रविन्द्र अधिकारीको निधनले दलितका सपनाहरु टुहुरा भए !

आज अत्यन्त, दुखद, अकल्पनीय र हृदयविदारक समाचारले मलाई, हामी सवैलाई मर्माहत बनाएको छ । दिउँसैदेखि भाइरल भएको समाचार हल्ला मात्र होस् भन्ने कामना गर्दागर्दै एकै क्षणमा साश्वत सत्य भइदिँदा हामी सवैलाई एकछिन त मुर्छित बनायो । तर सत्य त्यही रहेछ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री, मुलुकको उज्यालो नक्षेत्र, हाम्रा मनका नेता रविन्द्र अधिकारीले सधँका लागि यो संसारबाट विदा लिनु भयो । हिजो पाथीभराबाट काठमाडौं फर्किने क्रममा उहाँ ताप्लेजुंङको भीरमा हेलिकप्टर दुर्घटनामा पर्नुभयो ।
कमरेड अधिकारीसंग ५, ६ वटा कार्यक्रममा एउटै मञ्चमा बसेर भाषण गर्ने मौका पाइयो । युवासंघ नेपाल कास्की जिल्ला कमिटीको आयोजनामा पोखराको वृद्धाश्रममा भएको राहत वितरण कार्यक्रममा युवासंघको उपाध्यक्षको नाताले म प्रमुख अतिथि र उहाँ विशेष अतिथि हुनुहुन्थ्यो । उहाँ केन्द्रीय नेता : मलाई अति संकोच लागिरहेको थियो । सो संकोचले उहाँको अगाडि खुलेर भाषण गर्नै सकिएन । उहाँले मलाई धाप मार्दै मुसुक्क हाँसेर भन्नुभयो– “संकोचको कुरा हुन्न सरोजजी । तपाई केन्द्रीय नेता भएर प्रमुख अतिथि, म जिल्लाको नेता भएर अतिथि मात्रै ।’ पछिल्लोपल्ट, नेपाल दलित साहित्य प्रतिष्ठानको प्राज्ञसभामा उहाँलाई प्रमुख अतिथि बनाइएको यियो । तर उहाँ नआउने खवरले हामीले नीनु चापागाईंलाई प्रमुख अतिथि बनाइसकेका थियौं । फेरी एकैक्षणमा उहाँ कार्यक्रममा उपस्थित हुँदा हामी सवैलाई संकोच लाग्यो । उद्घोषकको नाताले अझ ज्यादा मलाई सरम लाग्यो । हामीले फेरी उहाँलाई विशेष अतिथि बनाएर आसन ग्रहण गरायौं । त्यसवेला पनि हाँसेरै भन्नुभयो– “मलाई पद र मानसम्मानको त्यति साह्रो लालच छैन । तपाईले बोलाउनु भयो । सकेसम्म समय निकालेर आएँ । अझ यो समुदाय (दलित)संग म भावनात्मक रुपमा नजिक छु । यसो हुनाले भक्तपुरको कार्यक्रम छोट्याएर यसलाई प्राथमिकता दिएको हुँ ।’

हाँसेरै भन्नुभयो– “मलाई पद र मानसम्मानको त्यति साह्रो लालच छैन । तपाईले बोलाउनु भयो । सकेसम्म समय निकालेर आएँ । अझ यो समुदाय (दलित)संग म भावनात्मक रुपमा नजिक छु । यसो हुनाले भक्तपुरको कार्यक्रम छोट्याएर यसलाई प्राथमिकता दिएको हुँ ।’

 

हो, गणतन्त्रको स्थापनापछि जातीय सवालले उचाई लिइरहँदा दलितले आयोजना गरेका कार्यक्रमहरुमा तछाडमछाड गरेर फाल हान्दै आउने गैरदलित नेताहरु पछिल्लो समयमा जति निम्त्याए पनि आउन छाडेका छन् । तर कमरेड रविन्द्र वेफुर्सदीका वावजुद सो कार्यक्रममा आउनु भयो र हाँसीहाँसी हामीले घटुवा गरेको मानलाई स्वीकार्दै हाम्रो प्रतिष्ठानलाई २० लाख दिने घोषणा गर्नुभयो । अन्य गैरदलित संस्थालाई दिइने रकमको अनुपातमा यो अति न्युन भएपनि सायद दलित संस्थालाई यति ठूलो रकम घोषणा गर्ने पहिलो मन्त्री उहाँ नै हो । उक्त रकमले हाम्रो प्रतिष्ठानले दलित सांस्कृतिक केन्द्र स्थापना गर्ने उद्देश्यले केही रकम थप गरी गोदावरीमा जग्गा खरिद गर्नसक्यो । यसवर्षका लागि पनि विभिन्न संस्थाहरुले अनुदान पाउदैछन् । तिनीहरुमध्ये हाम्रो मिशनलाई सहयोग गर्न उहाँले प्रतिवद्धता जनाइ सकेको सहयोग गर्ने वचन दिनुभएको थियो ।
दलित समुदायको सांस्कृतिक सुन्दरतालाई संस्कृति र पर्यटनसंग जोडि प्रवद्र्धन गर्नुपर्छ भन्नेमा उहाँ सकारात्मक हुनुभएको थियो । विगतका दिनमा पनि सभासदका हैसियतमा दलितका कार्यक्रमहरुमा आइ यो समुदायका लागि पहिलो प्राथमिकता दिएर केही गर्नुपर्छ भन्ने सोच राख्ने नेता हुनाले सिंगो दलित समुदायले उहाँबाट कुनै न कुनै अपेक्षा राखेका थिए । साहित्य प्रतिष्ठानले समेत उहाँबाट हाम्रो अभियानमा सहयोग हुनेमा आशावादी हुँदै दलित समुदायका विभिन्न सुन्दरताका विषयमा वृहत अध्ययन गर्ने सांस्कृतिक केन्द्र स्थापना गर्ने सपना देखेका थियो । ती सपनाहरु उहाँको असामयिक निधनसंगै स्थगन हुनपुगेका छन् ।

क्याविनेटमा दलित समुदायको एकजना मन्त्री वहाल रहे पनि मन्त्रालयको स्वरुप र कार्यक्रमका दृष्टिले त्यहाँ हाम्रो सहजै पहँुच छैन । अन्य मन्त्रालयहरु ठूलाठूला सामन्तका दरवार जस्ता लाग्छन् । तर मन्त्री रविन्द्र अधिकारीसंग व्यक्तिगत रुपमा नजिकको भावनात्मक सम्वन्ध भएको र दलित समुदायको सांस्कृतिक पक्षसंग उहाँ परिचित भएकोले उहाँको मन्त्रालयसम्म जानआउन हामीलाई सहज बनेको थियो । त्यसैले दलितका धेरै संस्थाहरु सो मन्त्रालयसंग नजिकिदै थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको द्रुतकर काम, निजगढ विमानस्थलको शुरुवातको व्यस्तता तथा वाइडवढी जहाज खरिदमा वेर्होनु परेको सर्वत्र आलोचनाका कारण उहाँले सवैतिर समय दिन पाउनुभएको थिएन । तर दलित हितमा ढिलोचाँडो भेटघाट गरी पिएहरुलाई यो काम गरिदिनु भनेर निर्देशन दिनुहुन्थ्यो ।

मन्त्री अधिकारीबाट सकारात्मक पहलकदमी हुने तथा यो समुदायको सामाजिक–सांस्कृतिक अवस्थालाई उकास्न भविष्यमा समेत अझ बढी सहयोगमा हुनेमा हामी सवै विश्वस्त थियौं । तर अव उहाँको अभावमा सो मन्त्रालय फेरी विरानो सामन्तको दरवारजस्तो हुन पुगी दलितका अभिलाषाहरुलाई टुहुरो बनाउने डर पैदा भएको छ ।

 

यतिवेला दलित, उत्पीडित तथा पछाडि पारिएका समुदायका क्षेत्रमा संस्कृति र साहित्यको पाटोबाट गर्नुपर्ने थुप्रै कामहरु रहेका छन् । दलितहरुको आफ्नो परम्परागत सीप, कला, गीत–संगीत तथा दलित दर्शन र सामाजिक सौन्दर्यका विषयमा थप खोज–अनुसन्धान तथा प्रवद्र्धन गर्नुपर्ने वृहत कार्यमा मन्त्री अधिकारीबाट सकारात्मक पहलकदमी हुने तथा यो समुदायको सामाजिक–सांस्कृतिक अवस्थालाई उकास्न भविष्यमा समेत अझ बढी सहयोगमा हुनेमा हामी सवै विश्वस्त थियौं । तर अव उहाँको अभावमा सो मन्त्रालय फेरी विरानो सामन्तको दरवारजस्तो हुन पुगी दलितका अभिलाषाहरुलाई टुहुरो बनाउने डर पैदा भएको छ ।
अन्त्यमा नेपाली राजनीतिमा मात्र होइन, दलित आन्दोलनका लागि समेत उज्यालो सपना बन्नुभएका र व्यत्तिगत रुपमा मैले अत्यन्त सम्मान गरेका, रिस र पुर्वाग्रह नसाच्ने हसिँलो नेता कमरेड अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली । उहाँका परिवारजन, इष्टमित्र, शुभचिन्तक सवैलाई हार्दिक समवेदना ।
उहाँको अभावमा सो मन्त्रालय फेरी विरानो सामन्तको दरवारजस्तो हुन पुगी दलितका अभिलाषाहरुलाई टुहुरो बनाउने डर पैदा भएको छ ।


प्रकाशित | १६ फाल्गुन २०७५, बिहीबार २१:३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *