टेकु नेपाली : बहुपहिचानकी धनी अगुवा

टेकु नेपाली दलित आन्दोलनमा चिरपरिचित नाम हो । आन्दोलनको निरन्तरताको नाम र इमान्दारीको प्रर्यावाची नाम कुमारी टेकु नेपाली हो । कुमारी टेकु नेपालीको जन्म स्याङ्जा जिल्लाको विरुवाअर्चले ६ को विरुवामा भएको थियो । उनको जन्म २०१३ साल चैत्र १५ गते भएको थियो । उनी बुबा झलकसिंह मित्रकोटी र आमा धनश्री मित्रकोटीको ४ छोरा र ६ छोरी मध्येकी कान्छी छारी हुन् । जीवनभर सााजिक काममा अरुलाई सहयोग गर्ने, स्वार्थविहीनता टेकु नेपालीको विशेषता हो । एक जना दलित महिला, एक जना शिक्षीका, एक जना दलित नेता, एक जना पार्टी नेता अनि सामाजिक अभियान्ता टेकु नेपालीको जीवनबाट सिक्नुपर्ने कुरा हुन् । बुवा र दाजुहरुले विदेशी भूमिमा कमाएको आर्थिक रकमले उनको परिवारलाई समाजमा स्थापित गर्न सहयोग गरेको उनी स्वीकार गर्छिन् ।

बाल्यकाल र शिक्षा :
कुमारी टेकु नेपालीले श्री जनजागृति प्रावि र चैतन्य भवानी प्राविबाट प्राथमिक शिक्षा लिएकी हुन् । उनको बुबाले केही वर्ष भारतीय सेनामा जागीर खानुभयो । त्यसपछि त्यो बेलाको परिस्थितिमा आफ्नो जागीर छोडेर उनी नेपालमा फर्किएर सिलाई पेशाको आफ्नो पुख्र्यौली काम गर्न थाल्नु भयो । उनको बुबाले सिलाई पेशाको साथसाथै दलितभित्र पण्डितको काम र जडीबुटी सम्बन्धी काम जानेको हुनाले वैद्यको काम पनि गर्नुहुन्थ्यो । उनको बुबा भारतीय सेनामा केही वर्ष काम गरेको र वनारसमा संस्कृत शिक्षा पनि पढेको हुनाले २००७ सालको आन्दोलनमा नेपाली कांग्रेसमा आवद्ध भई काम गरेका थिए । उनको बुबामा राजनीतिक चेतनाको केही विकास भए पनि उनको आर्थिक स्थिति भने कमजोर नै थियो । उनका जेठा दाजु पनि भारतीय सेनाका पेन्सन प्राप्त निवृत हुन् । सानैदेखि टेकुले घाँस, दाउरा र मेलापात गरेर आफ्नो पढाईलाई निरन्तरता दिइन् । त्यतिबेलाको चेतनामा उनको आमाले छोरीले घरव्यवहारिक काम सिक्नु पर्दछ भन्नुहुन्थ्यो भने बुबाले छोरीले पनि पढ्नु पर्दछ भन्नु हुन्थ्यो । गाउँघरमा अरुका छोरीहरुलाई नपढाएकाले गर्दा उनलाई निकै नै गाह्रो भएको थियो । आमाले उनलाई पढ्नमा भन्दापनि घरायसी काममा बढी लगाउनु हुन्थ्यो भने बुबाले पढाई र सिलाईको काममा बढी ध्यान दिनु हुन्थ्यो । गाउँमा नै ५ कक्षा पास भएपछि उनी अरु अध्ययनका लागि गाउँबाट १ घण्टा हिँडेर नव ज्योती मावि बिरुवामा पढ्न थालिन् । सधैं हिंडेर पढ्न गाह्रो हुने भएकोले उनको बुबाले बिरुवामा नै एउटा सानो घर किनेर भैंसी, गाई, बाख्रा पाल्दै पढ्ने व्यवस्था उनी र उनको भाईलाई गरिदिए । उनीले गाई वस्तु पाल्दै घरको काम सकेर भाईलाई खानपिन गराएर स्कुल जान थालिन् । उनले घरको काम धन्दा गर्दा नभ्याएर कक्षा ७ मा पढ्दै गर्दा स्कुल जान छाडिन् । तर फेरी पछि अन्तिम परिक्षा आउने बेलामा गोठालोमा नै पढेर अन्तिम परिक्षामा जाँच दिइन् र उनीले राम्रै अंक ल्याएर पास पनि भइन् । त्यस बेला उनका भाई नरेन्द्र सानै थिए तर पढाईमा निकै नै चलाख थिए । भाई सानै भएको र बुबा आमा गाउँमा बस्ने भएकाले उनले रातभरी जसो घरको काम गरेर आफ्नो पढाई र भाईको हेरचाह तथा पढाई धान्ने गर्दथिन् । टेकु नेपाली स्कूल जीवनमा खेलकुद, हाजिरी जवाफजस्ता अतिरिक्त क्रियाकलापमा भाग लिने गर्थिन् । यिनै क्रियाकलाप नै उनका राजनीति सक्रीयताका आधार बन्न पुगे । यसरी घरव्यवहार र घरधन्दाको काम सकेर टेकुले त्यही विद्यालयबाट २०३१ सालमा एसएलसी पास गरिन् । पढाइका सन्दर्भमा उनको एउटा बलियो अनुभव के छ भने माध्यामिक शिक्षा हाम्रो लागि विश्वविदालय नै रहेछ । साथै उनका पालाको माध्यामिक जीवको शिक्षा राजनीति गर्ने पहिलो खुटकीला बन्यो । विशेष गरी त्यो बेलाका शिक्षकहरु खुलेरै प्रजातन्त्रका लागि सक्रीय देखिन्थे । विशेष गरी बुवाका साथीहरु र उनले पनि चिनि सकेका शिक्षकहरुसंगको संगतले उनलाई प्रगतिशील विद्यार्थी नेता बन्न सहयोग गर्यो ।

शिक्षण पेशबाट राजनीतिमा
टेकु नेपालीका बुबा भारतमा जागीर खाँदादेखि नै राजनीतिक रुपमा सचेत भइसकेका थिए । उनको बुबाको राजनीतिक चेतनास्तर राम्रो भएकोले गर्दा उनमा पनि राजनीतिक चेत सानैदेखि अलिअलि विकास भएको थियो । उनले मावि पढ्दै गर्दा २०२९ सालमा स्कुलको वामपन्थी विद्यार्थी संगठनको इकाई उपाध्यक्षमा निर्वाचित भएर आफ्नो राजनीतिक संगठनात्मक जीवनी शुरु गरिन् । त्यतिबेला सो विद्यार्थी भेलामा जम्मा उनीलगायत ११ जनामात्र छात्राहरु थिए । उनले घरमा आएर बुबालाई विद्यार्थी संगठनमा बसेको कुरा सुनाउँदा उनको बुबा निकै नै खुशी भएको उनी सम्झन्छिन् । बुबा कांग्रेसमा आवद्ध भएर काम गर्दाको राजनीतिक कुराकानी गर्दा विस्तारै उनमा पनि सानैदेखि नै राजनीतिक चेत विकास भएको थियो । उनी स्कुलको सिपालु विद्यार्थी भएको र कक्षाको एकमात्र छात्रा भएको हुनाले पनि उनलाई शिक्षकहरु सबैले राम्रो मान्दथे । उनलाई उनका बुबाको साथी पं.दण्डपाणी शर्माले सबैभन्दा बढी माया गर्दथे । शिक्षकहरुको मायाले पनि टेकुलाई पढ्ने हौसला थप बढाएको थियो । प्राधानाध्यापक टंकप्रसाद पोखरेल कम्युनिष्ट पार्टीप्रति आस्था राख्थे । यी सबै कारणले गर्दा उनलाई कम्युनिष्ट विद्यार्थी संगठनमा आवद्ध हुने प्रेरणा मिल्यो ।
एसएलसी पास गरेपछि २०३१ साल चैत्र २५ गते उनले शिक्षकको नियुक्ति लिएर गाउँकै स्कुलमा पढाउन थालिन् । त्यतिबेलाको परिवेशमा एउटा परियारको छोरी आफ्नै गाउँको स्कुलमा शिक्षिका बन्ने कुरा त्यति सहज र सजिलो विषय थिएन । गैरदलित शासक समुदायलाई आफ्नै घरमा सिलाउने दमाईको छोरीलाई नमस्कार गर्ने र सम्मान गर्ने कुरा सह्य हुने कुरै भएन । जसको परिणाम जातीयताकै कारणले सञ्चालक समितिको मिलेमतोमा उनलाई अर्कै विद्यालयमा सरुवा गरियो । ३ वर्षपछि उनी फेरी सोही विद्यालयमा सरुवा भएर आइन्, जतिबेला उनी स्थायी शिक्षक भइसकेकी थिइन् । यसबीचमा उनले पृथ्वी नारायण क्याम्पस पोखराबाट राजनीतिक शास्त्रमा प्राइभेट आईएको पढाईलाई पनि निरन्तरता दिइन् । २०३७ सालमा उनको बुबाको मृत्यु भयो । त्यसपछि उनको परिवारमा फेरी आपत आइलाग्यो । उनीहरुको दुःखको दिन शुरु भयो । त्यतिबेलासम्म उनका सबै दिदीहरुको विवाह भएको, दाई विदेशमा भएको र भाईहरु सानै भएको हुनाले घरको हर्ताकर्ता उनी नै थिइन् । उनैले सबै व्यवहार धान्नु पर्ने भयो । उनको दाई भारतीय सेनामा जागीरे थिए भने भाई पनि अरब देशमा गएर कमाई गर्न थालेपछि बल्ल उनको परिवारको आर्थिक स्थिति अलि सुध्रियो । २०५५ सालमा उनको आमा पनि बित्नुभयो । त्यसपछि त झन् घरपरिवारको समग्र जिम्मा भाउजु र उनीमा नै आयो ।
उनी जिल्लाको राम्रो शिक्षकका रुपमा चिनिन थालिन् । उनले शिषण पेशासंग सम्बन्धित दर्जनौं तालिम लिएकी थिइन् । उनले २०३२ सालमा उनले स्कुलको प्र.अ.बाट शिक्षक संगठनको सदस्यता लिइन् । प्र.अ. त कांग्रेस पो रहेछन् भन्ने कुरा उनीले संगठनको रसीद लिएपछि मात्रै थाहा पाइन् । पछि उनी वामपन्थी शिक्षक संगठनको सदस्य भइन् र इलाका इन्चार्ज हुँदै २०५२ सालदेखि २०५८ सालसम्म २ कार्यकालसम्म शिक्षकको जिल्ला सदस्यको जिम्मेवारी वहन गरिन् । २०५९ सालमा ने.रा.शि.संगठनको केन्द्रीय महिला प्रतिनिधि हुँदै २०६१ सालमा उनी नेपाल शिक्षक युनियनको केन्द्रीय प्रतिनिधि भइन् । त्यसबीचमा उनले छ वर्ष प्राधानाध्यापकको जिम्मेवारी सम्हाल्दै ३३ वर्ष शिक्षण पेशाको काम गरिन् र शिक्षकबाट अवकास प्राप्त गरिन् ।
टेकु नेपालीले २०३१ सालमा नै नेकपा (माक्र्सवादी) को साधारण सदस्यता लिइन् भने २०४७ सालमा बल्ल उनले पार्टीको संगठीत सदस्यता पाइन् । त्यसपछि उनले विरुवाअर्चले गाउँ कमिटीको उपसचिवको जिम्मेवारी वहन गरिन् । एकातिर शिक्षक पेशालाई निरन्तरता दिने र अर्कोतिर पार्टीको काम गर्दै घरको व्यवस्थापकीय काम धान्नु पर्दथ्यो । उनी पार्टीको काममा निरन्तरताकै क्रममा पार्टीको क्रमशः इलाका सदस्य, क्षेत्रीय सदस्य, तीन कार्यकाल जिल्ला कमिटीको सदस्य, सचिवालय सदस्य, गण्डकी अञ्चल कमिटीको सदस्य, नेकपा एमाले केन्द्रीय महिला विभाग सदस्य हुँदै उनी नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सचिवालय सदस्य समेत हुन पुगिन ।

महिला र सामाजिक आन्दोलनमा महत्वपूर्ण भूमिका :
उनी क्याम्पस पढिरहेको बेला उनका भाईले ल्याइ दिएको म्याक्सिम गोर्कीको आमा र मोदनाथ प्रश्रितको नारी बन्धन र मुक्ति नामक पुस्तक पढेपछि उनलाई राजनीति बुझ्ने र काम गर्ने चेत खुल्यो उनले २०३१ मा नेपाल कम्यूनिष्ट पार्टीको साधारण सदस्यता प्राप्त गरेकी थिइन । शिक्षक संगठनमा लाग्दै निवृत्त भएपछि उनी पार्टीमा सक्रीय भइन । आफू बस्ने गाविसको नेकपा (एमाले) को उपसचिव भइन् । २०३९ सालमा उनले अखिल नेपाल महिला संघको सदस्यता प्राप्त गरेपछि उनी महिला आन्दोलनमा सक्रिय भएकी थिइन् । उनी २०५३ सालमा अ.ने.म.संघको स्याङजा जिल्ला कमिटीको सदस्य हुँदै उपसचिव, सचिव, उपाध्यक्ष हुँदै २०६० सालमा जिल्ला अध्यक्षको जिम्मेवारी पनि वहन गरिन् । उनले २०६२÷६३ को जनआन्दोलनमा उनले जिल्लाभरीका महिला संगठनहरुको संयोजनकारी भूमिका निर्वाह गरेर आन्दोलनमा महत्वपूर्ण ढंगले नेतृत्व गरेकी थिइन् । उनले विभिन्न सामाजिक संघ÷संस्थामा बसेर पनि सामाजिक काम गर्दै आएकी छन् । उनले निरक्षरहरुलाई साक्षर बनाउनका लागि आफ्नो गाविसको सबै वडाहरुमा प्रौढ शिक्षा सञ्चालन गर्नका लागि जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएर प्रौढ शिक्षा पनि ल्याइन् र उनी आफै त्यसको निरिक्षकको तालिम लिएर तालिम सञ्चालन गरिन् ।
त्यसैगरी आमा समूह, वाल समूह, यूवा समूह आदि पनि गठन गरेर जनचेतना दिने काम पनि गरिन् । रेडक्रस सोसाइटीको आजीवन सदस्य, सामूदायिक उर्जा विकास कार्यसमूहको सदस्य, सामुदायीक उपभोक्ता राष्ट्रिय महासंघको दुई कार्यकाल केन्द्रीय सचिव, सामुदायीक महासंघ जिल्ला कार्यसमितिको उपाध्यक्ष, वालिङ्ग बहुमुखी क्याम्पसको आजीवन सदस्य, विरुवा बहुमुखी क्याम्पसको सञ्चालक समितिको सदस्य, जामुने डाँडा मावि, जनजागृति प्राविको आजीवन सदस्य, विरुवा स्वास्थ्य चौकी स्याङजाको सञ्चालक समितिको सदस्य आदि दर्जनौं सामाजिक संघ÷संस्थामा रहेर उनले काम गरिरहेकी छिन् । उनी सामाजिक क्षेत्रमा पनि राजनीतिक क्षेत्रमा जत्तिकै नै क्रियाशील र स्थापित रहँदै आएकी छिन् । उनी सभासद हुंदा कुनै विवादमा परिनन् । बरु सबैभन्दा बढी जिल्ला जाने सभासदमा दर्ज भइन । उनले आफूलाई शिक्षक हुंदा जस लगाएका थिए तिनलाई त्यो गुन तिरिन । उनी सभासद हुंदा सबैले उनीमाथि भरोसा र आशा गरेका देखिन्थे ।

दलित आन्दोलनमा सहभागीता :
टेकु नेपाली लामो समय दलित संगठनहरुमा सक्रीय भइन । २०२९ सालमा उनी दलित जनविकास परिषदको विरोधी थिइन् । २०४५ सालमा आएर उजाउ मंचको गठन भई स्याङजामा सो मंचको आमसभा हंदा टेकुले कविता बाचन गरेकी थिइन् । सो आमसभाबाट टेकुलाई सही ठाउँमा आएको महशुस भयो । पहिलो परिवर्तन आफू र आफ्नो परिबारबाट गर्नुपर्दछ भन्ने विश्वास टेकु नेपालीमा पहिलादेखि नै थियो । दलित समुदायमाथिको उत्पीडन र विभेदलाई नजिकबाटै भोगेकी उनले दलित संगठनमा काम गर्न रहर भएपनि धेरै वटा संगठनमा जिम्मेवारी भएको हुनाले दलित संगठनको जिम्मा लिएकी थिइनन् । २०५३ सालदेखि ०५७ सालसम्म मुक्ति समाजको जिल्ला नेतृत्वमा धन प्रसाद सुनारले थिए । पछि पार्टी फुटेपछि टेकु नेपाली नेपाल उत्पीडित जातीय मुक्ति समाजको जिल्ला अध्यक्ष भइन् ।

स्याङ्जा जिल्लामा जातीय विभेदका विरुद्धका थुप्रै संघर्षहरु भएका छन् । जसमा जगत्रादेवी मन्दिर प्रवेश, उदयचौर दुग्ध काण्ड र दलित बटुकहरुलाई व्रतवन्धलगायतका संघर्षहरु प्रमुख हुन् । एकपटक जगत वन्धु अर्यालको आयोजनामा स्याङजा जिल्लाको स्याङजा बजारमा “श्रीमत भावगत ज्ञान महायज्ञ” को आयोजना गरिएको थियो । त्यसमा प्रमुख वाचक पंण्डीत नारायण पोखरेल थिए । सो महायज्ञमा व्राम्हण क्षेत्रीका वालकहरुको सामूहिक व्रतवन्ध गरिने कार्यक्रम थियो । उनको नेतृत्वमा भएको दलित आन्दोलनले दलितका वालकहरुको व्रतवन्ध पनि गरिनु पर्ने माग गरियो । दलित आन्दोलनको सो मागको सुनुवाई नभएपछि मण्डप नै जलाउने चेतावनी पछि माग त स्वीकार गरियो तर फेरी मण्डप छुट्टाछुट्टै बनाउने षड्यन्त्र भएपछि पुन आन्दोलनको बलमा बल्ल दुई समुदायका वालकहरुलाई एकै ठाउँमा ब्रतवन्ध गरिएको थियो । त्यसबेला दलित समुदायका १९ जना वालकहरुको सामूहिक ब्रतवन्ध गरिएको थियो । यसरी जिल्लामा थुप्रै संघर्षको नेतृत्व गर्दै उनले सफलतापुर्वक आफ्नो कार्यकालमा नेतृत्व गरेकी थिइन् । पछि उनी केन्द्रीय सदस्य हुँदै २०६० सालमा संगठनको राष्ट्रिय सम्मेलबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भइन् । हाल उनी मुक्ति समाज नेपालको केन्द्रीय उपाध्यक्ष तथा महिला विभाग प्रमुखको भूमिका कुशलतापुर्वक निर्वाह गरिरहेकी छिन् ।

उत्पीडन र विभेदको नमिठो अनभूति :
टेकु सानैदेखि असमानता र विभेदको विरोधी थिइन् । उनको घर विश्वकर्मा बस्तीको बीचमा पर्दथ्यो । चारैतिर विश्वकर्माको घरका माझमा ५ घर मात्रै परियारहरुको बस्ती थियो । दलितभित्र पनि विश्वकर्माले परियारलाई विभेद गर्ने प्रचलन रहिआएको छ । उनको काकाको घरको आँगनको बाटो भएर विश्वकर्माहरु हिड्ने गर्दथे । पँधेरामा जाँदा र पानीको गाग्री बोकेर आउँदा विश्वकर्माहरुले परियार समुदायका मान्छेलाई टाढैबाट छोइन्छ भनेर हकार्ने गर्दथे । त्यसैगरी गैरदलित समुदायका मान्छेले पनि छिछि र दुरदुरको व्यवहार गर्दथे । यो विभेद र अपमानको घटनाले उनलाई साह्रै नमिठो अनुभूति हुने गर्दथ्यो । मासु काटेको स्थानमा, भोजभतेर गरेको स्थानमा पनि त्यस्तै अपमान र विभेदको स्थिति रहने गर्दथ्यो ।
त्यतिबेला गाउँको चिया पसलेले पनि दलित समुदायका मान्छेले चिया खाँदा पनि गिलास माझ्ने र माझ्न लगाउने चलन थियो । एकदिन उनको मामाको छोरालाई जन्ती जाँदा चिया पसलेले चिया खाएको गिलास बल्जफ्ती माझ्न लगाउँदा उसले चियाको गिलास नै टिपेर फुटाई दिएको घटनालाई उनी अहिले पनि ताजै सम्झन्छिन् । त्यस्तै उनकै भाई नरेन्द्रले हाफ छुट्टिमा सबै साथीभाई मिलि गाउँकै पसलमा एकदिन आलु तरकारी खाएछन् । उनलाई पसलेले भाँडा माझ्न लगाएपछि उनी र उनका स्कुलका साथीहरु मिलेर खाजा खाएको भाँडा माझ्नुको सट्टा भाँडा नै फालिदिएपछि ठूलो विवाद भएपछि त्यो घटनामा सबैका सामू साहुले माफी मागेको घटना पनि उनी सम्झन्छिन् । त्यस्तै उनको पालामा स्कुलमा पनि सरहरुले दलित समुदायका विद्यार्थीहरुबाट छोइन्छ भनेर अलक्क कापीकिताव लिने चलन थियो । उनको विश्वकर्मा थर भएका विश्वकर्माले क्षेत्रीको छोरीसंग मायाप्रेम ग¥यो भनेर उनलाई जेल लगेको घटना पनि उनी उल्लेख गर्छिन् । त्यस्तै एकदिन उनका महिला गैरदलित साथीहरुले उनलाई एउटा साथीको घरको चुलामा लगेर खाना खुवाए, त्यो घटनामा उनीले निकै नै धक मानिन् । त्यतिबेला दलितका केटाकेटी गैरदलितको चुलामा गएर खाना खानेकुरा निकै नै ठूलो थियो । उनलाई शुरुमा अफ्ठ्यारो लागेपनि पछिपछि सहज हुँदै गयो । पछि उनले घरमा हुने, छोरा र छोरीका बीचमा हुने, सासु र बुहारीका नाममा हुने, दलित दलितका बीचमा हुने, क्षेत्रीय, लैगिक, दलित अदलित, सामाजिक विभेद, धनी गरीवकाबीचमा हुने वर्गीय विभेदहरुको उनको चेतनाले पहिचान गर्न र यसका आधारभूत तथा राजनीतिक कारणहरुको विश्लेषण गर्न थालिसकेको थियो ।

राष्ट्रिय दलित आयोगको सदस्यको जिम्मेवारी :
शिक्षकमा वहाली भएकै बेला शिक्षकभन्दा राजनीतिमा बढी सक्रीय भएकी टेकु नेपाली नेकपा एमालेकातर्फबाट मुक्ति समाज नेपालको उपाध्यक्षको हैसियतमा राष्ट्रिय दलित आयोगको सदस्य नियुक्त हुनु भयो । उनले आयोगको दुई वर्षको कार्यकाल विना विवाद कुशलतापूर्वक सम्पन्न गरिन् । तरपनि उनको कार्यकाल निकै चुनौतिपूर्ण रह्यो । उनले आयोगको नियुक्ति लिएको केही दिनमा राजा ज्ञानेन्द्रले २०६१ माघ १८ मा कु भयो । सिंगो देश आन्दोलनमा होमियो । अनि सिंगो दलित आयोग पनि आन्दोलनमा होमिन वाध्य भयो । उनले आफ्नो शिक्षण पेशामा बेतलवी विदा लिएर दलित आयोगमा सक्रीय भएकी थिइन । त्यतिबेला उनले देशका थुप्रै जिल्लामा गएर विशेष गरी दलित महिलाहरुलाई संगठीत गर्न सफल भइन् । त्यहाँ पनि उनले आफूलाई दिइएको जिम्मेवारी प्रभावकारी ढंगले पुरा गरिन् । देश निरकुंशतामा डुबेको हुनाले उनले चाहे जति काम गर्न भने नसकेको गुनासो गरिन । उनलाई आयोगमा बसेर धेरै गर्न सकिन्थ्यो भन्ने विश्वास थियो ।

ऐतिहासिक जनक्रान्ति २०६२/६३ मा भूमिका :
ऐतिहासिक जनक्रान्ति २०६२÷६३ मा टेकु नेपाली एकातिर पार्टी अ.चल कमिटी सदस्य, अर्कातिर मुक्ति समाज नेपालको केन्द्रीय उपाध्यक्ष र राष्टिय दलित आयोगको सदस्य । यी तिनैवटा पदको गरिमाकासाथ सक्रीय भूमिका निभाउनु उनको कर्तब्य बनेको थियो । २०६२ चैत्र २३ गतेका कुरा हो उनले गोप्य रुपमा कल.कीको मोर्चाको जिम्मेवारी निभाउनु पर्ने थियो । किर्तिपुरबाट कलंकी गएर चक्काजाम गर्नुपर्ने जिम्मेवारी तोकेको थियो । जब कलंकीस्थित बाबा पेटोल पम्पमा उनीलगातले प्रवेश गर्न नपाउँदै राज्यबाट ठूलो दमन शुरुवात भयो । उनी दलित आयोगका कमृचारी विष्णु परियारसहित त्यहाँबाट नजिकै रहेको मुक्ति समाज नेपालको केन्द्रीय कार्यालयमा पस्नुभयो । आकाशमा हेलिकफ्टर घुमिरहेको थियो । सडकमा सुरक्षाकर्मीहरु विगविगी थियो र सर्वसाधारणको दौडधुप र हाहाकार चलिरहेको थियो । उनका भतिजाहरु रवि र अमृ अनि दलित आयोगकी अर्की कर्मचारी कल्पना सुनारलाई त्यतै बोलाएकी थिइन टेकुले । दौडधुपमा कल्पनाको खुट्टा मर्के घाइते भइन । यही क्रममा मुक्ति समाजका अध्यक्ष लालबहादुर विश्वकर्मा र दलित आयोगका अध्यक्ष भागवत विश्वासी गिरफ्तार हुनु भयो । लालबहादुर विश्वकर्माले लेटरप्याड र छाप लिएर आउनुहोस कार्यवाहक दिनुपर्ने छ भन्नु भयो । आन्दोलनको बेला निर्देशन पूरा गर्नु पर्ने नै हुन्थ्यो । अनि आफूले बोकेको व्यागको भित्री भाग च्यातेर लेटरप्याड र छाप भित्र हालियो अनि पुनः सिलाएर उनले झोलामा फलफूल हातमा दलित आयोगको परिचय पत्र लिएर बाटोमा जाँदै गर्दा व्याग चेक गरियो तर फलफूल देखेपछि भित्र हेरेन । अनि जावालाखेलस्थित महिला प्रशिक्षण केन्द्रमा लालबहादुरलाई भेट भयो उनको । विरामी दाजु लालबहादुरलाई भेट्न आएको भनेपछि सो झोलामा भएका लेटरप्याड र छाप दिएर तरबारको धारमा जोगिएर राति अबेर किर्तिपुर फर्किइकी थिइन टेकु । पछि सो आन्दोलन सफल भई त्यसकै परिणाम स्वरुप सम्पन्न भएको दोस्रो संविधानसभामा नेकपा एमालेको कोटामा समानुपातिकतर्फबाट उनी सभासद निर्वाचित भइन ।

सभासद हुँदाको संघर्ष :
टेकु नेपाली २०७० सालमा नेकपा (एमाले) को तर्फबाट समानुपातिक सभासद भइन् । उसो त उनी २०६३ को पहिलो संविधानसभामा पनि समानुपातिक तर्फ उम्मेदवार थिइन । तर त्यो बेला उनी निर्वाचित हुन सकिनन् । सभासद भएर संविधान निर्माण अनि दलित मुद्दा र विकासको कुरामा निकै चिन्तित् र गम्भीर भएर उनी लागिन् । हरेक पलपलको निगरानी गरेको उनको दावी छ । दलित मुद्दा स्थापित गर्नमा उनको अहं भूमिका रहेको छ । हरेक वडामा एक जना दलित महिला बनाउनुपर्दछ भन्ने विषयमा टेकु नेपालीले संशोधन प्रस्ताव पनि हालेकी थिइन् र त्यसमा उनी निर्धक्कसंग संघर्ष गरेकी थिइन् । विभिन्न आन्दोलनहरुले आयोजना गरेका कार्यक्रममा उनले कैयौं पटक नयाँ संविधानमा दलित मुद्दा स्थापित भएनन भने आफू सभासदबाट राजिनामा दिएर दलित आन्दोलनमा फर्कने घोषणा गरकी थिइन । सभासद हुंदा जिल्ला भ्रमण गर्नेमध्ये उनी अग्रपंक्तीमा पर्दथिन् । सभासद कोषबाट दलितहरुको क्षमता अभिवृद्धि गर्ने र राजनीतिक परिचालन गर्ने काम उनले राम्ररी गरेकी थिइन् । संविधानमा दलित महिलाको अलग पहिचानकासाथ व्यवस्था गर्न गराउन टेकु नेपालीको ठूलो भूमिका छ । संविधानसभामा उनी विधायन समिति जस्तो महत्वपूर्ण समितिमा थिएन्, जहाँबाट हरेक विधेयकको मस्यौदा बनेर जान्थ्यो । उनी सभासद भएर मात्र होइन मुक्ति समाज नेपालको केन्द्रीय उपाध्यक्ष समेत भएकीले संविधानमा दलित अधिकारको सुनिश्चितताका लागि भएका हरेक आन्दोलनमा उनको सहभागिता रहने गर्दथ्यो ।

मेची महाकाली अभियानका अनुभवहरु :
उनले राजनीतिक तथा साँगठनिक जीवनमा दुईवटा ठूला ठूला ऐतिहासिक महत्वका मेची महाकाली अभियानमा सरिक हुने मौका प्राप्त गरिन । पहिलो उनी संलग्न दलित संगठन मुक्ति समाज नेपालको र अर्को उनी सभासद भएको पार्टी नेकपा एमालेको अभियानमा । दुईटै अभियानमा उनको सक्रीय र नेतृत्वदायी भूमिका रहेको थियो । ती अभियानमा उनी विरामी हुंदा पनि जीवनको प्रवाह नगरी पुरै अवधि हिडेकी थिइन । मुक्ति समाज नेपालको आयोजनामा मेचीको इलामबाट २०७० देखि २०८० लाई दलित अधिकार दशब घोषणा गरौं, जातीय भेदभाव तथा छुवाछूत उन्मुलन गरौं ।। भन्ने मूल नाराकासाथ जातीय भेदभाव विरुद्ध अन्तराष्टिय दिवस २१ मार्च चैत्र २१ सम्म मेची महाकाली अभियान संचालन गरिएको थियो । यस अभियानको अर्को मूल उद्देश्य खिलराज रेग्मीको सरकारलाई तत्काल संविधान सभाको निर्वाचन गर्न दवाव दिने समेत रहेको थियो । यस अभियानमा इलाम, झापा, इटहरी, लहान, राजविराज, जनकपुर, वर्दिवास, चन्द्रनिगाहपुर, कलैया, बीरगंज, हेटौडा, नारायणगढ, भैरहवा, बटवल, दांग, नेपालगंज, बर्दिया, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, डोटी, बैतडी, बझांग र दार्चूलासम्म पुगेको उनको अनुभव छ । तर स्याजालगायतका जिल्लामा सो अभियान लग्न नसकेकोमा उनी दुखी छिन र सो अभियानका क्रममा बर्दियाका भ्रद्रमान विश्वकर्मा विरामी भई आइसियूमा राख्नु परेको र केही साथीहरु सहित आफू विरामी हुनु परेकोमा पनि उनी दुःखी छिन् ।

नेकपा एमालेको आठौं महाधिवेशन प्रतिनीधि नबनेकोमा पछूतो :
आठौं महाधिवेशनमा उनी जिल्लाबाट महाधिवेशन प्रतिनीधिमा पराजित भइन । उसो त उनी मुक्ति समाज नेपालको फ्रयाक्सनबाट प्रतिनीधि हुन सक्ने संभावना थियो तर उनलाई जिल्ला पठाइयो । पछि उनले फेरि फ्याक्सनबाट प्रयास गर्दा संभव भएन । यदि उनी त्यसबेला प्रतिनीधि बन्न पाएको भए सहजै पार्टी केन्द्रीय सदस्य बन्न कसैले रोक्न सकने अवस्था थिएन । यसरी प्रतिनीधि हुन नसकेकाले केन्द्रीय सदस्यबाट बंचित हुनुपरेको उनको तीतो अनुभव छ । तथापि उनलाई पछि पार्टीले महाधिवेशन खाद्य व्यवस्थापन समितिको सदस्यको रुपमा सहभागी भने भएकी थिइन । दलित वा महिलाका लागि सकारात्मक विभेदको व्यवस्था नभएका कारण उनी पार्टी केन्द्रीय सदस्य हुनबाट बंचित भएकी थिइन । उसो त नवौं महाधिवेशन उनी प्रतिनीधि हुन त सफल भईन तर पनि उनले केन्द्रीय सदस्यमा पराजय भोग्नुपरेको थियो । तर उनी भने यस घट्नालाई दुर्घटनाका रुपमा ग्रहण गर्दछिन ।

अविवाहित हुँदाको अनुभूति र पितृसत्ता विरुद्धको संघर्ष
टेकु नेपालीले उनको नामको अगाडि उनी सानै हुँदा अभिभावकले नै कुमारी राखिदिए । अहिले उनको नागरिकतामा कुमारी टेकु नेपाली नाम छ । साँच्चै उनी अहिले पनि अविवाहित नै छिन् । उनी एसएलसी पास गर्दा उनको गाउँ वरपर कतैपनि उनी जत्तिकै पढ्ने दलित महिला थिएनन् । उनलाई विवाह गर्नको लागि भारतीय सेनाको लाहुरेदेखि अरु थुप्रैथरि युवा तन्नेरीहरु उनलाई हेर्न र माग्न आएका थिए तर उनी विवाह गर्ने सोंचमा कहिल्यै भइनन् । बुबाआमाले धेरै पटक नै उनको विवाह गर्नका लागि उनलाई कर पनि गरे तर उनी मानिनन् । जब उनी शिक्षक भइन्, त्यसपछि उनीलाई माग्न आउने हिम्मत जो पायो त्यहीले गर्नै नसकेको उनी बताउँछिन् ।
उनले सानैदेखि आफ्नै परिवारमा पनि छोरा छोरीमा विभेद भएको महसुुुुस गर्ने गर्थिन् । उनको बुबाले छोरा र छोरीलाई बराबरी पढाएपनि उनको बुबा पण्डीत भएको हुनाले विवाह नभएको छोरीले पकाएको खाना खानुहुँदैन भन्ने सामन्ती मान्यता राख्दथे । उनका बुबाले आमाले चुलो लिपेपछि पकाएको खानेकुरा मात्रै खानुहुन्थ्यो । उनको बुबाले धोती पाटा फेरेर चुलामा पिर्का ओछ्याएर खाएको उनी अझैपनि सम्झन्छिन् । यसरी समाजले छोरीमाथि वालमनोविज्ञानमा नै गहिरो चोट पुग्ने गरी विभेद गर्ने प्रचलनले उनलाई अहिले पनि बेलाबेलामा झस्काउने गर्दछ ।


छोरीलाई पढाउने चलन नै नभएको बेलामा दलित परिवारमा जन्मेर उनले आईएसम्मको अध्ययन गरेकी छन् । हालसम्म पनि अविवाहति रहेकी उनी आफ्ना एक दाजु र दुई भाईसंग सगोलमा बस्दै आएकी छन् । उनको पुर्खौली सम्पतिका रुपमा खरबारी ३२ रोपनी र खेतबारी ८ रोपनी छ भने पोखरामहानगरपालिकामा १० आना घडेरी छ । टेकु जुन विद्यालयमा पढ्थिन्, त्यहाँ हात थापेर पानी खान्थिन् । पछि उनी त्यही स्कुलमा शिक्षक भएर गइन् । ३३ वर्षे शिक्षण पेशादेखि राजनीतिक जीवन हुँदै उनले आफ्नो जीवनमा धेरै संघर्ष गरिन् । उनले छोरी हुनुको विभेद र अपमान, दलितभित्र पनि दमाई हुनुको पीडा, स्कुल नियमित जान नपाएको पीडा, दलित समुदायमा जन्मनुको पीडा र अपमान सबै जीवन्तरुपमा बेहोरेकी छिन् । पार्टी र विभिन्न संगठनमा काम गर्दा दलित र महिला हुनुको नाताले हुने सामन्तवादी सोंच, चिन्तन र विभेदका थुप्रै व्यवहारहरु पनि उनले देख्दै र भोग्दै आएकी छिन् । तर पनि टेकु नेपाली अविराम रुपमा जीवन एक निरन्तर संघर्ष हो भन्ने मान्यतालाई आत्मसात गर्दै अघि बढीरहेकि छिन् । अविवाहित महिलाहरु अलि संकीर्ण हुन्छन् भन्ने बुढापाकाहरुको भनाईलाई मनन गर्दा उनीमा पनि केही साघुरोपन देखिएपनि टेकु नेपाली दलित महिला आन्दोलनको एक धरोहर हुन् । नेपालको दलित आन्दोलनमा पनि राजनीतिक आन्दोलनमा पनि एउटा परिपक्व महिला नेतृको रुपमा उनी स्थापित भएकी छिन् । उनीबाट भावी पुस्ताले धेरै कुरा सिक्नुपर्दछ ।

राष्ट्रिय÷अन्तराष्ट्रिय भ्रमण :
राजनीतिक जीवनमा देश विदेशको भ्रमणबाट हुने अनुभव पनि महत्वपूर्ण हुन्छ भन्ने उनको अनुभव रहेको छ । उनले स्वदेशमा केही जिल्लाबाहेक अधिकाँश ४४ बढी जिल्लाहरुको भ्रमण गरेकी छिन् । भ्रमणका क्रममा उनले कर्णाली, सुदूरपश्चिको बझांग, दार्चुलादेखि काठमाडौं उपत्यका, पर्वतबागलुंग र पूर्वको इलाम, झापा, सुनसरी, धनकुटा र उदयपुरसम्म पुगेकी छि । भने अन्तराष्ट्रिय भ्रमणमा छिमेकी मुलुक भारत, हङकङको भ्रमण गरेकी छिन् ।

सम्मान तथा पुरस्कार
उनी शिक्षा दिवस २०५८ मा पुरस्कृत तथा सम्मानित भएकी छिन् । त्यसै गरी २९ औं शिक्षा दिवस २०६० मा शिक्षा दिवस पदकबाट सम्मानित भएकी थिइन । यसका अलावा उनी विभिन्न शैक्षिक संस्थाबाट पनि उनी सम्मानित भएकी छिन् । त्यसैगरी उनी स्थानीय विकास मंत्रलाय अन्तरगत उपेक्षित उत्पीडित र दलित वर्ग विकास समितिबाट दलित आन्दोलनमा सक्रीय भूमिका खेले वापत २०६६ मा सम्मानित गरेको थियो । उनी भारतको बाबु जगजीवन राम कला संस्कृति तथा साहित्य एकाडमीबाट अन्तराष्ट्रिय अम्बेडकर सामाजिक सम्मान २०१५ प्राप्त गरेकी छिन् । उनले पार्टीका स्याजा सम्पर्क कमिटी, यूवा संघ नेपाल, मुक्ति समाजका विभिन्न तह, विभिन्न दर्जनौं क्लबहरुबाट पनि उहाँको योगदानको कदर गर्दै सम्मान गरेको छ ।

जेलजीवन तथा प्रकाशन :
उनले २०३६, २०४६ र २०६२६३ को जन आन्दोलनमा सक्रीय भूमिका त खेलेकी छिन तर उनले सत्ताले पक्रेर जेल जीवन भने खानु नपरेको उनको अनुभव छ । साथै उनका अलग प्रकाशनहरु त छैनन तर विभिन्न जर्नल, पुस्तकहरु, पत्रपत्रिकाहरुमा लेख रचना अन्तरवार्ता भने थुप्रै प्रकाशन भएका छन् ।

हालको दिनचर्या :
उनले आफ्नो जीवनलाई पेशागत, साँगठनिक र राजनीतिक गरी तीनवटा पाटोमा लिने गरेकी छिन् । तिनवटै जीवनका भूमिकाहरु उनले पहिचानकासाथ पूरा गरिन । उनी जीवनमा आफैले संविधानसभाका सदस्य भई आफ्नै हातले हस्ताक्षर गरी हिजोका संविधान हेर्दा तुलनात्मक रुपमा दलितमैंत्री संविधान जारी गर्न पाएकोमा खुशी छिन । उनलाई नेपालको संविधान जारी भएको दिन २०७२ असोज ३ जीवनको सबैभन्दा हौसलापूर्ण दिन लाग्छ । त्यसपछि नेपालको संविधान कार्यान्वयनका लागि जनताहरुमा जागरण ल्याउन नेकपा उमालेले आयोजना गरेको मेची महाकाली अभियान ऐतिहासिक लाग्छ । अर्को २० औं वर्षसम्म हुन नसकेको स्थानीय तहको र्विाचन, नयाँ संरचना सहित प्रदेश र प्रतिनीधि सभाको निर्वाचनमा आफू समेत एक जना नेताको रुपमा भूमिका खेल्न पाउँदा अति खुशी लागेको छ उनलाई । यति ठूलो ऐतिहासिक कार्यभार पूरा गरी सकेको मान्छेलाई २०७४ को प्रत्यक्ष वा समानुपाितकतर्फ वा राष्ट्रिय सभामा पार्टीले टिकट दिनुपर्ने तर व्यवास्ता गरेकोमा दुख लागेको छ । संयुक्त बामगठबन्धन एउटै पार्टी बनेर अघि बढ्ने घट्नाले भने अत्यन्तै खुशी लागेको छ उनलाई । हाल उनी पार्टीको कुनै औपचारिक जिम्मेवारीमा छैनन् । मुक्ति समाजको केन्द्रीय उपाध्यक्ष तथा महिला विभाग प्मुखका हैसियतमा काममा लागि रहेकी छिन । नेकपा उमाले र नेकपा माओवादी केन्द्रको एकीकरण पश्चात बन्ने ठूलो पार्टीको कार्यकर्ता भएर काम गर्न पाउने वाताबरणदेखि भने टेकु खुशी छिन अनि आशावादी पनि ।

(दलित महिला केन्द्र नेपालद्धारा प्रकाशित तथा राजेन्द्र महर्जनबाट सम्पादित ‘दलित नेतृत्व : संघर्ष र सफलता’ नामक पुस्तकबाट)


प्रकाशित | ९ पुष २०७५, सोमबार २२:५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *