पञ्चैबाजाको पुनर्जन्म

सन्तोष निरा

केही वर्षको संक्रमणकालपछि दमाई जातिले मात्र बजाउँदै आएको पञ्चैबाजा परम्पराले पुनर्जन्म पाएको महसुस भएको छ। विवाहलगायतका शुभकार्यमा यसको प्रयोगको व्यापकताले यस्तो अनुभूत गराएको हो। सहरमा यसको ब्यान्ड खुल्न थालेका छन्। यसले दुईवटा काम गरेको छ। पहिलो लोकबाजाको प्रचार तथा प्रवद्र्धन र दोस्रो रोजगारी सिर्जना।

साधारणतया पञ्चैबाजा भन्नेबित्तिकै पाँचवटा बाजा बुझिन्छ। प्रकाश दर्नालको पुस्तक ‘हाम्रो सांस्कृतिक धरोहरहरू’मा पञ्चैबाजाभित्र पाँचवटै बाजा बज्ने उल्लेख छ (पृ. २१३)। तर पञ्चैबाजामा पाँच वटाभन्दा बढी बाजा पर्दछन्। सनाई, ट्याम्को, झ्याली, नरसिंगा, ढोलकी र दमाहा पञ्चसमूहका बाजा हुन्। उता रामशरण दर्नालले ‘नेपाली बाजा’ पुस्तकमा पञ्चैबाजा पाँचवटा बाजा (सनाई, ढोलकी, दमाहा, झ्याली र ट्याम्को) कै समूह भएको लेखेका छन्। उनले त्यसमा नरसिंगा र कर्णाल थपेर सनाई अनि दमाहालाई जोडी बनाएर नौ वटाको बाजा समूह नौमती भएको पनि उल्लेख गरेका छन् (पृ. २२७)।

पञ्चैबाजाको सांस्कृतिक पक्ष

यी बाजा कुनै एक÷दुई जनाले मात्र सुनिने होइन। वारिपारि, डाँडाकाँडा सम्पूर्ण समाजले सुन्छ। जसले गर्दा सम्पूर्ण पञ्च (समाज) ले कुनै मंगल कार्य भइरहेको सूचना पाउँछन्। त्यसैले यो पञ्चले सुन्ने बाजा हो। यसर्थ पञ्चलाई थाहा दिएर बजाउनुपर्ने बाजाहरू पञ्चैबाजा हुन् भन्न पनि सकिन्छ। किनभने यी बाजा सामाजिक कर्मकाण्ड (भात खुवाउनी, व्रतबन्ध तथा विवाह आदि) मा अनिवार्य थिए। जुन कर्मकाण्डहरू पञ्च (दाजुभाइ, नातागोता) बिना पूर्ण हुँदैनन्।

परिवर्तित समय र प्रयोगकर्ताको आर्थिक अवस्थासँगै पञ्चैबाजाका संख्यामा थपघट हुने गरेका छन्। त्यही थपघटकै प्रक्रियाका कारण नौमतीबाजा पनि भनिन थालिएको अनुमान गर्न सक्छौं। सामान्यतः नेपालभरि ९ देखि १८ जनाको समूहले पञ्चैबाजा बजाउने गरे पनि सुदूरपश्चिममा भने ३६ वटासम्म बाजा बजाउने गरिएको छ (दर्नाल; २२७)। जे होस् जति बाजा थपघट गरे पनि यसको परम्परागत सांस्कृतिक नाम पञ्चैबाजा नै हो।

पञ्चैबाजाको इतिहासमा दुई मत देखिन्छ। एकथरी पञ्चतत्वसँग जोड्दै वैद्धिककालसँग ऐतिहासिक सम्बन्ध रहेको बताउँछन् भने अर्कोथरीले इस्लामिक लडाकुसँग जोड्ने गरेका छन्। त्यसैले यहाँ दुवै पक्षलाई छोटकरीमा अध्ययन गरौं।

पञ्चैबाजाले पञ्चतत्वको प्रतिनिधित्व गर्ने मत राख्नेहरू धेरै छन्। यसको मतलव पञ्चैबाजा वैदिककालदेखि नै बजाइँदै आइएको थियो भन्ने हो। मानिसमा यसको प्रादुर्भावलाई आधार मान्ने हो भने पक्कै पनि यो बाजा पञ्चतत्वकै प्रतीक हो। बाजाका फरकफरक धुनले मानव संवेदनामा हलचल गराइदिन्छ। एकैछिनमा खुसी भएर नाच्ने, गाउने साथै रुने पनि यसले गराउँछ। पञ्चैबाजा समूहमा पर्ने केही बाजाहरू मठमन्दिरलगायत हरेक खुसीयालीको अवसरमा बजाउने प्रचलनले यो बाजा वैदिककालदेखि नै पुस्ता हस्तान्तरण हुँदै आएको मान्न सकिन्छ।

पहिले पञ्चैबाजा सांस्कृतिक परम्परा कायम गर्न भित्री हृदयबाट मुखर भएर बजाइन्थ्यो। तर जब आधुनिकता भित्रियो, तब पाश्चात्य धुनहरू बजाउने तथा पारिश्रमिककै लागि मात्र बजाउने प्रवृत्ति पनि देखा पर्न थालेको छ।

प्रकाश दर्नाल पञ्चधातु र पञ्चायनकै प्रतीकका रूपमा पञ्चैबाजाको उत्पत्ति भएको ठान्दछन्। उनी पञ्चैबाजा वैद्धिककालदेखि नै बजाउँदै आएको कुरामा विश्वास गर्छन्। तर तिनका नाम भने फरक भएको उनको तर्क छ। उनले आफ्नो पुस्तक ‘हाम्रो सांस्कृतिक धरोहरहरू’मा वेदयुगमा ‘दमाहा’लाई ‘दुन्मुभी’ र ‘भेरी’ भन्ने गरिएको तथ्य पेस गरेका छन्। त्यस्तै झ्यालीलाई ‘आघाती’, ‘ढोलकी’लाई ‘परह’ र ‘सनाई’लाई ‘  श्रृंग’को नामले चिनिने गरेको थियो (२१३)। ट्याम्को भने दमाहाकै सानो रूप भएको उनले मानेका छन्।

विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकबाजाको अध्ययन गरिरहेका रामप्रसाद कँडेलले एकै समयमा एकै किसिमका बाजाहरू स्थान र परिवेशका आधारमा सिर्जना भएको बताउँछन््। उनका अनुसार प्रकृतिमा संगीतको उत्पत्ति हुन्छ। कुनै बेला विभिन्न स्थान र परिवेशअनुसार एकै किसिमका संगीत जन्मिए होलान् तर नेपाली बाजाहरूको सम्बन्ध अन्य देशको बाजासँग छैन।

अमेरिकी अनुसन्धानकर्ता क्यारोल टिङ्गीले पञ्चैबाजा इस्लामिक लडाकुले प्रयोग गरेको बाजा भएको ‘हार्टबिट अफ नेपाल ः द पञ्चै बाजा’मा दाबी गर्छिन्। उनले इस्लामिक लडाकुले एघारौं शताब्दीमा भारत हुँदै नेपालमा राजपुत शरणार्थीहरूले चौधौं शताब्दीमा भित्र्याएको उल्लेख गरेकी छिन् (१४)। युद्धका समयमा इस्लामिक राजा तथा लडाकुले बाजा बजाउने प्रचलन ल्याएको र त्यही बाजा भारत हुँदै नेपाल आएर विकास हुँदै जाँदा सांस्कृतिक तथा परम्परागत बन्न गएको उनले बताएकी छिन्।

उनले नेपालका पहाडी मूलका जनताले जब राजपूतहरूको उक्त बाजा ग्रहण गरे तब नयाँ शैलीमा बजाउन थाले र विभिन्न लोकगीतहरूको धुन बजाए जसले यहाँका मूलवासीहरूको शुभकार्यहरूमा बजाउने प्रचलन सुरु भयो (२३)। तर इस्लामिक राजा तथा लडाकुले चाहिँ कहाँबाट ल्याए वा आफैं निर्माण गरे भन्ने उत्पत्ति विन्दु उनले बताएकी छैनिन्।

टिङ्गीले आफ्नो शोधमूलक पुस्तक ‘अस्पिसियस म्युजिक इन अ चेन्जिङ सोसाइटी’मा पृथ्वीनारायण शाहकै पालामासमेत सैन्य गतिविधिमा दमाहाको प्रयोग गर्ने गरेको आरएस दर्नालको भनाइलाई उद्धृत गरेकी छिन्। उक्त समयको रोचक प्रसङ्ग यसरी लयमा दर्नालले प्रस्तुत गरेका छन् ः

डाङडाङ र डुङडुङ डरलाग्दो बाजा

राति राति हिँड्ने गोरखाली राजा

यसको प्रवेश उपत्यका काठमाडौंमा सरकारी निर्णय वा उर्दीहरू जारी गर्दा ‘झ्याली पिट्ने’ नामले प्रचलनमा आयो। झ्याली पिट्दा दमाहा बजाउने गरिएको थियो। यस्तै पृथ्वीनारायणले उपत्यका आक्रमण गर्नुपूर्व नुवाकोट जित्दा विजय उत्सव मनाउने क्रममा ब्राह्मणको मन्त्रोच्चारण र दमाहा बजाइएको थियो। जसले सुखद उपलक्ष्यमा यस्ता बाजा बजाउने प्रचलन बसायो भन्ने अनुमान टिङ्गीको छ। तर पाइएका प्रमाणहरू अस्पष्ट बुझ्न नसकिने अक्षर साथै जीर्ण अवस्थामा पुगेकाले यो तर्कमा केही कमजोरी भने अवश्य रहेको उनको स्विकारोक्ति छ। यसैगरी दर्नालले भने नरसिंगा पृथ्वीनारायणले स्थापना गरेको सैनिक दल रणभीम कम्पनीमा पनि समावेश भएको र पछि विदेशी बाजा ट्रम्पेटले प्रतिस्थापन गरेको ‘नेपाली बाजा’मा उल्लेख गरेका छन्। यसरी केही शताब्दी अघिसम्म नेपाली सेनाले प्रयोग गरेका परम्परागत बाजाहरू राणाकालमा आएर फ्रेन्च र ब्रिटिस ब्यान्ड बाजाले प्रतिस्थापन गरे। अहिले प्रतिस्थापित बाजाहरू नै सैन्य बाजाका रूपमा अस्तित्वमा छन्। र, परम्परागत लोकबाजाहरू लोप हुने खतरामा छन्।

पञ्चैबाजा हिन्दुहरूको विवाह, व्रतबन्धलगायतका शुभकार्यमा आधारभूत आवश्यकता नै रहेको थियो (टिङ्गी, २)। यसको प्रयोग धार्मिक कार्यहरूमा हुने गरेको छ। साथै रोपाइँका बखत पनि बजाउने चलन छ। वर्ष दिनअघि चुनावताका राजनीतिक दलका नेताहरूले उम्मेद्ववारी दिँदा समेत मंगल कामना गर्दै पञ्चैबाजा बजाएको विदितै छ। त्यससँगै विजय जुलुसमा समेत बाजा बजाइएको हामीले देखेका छौं।

पञ्चैबाजाको प्रयोग नेपाली क्यालेन्डरअनुसार वर्षमा दुई पटक आवश्यक पर्छ। एकपटक खेतीपाती लगाउने बेला र अर्को पटक वर्षात् सकिएपछि हिउँद लाग्ने समय अर्थात् कात्तिक महिनामा। यसबेला बाली भित्र्याउने कार्य पनि सुरु हुन्छ। त्यसपछि बाजा बजाउने दमाईहरू गाईजात्रा, हिलेजात्रा, कृष्णाष्टमी, कृष्णजात्रा तथा भीमसेनजात्राजस्ता जात्राहरूमा सहभागी हुने गरेको पाइन्छ। यस्ता सांस्कृतिक परम्परा भने न्यून हुँदै गएका छन्।

उल्लिखित परम्पराहरू क्षेत्रविशेष पनि रहेका छन्। ती परम्परा नेपालका मध्यवासी दमाईहरूको हो भने पूर्वी नेपालका दमाईका भने केही फरक छन्। उनीहरू विशेषगरी विवाहमा मात्र पञ्चैबाजा बजाउने गर्छन्। यस्तै टिङ्गीले भनेझैं बालकको पास्नी अर्थात् भातखुवाई साथै व्रतबन्ध÷छेवरमा समेत पञ्चैबाजा बजाउने गरेका छन्। यसैगरी नेपालको सुदूरपश्चिम र पूर्वका लिम्बू जातिमा मृत्यु संस्कारमा समेत पञ्चैबाजा दमाईले बजाउने चलन छ।

सुदूरपश्चिममा शवयात्रा गर्दा एकोहोरो उल्टा बाजाका बोलहरू बजाउने चलन छ। यसरी मृत्यु हुँदा पञ्चैबाजा बजाउनुको कारण ‘मृत्युपछिको मोक्षका लागि’ भएको प्रकाश दर्नालले ‘हाम्रो सांस्कृतिक धरोहर’मा उल्लेख गरेका छन्। लिम्बू जातिमा पनि नगरा र सनाई मृत्यु भएको १३औं दिनमा भाञ्जी तथा चेलीहरूको उपस्थितिमा एकोहोरो बजाउने चलन छ। यसरी दमाईले जन्मदेखि मृत्युसंस्कारलगायत विभिन्न सामाजिक कर्मकाण्डका शुभकार्यहरूमा पञ्चैबाजा बजाउने गरेका छन्।

पञ्चैबाजाको बजार

आधुनिकतासँगै बजारको विकास भएको छ। परम्परागत पञ्चैबाजामा नयाँ लय नवपुस्ताले खोज्दैछ र आयातित संगीतमा घुलन गरी नयाँ स्वाद लिने चेष्टा गरिरहेको छ। प्रतिफलस्वरूप बजारमा छुट्टै पञ्चैबाजा ब्यान्ड पनि खोलेर सेवा पनि दिन थालिएको छ। यसले रोजगारीसमेत सिर्जना गरेको छ।

पुख्र्यौली घर सिन्धुपाल्चोक भएका हेटौंडाका सन्तोष भुसाल परियारले ललितपुरको तिखिदेवलमा ‘न्यु सन्तोष पञ्चैबाजा एन्ड ब्याडबाजा’ नामक ब्यान्ड खोलेर सेवा दिन थालेको पाँच वर्ष भइसक्यो। उनलाई विवाहको सिजनताका (विशेषगरी मंसिर र माघ) भ्याइनभ्याइँ हुन्छ। तर बाजा बजाउने कलाकार पाउन भने कुनै बेला मुस्किल पर्छ। ‘गाउँका साथीभाइलाई बोलाउँछु’, उनी भन्छन्, ‘कुनै बेला त एकैपटक दुई÷तीन ठाउँ माग आउँछ। त्योबेला कलाकार पुर्‍याउनै गाह्रो हुन्छ।’ पुख्र्यौली बाजाको प्रयोग बढेकोमा उनलाई गर्व लाग्छ। माग र बजेटअनुसार उनी ९ देखि १३ जनासम्म बाजा बजाउने कलाकार पठाउँछन्।

परियारका दाइ र भाइले हेटौंडाबजारमै दुईवटा छुट्टाछुट्टै पञ्चैबाजा ब्यान्ड खोलेका छन्। भाइ किसन परियारले भर्खरै खोलेका हुन्। त्यसैले त्यति धेरै उनले काम लिन सकेका छैनन्। भन्छन्, ‘नयाँमा खासै व्यापार छैन। त्यै भएर अरूले बोलाएको ठाउँमा पनि बाजा बजाउन जान्छु।’

यस व्यवसायमा दमाई मात्र हैन; गैरदमाई पनि संलग्न छन्। पाँचथरका गुरुङ रामप्रकाश समथिङले पञ्चैबाजालगायतका लोकबाजाको संरक्षणका निम्ति २०७० साल चैतमा ‘लोकबाजा संरक्षण समिति’ पाँचथरको फिदिममा दर्ता गराए। संरक्षणका लागि बनाइएको समितिले पञ्चैबाजा बजाउने तालिम पनि दियो। अहिले विवाहलगायतका शुभकार्यमा पञ्चैबाजा पनि बजाउने गरेको छ। यसबापत सेवा दस्तुर समितिले लिने गरेको छ।

त्यस्तै लिम्बू जातिको मृत्युसंस्कारमा समेत बाजा बजाउन थालेको छ। समितिमा सदस्यहरू गुरुङ, लिम्बू तथा राईलगायतका छन्। उनीहरू सबै पञ्चैबाजा बजाउँछन्। हाल उनीहरू बजाउने मात्र नभएर नरसिंगाबाहेक सबै बाजा आफैं बनाउने पनि गर्छन्।

एकपटक एनजीओको कार्यक्रममा पञ्चैबाजा बजाउन लाग्दा बाजा नपाइएकाले आफैं संरक्षणमा जुटेका समथिङ भन्छन्, ‘अहिले रोजगारी दिएको र परम्परागत संस्कार पनि जोगाएको छ।’ उनी पञ्चैबाजा दमाई जातिको मात्र नभएर सम्पूर्ण नेपालीको भएकाले यसको संरक्षण र संवद्र्धनमा लाग्न सबैलाई आग्रह गर्छन्। ‘पञ्चैबाजा बजाउँदा दमाईले हेपियौं भन्न थाले’, सहानुभूति दिँदै उनी भन्छन्, ‘बजाउँदा कोही हेपिने र माथि उठ्ने हुँदैन, जसले बजाउँदा पनि हुन्छ।’

शोधकर्ता टिङ्गीको चिन्ता छ, पहिले पञ्चैबाजा सांस्कृतिक परम्परा कायम गर्न भित्री हृदयबाट मुखर भएर बजाइन्थ्यो। तर जब आधुनिकता भित्रियो, तब पाश्चात्य धुनहरू बजाउने तथा पारि श्रमिककै लागि मात्र बजाउने प्रवृत्ति पनि देखा पर्न थालेको छ। अबको आवश्यकता पञ्चैबाजाको मौलिकता जोगाउँदै विश्वव्यापीकरण गराउनु हो।

(यो सामाग्री अन्नपूर्ण पोष्टबाट जस्ताको तस्तै साभार गरिएको हो ।)


प्रकाशित | २६ माघ २०७५, शनिबार १०:५८

Leave a Reply

Your email address will not be published. Required fields are marked *