सत्य र म

हामी सानैदेखि तरवारभन्दा कलम बलियो, बलभन्दा बुद्धि ठुलो, धनभन्दा बिद्या ठुलो, सत्यको जित हुन्छ जस्ता बिभिन्न सकारात्मक भनाइ सुन्दै हुर्किएका मानिस हौं । एक्काइसौ शताब्दीकोे आधुनिकिकरण संगै हाम्रो देशको परिस्थिति नियाल्दै गर्दा मेरो मस्तिष्कमा सबैभन्दा महत्वको विषय बनेको छ सत्यको जीत ।
आफ्नो देशको माया सबैलाई हुन्छ तर पनि हामीलाई जीवनको एउटा समयमा आएर देशप्रतिको मायाको धेरै नै महसुस हुन्छ । मलाई पनि जहिले देखि मेरो देश नेपालको मायाको महसुस भयो त्यही दिन देखि मेरो मानसपटलमा माथि उल्लेखित महत्वपूर्ण उखानको स्थिति र आफ्नो देशको परिस्थिति केलाउन मन लाग्यो । अनी फर्केर समाजलाइ हेरेको त मेरो मनमा धेरै तरंगहरु पैदा हुन थाले र सामाजिक बेतिथिहरुप्रति ध्यान जान थाल्यो । यस्ता कुराहरुले मेरो मनमा धेरै नै स्थान बनाउन थालेका थिए जसको कारणले म युकेमा एम. एस. सी. पढ्दै गर्दा मलाई पढाईमा ध्यान दिन पनि गाह्रो बनाएको थियो । तर पनि मैले आफुलाई सम्हाल्न सफल भए र डिग्री लिएर नेपाल फर्किने र समाज रुपान्तरणमा सकेजति लाग्ने निर्णय गरिसकेको थिए । सोही अनुरुप पढाई सकेर देशमा हुने नराम्रा गतिबिधिको विरुद्ध आवाज उठाउने दृढ संकल्पको साथ म नेपाल फर्किएको हुँ ।

मेरो संकल्प अनुरुप म लागिरहनेछु तर यो एकजनाले मात्र गर्न सकिने कुरा चाँही अवश्य होइन त्यसैले हामी सबै युवा यसतर्फ लाग्नु जरुरी छ । अचम्म लाग्न थाल्यो जब पत्रपत्रिकामा सामाजिक र राजनैतिक बिषयबस्तुहरु हेर्न थाले किनभने पत्रिकाहरु नकारात्मक समाचारहरुले नै भरिएको देखेँ । देशमा हुने कृयाकलाप नै पत्रिकाहरुमा आउँछन त्यसैले पत्रिकाको त दोष हुने कुरै भएन । आखिर दोष कस्को ? भन्ने प्रश्न मेरो मनमा उब्जिन थाल्यो र समाजका परिघटनाहरु नजिकबाट नियाल्न थालेँ । दश वर्ष मुनिका बालिकाहरुको रेप भएको पढ्नुपर्दा आफु नै मरेतुल्य हुन्छु । हाम्रो समाज किन मानसिक रुपमा अझै पनी स्वस्थ हुन सकेको छैन ?

नेपाली भएकोमा गर्व गरेर छाती फुलाउदै हिँड्ने म जब राजधानीको बीच सडकमा गोली हानी हत्या भएको समाचार पढ्छु तब झस्किन्छु । र यस्ता अपराधिक हत्यामा संलग्नहरुलाई समात्न नसक्दा हाम्रो प्रहरी प्रशासन माथि नै दक्षताको कमी भएको महसुस हुन्छ । नत्र भने यतिसानो ठाउँ, त्यो पनी देशको राजधानी जस्तो ठाउँबाट ती निर्दयी हत्याराहरु कसरी भाग्न सफल भैरहेका छन ?
झन त्यतिबेला यो मन क्रोधित हुन्छ जतिबेला अरबौको भ्रष्टचार गरेर देशको नागरिकलाई अप्रत्यक्ष रुपमा भोकभोकै मार्ने भ्रष्टचारीलाई अदालतले नै सफाइ दिन्छ । अदालत पनि पूर्बाग्रहि भएकै हो त ? कि राजनीतिक दबाबमा यस्तो गरिरहेको छ ? अनि फेरी मेरो मनमा प्रश्न उठ्छ, के राजनीति सुशासन र जनताको लागि गरिने कुरा होइन र ? एक्काइसौ शताब्दीको राजनीति समानताको लागि नभै भ्रष्टचारीलाई उन्मुक्ती दिने नीति हो र ?

मेरो विचारमा राजनीति भनेको देश र जनतालाई उत्तम नीति र बाटो देखाउने दर्शन हो । तर माथि उल्लेखित प्रश्नहरु जस्ता अनेकन प्रश्नहरु उब्जाउने कार्यहरु देशमा भइरहेको देख्दा हाम्रो देशका राजनीतिकर्मीहरु माथि नै शंका लाग्न थाल्छ । म जस्ता धेरै सत्यबादी, देशभक्त, विकासमुखी, र न्यायप्रेमी जनताहरु अहिले “सत्यको जित हुन्छ“ माथि नै शंका गर्न थालेका छन् । हाम्रो देशको राजनीति किन यसरी राष्ट्रको अहितको दिशातिर उन्मुख छ ?

फेरी अर्को प्रश्न उठ्छ, हामी किन चुप छौं ? यद्यपि हामीलाई हाम्रो देशको राजनीति दुषित हुँदै गएको थाहा छ । यी प्रश्नहरुले मेरो मनमा धेरै उतारचढाब तथा विभिन्न किसिमका छालहरु उत्पन्न गराउछ जुन भविष्यमा गएर सुनामी जस्तो भयानक पनि हुन सक्छ । वास्तवमा भन्ने हो भने हामी जनताले नै यो देशको भविस्य कोर्ने सामथ्र्य राख्नुपर्छ । जतिबेला राष्ट्रघाती कामहरु राजनीतिक दलले गर्न अघि सर्छन् , त्यतिबेला हामी अटल हिमालझै भएर छेक्नुपर्छ । यो देश हाम्रो हो त्यसैले हामीले नै यो देशलाई दुर्घटनाबाट बचाउनुपर्छ । हाम्रो समाजको दृष्टिकोण नै अहिले अन्योलको स्थितिमा छ । राम्रो र नराम्रो बीच भिन्नता देख्न नसक्ने स्थितिमा पुगेको छ । यही मौका छोपेर भ्रष्टचारीहरु समाजमा जरा गाड्दै छन् र नकारात्मक कुरालाई बढावा दिदै छन् । यतिसम्म गरेका छन कि साधुलाई गलत र हत्यारालाई सहि साबित गरेका छन् । सकारात्मक सोचाइ भएका व्यक्तिलाई पाखा लगाउने अनि नकारात्मक भावना भएका स्वार्थी, अदुर्दर्शी, र भ्रष्टचारीहरुले देशमा राज गर्ने चलन आएको छ । राष्ट्रहितको काम र समाजको सकारात्मक परिवर्तनको अगुवाइ गर्ने भनेकै युवाले हो । धेरै प्रतिशत युवाहरु विदेशमै रमाउने र अलिकति देशमा भएका युवा पनि कुतत्व, कुकर्तब्य र कुविचार भएका र विदेशी दलाल हुन रमाउने व्यक्तिहरुका पछि लाग्यौ भने यो देशलाई सहि दिशा कस्ले दिने ? एकचोटी छातीमा हात राखेर सोच्ने बेला आएको छ । अन्यायको विरुद्ध बोल्नैपर्ने, सत्यको पक्षमा लड्नैपर्ने र समाजलाइ सहि दिशा दिनैपर्ने भएको छ र यस्को नेतृत्व हामी युवाहरुले नै लिनुपर्छ । के नेपालमा सुविचार, सुबुद्धी, र दुरदृष्टि भएका युवा छैनन् ? छ् भने किन समाजलाइ अन्याय, र असत्यको बाटोमा हिँडाउने व्यक्तिलाई नै राष्ट्र निर्माण गर्ने नीति बनाउने ठाउँमा फुलमालाले स्वागत गरिन्छ ? यहाँ भ्रष्टचारीहरुलाई मान सम्मान दिएर समाजमा स्थापित गराउने प्रयास भैरहेको छ भने एउटा सच्चा देशभक्त र इमान्दार व्यक्तिलाई ओझेलमा पारेर अध्यारोमै दबाउने काम निरन्तर रुपमा भएको छ ।

राष्ट्रहितको काम र समाजको सकारात्मक परिवर्तनको अगुवाइ गर्ने भनेकै युवाले हो । धेरै प्रतिशत युवाहरु विदेशमै रमाउने र अलिकति देशमा भएका युवा पनि कुतत्व, कुकर्तब्य र कुविचार भएका र विदेशी दलाल हुन रमाउने व्यक्तिहरुका पछि लाग्यौ भने यो देशलाई सहि दिशा कस्ले दिने ?

सत्यलाई हराउनै खोजिएको हो त ? यो प्रश्नले मेरो मनमा ठाउँ बनाएको मात्र छैन , यसले मलाई बेला बेलामा सपनामा पनि झस्काउने गर्छ । देश र जनतालाई न्याय दिने ठाउँ, समाजलाइ जागरुक बनाउने संचार जगत, प्रहरी प्रशासन नै अहिले राजनीतिको चक्रब्यूमा फस्न पुगेको छ । यसरी भनिरहँदा म गलत हुन पनि सक्छु किनभने त्यहाँ पुगेका सबै मान्छेहरु गलत छैनन् तर गलत व्यक्तिहरुकै हातमा साँचो छ किनभने बाहुल्यता उनीहरुकै छ । देशलाई सहि दिशा दिनका लागि व्यक्तिगत स्वार्थ, नकारात्मक, र हिंसात्मक विचार त्याग्नै पर्छ । समाजलाइ सहि बाटोमा डोर्याउन सत्यलाई साथ दिनैपर्छ जसको शुभारम्भ निस्कपट, निश्चल, विवेकी देशभक्त युवाहरुले गर्नु जरुरी छ । अहिलेको परिवेशमा यो सामान्य कुरो चाँही होइन किनभने हाम्रो समाजको कतिपय ठाउँमा असत्यलाई नै स्थापित गराइएको छ । यहाँ भ्रष्टचार, हिंसा, अस्थिरता, क्रुरता, देशद्रोह चाहने व्यक्तिहरुले राज गरिरहेका छन् र सोझा मानिसहरुले त्यसैलाइ सत्य र कानुन ठानिरहेका छन । हुनत हामीले देशको महान चाड दशैं पनि असत्यमाथि सत्यको जित भएको दिन भनेर मनाउँछौ । तर अहिले हाम्रो देशमा सत्यमाथि असत्यले राज गर्न खोज्दैछ र त्यो दिशामा अगाडि बढीरहेको छ । यसलाई समयमै रोक्नु अत्यन्त जरुरी छ र यो आँट हामी युवाले गर्नैपर्छ भन्ने ठानेर पनि मैले सामाजिक अभियन्ताको रुपमा सत्यको पक्षमा र असत्यको विरुद्धमा लड्ने हिम्मत गरेको छु ।

सम्रिद्ध नेपाल निर्माणको लागि राज्यका निकायहरुले बाटो बिराउन लाग्दा खबरदारी गर्नु जरुरी छ र राम्रा व्यक्तिलाई भोट दिएर जिताउनु आवश्यक छ । यति गर्न सक्यौ भने हामीले सानैदेखि सुन्दै आएको “सत्यको जित हुन्छ“ भन्ने वाक्यांशको सम्मान र अर्थ रहन्छ । “ थोपा थोपा मिली सागर बन्छ“ भनेझै प्रत्येक व्यक्तिले आफ्नो ठाउँबाट सत्यलाई साथ दियौं भने एकदिन हामी सबै सुबिचारले भरिपूर्ण हुनेछौ । यसको लागि न्यायालय, संचार जगत र पुलिस प्रशासन पनि कसैको दबाबमा रहनु हुँदैन र स्वविवेक प्रयोगगरी निषपक्ष, र पूर्वाग्रहबाट मुक्त भएर जनताको अधिकारको रक्षा गर्नुपर्छ । राजनीतिक दलहरु निस्वार्थी, त्यागि, देशभक्त, दूरदृष्टि भएको, विकासप्रेमी, न्यायप्रेमी, र सक्षम नेताहरुले भरिपूर्ण हुनुपर्छ । र एकदिन प्रत्येक पर्यटकीय क्षेत्रमा चिल्ला बाटोहरु पुगेका हुनेछन र गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी प्रत्येक जनताका लागि हुनेछन । प्रत्येक नेपालीको ओठमा मुस्कान, मनमा खुशी र मस्तिष्कमा नबिनताले बास गर्नेछ । नेपाल संसारकै एउटा नमुना सुखी देश बन्नेछ । त्यतिबेला जो व्यक्ति नेपालमा हुनेछ उसले मुस्कुराउँदै फेरी भन्नेछ सत्यको जित हुन्छ ।


प्रकाशित | ९ माघ २०७५, बुधबार २१:२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

error: Content is protected !!