आरनमा एक्ला वीरबहादुर

काठमाडौं – टायरबिनाको साइकलको एउटा पाङ्ग्रोमा दुईवटा रड क्रस गरेर बाँधिएको छ । साना दुई काठको बीचमा जोडिएको पाङ्ग्रो घुमाउन ह्यान्डल पनि छ । पाङ्ग्रोमा फित्ता छ ।

पाङग्रो घुमाउँदा त्यसले हावा फाल्छ । जति जोडले घुमाउन सक्यो उति नै हावा निस्कने भएकाले कोइला बाल्न सजिलो हुन्छ । उमेरले ६० नाघिसकेका नुवाकोट विदुर नगरपालिका-६, अर्चलेका वीरबहादुर विश्वकर्मा अहिले पनि यसैगरी आरनको काम गर्दै हुनुहुन्छ ।

जेनतेन आरन पेशालाई निरन्तरता दिएका वीरबहादुरको टिनको टहरोले हावाहुरी छेक्ने नसके पनि घामपानी भने छेक्छ । यही टहराभित्र कोइलाको पोको, घन, फलाम, तातेका फलाम पिट्ने भाँडो र सेलाउने पानी पनि अटेको छ ।

साइकलको पाङ्ग्रो घुमाउने, फलाम तताउने, पिट्ने, औजार बनाउने काममै वीरबहादुरका दैनिकी बित्ने गरेका छन् । १७-१८ वर्षको उमेरदेखि बुवालाई सघाउन थालेका उहाँले अहिलेसम्म यही कामलाई निरन्तरता दिनुभएको छ । न पढाई, न त तालिम नै। देखेजानेरै पुस्तौँदेखिको पेशालाई निरन्तरता दिएको उहाँ बताउनुहुन्छ ।

अर्चले गाउँको शिरानमा पुस्तौँदेखि नै आरन चल्दै आएको छ । आरनमा एक्लै भए पनि श्रीमती र एउटा छोरासहित वीरबहादुरको तीन जनाको परिवार छ । ‘आफै गर्न नसकिने भइयो’, उहाँ भन्नुहुन्छ,‘श्रीमती घरायसी काममै व्यस्त हुने भएकाले आरनमा सहयोग गर्ने कोही छैन ।

वीरबहादुरको आरनमा झण्डै ६० घरधुरीका नागरिक आवश्यक सरसामग्री बनाउन आउँछन् । आरनमा घरायसी र कृषि काममा बढी प्रयोग हुने हँसिया, खुकुरी, कुटो, कोदालो, बन्चरोजस्ता औजार बनाउने काम हुन्छ । जाडो होस् या गर्मी जुनसुकै बेला पनि काम आइरहन्छ । यो काममा शारीरिक मेहनत बढी नै गर्नुपर्ने हुन्छ । यो पेशाबाटै उहाँको परिवार पालिएको छ । तर अहिलेसम्म ज्यालाका रुपमा पैसा भने लिनुभएको छैन ।

‘वर्षमा ४-५ मुरी धान आउँछ’, वीरबहादुरले भन्नुभयो, ‘मेरो आफ्नै पनि ४ हलको मेलो पुग्ने बारी छ, खेत पनि दुई सुर्का छन् । ६० वर्ष पुगेकाले सरकारले दिने सामाजिक सुरक्षा भत्ता आउने गरेको छ । तर यो काममा खाने फुर्सदसम्म हुँदैन । कहिलेकाहीँ काम गर्दागर्दै १२-१ बजेतिर खाने हो ।’

आरनमा घन ठोक्न साथी चाहिने भएकाले वीरबहादुर आफ्नो बुवाको साथ लाग्नुभयो । तर उहाँलाई साथी लाग्ने बेलामा छोरा भने गाउँ छोडेर शहर पसिसकेका छन् । छोरा काठमाडौं लागेपछि यो पेशा गर्ने परिवारमा अर्को सदस्य नहुँदा उहाँ चिन्तित हुनुहुन्छ । गाउँघरमा आरन पेशा सिक्ने नयाँ पुस्ता पनि छैनन् । त्यसैले वीरबहादुरलाई पुर्ख्याैली पेशा कसलाई हस्तान्तरण गर्ने भन्ने चिन्ता छ । उहाँ भन्नुहुन्छ, ‘म त सकुन्जेल यो काम गरौँला, तर नसक्ने भएपछि यो आरन पनि बन्द हुने भयो ।’

वीरबहादुरजस्तै पाका उमेरका केहीले निरन्तरता दिएको आरन पेशा संकटमा पर्दै गएको छ । विगतमा आरनको काम आयस्रोतको मुख्य माध्यम भए पनि अहिले भने आकर्षण घट्दै गएको छ । नयाँ पुस्ताले पेशालाई निरन्तरता नदिँदा गाउँघरमा पुराना आरन मात्रै फाट्टफुट्ट देखिन्छन् ।


प्रकाशित | १७ पुष २०७५, मंगलवार २३:२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

error: Content is protected !!