यसरी खुल्यो दलितलाई पशुपतिको ढोका

विश्वास खड्काथोकी

यदि न्हुछेनारायण कपालीका छोरा रतनमानलाई ‘बिफर’ रोगले नच्यापेको भए अहिले पनि पशुपति मन्दिरको मुलगेटमा ‘अछुतलाई प्रवेश निषेध’ लेखिएको बोर्ड हुन सक्थ्यो । कुनै दिन हट्थ्यो पनि होला । तर, थाहा थिएन त्यसका लागि २०१० सालपछि कति वर्ष कुर्नुपर्थ्यो ।

पशुपति मन्दिरमा प्रवेश गरी ढुंगाको मूर्ति पुज्नका लागि एकथरी मानिसले आन्दोलन नै छेड्नुपर्‍यो, जसलाई समाजले ‘अछुत’ नाम दिएको छ । उनीहरु पनि अरुजस्तै सामान्य मान्छे नै थिए, जसको शरीरभित्र रातो रगत नै बग्थ्यो । तर, उनीहरु अरु मान्छेबाट छुइन योग्य मानिन्नथे । ढुंगाका भगवानको दर्शन गर्न योग्य मानिन्नथे । सात धाममध्येका एक पशुपतिनाथभित्र पस्न योग्य मानिन्नथे ।

यस्तो मानकलाई भत्काउनका लागि सयौं दलित अधिकारकर्मीहरु सडकमा निस्किएर पशुपतिको ढोका ढक्ढक्याउन पुगे । थुप्रै हिरासत(जेल गए । २०१० सालमा त्यसरी कानूनी लडाई लड्ने अभियन्ताहरु खोज्ने क्रममा भेटिइन् – सरस्वती दर्नाल ।

अहिले ७५ वर्ष पुगेकी दर्नाल बिद्रोहको बिगुल फुक्दै पशुपति पुग्दा जम्मा ९ वर्षकी थिइन् ।

दर्शन गरेर फर्केपछि जुलुस

पूर्खाले देख्न नपाएको पशुपतिलाई सरस्वतीले नजिकैबाट अवलोकन गर्ने सौभाग्य पाइन् । यदि उनीहरुलाई कसैले जात सोधेको भए त्यतिबेलाको मान्यताअनुसार पशुपति मन्दिर ‘बिटुलो’ बनिसक्थ्यो

माघको कठ्याङ्ग्रिदो चिसो । एक दिन काकाका छोरा शिवशरण दर्नालले सरस्वतीलाई भने, ‘हामी पनि पशुपति जाऔं ।’ कुनै सवाल नगरी सरस्वती दुई वर्ष जेठा दाइको पछिपछि लागिन् ।

उनीहरु पशुपति मन्दिरभित्रै छिरे । पशुपतिका मूर्तिलाई दूधले नुहाइदिएको हेरे । नित्य पूजा देखे । पूर्खाले देख्न नपाएको पशुपतिलाई सरस्वतीले नजिकैबाट अवलोकन गर्ने सौभाग्य पाइन् । यदि उनीहरुलाई कसैले जात सोधेको भए त्यतिबेलाको मान्यताअनुसार पशुपति मन्दिर ‘बिटुलो’ बनिसक्थ्यो ।

काका सत्यकुमार दर्नालले पशुपतिको आन्दोलनमा आउनुपर्छ भनेका थिए । त्यसैले उनीहरु त्यहाँ पुगेका थिए । तर, उनीहरुले आन्दोलनकारी नै चिन्न सकेनन् । त्यसैले मन्दिर दर्शन गरेर घर फर्किए ।

क्षेत्रपाटी, कालधारामा थियो उनीहरुको घर । उनीहरु कमलपोखरी हुँदै विश्वज्योती हलनेरै पुग्न आँटेका थिए, ठ्याक्क काका सत्यकुमार ९झप्रे० भेटिए ।

सत्यकुमारले सोधे, ‘कहाँ हिँडेको ? ’

सरस्वतीले सत्य बताइन्, ‘पशुपतिबाट फर्केको ।’

झाप्रेसँग ठूलो हुल थियो । सरस्वती पनि त्यही हुलमा मिसिइन् र नारा लगाउँदै फेरि पशुपतितर्फ लागिन् ।

आन्दोलनकारीको माग थियोे, ‘हामी पनि पशुपति प्रवेश गरी पूजा गर्न पाउनुपर्छ । जातीय छुवाछुतको अन्त्य हुनुपर्छ ।’

त्यसबेलाको क्षण सम्झिँदै सरस्वती भन्छिन्, ‘त्यस्तै ७०र७५ जना थियौं । हामी पशुपतिको गेटभित्र पस्न चाहन्थ्यौं । तर, गेटमा ताला मारिएको थियो’ ।

सरस्वतीसँग धुमिल सम्झना छ, ‘विहानको त्यस्तै ११ बजेको हुँदो हो, प्रहरीहरु आएर हामीलाई समाते, अनि ट्रकमा कोचेर हनुमानढोका पुर्‍याए ।’

सरस्वती हनुमान ढोकासम्म त पुगिन् । तर, उनलाई राम्रोसँग थाहा थिएन कि यो सब किन भइरहेको छ ?

पशुपतिमा प्रवेश गर्न पाउनुपर्छ भनेर नारा लगाए पनि उनले त केही अगाडि मात्रै निर्वाधरुपमा पशुपति मन्दिरभित्र छिरेर दर्शन गरेकी थिइन् ।

फेरि आन्दोलन

न्हुच्छेनारायण कपालीका छोरा रतनमानलाई बिफर रोगले च्याप्यो । त्यतिबेला रतनमान मात्र होइन, बिफरको प्रकोपले देशलाई नै आक्रान्त पारेको थियो । त्यतिबेला हस्पिटल खुलेका थिइएनन् । मानिसहरु झारफुक र बैद्यमा भर पर्थे ।

पशुपति क्षेत्रभित्र रहेको शीतला माईको दर्शन गरे बिफरबाट बच्ने जनविश्वास थियो । त्यसैले न्हुच्छेनारायणले पनि आफ्नो छोरालाई लिएर पशुपतिको शीतला माई मन्दिर पुगे ।

हुन त पशुपतिको गेटमै अछुतलाई प्रवेश निषेध लेखिएको थियो । तर, न्हुच्छेनारायणले त्यो नियमलाई पालना गरेर आफ्नो छोरा लास भएको हेर्न सक्दैनथे । भलै त्यसबेलाकै संविधानले धर्म, जातजातिका आधारमा भेदभाव नगर्ने सुनिश्चित गरेको थियो । तर, व्यवहारमा छुवाछुत प्रथाले जरा गाडेकै थियो ।

उपचारका लागि पशुपति पुगेका न्हुच्छेनारायण र छोरालाई प्रहरीले चौकीमा पुर्‍यायो । र, अर्को दिन प्रशासनले जेल चलानको निर्णय सुनायो ।

न्हुच्छेनारायण सहश्रनाथ कपालीका भाइ थिए । शहश्रनाथ उनै हुन्, जसको नेतृत्वमा २००४ सालमै टेलर युनियनको गठन भएको थियो । उनी दलित नेवार थिए । २००८ मा उनकै नेतृत्वमा जातजोड मण्डल गठन भयो । र, त्यो २००९ सालमा समाज सुधारक संघमा परिणत भयो । आहुतीका अनुसार यो त्यस्तो संगठन थियो, जसले सबै दलितलाई एउटै छातामुनि गोलबद्ध गरी अगाडि बढेको थियो । दलित उत्पीडनविरुद्ध आवाज मुखरित गरेको थियो ।

त्यही समाज सुधारक संघले न्हुच्छेनारायण र रतनमान पक्राउ पर्नुको कारण खोज्यो । प्रशासनले जवाफ दियो, ‘अछुत जाति भएर मन्दिर प्रवेश गरेकाले पक्राउ गरियो ।’

त्यो समय दलित बालबालिकाहरुलाई छिमेकीका गैरदलितसँग खेल्न त के, बोल्नसमेत बन्देज थियो । धारा र कुवा क्षेत्रमा तोकिएको घेरा नाघेर जान पाउँदैनथे दलितहरु । छोइए छोइछिटो हालेर चोख्याउनुपथ्र्यो । तर, सदिऔँदेखि उत्पीडन भोगेका दलित समुदायलाई यस्तो घेरा आफ्नै घाँटीमा लगाएको पासोजस्तो बनेको थियो । आफूमाथि संस्कार नभइ उत्पीडन लादिएको बुझेपछि भगत सर्वजति विश्वकर्मा, सहश्रनाथहरु मुक्तिको बाटोको खोजीमा थिए ।

रतनमानको बिफरले नै दलित समुदायलाई बिस्फोटक बनायो । उक्त आन्दोलनमा दलित मात्र नभएर गैरदलित देवीलाल श्रेष्ठ, कृष्णप्रसाद शर्मा, नूतन थपलिया, बासु पासालगायतले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको भिके गहतराज पुस्तकमा उल्लेख छ । त्यही आन्दोलनको एउटा हिस्सा बन्न पुगेकी थिइन् सरस्वती दर्नाल ।

आन्दोलनकारीलाई हनुमानढोका पुर्‍याएपछि सिधै तीन तला उकालियो । सरस्वतीलाई आन्दोलनकारीले हिल जुत्ता र सल दिए । उनलाई सिकाइएको थियो, ‘उमेर १६ वर्ष भन्नु । हामी देउता पुज्न गएको । हामी पूजा गर्न जान किन नहुने रु हामी पनि मान्छे नै हौं । काटे रगत सबैको रातो नै आउँछ ।’

तर, उनलाई कसैले केही सोधेन । सरस्वतीलाई हाइसञ्चो भयो । केही छिनपछि उनीहरुलाई तीनबाट भुँइतलामा झारियो । त्यो हिरासत थियो ।

‘त्यहाँ थुप्रै मानिस थिए । राम्रोसँग उज्यालो पनि छिर्ने थिएन । केटाकेटी बस्ने छुट्टा(छुट्टै ठाउँ थियो । हामी बस्ने ठाउँ जानका लागि एउटा ढोका उघारेर छिनुपर्ने रहेछ । सानो कोठा, छेउमै फोहोरको ढल । दुईरतीनजना महिला खाटमाथि बसिरहेका’, सरस्वती सम्झना सुनाउँछिन् ।

एकछिनपछि सरस्वतीले लोग्नेमान्छेतर्फ हेरिन् । बीचमा एउटा ठूलो रुख । इँट्टा ओच्छाइएको चिसो भुँई । त्यसमा इँट्टाकै बरन्डा । त्यसैमाथि बसिरहेका थिए आन्दोलनकारी । एकछिनपछि त्यसैमध्येका एकजना उठेर आए र नारावाजी गर्न थाले । सरस्वती ती नारा बुझ्ने अवस्थामा थिइनन् । बरु एकछिनपछि रोइकराई गर्न थालिन् । न्हुच्छेनारायणले भने, ‘भोलिबाट तिमीलाई जेरी स्वारी आउँछ, नरुनू ।’

तर, सरस्वती रोइरहिन् ।

अर्को बिहान उनी मोतिमाया कपालीको काखमा थिइन् ।

सरस्वतीको स्मृतिको पत्र उघ्रिदै जान्छ, ‘उहाँलाई नै आमा मानेँ । माया गरेर सुताउनुहुन्थ्यो । जेरी पुरी स्वारी खाँदै बस्दै ।’

त्यही बीचमा सरस्वती पूजा पर्‍यो । सरस्वतीले त्यसै दिन जेलमा आफ्नी आमालाई पनि देखिन् । अनि बलिन्द्रधारा आँसु पुछ्दै आमातर्फ दौडिइन् । उनलाई प्रहरीले रोक्यो । आमाको न्यानो अंगालो स्पर्श नै गर्न पाइनन् ।
‘एक महिना पुगेपछि माग पूरा भयो रे भने । खुशी हुँदै निस्कियौं । बाहिर निस्केर अविर माला लगायौं । फेरि माग पूरा भएन रे भन्ने खवर अयो । अनि फेरि हुरुरु जेलमै कोचियौं,’

सरस्वती सम्झन्छिन्, ‘मलाई माग पूरा नभई जान मिल्दैन भन्दै भुलाउनुभयो । त्यतिबेला सरस्वती पूजामा जेलभित्रै गाएको गीत याद छ । मानिसहरु बेलाबेला उठेर भाषण गर्थे, गीत गाउँथे । अरु धेरै कुरा त बिर्सिसकेंछु ।’ बरु उनलाई ठूल्ठूला भाँडामा त्यहीँ पकाएको । जे कुरा भए पनि बाँडीचुडी खाएको याद छ ।

नेतृ मिठाइदेवी विश्वकर्मा त्यतिबेला पक्राउ परेकालाई हिरासतमा राजनीतिक कार्यकर्ताको दर्जा नदिइएको बताउँछिन् । उनीहरुलाई पहिलो दर्जाको खाना नदिइ चोर, डाँका र हत्यारा कैदीलाई दिइने सिदा दिइन्थ्यो । त्यसको विरोधमा ‘दिने भए पहिलो दर्जाको सिदा देऊ, नत्र हामी लिँदैनौँ’ भनी खाना नै बहिस्कार गरेका थिए उनीहरुले । ‘दलनविरुद्ध प्रतिरोध’मा लेखिएको छ, ‘सरकारले गिरफ्तारी गरिनसक्नुभयो, जेल भरिएर अटाइसक्नु भएन, हाहाकार मच्चियो ।’

उक्त आन्दोलन तीन हप्तासम्म चलेको चर्चा धेरै ठाँउमा भेटिन्छ । तर, सरस्वतीलाई आफू हिरासतमा एक महिना बसेजस्तो लाग्छ । ‘एक महिना पुगेपछि माग पूरा भयो रे भने । खुशी हुँदै निस्कियौं । बाहिर निस्केर अविर माला लगायौं । फेरि माग पूरा भएन रे भन्ने खवर अयो । अनि फेरि हुरुरु जेलमै कोचियौं ।’

तर, राजधानीमा के भइरहेछ भन्नेमा हिरासतभित्र सरस्वती बेखवर थिइन् । बरु दुर्गमको रेडियोवालले समाचार सुनेर थाहा पाए कि १

साइन बोर्ड हट्यो

माघ १९ मा तत्कालीन गृहमन्त्री टंकप्रसाद आचार्य र समाज सुधारक संघका प्रतिनिधिबीच वार्ता भयो । पशुपति प्रवेश संघर्षलाई व्यवस्थित गर्न सिद्धिबहादुर खड्कीको संयोजकत्वमा ‘पशुपति मन्दिर प्रवेश संघर्ष समिति’ गठन भएको थियो ।

त्यस्तै, माघ २३ गते पशुपति मन्दिर प्रवेशको विषयमा नै तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासँग छलफल भएको थियो । र, २० फागुनको शिवरात्रीका दिन पशुपति मन्दिर प्रवेश गर्ने सम्झौतापछि आन्दोलन स्थगित भएको ‘दलनविरुद्ध प्रतिरोध’ जर्नलमा उल्लेख छ ।

सरस्वती आफ्नै लयमा र्फकन्छिन्, ‘त्यसको एक हप्तापछि भने माग पूरा भयो ।’

त्यतिबेला एकजनालाई गेरुवस्त्र धारण गराई आन्दोलनकारीहरु विरोधको झण्डासहित होम यज्ञ गर्दै पशुपति परिसरमा आत्मसम्मानको अनुभुत गर्दै थिए । मन्दिर प्रवेश गरी राजा त्रिभुवनको स्वास्थ्य लाभको कामना गर्दै चक्रपूजासमेत उनीहरुले गरे ।

त्यतिबेलासम्म पशुपतिको पर्खालमा टाँसिएको ‘अछुतलाई प्रवेश निषेध’ साइनबोर्ड हटिसकेको थियो । त्यति नै बेला दलितको मुटुमा ठोकिएका थुप्रै अपमानका किल्लामध्ये एउटा निस्किएको थियो ।

(यो सामाग्री अनलाईनखबरबाट जस्ताको तस्तै साभार गरिएको हो )


प्रकाशित | २७ फाल्गुन २०७५, सोमबार २०:४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *