रहरीको अश्रु ग्यासको सामना गरिहरहँदा उता ज्योति पेटमा बच्चा बोकेर भोकै कुनै भञ्ज्याङ काटिरहेकी थिइन् । हिँड्दाहिँड्दै ज्योति ढलिन् । स्थानीयवासीले डाक्टर खोजेर ल्याए । डाक्टरले भने, ‘ज्योतिलाई हामी बचाउन सक्दैनौँ । बचाउने भए कि काठमाडौं लैजानुस्, कि भारत ।’ आफन्त र पार्टी कार्यकर्ताले रातारात ज्योतिलाई सिमाना कटाए । उनी भारतको बम्बई पुगिन् ।

बच्चा बोकेरै जंगलतिर दौडिरहन्थिन्– सीतादेवी बौडेल । कहिल्यै पिठ्युँमा बोकिनन् बच्चा । सोच्थिन्, ‘सेनाले पछाडिबाट गोली दाग्यो भने पहिला मै मरुँ ।’

०६१ माघ ८ गते ज्योतिले बम्बईमा छोरी जन्माइन् । अर्को वर्ष मंसिरमा ७ राजनीतिक दल र माओवादीबीच दिल्लीमा १२ बुँदे सहमति भयो । छोरी जन्मेको १५ दिनपछि जंगलको कुनै एउटा डाँडाबाट दीपेशको फोन आयो । दीपेशले भनेका थिए, ‘एउटा लडाइँ जितियो । अब अर्को एउटा बाँकी छ । त्यसपछि पार्टीले बिदा दिन्छु भनेको छ । चाँडै भेट्न आउँछु ।’
दीपेशसँग फोन–विच्छेद भएको ८ दिनपछि ज्योतिलाई नेपालबाट एउटा अपरिचत नम्बरबाट फोन आयो । समाचार अप्रिय थियो । फोनले भन्यो, ‘दीपेशजी सहिद हुनुभो ।’ ज्योति बेहोस भइन् । होसमा आउँदा आफन्तबाट घेरिएकी थिइन् ।

भाषणमा सुनेकी थिइन्, ‘युद्ध निर्मम हुन्छ ।’ दस्ताबेजमा पढेकी थिइन्, ‘मृत्युमा हस्ताक्षर गरेर हिँड्नुपर्छ ।’ तर, युद्ध यति निर्मम होला भन्ने सोचेकी थिइनन् ज्योतिले । भाइको वियोग कम नहुँदै पतिवियोग थपियो । शोकलाई शक्तिमा बदल्नुपर्छ भन्ने सूत्र फिका भयो । छोरीको अनुहार एक झल्को देख्नै नपाई सधैँका लागि ओझेल परे, दीपेश । अन्तिमपटक भेट्दा त्यो मार्सिडाँडाबाट ओरालो लागेका दीपेश अब कहिल्यै नफर्किने बाटोतिर गए ।

३ महिनाको बच्चा बोकेर नेपाल फर्किइन् ज्योति । भाइ र श्रीमान्को पीडा मुटुभित्र गाँठो पारेर फेरि होमिइन् युद्धमा । युद्ध अन्त्य भइसकेको थिएन । बच्चा बोकेरै फेरि भिर, जंगल, खोला, गाउँबस्तीतिर हिँड्न थालिन् । बच्चालाई कहिल्यै पिठ्युँमा बोकिनन् । सधैँ अगाडि बोक्थिन् । सोच्थिन्, ‘सेनाले पछाडिबाट गोली दाग्यो भने पहिला मैं मरूँ ।’ सहरमा आन्दोलन चर्किँदै गयो । विद्रोहीले आक्रमण बढाउँदै लग्यो । यता रत्नपार्कमा प्रहरीले आन्दोलनकारी लखेट्दै गर्दा उता दुधेबच्चा च्यापेकी ज्योति भिरैभिर भागिरहेकी हुन्थिन् । यता कलंकी चोकमा प्रहरीले गोली बर्साइरहँदा उता नाइटभिजन हेलिकोप्टरले गोली बर्साइरहेको थियो । भन्छिन्, ‘चित्रेभञ्ज्याङमा नाइटभिजन हेलिकोप्टरले बम बर्सायो । म रातभरि बच्चा बोकेर भागिरहेँ ।’

युद्ध रोकियो । माओवादी सहर पस्यो । पहिलो संविधानसभाको निर्वाचनमा नवलपरासी ३ बाट ज्योति प्रत्यक्षतर्फको उम्मेदवार भइन् । र, जितिन् पनि । अब विभेदविरुद्धको कानुन बनाउन संविधानसभा धाउन धालिन् । मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्त समितिमा बसेर काम गरिन् । पहिलो संविधानसभा भंग भएपछि उनी पनि दुःखी भइन् ।
युद्धपछि अन्तरजातीय विवाह भटाभट टुट्न थाले । नेतादेखि कार्यकर्तासम्म पुरानो जात र नाममा फर्किन थाले । दलनको पर्खाल भत्काउन युद्धमा हिँडेका मानिस अब फेरि दलनको सिकार हुन थाले । यो अर्को मोड हो, ज्योति अर्थात् सीताको । त्यो के भने, अजयकुमार खाती क्षेत्री ज्योतिको जीवनमा आए । उनी विश्वविद्यालयका एमफिल हुन् । युद्धकालीन अन्तरजातीय विवाहहरू टुक्रिरहेका वेला अजय र ज्योतिबीच प्रेम सम्बन्ध अंकुरायो ।

०७० मा अन्तरजातीय विवाह गरे । राजनीतिमा ज्योतिलाई सक्रिय हुन अजयले साथ दिइरहे । विद्यार्थीको केन्द्रीय सचिव हुँदै तत्कालीन माओवादी पार्टीको पोलिटब्युरो सदस्यसम्म भइन् । ०७० को निर्वाचनमा पराजित भइन् । उमेरले चार दशक काट्दा उनको सक्रियता झनै बढेको छ । युद्धपछि उनले प्लस टु पनि पास गरिन् । छोरी दीपशिखा गुरुङ अहिले १४ वर्षकी भइन्, छोरा साढे ३ वर्षको । छोरी–छोरा श्रीमान्ले हेरिरहेका छन् ।

प्रदेश सचिवालय सदस्यको जिम्मेवारीमा रहेकी ज्योति अहिले जिल्ला राजनीतिमा व्यस्त छिन् ।  वेलावेला काठमाडौं आउँदा ज्योतिकी छोरी भविष्यको सपना सुनाउँछिन्, ‘आमा म एस्ट्रोनोमी (खगोल शास्त्र) पढ्ने ।’ छेउमै मुस्कुराइरहेका अजय छोरीको टाउकोमा सुमसुम्याउँदै भन्छन्, ‘म जग्गा बेचेर भए पनि तिमीलाई पढाउँछु छोरी ।’ज्योतिलाई अहिले पनि सरस्वती पूजाको त्यो दिन सम्झना आउँछ । त्यो एक दिनको घटनापछि मोडिएको जीवन–यात्रा अझै जारी छ । यो यात्राको बिसौनी कहाँ हो, उनलाई थाहा छैन । भन्छिन्, ‘समाजमा असमानता र विभेद रहेसम्म मेरो यात्रा जारी रहनेछ ।’

यो सामाग्री नयाँ पत्रिकाको झननायँबाट जस्ताको तस्तै साभार गरिएको हो ।

 


प्रकाशित | २५ जेष्ठ २०७६, शनिबार ०९:०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

error: Content is protected !!