दलित आन्दोलनले एकजना हितैषी गुमाएको क्षण

सम्झनामा रवीन्द्र अधिकारी

हामी दलित गैरसरकारी संस्था महासंघको कार्यकक्षमा हालसालै धनुषा जिल्लाको मिथिला ३ नगर पालिका हरिहरपुर गाउंमा वलात्कार पछि हत्या गरिएकी ११ वर्षकी वोल्न र सुन्न नसक्ने रेशमा रसाईलीलाई कसरी न्याय दिलाउन सकिन्छ भन्ने छलफलमा व्यस्त थियौं । अहिलेको प्रविधिलाई धन्यवाद दिनेकी गाली गर्ने, किनभने सो छलफलमा भेला भएका केही सहभागीहरुको ध्यान मोवाईल र विभिन्न अनलाईन खवरहरुमा थियो । अतः स्वाभाविक रुपमा त्यसमा आएका समाचार मध्ये पर्यटन मन्त्री समेत सवार भएको हेलिकप्टर दूर्घटनामा परेको समाचारले त्यहाँ उपस्थित सवैलाई स्तव्ध वनायो ।

हामी सवैले आशा गर्यौं त्यो केवल एउटा सामान्य दूर्घटनामै सीमित रहोस् र घाइते नै सहि सवैजना जीवित रहुन भन्ने कामना गर्यौं । तर नीयतिमा जे हुनु पर्ने थियो त्यो भई सकेको हुंदा हाम्रो कामना केवल कामनामै सीमित रहन धेरै वेर लागेन । त्यस पछि आएका लगातारका समाचारले हेलिकप्टरमा सवार कोही पनि जीवित रहन नसक्ने कुराको पुष्टि गरे । त्यस पछि हामी सवैको एउटै निश्कर्ष रह्यो । देशले एउटा कु्शल युवा नेता त गुमायो, दलित आन्दोलनले एउटा असल मित्र तथा हितैषी पनि गुमायो ।

दलितहरु आर्थिक, सामाजिक र राजनैतिक दृष्टिकोणवाट अत्यन्तै पछाडी परेको कुनै वहसको विषय होइन, किनभने यसलाई नेपाल राज्य तथा समाजले स्वीकार गरेको कुरा हो । संस्कृति र कलामा अत्यन्तै धनी तर त्यसको सम्वद्र्धन र प्रवद्र्धन नभएको अर्को कटु यथार्थ हो । यसले गर्दा दलितहरुको साहित्य, कला, संस्कृति तथा अन्य विधाहरुको खोज, अनुसन्धान तथा श्रृजना नहुंदा यो विलुप्त हुने अवस्थामा रहेको छ । यसलाई सम्वद्र्धन र प्रवद्र्धन गर्नको लागि अग्रज दलित नेता, लेखक तथा साहित्यकारहरुको अगुवाईमा विगत २५ वर्ष देखि नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान कार्यरत रहेको छ । तर यसको गतिविधिहरु यसका सदस्य तथा हितैषीहरुको सहयोगमा जेनतेन अगाडि वढाउने कार्य भई रहेको थियो । नेपालमा तीन तीन वटा साहित्य, कला, संगीत तथा नाट्य विधामा काम गर्नको लागि प्रतिष्ठानहरु सकृय छन् तर त्यसमा नतः दलित श्रष्टाहरुको उपस्थिति वा प्रतिनिधित्व छ नतः तिनीहरुले कुनै दलितका लागि रचनात्मक कार्यहरु गरिरहेका छन् । यस्तो परिस्थितिमा दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले आफुलाई टुहुरो महसुस गरी रहेको थियो । स्वर्गीय रविन्द्र अधिकारीले नेतृत्व गरेको पर्यटन तथा संस्कृति मन्त्रालयले विभिन्न संघ संस्था तथा प्रतिष्ठानहरुलाई करोडौं रुपिया उनीहरुका विभिन्न गतिविधिहरु संचालन गर्नलाई वर्षेनी प्रदान गर्दै आएको थियो, तर दलितका कुनै पनि संघसंस्थाहरु त्यसमा अटाएका थिएनन् ।

गत वर्ष दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले पर्यटन तथा संस्कृति मन्त्रीलाई प्रमुख अतिथि वनाएर एउटा साहित्यिक भेलाको आयोजना काठमाडौं जिल्ला विकास समितिको कार्यकक्षमा गरेको थियो । सो कार्यक्रममा आफ्नो छोटो सम्वोधनमा उनको जिम्मामा रहेको मन्त्रालयवाट दलित साहित्य तथा संस्कृति प्रतिष्ठानलाई आर्थिक सहयोग प्रदान गर्ने वचन दिए । सो वचनलाई उनले आफ्नो मन्त्री स्तरीय निर्णयवाट रु २० लाख प्रदान गर्ने स्वीकृति प्रदान गरेर गरे । आर्थिक वर्षको अन्त्यतिर सो रकमको स्वीकृति प्राप्त भएको हुंदा त्यसको कसरी सदुपयोग गर्ने समस्या हामीलाई आई पर्यो । सो रकमलाई हाम्रो साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा हामीले प्रयोग गर्नुपर्ने थियो तर एक महिनाको अवधिमा सो गर्न संभव थिएन । किनभने सरकारवाट निकासा हुने सो रकम हामीले खर्च गरेर विल भौचर समेत फस्र्यौट गर्नुपर्ने थियो । सो रकमलाई हामीले संस्थाको नाउंमा सम्पत्ती जोड्ने कार्यमा खर्च गर्र्यौ र सो २० लाख वाट ललितपुरको छम्पीमा हामीले जमिन किनेका छौं । सो जमिन अहिले नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको नाउंमा रहेको छ । संस्थालाई आवश्यक परेको वखत त्यसको वेचविखन गरेर उपयोग गर्न सकिने भएको छ । यो उपलव्धी प्राप्त हुनुको श्रेय स्वर्गीय मन्त्री अधिकारीलाई नै जान्छ ।

मन्त्रालयवाट दलित साहित्य तथा संस्कृति प्रतिष्ठानलाई आर्थिक सहयोग प्रदान गर्ने वचन दिए । सो वचनलाई उनले आफ्नो मन्त्री स्तरीय निर्णयवाट रु २० लाख प्रदान गर्ने स्वीकृति प्रदान गरेर गरे ।

विगत ३ वर्ष देखि पर्यटन नागरिक उड्डयन तथा संस्कृति मन्त्रालयले एउटा भव्य कार्यक्रमको आयोजना गरि दलितको अधिकार तथा उन्नतिमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरु मध्ये दुई जना दलित र एक जना गैरदलितलाई रु १, १ लाखका दरले भगत सर्वजीत मानव मर्यादा पुरस्कार प्रदान गर्ने गरेको छ । सो पुरस्कार छनोट समितिको सदस्यमा यो लेखक पनि रहेको छ । सो मन्त्रालयले प्रदान गर्ने भाषा, संस्कृति, कला तथा संगीतका विधाहरुको पुरस्कार छनोट समितिको अध्यक्ष पर्यटन मन्त्री रहने व्यवस्था छ । सोही व्यवस्था अनुरुप भगत सर्वजीत मानव मर्यादा पुरस्कार छनोट समितिको अध्यक्ष पनि उनी नै थिए । मेरो जीवनको रवीन्द्र अधिकारीसंग प्रत्यक्ष र अन्तिम भेट त्यहि हुन पुग्यो । मलाई अझै पनि सम्झना छ, उनले सो वैठकमा व्यक्त गरेका भावना र विचारहरु । उनले भगत सर्वजीत विश्वकर्माको वारेमा पनि आवश्यक जानकारी राखेको देखियो र उनले विशेष जोड पुरस्कारको महत्व तथा गरिमालाई जोगाउन र त्यसमा निष्पक्षता कायम गर्नमा दिए । उनले हामीलाई पटक पटक अनुरोध गरे, जो व्यक्तिहरु पुरस्कार छनोटमा परेका थिए उनीहरु साच्चैकै दलित आन्दोलन तथा सवालमा विशिष्ट योगदान पुर्याएका थिएकी थिएनन भनि प्रश्न गरिरहे र हामीले तीनै जना व्यक्तिहरु विशिष्ट हुन भन्ने विश्वास दिलायौं । पुरस्कार पाउने तीन जना व्यक्तिहरु थिए दलितका तर्फवाट प्राध्यापक तथा सांसद पद्मलाल विश्वकर्मा, पूर्व मोरङका पुराना दलित नेता दलवीर रसाईली र पत्रकार तथा कलमनिष्ट राजेन्द्र महर्जन । यिनीहरुको वारेमा पनि मन्त्री अधिकारीलाई जानकारी रहेछ र पुरस्कार छनोट समितिकै मात्र उनले भर नपरेर आफ्नो पनि स्वविवेक प्रयोग गरेर सो पुरस्कारको छनोटलाई आधिकारिकता प्रदान गरे ।

रवीन्द्र अधिकारी तेश्रो पुस्ताको एक जना होनहार देशकै नेता थिए भन्ने कुरामा उनका विरोधीहरु पनि सहमत भएको विषय हो । उनको देहावसानले देशलाई अपूरणीय क्षति भएकै छ । नेपालको दलित आन्दोलनले समेत एउटा ठूलो हितैषी गुमाएको छ ।

माथि उल्लेख गरेका दुईवटा घटना मैले आफैले रविन्द्र अधिकारीसँग प्रत्यक्ष भेट हुंदा भएका हुन् । त्यो देखि वाहेक सरकारले स्थानीय तह संचालन विधेयक संसदमा छलफल तथा पारितको लागि पठाएको थियो । त्यसका दलित लगायत अन्य सरोकारवालाहरुसंग खासै छलफल गरिएको थिएन । करीव ७५ पृष्ठ लामो सो विधेयकलाई मैले दलितको दृष्टिकोणवाट समीक्षा तयार गरेको थिएं । सो समीक्षाको कार्यक्रमको अन्य केही सांसद सहित रवीन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा उपस्थित थिए । सो समय उनी संसदको विकास समितिको सभापति थिए । सो कार्यक्रममा उनले आफ्नो मन्तव्य व्यक्त गर्दै भनेका थिए, सो विधेयक संविधान कार्यान्वयनको सिलसिलामा अत्यन्तै महत्वपूर्ण विधेयक हो, त्यसमा दलितका यतिका धेरै सवाल भएको कुराको म जानकार थिइन । सो विधेयकमा दलितको पक्षवाट संसोधन हालेर पारित गराउन समय धेरै घर्कि सकेको छ तर पनि अन्य दलितका सांसदहरुले संसोधनको प्रस्ताव ल्याएमा समितिको सभापतिको हैसियतले पूर्ण सहयोग गर्नेछु । अपर्याप्त समयको कारणले सो विधेयकमा हाम्रो अनुकुलको संसोधन हुन सकेन तर पनि रवीन्द्र अधिकारी हाम्रो सवालमा कति संवेदनशिल थिए भन्ने कुरा उनको अभिव्यक्तिवाट प्रष्ट थाहा पाउन सकिन्छ ।

रवीन्द्र अधिकारी तेश्रो पुस्ताको एक जना होनहार देशकै नेता थिए भन्ने कुरामा उनका विरोधीहरु पनि सहमत भएको विषय हो । उनको देहावसानले देशलाई अपूरणीय क्षति भएकै छ । नेपालको दलित आन्दोलनले समेत एउटा ठूलो हितैषी गुमाएको छ । समग्र दलित आन्दोलनको तर्फवाट उहाँमा हार्दिक श्रद्धान्जली ।


प्रकाशित | १६ फाल्गुन २०७५, बिहीबार २१:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *