दलित आन्दोलनको उपलब्धी : तितो यर्थाथ र मिठो भ्रम

नेपाली समाजमा आज पनि मानिसहरुको अस्तित्व र पहिचान कर्म र धर्मका रेखाहरुले निर्धारण गरेको स्थिति कायमै छ । त्यसो होईन भन्ने सायद कसैसंग कुनै आधार छैन होला । किनकी, कर्म र धर्मले निर्धारण गरेको जातीय व्यवस्था, त्यसमा आधारित जातीय पहिचान र पहिचानले वोकेको मुल्य मान्यता अनि त्यसले निर्धारण गरेको व्यक्तिको सामाजिक हैसियत जस्ता आधारहरुले आज पनि हाम्रो समाजलाई डोराएको यर्थाथ कायमै छ । तीन हजार बर्ष देखि हामी यस जाती व्यवस्थालाई अंगिकार गर्दै आएका छौं भन्ने वाक्य तमाम नेपाली सोध पुस्तिकाहरुमा पाइन्छन् ।

जाती व्यवस्थाको उत्पत्ति कहिले , कुन कालखण्डमा के प्रयोजनको लागि भयो । त्यसको तत्कालिन समाजमा तात्पर्य के थियो । विभेद गर्नु थियो वा श्रम विभाजनलाई व्यवस्थित गर्नु थियो । तमाम विश्लेषण र तर्क– विर्तकको कमी छैन् बजारमा । तर उपलव्ध विचारहरुसंग खासै म सहमति वा विमति पनि राख्न चाहन्न । किनकी, जति वेला जात प्रथा प्रचलनमा आयो म अस्तित्वमा थिएन । र, मलाई ठ्याक्कै थहा छैन कि जात वा जातीय व्यवस्थाको असली मक्सद के थियो ? र, कति समयको लगि थियो ?‘ भन्ने, आदि– आदि । मान्छेको औसत आयु (खास गरी नेपालीहरुको) सन् २०१६ मा गरिएको सर्भेको आँकडा अनुसार ७०.२५ वर्ष मात्र हो । तर, सामाजिक सोधमुलक साहित्यहरुमा जाती व्यवस्थाको प्रचलन झण्डै ३००० वर्ष पुरानो भन्ने कुराले र त्यसको प्रभाव वर्तमान समाजमा आज पनि उत्तिकै प्रखरताका साथ अभ्यास गरिनुले , मलाई आश्चर्य चकित पार्छ । म दुखी हुन्छु र आक्रोसित पनि स वर्तमान नेपाली समाजको गतिशीलताको स्थिति प्रति ।

तीन हजार वर्ष पहिले रचिएको मुर्खताको परिणाम आजको आधुनिक र सभ्य नेपाली समाजमा मैले भोग्नु पर्ने, यो कस्तो विडम्वना ! विधिविधान र नियम कानुले चल्ने यस राज्यमा जो आधुनिक युग र समयको मूर्त धरातल वोकेर वाँचेको छ । जस्ले मानवीय समानता, न्याय र मर्यादाको रक्षार्थ दर्जनौं अन्तरास्ट्रिय सन्धी महासन्धीहरुमा हस्ताक्षर गरेको छ । जहाँ हाल प्रगतिशील भनिने राजनीतिक विचारधाराको सरकार पनि अस्तित्वमा छ । तर म, यो देशको सार्वभौम नागरिक हुँदा हुँदै पनि , समान मानवको हैसियत अनुभुति गर्न नसक्ने सामाजिक स्थितिमा वाच्नु पर्ने, किन ?

त्यसैले, सामाजिक परिवर्तनका लागि यस देशमा जे जति आन्दोलनहरु भए ती सवै आन्दोलनहरु प्रति मेरो सन्देह छ । मेरो प्रश्न छ ! अझ विशेष गरेर दलित आन्दोलनको इतिहास भट्टयाउनेहरुलाई अनि दलित आन्दोलनकारीको तक्मा भिर्नेहरुलाई । खै ! कथित तल्लो र उपल्लो जाति भनी कित्ताकाट गरिएका जातीहरु विचको सामाजिक दूरी कति सेन्टीमिटर वा मिटरले घटाउन सफल भयो त दलित आन्दोलन ? कथित पानी चल्ने र नचल्ने जाती विच अश्पृश्यताको सम्वन्धमा के कति तात्विक परिवर्तन ल्याउन सक्यो त दलित आन्दोलनले रु
कथित तल्लो र उपल्लो जाती विचको असमानतालाई कम गर्ने कुरा त परै जावस् । कथित तल्लो भनिएकाहरु विचको श्रेणीगत जातीय असमानताको दूरी , आजसम्म पनि यथावत स्थितिमा रहनुले, दलित आन्दोलन मात्र एक दन्त्य कथा भएको पुष्टि गर्दछ । जुन एक पूस्ताबाट अर्को पुस्तामा श्रव्य किम्वदन्तिको रुपमा हस्तान्तरण भैरहन्छ । चरम सामाजिक शोषण र उत्पीडनले थल्लिएको कथित दलित समुदाय जो संग सामाजिक न्यायको लडाई लड्न र मानवीय मर्यादाको लागि विद्रोह गर्ने सम्पूर्ण कारण छ । तर पनि ऊ वेवाक पशु सरह वा भनौ पत्थर सरह जीवन यापन गरिरहेको छ, आखिर किन ?  आज पनि कथित दलित समुदायका व्यक्तिहरुलाई सोध्ने हो भने चेतनाको धरातलिय यथार्थ र दास मानसिकताको धङ्गधङ्गी खुलस्थ हुन्छ ।

चरम सामाजिक शोषण र उत्पीडनले थल्लिएको कथित दलित समुदाय जो संग सामाजिक न्यायको लडाई लड्न र मानवीय मर्यादाको लागि विद्रोह गर्ने सम्पूर्ण कारण छ । तर पनि ऊ वेवाक पशु सरह वा भनौ पत्थर सरह जीवन यापन गरिरहेको छ, आखिर किन ?

 

जस्तै, ६१ बर्षिय बिनाराम बि. क.(नाम परिवर्तन) भन्नु हुन्छ “आजभोली त छुवाछुत त्यति छैन तर हामी सानो हुँदा बाटोमा कुनै बाहुनले देख्यो भने “ कामी देखियो साईत बिग्रियो”, भन्थे । त्यसै गरी ५७ बर्षिय सबिता नेपाली (नाम परिवर्तन) भन्नु हुन्छ “दमाईलाई अगाडी लगायो भने साईत पर्छ भन्दै बिहेमा, दशैको पुँजामा मन्दिरहरुमा बाजा बजाउन लगाउँथे” । खैर, आज परिस्थिति दलितहरुका लागि यति विघ्न व्याध्यकारी नभएपनि, उनीहरुलाई मानवीय मर्यादा भने अझै पूर्णरुपले प्राप्त हुन सकेको छैन् ।

केही समय अघिको कुरा हो म कामी बस्तीमा समाजिक समावेशिताको अवधारणाको अध्ययनको क्रममा २०७५ सालको साउन महिनामा प्युठानको रातामाटा भन्ने गाँउमा एक जना उक्त गाँउका कामी समुदायकै पढेलेढेका ४८ बर्षिय बलबहादुर बि.क. (नाम परिवर्तन) सँग कुरा गर्ने मौका पाए । उहाँले भन्नु भो, “ हाम्रो टोलमा दुई तिन वटा दमाईको घर छ । बाहिर त हामी सँगै बस्छौं तर अझै सम्म मैले उनीहरुलाई मेरो भान्सामा लग्न सकेको छैन” । यसरी अछुत भनेर समाजले छुटुयाईएको बर्गहरुको बिचमा पनि माथिल्लो र तल्लो जातको श्रेणीगत तह अभ्यासमा रहनुले उनीहरु आफु –आफु बिचमा पनि को ठुलो र को सानो भन्ने भावनालाई त्याग्न नसकेको स्थिति छ । कहि न कहि यस्ता भित्री विभाजनका कारण सन् २००० साल देखि यता दलित आन्दोलनको आजसम्म खासै कुनै मुर्त रुप देख्न पाईएको छैन् । यसो भनि रहँदा यद्दपि मैले दलित आन्दोलनले कुनै योगदान नै गरेको छैन चाँही भन्न खोजेको होईन । तर जति गर्न सक्थ्यो र गर्नुपथ्र्यो त्यति गरेको छैन् चाँही भन्न खोजेकै हो ।

 

वि.सं. २००७ साल भन्दा अघि देखि नै अस्तित्वमा रहेको दलित आन्दोलन जुन लगभग ७० वर्ष पहिले प्रारम्भ भएको थियो । जस्को मुख्य उद्देश्य जातीय विभेद अन्त्यको हुनुपर्दथ्यो । आज करिब ७० वर्ष पश्चात जसको उपलव्धिको सुचक सहज पारस्परिक अन्तरजातीय अनुष्ठान र सहभोज लगायत अन्तर जातीय वैवाहिक स्वीकार्यताको स्थिति हुनु पर्दथ्र्यो । त्यो आज पनि दुर्लभ परिस्थितिका रुपमा कायम छ । दलित आन्दोलनका अन्तरवस्तु केलाएर हेर्ने हो भने उक्त आन्दोलन जातीय समानता र मानवीय सह–अस्तित्व प्राप्तीको मार्ग भन्दा सयौ कोष टाँढा लड्खडाई रहेको देखिन्छ ।

गैर दलितसंगको विसम असमानताको विरुद्ध खडा गरिएको दलित आन्दोलनले आफै माझ विद्यमान अगाध बिसमता देख्न र त्यसलाई सच्याउन तर्फ कुनै कदम नचालिनुले दलित आन्दोलनको वौद्धिक धरातल, अदुरदर्शिता र जातीय मानसिकता प्रतिको घनिभुत दासत्वको स्तर वयान गर्दछ । कथित ठूलो जात भनिएकासंग समानताको चाहना राख्ने तर आफ्नै समुदायभित्रका कथित साना जात भनिएकाहरुलाई स्व स्थान दिन नचाहने दरिद्र प्रवृत्तिका कारण ७० वर्षको लामो अवधिमा पनि दलित आन्दोलनले कुनै ठोस उल्ल्लेख्य उपलव्धि हासिल गर्न सकेन । न उपल्लो जात भनिएकाहरुसंग सामिप्यता कायम गर्न सक्यो , न स्वयम भित्रको विसमता हटाउन सक्यो । त्यो हुनुको पछाडि पक्कै पनि कथित दलित आन्दोलनको असर र नियति दुवै निश्प्रभावपूर्ण भएको हुनुपर्ने स्पष्ट देखिन्छ ।

अर्काको आङ्गको जुम्रा देख्ने तर आफ्नो आङ्गको भैंसी नदेख्ने भन्ने उखान यहाँ कत्तिको सान्दर्भिक होला भन्न सक्तिन । तर पनि जातीय समानताको लागि संघर्षरत कथित दलित समुदाय उपल्लो जात भनीएकाहरुसंग मानवीय समानताको पौठें जोरी खेलिरहँदा, आफै भित्रको घनघोर विसमता चिर्नु पर्ने आवश्यकता तर्फ भने उदासिन देखिनु , दलित आन्दोलन हाक्नेहरुको जातीय समानताको उद्देश्य प्राप्ती तर्फ सकारात्मक सोच रहेको कदापि मान्न सकिन्न ।

जवसम्म जातीय विभेद अर्थात असमानताको छाँया स्वयम दलित समुदायका विभिन्न जातीहरु माझ विद्यमान रहन्छ । तवसम्म उपल्लो जातसंग जातीय समानताको लागि विजय हासिल गर्न आवश्यक पर्ने एकिकृत शक्ति कथित दलितहरुमा कहिल्यै संचित नहुने निश्चित छ । जवसम्म आहार–विहार तथा वैवाहिक सम्वन्धहरु स्वयम दलित समुदायका जातीहरु विच आपसमा सुमधुर प्रक्रिया वन्न सक्तैनन् । तवसम्म दलित र गैर दलितहरुको वीचमा पनि उक्त अन्तरसम्वधहरु सरल नवन्ने पक्का छ ।

जवसम्म जातीय विभेद अर्थात असमानताको छाँया स्वयम दलित समुदायका विभिन्न जातीहरु माझ विद्यमान रहन्छ । तवसम्म उपल्लो जातसंग जातीय समानताको लागि विजय हासिल गर्न आवश्यक पर्ने एकिकृत शक्ति कथित दलितहरुमा कहिल्यै संचित नहुने निश्चित छ ।

तसर्थ, कथित दलित समुदायको सामाजिक, आर्थिक राजनीतिक तथा साँस्कृतिक वृत्त र आयामहरुमा समानता, न्याय र समृद्धिकालागि योगदान पुरयाउन खोज्ने कथित दलित समुदायका व्यक्ति, संस्था तथा राजनीतिक नेताहरुमा जातीय असमानताका कारण नै कथित दलितहरुले विभेद र वञ्चितिकरण खेप्नु परेको हो, भन्ने हाम्रो साझा वुझाई हो भने । विभेद र वञ्चितिकरणको मुल कारण जातीय असमानताको अन्त्यमा जोड दिनु आवश्यक हुन्छ । जातीय असमानता अन्त्यको पहिलो चरणको रणनीतिक गतिविधिका रुपमा स्वयम दलित समुदाय भित्र विद्यमान जातीय विभेदलाई लक्षित गरी प्राथमिकताका साथ आगामी ५ वर्षको अवधिमा दलित समुदायको आन्तरीक विभेद तथा असमानतालाई निमिट्यान्न पार्ने उद्देश्य सहित वास्तविक दलित आन्दोलन पुनस् संचालन गर्न आवश्यक देखिन्छ । जव दतिल समुदायका जातीहरु विच रोटी र वेटीको सुमधुर सम्वन्धका सुचकहरु प्राप्त हुनेछन् (२०७५, श्याम नेपाल) तब, दलित आन्दोलनको पहिलो चरण सफल सावित हुनेछ ।

त्यसपश्चात, दोश्रो चरणको दलित आन्दोलन अर्थात मानवीय मर्यादाको अन्तिम लडाईको वेजोड तयारीमा एकिकृत भई समर्पणका साथ भिड्नु पर्ने कथित दलित समुदायका सदस्यहरुले जिम्मेवारी लिनुपर्ने छ । त्यसका लागि अवको पाँच वर्ष दलित गैर सरकारी संस्था, राजनीतिक दल, दलका नेता, व्यवसायिक जमात, शिक्षक, विज्ञ तथा विद्धानहरु सबैले आन्तरिक जातीय विभेद अन्त्य गर्न, संकल्पका साथ अग्रसर भई, जातीय विभेदको अन्त्य सम्भव भएको नमुना पेश गर्नु पर्नेछ । त्यसकालागि योजना, परियोजना तथा रणनीति नै वनाएर दलित समुदाय भित्रको जातीय विभेद अन्त्य गरी देखाउँन जरुरी छ । अन्यथा, अगामी ७० वर्षमा पनि दलित आन्दोलनको उपलव्धि शून्य नै रहनेछ ।‘ भने , पुस्तान्तरण गरिएको दलित आन्दोलनका किम्वदन्तीहरुमा जातीय समानता कथित दलितहरुका लागि केवल आशाकोे विषय वनेर रहनेछ न कि यथार्य ।

(यो लेख स्वदेशनेपाल डटकम साभार  गरिएको हो ।)


प्रकाशित | ३ पुष २०७५, मंगलवार १८:५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')