बादी समुदायकाे गुनासाे– ‘सम्मानपूर्वक बाँच्न पाएनौं’

अछाम — बादी समुदायले अझै पनि आफूले सम्मानपूर्वक बाँच्न नपाएको गुनासो गर्दै आएका छन् । अछामको मंगलसैन, साँफेबगर, विनायकलगायत ठाउँमा अरूका घरमा बस्दै आएका बादी समुदायले सुरक्षित बासका लागि विभिन्न निकायसम्म माग गर्दै आए पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।

बादी समुदायका महिलालाई विशेष गरी यौनकर्मीका रूपमा हेर्ने गरेको उनीहरू बताउँछन् । ‘उमेर, रूप र जवानी हुने बेला बिहे गर्छौं भन्ने प्रस्ताव राखेर बाहुनदेखि हाकिमसम्मले बादी महिलाको अस्तित्व लुटेका छन् । असुरक्षित गर्भपतनले धेरैले अकालमै ज्यान पनि गुमाएका छन्,’ मंगलसैन ५ की ५५ वर्षीया टंकी बादीले भनिन्, ‘अहिले हाम्रो बुढेसकाल भयो, न बस्ने घर छ, न कोही सहारा । गाउँमा माग्न जाँदा पनि दिँदैनन् ।’ धेरैजसो बादी समुदायका महिलाले नचाहेको गर्भधारणबाट सन्तान जन्माएको र अहिले उनीहरूको बिचल्ली भएको उनी बताउँछिन् ।

अर्की स्थानीय सुपारी बादीका अनुसार पहिले आफ्नो इच्छाअनुसार बाँच्न पाएनन् । आफूभन्दा माथिल्लो जातका पुरुषले बादी महिलालाई भोग गर्ने नियतले मात्रै हेरेको उनले सुनाइन् । ‘त्यो बेला हामीलाई केही पनि थाहा थिएन । माथिल्लो जातका पुरुषले भन्नेबित्तिकै उनीहरूकै अनुसार चल्नुपथ्र्यो । त्यही कारण दु:ख पायौं,’ उनले भनिन्, ‘एक छाक टार्नकै लागि यौनकर्मी हुन बाध्य भयौं । अब हाम्रा छोरीले त्यस्तो भोग्न नपरोस् । मान्छे भएर मान्छेकै जसरी बाँच्न नपाउँदा धेरै पीडा हुन्छ ।’

पहिले बादी समुदायका पुरुष मादल बनाउने, सुल्पा बनाउने, माछा मार्ने तथा छोरी यौन पेसालाई अपनाउने र नाच्दै मागेर गुजारा चलाउने चलन भएको उनी बताउँछिन् । अहिले परिस्थिति बदलिए पनि आफूहरूलाई हेर्ने नजर नबदलिएको उनको भनाइ छ ।

पहिलेकै नजरले अहिले पनि बादी महिलालाई हेर्दा छोरीहरू विद्यालय जानसमेत अप्ठ्यारो मान्ने गरेको स्थानीय ममिता बादी बताउँछिन् । ‘बिहानसाँझ अरूको काम गरेर भए पनि कतिपय छोरी विद्यालय जान्थे । त्यहाँ पनि बादी जाति भनेपछि हेर्ने नजरै फरक छ,’ उनले भनिन्, ‘अरू जातिसरह मान्छे भएर बाँच्न हामीलाई पनि रहर छ ।’

गाँस र बासको माग

बादी समुदायका व्यक्तिले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने र त्यसका लागि गाँस र बासको व्यवस्था सरकारले गरिदिनुपर्ने माग राख्दै आएका छन् । चुनावका बेला भोट माग्न आउने नेताले गाँस, बास र रोजगारीको व्यवस्था गर्छु भन्ने, पछि सबै बिर्सने गरेको उनीहरूको आरोप छ ।

‘मंगलसैनमा स्थायी बसोबास गर्ने १६ बादीलाई चुनावताका नेताहरूले होटेलमै खानेबस्ने व्यवस्था मिलाए । गाडी चढ्न नपाएका हामीलाई गाडी चढाए । अरूलाई ढोग्दै मागी खाने हामीलाई ढोगे । अहिले फर्केर कोही हेर्दैनन्,’ बैरागी बादीले भने, ‘अब हामी काम गरी खान चाहन्छौं । हाम्रा छोरी, पत्नी, आमालाई सम्मानपूर्वक बाँच्ने वातावरण दिन चाहन्छौं । त्यसका लागि सबैभन्दा पहिले हामीलाई खानेबस्ने व्यवस्था हुनुपर्‍यो ।’

२ वर्ष पहिले संघसंस्थाले १/१ बाख्रा वितरण गरे पनि पाल्ने वातावरण नभएको उनले सुनाए । ‘आफ्नै बस्ने घर नभएकाले संघसंस्थाले दिएका बाख्रा पाल्न सकिएन,’ उनले भने, ‘अहिले हामी अरूका घरमा बसिरहेका छौं । उनीहरूले घर छोड भनेका दिन छोडेर हिँड्नुपर्छ ।’ पटकपटक सरोकारवालाले गाँस र बास दिन्छौं भने पनि अहिले वास्ता नगरेको उनले बताए । बस्ने घर, जग्गाजमिन, रोजगारी र शिक्षाको अवसर पाए मागेर खाने चलन हट्ने उनीहरूको विश्वास छ ।

बालबालिका पढाइबाट वञ्चित

आर्थिक समस्याकै कारण बादी समुदायका बालबालिका भारतका विभिन्न ठाउँमा गएर मजदुरी गर्न बाध्य छन् । दैनिक गुजारा चलाउन जिल्लाका विभिन्न क्षेत्रमा छरिएर बसिरहेका यो समुदायका बालबालिका विद्यालय जाने उमेरमा मजदुरी गर्नुपर्ने भएकाले आधारभूत शिक्षाबाट समेत वञ्चित भएका हुन् ।

स्थानीय फुँगी बादीले साँझबिहान हातमुख जोर्न पनि धौधौ परिरहने भएकाले छोराछोरी विद्यालय पठाउन नसकिएको बताइन् । ‘मेरो १४ वर्षको छोरोसमेत काम गर्न भारत गएको छ । हामीसँग जग्गाजमिन नभएको र परिवारको संख्या ठूलो भएकाले मजदुरी नै प्रमुख पेसा हो,’ उनले भनिन् ।

सामुदायिक विद्यालयहरूले बालबालिका विद्यालय भर्ना गराउँदा विभिन्न शीर्षकमा शुल्क असुल्न थालेपछि बादी समुदायले बालबालिका विद्यालय भर्ना गराउन नपाएको बताएका छन् । बस्तीका २० बढी बालबालिका शुल्क अभावमा पढाइबाट वञ्चित हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

विद्यालयको शुल्क तिर्न नसकेर विद्यालय भर्ना हुन नपाएका बादी समुदायका बालबालिकाको संख्या जिल्लामा ६० बढी रहेको दलित समुदायका अगुवा मोती कामीले बताए ।


प्रकाशित | ३० पुष २०७५, सोमबार ११:२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *