सारंगी फिँजाइरहेका कलाकार

युवराज भट्टराई

अनिल गन्धर्वलाई धेरैले चिन्दैनन्। जतिले चिनेका छन्, उनीहरूको सामु छुट्टै परिचय बनाएर बाँचेका छन्, उनी। आफ्नो सारंगीको धुनले संगीतप्रेमीलाई लट्ठ पार्छन्। उनको सारंगीको धुनले ठमेलका धेरै क्याफे र लाउन्ज गुञ्जायमान छन्।

संगीतको कुनै धुनसँगै जीवन बाँचिरहेका अनिल आफ्नो पहिचानको खोजीमा छन्। संगीत र संगीतसँग जोडिएको परिचयसँग नै आफू वर्षौंसम्म डराएर बाँचेको उनी बताउँछन्। ‘आफ्नो परिचय दुनियाँसामु ल्याउन मलाई निकै समय लाग्यो,’ उनी भन्छन्, ‘बाल्यकालमा सानो जात भन्छन् भन्ने डरले सारंगी बजाउने आँटै आएन।’

१३ वर्षको उमेरमा उनले पहिलो पटक काठमाडौँ, कमलपोखरीस्थित रसियन कल्चर हाउसमा सारंगी बजाएर प्रस्तुति दिएका थिए। ‘तर, आफ्नो गाउँमा भने त्यसको धेरै वर्षपछि मात्र सारंगी लिएर भीडमाझ उभिएँ,’ तनहुँका अनिल भन्छन्, ‘रसियन कल्चर हाउसमा दिएको प्रस्तुति हाम्रो समुदायसम्म मात्रै सीमित थियो। गाउँमा हुँदा कहिल्यै पनि सारंगी बजाएको थिइनँ।’

गन्धर्व परिवारमा जन्मिएको भए पनि उनलाई कहिल्यै कसैले पनि ‘सारंगी बजाउनैपर्छ’ भन्ने कर गरेन। आफ्नै रुचिले गर्दा उनी सारंगीतिर तानिए। हुर्किंदै गर्दा बाबुले सुनाएका गन्धर्व जातिका कथा, हजुरबुबाले गाउँ–गाउँ सारंगी बजाएरै घर चलाएको कुरा सुनेपछि उनको ध्यान सारंगीतिर सोझियो। उनले आफ्नो परिचय सारंगीमा नै भेटे। ‘तर, त्यो परिचयलाई नेपाली समाजले स्विकार्छ÷स्विकार्दैन भन्ने डर लागिरहन्थ्यो,’ उनी सम्झिन्छन्।

पढ्दाताका स्कुलमा विभिन्न कार्यक्रम हुन्थे। ती कार्यक्रममा उनलाई पनि प्रस्तुति दिन मन लाग्थ्यो। ‘प्रस्तुति दिँदा सानो जात, सारंगी बजाउने÷गाइने भनेर हेलाँ गर्लान् कि भन्ने डर लाग्थ्यो,’ अनिल भन्छन्, ‘किनकि, जुन परिवेशबाट म हुर्किएर आएको थिएँ, त्यसले छोडेको छाप निकै नराम्रो थियो।’ डरैडरमा बाँचिरहँदा पनि आफ्नो परम्परालाई जोगाउने जिम्मेवारी पनि उनीमाथि थियो।

अनिल जन्मिएपछि उनका बाबु काठमाडौँ आइसकेका थिए। घर आउँदा बुबाले ल्याइदिएको क्यासेट बजाएर सारंगी रेट्न सिकेका थिए, अनिलले। तर, आफूमा भएको त्यो प्रतिभालाई अरूसामु देखाउने आँट उनमा आएको थिएन। ‘मैले बाँचेको परिवेशमा सारंगी बजाउने मान्छे, मान्छे नै होइन जस्तो व्यवहार गरिन्थ्यो,’ उनी भन्छन्, ‘कुनै वस्तु हो भनी ठान्थे। म डरमा मात्रै हुर्किएको थिएँ।’

एसएलसीमा पुगेपछि आफ्नो परम्परालाई अगाडि बढाउनुपर्ने लाग्यो, उनलाई। जसको लागि ‘अरूले के सोच्लान्’ नसोची स्कुलमा आयोजित कार्यक्रममा सारंगी बजाउने निर्णय गरे। भन्छन्, ‘आफ्नो परम्परा जोगाउन मैले आफू भित्रको डरबाट मुक्ति पाउनुपथ्र्यो। त्यसैले जे पर्ला, पर्ला भनेर सांरगीको प्रस्तुति दिएँ।’ जीवन त्यो प्रस्तुति पछि फरक भइदियो। उनले सोचेको जस्तो भएन। उनले नसोचेको जस्तो प्रतिक्रिया पाए। शिक्षक र साथीभाइले उनको खूब प्रशंसा गरे। बिस्तारै आफूमा भएको डर हराएको उनी बताउँछन्।

त्यसपछि उनी काठमाडौँ छिरे। पढाइ सँगसँगै सारंगीको यात्रालाई पनि अघि बढाए। उनका बाबु पहिल्यैदेखि सारंगी बजाएर नै बसेका थिए। बाबुले सुरुवात गरेको ‘समुद्र सांगीतिक समूह’मा उनी पनि बजाउन थाले। संगीत सिक्दै उनले अंग्रेजीमा स्नातककोत्तर गरे। यसबीच धेरै पटक उनलाई ठमेलका गल्लीहरूले सुने।

औपचारिक पढाइ सकिए पनि उनीसँग भएको अनौपचारिक सारंगीको ज्ञानलाई बढाउने हुटहुटी मनमा चलिरह्यो। जसलाई साम्य पार्न उनी कहिले कोरिया पुगे। गन्धर्वको परिचय बनेको सारंगीको प्रवद्र्धन गर्न। कहिले गोरखा पुगेर सारंगी र गन्धर्वको इतिहासको खोजी गरे। कहिले वसन्तपुरमा पुगी आफ्नो समूहसँग सारंगीको धुन मूर्ति र टुँडाललाई सुनाए। सुदूर गाउँका बालबालिकालाई सारंगीको ‘वर्कसप’ दिन पुगे अनिल। ‘संगीतमा परिचय बनाउँछु भन्नु नै ठूलो कुरा हो,’  उनी भन्छन्, ‘झन् सारंगी मात्रै बजाएर आफूलाई चिनाउँछु भन्नु सपनाजस्तै हो।’

संगीतमा लाग्दा पेट पाल्न नसक्ने स्थिति पनि हुने उनी स्विकार्छन्। तर, उनलाई सारंगी बजाएर अकुत सम्पत्ति कमाउनु छैन। भन्छन्, ‘सारंगी बजाएर आफू बाँच्न मात्र सके पुग्छ। मलाई जायजेथा जोड्नु छैन। सारंगीले मलाई चिनाए पुग्छ।’

गन्धर्व जातिको इतिहास उत्खनन नभएकोमा अनिललाई गुनासो छ। गन्धर्व जातिमा नै सारंगी बजाउने परम्पराको पुस्तान्तरण नभइरहेको उनी बताउँछन्। एकातिर बजारीकरण, अर्काेतिर जातजाति बीचको वर्गीकरणले गर्दा यस्तो भएको उनलाई लाग्छ। गन्धर्व जाति र सारंगीको परिचय रहेमा मात्रै सारंगी बजाउनेको परिचय रहन्छ भन्ने उनको बुझाइ छ।

अनिल अहिले गन्धर्व सांस्कृतिक कला समाजका महासचिव पनि हुन्। व्यक्तिगत तथा संस्थागत रूपमा विभिन्न अनुसन्धानमा उनी व्यस्त भइरहन्छन्। ‘इतिहासमा गन्धर्वको नाम आइरहन्छ,’ उनी भन्छन्, ‘हिजो सन्देश प्रवाह गर्ने मुख्य काम गरेका गन्धर्वको बारेमा भने कसैले वास्ता गरेको देखिँदैन।’ गोरखा राज्य विस्तारको समयमा मणिराम गाइनेले पृथ्वीनारायण शाहलाई सहयोग पुर्य‍ाएको कुरा उद्धृत गर्दै अनिल भन्छन्, ‘अरूका दुःख गाई हिँड्ने गन्धर्व जातिको दुःखको बारेमा कसैले कतै खोजी गरेको छैन।’

सारंगी र गन्धर्व जाति दुवैको संरक्षण हुनुपर्छ भन्ने सोच उनको छ। सामाजिक तथा आर्थिक रूपमा सारंगी बजाएर सम्मान र अवसरको निर्माण हुनुपर्ने उनी बताउँछन्। भन्छन्, ‘मान्छेले सोच बदल्न सकेमा मात्रै पनि सारंगी बजाउनेहरू जन्मिरहनेछन्।’

(याे सामाग्री अन्नपूर्ण पोष्टबाट साभार गरिएको हो )


प्रकाशित | १२ फाल्गुन २०७५, आईतवार १५:१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *