दलित समुदायका वैचारिक अगुवा

 

विश्वभक्त दुलाल (आहुति) नेपाली दलित राजनीतिका वैचारिक नेता हुन् । कम्युनिस्ट नेताको पहिचान बनाएका आहुतिले वैचारिक रूपमा नेपाली दलित आन्दोलनको अगुवाइ गर्दै आएका छन् । बहुआयामिक परिचय भएका आहुति एक जना सफल साहित्यकार हुन् । उनका कविता र उपन्यास चर्चित छन् भने वैचारिक रचना गहन छन् । जीवनको प्रारम्भिक चरणदेखि नै कम्युनिस्ट राजनीतिमा झुकाव भएका आहुतिले साहित्य र राजनीतिमार्फत् समाज रूपान्तरणमा आफूलाई समर्पित गरेका छन् । माक्र्सवादका ज्ञाता रहेका आहुति पछिल्लो चरणमा नेकपा (माओवादी केन्द्र)का उच्च तहका नेता थिए । माओवादी केन्द्रबाट अलग्गिएपछि उनी अचेल ‘वैज्ञानिक समाजवाद’को वकालत गर्ने अलग कम्युनिस्ट धार निर्माणका विचार प्रस्तोताका रूपमा चर्चित छन् ।

बाल्यकाल र शिक्षा

आहुतिको जन्म काठमाडौँ जिल्लाको नैकापमा २०२३ सालमा भएको हो । उनी जन्मँदा उनका पिताको निधन भएको १ महिनामात्रै भएको थियो । उनका दुई दाजु र दुई दिदी छन् जसले उनलाई हेरचाह गरेका थिए । उनी कान्छो छोरो भएकोले पढ्ने मौका पाए ।
सानैमा पिताको छहारीबाट वञ्चित भएकाले उनको बाल्यकाल सुखद् भएन । घरमा ६÷७ जना एकैपटक विरामी हुँदा पुख्र्यौली जमिन नै बेच्नुपर्ने बाध्यता आइलाग्यो । आफूसँग भएको जमिन पनि बेचेपछि उनीहरू भूमिहीन नै भए । यसरी भूमिहीनता र गरिबीबीच आहुति हुर्के । उनीहरूले सीप र सामान बेच्दै केही जग्गा जमिन जोडे । त्यसमा उनका हजूरबाको योगदान बेसी छ ।
उनको विचारमा आफ्ना हजूरबा वास्तवमा प्राविधिक अर्थात् वैज्ञानिक थिए । उनका हजूरबा सामान्य अङ्ग्रेजी बुझ्थे, छाला प्रशोधन गर्न सक्थे, जुत्ताका विभिन्न मोडल पनि बनाउँथे । उनले आफूसँग भएको ज्ञान र सीप हस्तान्तरण गरेका थिए । उनी युवाहरूलाई छालाको काम तथा जुत्ता बनाउने तालिम दिन्थे । उनलाई एक जना जोगीले पढाइदिएका रहेछन् । ती जोगी देश–विदेश बुझेका मान्छे थिए । त्यसैले उनका हजूरबा हस्तकला जाने–बुझेका र ज्ञानगुन भएका व्यक्ति थिए । तीनै बाजेले युवाहरूलाई तालिम दिएर इलमी बनाएका थिए । पछिल्लो समय आहुतिको परिवारमा ७ रोपनी बारी र २ रोपनी खेत थियो ।
पञ्चायतकालमा शिक्षा सुलभ भएको थिएन । त्यसमा पनि दलित समुदायमा जन्मेका आहुतिलाई पढाइ त्यति सजिलो थिएन । उनी स्थानीय विद्यामन्दिर माविमा भर्ना भए । केही जान्ने–बुझ्ने भएदेखि नै उनले जातीय विभेद र छुवाछूत भोग्नुप¥यो । कतिसम्म भने आफू पढ्ने विद्यालयमा जातीय छुवाछूत हुने भएकोले १० कक्षासम्म पढ्दा उनले स्कुलमा कहिल्यै पानी नै खाएनन् । बरु उनले १० कक्षाको पढाइ सकेपछि सबैले पानी खाने गाग्रो फुटाएर हिँडे, प्रतीकात्मक विद्रोह गर्दै । आहुति सानै उमेरदेखि विद्रोही स्वभावका थिए ।

सानैमा साहित्यकारको छनक
२०३५÷३६ सालको विद्यार्थी आन्दोलन हुँदा आहुतिको गाउँको स्कुल १ दिन बन्द भएको थियो । जुलुसमा निस्कँदा प्रहरीले बेसरी कुटेको उनलाई अहिले पनि याद छ । त्यसबेला गाउँमा पञ्चायतविरोधी बन्नु भनेको काङ्ग्रेस बन्नु थियो । प्रजातन्त्रका लागि उनी जुलुसमा खुब जाने गर्दथे ।
पञ्चायतविरोधी चेत आएपछि आहुति विभिन्न विधाबाट त्यसको उन्मूलनको अभियानमा लागे । २०३७ सालमा उनले डबली–डबलीमा देखाइने नाटकका नायक बनेर खेले । नाटकके नाम ‘कत्र्तव्य’ राखिएको थियो । ‘दलितलाई नायक किन बनाएको’ भनेर विरोध आएपछि उनलाई फिर्ता लिइयो । यही घटनाबाट पाठ सिकेर उनी र उनका महर्जन थरमा दुई जना साथी मिलेर ‘इष्र्या’ नामक नाटक लेखे ।
उनका हजूरबा फिल्म हेर्नेलाई संरक्षण गर्थे । फिल्म हेर्दै जाँदा उनी फिल्म बुझ्ने र विश्लेषण गर्ने भए । त्यसपछि उनले साथीभाइसँग मिलेर गाउँमा नाटक बनाए, नाटक देखाए । नाटकको नायक पनि उनी आफै बने । यसरी नाटक देखाउन थालेपछि हरेक वर्ष देखाइने गाउँको नाटक बन्द भयो । त्यसपछि उनले नै हरेक वर्ष नाटक लेख्ने र प्रदर्शन गर्ने चलनलाई निरन्तरता दिए । उथलपूर्ण परिस्थिति र सङ्घर्षले आहुतिलाई पञ्चायतविरोधी नाटक लेख्ने बनाइदियो । र, राजनीतिक रूपमा क्रमशः पञ्चायतविरोधी बनाउँदै गयो । यही परिवेशबाट एक जना किशोर भविष्यका कम्युनिस्ट नेता र साहित्यकारको उदय भयो ।

इन्जिनियरिङको पढाइ छाडेर पार्टीमा
विद्यामन्दिर माविबाट एसएलसी परीक्षा उत्तीर्ण भएपछि उनी पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा भर्ना भए । १३ महिनासम्म सिभिल इन्जीनियरिङ विषय पढेपछि उनी राजनीतिक जीवनमा पूरै लागे । घरदेखि सडकसम्म निर्माण गर्ने इन्जिनियर बन्ने उनको चाहना मुलुकको राजनीतिक पुनःनिर्माणतिर फनक्क मोडियो । २०४१ सालमा उनी देश दर्शन र समाज अध्ययनमा निस्किए । फर्केपछि सर्वहारावादी श्रमिक सङ्गठनको पूर्णकालीन कार्यकर्ता बने ।  उनलाई पहिलो पटक पार्टीले सङ्गठनको काम गर्न सिन्धुपाल्चोक खटायो । उनी भोटेचौरमा सरस्वती माविमा शिक्षक बनेर गए । भोटेचौर क्षेत्री बाहुन समुदायको बस्ती थियो । त्यसैले उनलाई गायत्री मन्त्र सिकाएर पठाइएको थियो । उनले १२÷१३ महिना त्यहाँ बसेर पढाए अनि सङ्गठनको काम पनि गरे । सङ्गठनको काम गर्दा प्रशासनले उनीमाथि निगरानी गर्न थाल्यो । यसै क्रममा उनले प्रहरीसँग पनि राम्रो सम्बन्ध बनाएका थिए । त्यसैले प्रहरीले उनलाई एक दिन ‘तपाईंलाई यहाँ बस्नु राम्रो हुँदैन’ भने । त्यसपछि उनले राति नै प्रहरीको सहयोगमा जिल्ला छाडे । उनी २०४६ सालमा त्यहाँबाट काठमाडौँ फर्कंदा जनआन्दोलन थाल्ने तयारी भइरहेको थियो ।
२०४६ सालमा एक दिन सर्वहारावादी श्रमिक सङ्गठनका मुख्य नेता रूपलाल विश्वकर्मासँग उनको भेट भयो । भेटमा उनले आफ्नो राजनीतिक जीवनको शुरुआतबारे एउटा रहस्य थाहा पाए । पूर्णकालिक राजनीतिक कार्यकर्ता हुँदा उनलाई पार्टीले शङ्काको घेरामा राखेको रहेछ । ‘इन्जिनियरिङ पढेका युवा किन कम्युनिस्ट पार्र्टीमा लाग्यो, कतै सिआइडी पो गर्नलाई पार्टीमा लागेका हुन् कि’ भनेर उनलाई पार्टीले शङ्का गरेको थियो । यो कुरा उनले धेरै पछि मात्रै थाहा पाए ।
२०४६ सालको जनआन्दोलनमा लाग्दा उनी ३ दिन हिरासत बस्नुप¥यो । हिरासतबाट छुट्दा प्रशासनले कुनचाहिँ कागजमा हस्ताक्षर गराएको थियो, त्यो उनले मेसो पाएनन् । जनआन्दोलनपछि वामपन्थी राजनीतिमा एकताको लहर शुरु भयो । सर्वहारावादी श्रमिक सङ्गठन पनि नेकपा चौँथो महाधिवेश र नेकपा मशालसँग एकीकरण गर्ने टुङ्गोमा पुग्यो । २०४७ सालमा ती सबै पार्टी मिलेर नेकपा (एकताकेन्द्र) बन्यो र उनी त्यसका एक नेता भए ।
यसैबीच उनी पार्टीको काम गर्ने क्रममा मजदुरको रूपमा क्रियाशील थिए । उनले पहिले लुजः प्रिन्टिङ प्रेसमा काम गरेका थिए । पछि गलैँचा उद्योगमा पनि काम
गरेका थिए । पार्टी एकीकरणपछि सबैभन्दा बढी मजदुरहरू सङ्गठित भएको सङ्गठन (प्लेट फर्म) बनाइएको उनको अनुभव छ । मजदुरहरूको अगुवाइ गर्ने काममा आहुतिका अतिरिक्त दिनेश शर्मा, कुमार पौडेल, रवि कार्कीहरू पनि सक्रिय थिए । उनीहरूको नेतृत्वमा काठमाडौँमा २०औँ हजार मजदुरको जुलुस पनि निकालिएको थियो । त्यतिबेलै बालाजु एभ्रीडे ब्याट्री कारखानामा पनि आन्दोलन भएको थियो ।

दलित आन्दोलनमा भूमिका
चालीसको दशकमा दलितका विभिन्न सङ्गठन बनाउने र दलित आन्दोलन उठाउने प्रयास भएको थियो । त्यस्ता प्रयासबाट राजनीतिक रूपमा सचेत आहुति पनि प्रभावित भएको देखिन्छ । उनी उत्पीडित जातीय उत्थान मञ्च (उजाउ मञ्च)मा आबद्ध भएर दलित आन्दोलनमा सहभागी भएका थिए ।
२०४५ सालको अन्त्यतिर तत्कालीन मालेका नेता गोरेबहादुर खपाङ्गीको प्रमुख आतिथ्यमा को गठन गर्न स्टाफ कलेजमा एउटा कार्यक्रम भएको थियो । खपाङ्गीको भाषणबाट प्रभावित भएर उनले नेपाली भाषाका साहित्यसँगै मगर साहित्य र महेश रेग्मीका पुस्तक पढ्न थाले । त्यसपछि डोरबहादुर विष्टका रचना पढ्न थाले । ती रचना पढ्दै साहित्य लेख्ने क्रममा २०४६ सालसम्म आइपुग्दा उनी एक कुशल कविका रूपमा स्थापित भए ।
आहुतिलाई २०४६ सालमा उजाउ मञ्च काठमाडौँको अध्यक्ष बनाइयो । उनले त्यस बेला दलित अगुवाहरू गोल्छे सार्की, मनोहरलाल बमरेल, श्यामलगायत सहकर्मीहरूसँग मिलेर काम गरे । त्यही मञ्चबाट पञ्चायत व्यवस्थाविरोधी प्रर्चा छपाए ।  २०४६ सालपछि टि.आर. विश्वकर्माको अगुवाइमा नेपाल राष्ट्रिय दलित जनविकास परिषद्को राष्ट्रिय भेला भयो । सो भेलामा साहित्यकार साध्यबहादुर भण्डारीले पुस्तक वाचन गरेका थिए भने आहुतिले भाषण गरेका थिए । त्यसबाट प्रभावित भएर टि.आर. विश्वकर्माले दलित जनविकास परिषद्को नेतृत्व लिन आहुतिलाई अनुरोध गरेका थिए । जबकि एकथरि अगुवाइहरू समाज कल्याण सङ्घलाई भ्रातृ सङ्गठनको रूपमा चलाउन चाहन्थे । यस घटनामा पञ्चायत समर्थकहरूबाट अलग भएर टि.आर. विश्वकर्मालाई सल्लाहकार बनाएर तिलक परियारलगायतकालाई समेट्ने काम भयो ।  त्यतिबेला क्रियाशील रहेका दलित सङ्गठन : दलित जनविकास परिषद् र उजाउ मञ्चबीच एकताको छलफलको प्रयास भयो । त्यस बेला गोल्छे सार्की एकीकृत सङ्गठन र आन्दोलनको पक्षमा देखिएनन् । त्यसपछि एकताका लागि मञ्चका नेता पद्मलाल विश्वकर्मासँग लामो कुराकानी भएको आहुति सम्झन्छन् । आहुति, छविलाल विश्वकर्मा र पद्मलाल विश्वकर्माबीच पटक पटक कुरा हुँदा साङ्गठनिक एकताका लागि सहमति भयो । त्यसपछि चितवनमा तीनवटै सङ्गठनको संयुक्त बैठक भयो र तीनवटा सङ्गठनलाई मिलाएर नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज स्थापना गरियो । त्यसरी बनेको मुक्ति समाजको अध्यक्षमा पद्मलाल विश्वकर्मा र महासचिवमा आहुति भए ।  यसरी एकीकृत भएको दलित सङ्गठनको एकताको प्रथम राष्ट्रिय सम्मेलन १,२ र ३ फागुन २०५१ मा बुटवलमा सम्पन्न भयो । सम्मेलनको क्रममा निर्वाचन हुँदा गोल्छे सार्कीलाई पराजित गर्दै पद्मलाल विश्वकर्मा पुनः अध्यक्ष भए भने छविलाल विश्वकर्मा महासचिव बने । यस सम्मेलनपछिको करिब एक दशक नेपालको सामाजिक राजनीतिमा दलित आन्दोलनले ठूलो फड्को मा¥यो । त्यसले अनेक ढङ्गले दलित समुदायका सङ्घर्षको अगुवाइ ग¥यो ।


मुक्ति समाज सो सम्मेलनको दस्तावेज आहुतिले लेखेका थिए । दलित आन्दोलनको इतिहासमा त्यस दस्तावेजको आफ्नै विशेष महत्व छ । त्यस दस्तावेजमा दलित आन्दोलनमा पहिलो पटक जमिनसहितका आर्थिक मुद्दा राखिएको थियो । दक्षिण एसियाको कम्युनिस्ट आन्दोलनमा आरक्षणको माग राख्दै संयुक्त जनमोर्चा, नेपालले २०४८ सालमा आफ्नो दस्तावेजमा जमिनसहितको आर्थिक मुद्दा राख्ने काम गरिसकेको थियो । त्यसैको प्रतिविम्बन मुक्ति समाजको दस्तावेजमा देखिएको हुन सक्छ । यसरी हेर्दा दलित आन्दोलनको सैद्धान्तिक र वैचारिक क्षेत्रलाई विस्तार गर्ने काममा आहुतिको महत्वपूर्ण भूमिका रहँदै आएको छ । उनी लामो समयसम्म नेपाल राष्ट्रिय दलित मुक्ति सङ्गठनको एक अगुवाका रूपमा क्रियाशील रहेको देखिन्छ ।

सभासद्को रूपमा आहुति
पचासको दशकमा आहुति दलित आन्दोलन र कम्युनिस्ट आन्दोलनमा एकसाथ सक्रिय रहे । नेकपा एकताकेन्द्र र त्यसको बाहिरी मोर्चा संयुक्त : जनमोर्चा नेपालका नेताका रूपमा चिनिएका आहुतिले दलित आन्दोलनमा वैचारिक र साङ्गठनिक अगुवाइ पनि गरिरहे । २०६२÷६३ सालमा भएको जनआन्दोलन र त्यसमा दलित आन्दोलनलाई जोड्ने काममा उनको भूमिका बलियो रह्यो ।
आन्दोलनपछि बनाइएको अन्तरिम संसद्मा जनमोर्चा नेपालले दलित प्रतिनिधि नपठाए पनि हुने मत आएको थियो । सुभाष दर्नाललगायतले पनि बाहिरबाट सभासद् हुनुपर्दछ भनेर दबाब दिइरहेका थिए । तर सो पार्टीले दलित प्रतिनिधि नै पठाउने निर्णय ग¥यो । निर्णय भएपछि पनि आहुतिलाई नै सभासद् बनाउने सहमति भएन पार्टीको आन्तरिक कारणले गर्दा । अतः उनी र रिता मानुषीबीच कसलाई पठाउने भन्ने प्रश्नमा पार्टीमा मतदान भयो । मानुषीको पक्षमा ७ र आहुतिको पक्षमा ११ मत प्राप्त भयो । यसरी आहुति जनमोर्चा नेपालकातर्फबाट सभासद् भए ।
उनी आबद्ध रहेको पार्टी र नेकपा माओवादीबीच एकता भएपछि उनले एकीकृत नेकपा (माओवादी)का नेता तथा सभासद् भएर भूमिका खेले । यसैबीच दलित सभासद्हरूबीच एकरूपता र एकताका लागि सर्वप्रथम दलित ककस बन्यो । यसलाई सहयोग गर्न दलित नागरिक समाज तयार थियो । राजनीतिक दलका दलित सङ्गठन पनि सडकको नेतृत्व गर्न तयार थिए । तर दलित ककसको नेतृत्व छनोट गर्न सकिएन । कसको नेतृत्व स्वीकार्ने भन्ने विषयमा विवाद रह्यो । संयोजक तोक्न नसकिए पनि साझा अवधारणा भए पनि अन्तिम अवस्थामा बाहिर ल्याइयो । त्यस काममा आहुतिको महत्वपूर्ण भूमिका रह्यो ।  एउटा रमाइलो कुरा के भने युएनडिपीबाट सबैजसो ककसले परियोजना ल्याए तर दलित ककसले ल्याएन । एक दिन युएनडिपीका प्रमुख रोबर्ट पाइपरले आहुतिलाई आफ्नै अफिसमा बोलाएर सोधे, “तपाईंहरूको दलित ककसले हामीबाट पैसा किन लिनुहुन्न ?” आहुतिले ओँठभरि जवाफ दिए, ”हामी भुइँका मान्छे, महिनाको ५५ हजार खाई नै रहेका छौँ । अरु पैसा हामीलाई किन चाहियो र ?”
दलित आन्दोलनको समस्या नै एजेण्डा तय गर्नु थियो । आहुति व्यवस्थापिका संसद्तर्फ अर्थ समितिमा थिए जुन अत्यन्तै शक्तिशाली समिति मानिन्थ्यो । संविधानसभातिर उनी राज्य पुनःसंरचना समितिमा थिए । उनले यसै समितिमा हुँदा दलित समुदायका लागि विशेषाधिकारको संवैधानिक व्यवस्था हुने प्रावधानको व्यवस्था गरे । उनकै नेतृत्वमा उपसमिति बनेको थियो जसमा आहुतिले दलितसम्बन्धीका सबै माग प्रवेश गराउन सफल भए । यसका अलावा मौलिक हक समितिमा परशुराम रम्तेललगायतका विभिन्न समितिका ससदस्यलाई उनले निकै प्रभावकारी समन्वय गरे । त्यसै बेला उनकै पार्टीका नेता सिपी गजुरेललाई ती दलित अधिकारलाई मौलिक हकका प्रावधानमा राख्न हम्मेहम्मे परेको थियो ।


यसका साथै, आहुति संविधानसभाभित्र बनेको उपसमिति काँटछाँट समितिका सदस्यको हैसियतले पनि दलित मुद्दाको सरक्षा गर्न सफल भए । त्यस समितिको बैठक लगातार ५५ दिन बसेको थियो । उनले प्रत्येक दिन उपस्थित भएर दलितको कोणबाट हस्तक्षेप गरे । उनीलगायतका दलित सभासद्ले संविधानसभाका सहसचिव टेकप्रसाद ढुङ्गानासँग सम्बन्ध स्थापित गर्दै आफ्ना मुद्दा कटौती हुने भएमा खबर गर्न तालमेल मिलाए ।  संविधानसभाबाहिर पनि संयुक्त दलित आन्दोलन नेपाल (संयुक्त राजनीतिक दल सङ्घर्ष समिति)भित्र पनि हलचल जारी थियो । विभिन्न पार्टीमा दलित समुदायबाट उठेका उच्चस्तरीय नेताहरूबीच पार्टीलाई समेत दबाब दिन सातबुँदे सहमति भयो । त्यसले दलित आन्दोलनका साझा मागलाई आ–आफ्नो पार्टीमा सहमति गराउने काममा महत्वपूर्ण भूमिका खेल्यो । अन्तिममा संविधान पारित हुनुअघिको विधेयक संशोधन प्रस्तावमा माओवादीका सभासद्लाई सहमत गराउन आहुति निकै खटे । उनले साझा एजेण्डासहित संशोधन प्रस्ताव बनाए । ती प्रस्ताव सबै पार्टीका सभासद्लाई बाँडियो । एउटै ब्यहोरा भएको संशोधन प्रस्ताव दलगत रूपमा अलग–अलग रूपमा संशोधन प्रस्ताव हाल्न सबै सहमत भए । यसरी सहमति गराउनु भनेको फलामको चिउरा चपाउनुभन्दा गाह्रो रहेको अनुभूति आहुतिको छ । केही सभासद्ले पार्टीको दबाबमा परेर संशोधन प्रस्ताव दर्ज नहुँदै फिर्ता लिने काम गरे । अन्त्यमा, सबै पार्टीका सभासद्ले प्रस्ताव फिर्ता लिए, तर शुरुमै फिर्ता नलिएको भए हुन्थ्यो भन्ने आहुतिको तर्क छ । संशोधन प्रस्ताव फिर्ता नलिएकै विषयमा पार्टीको कार्बाही खान पाइएको भए दलित आन्दोलनको इतिहासमा चर्चित पात्र बन्ने मौका पाइने उनको भनाइ छ । त्यस्तो दोस्रो संविधानसभाका दलित सभासद्हरूले त्यस्तो विशेष मौका चुकाएको उनको भनाइ छ । उनी यस घटनामा सबैभन्दा बढी पीडा एमालेका दलित नेताहरूलाई, त्यसपछि नेपाली काङ्ग्रेस र माओवादीका नेताहरूलाई भएको उनको ठहर छ । जेहोस्, संविधान संशोधनको प्रस्ताव दर्ता जसरी जसले गराए पनि यो दलित आन्दोलनको इतिहासमा स्वर्णिम अक्षरले लेखिएको छ ।  आहुतिको अनुभवमा दलित आन्दोलनमा केवल नेता मात्र भएर होइन, क्षमता विकास गर्न सक्दा लेखक, विश्लेषक, कवि आदि बनेर काम गर्न सक्दा पनि सबै क्षेत्र प्रभावित गर्न सकिने छ । उनको अनुभवमा नेपालका कम्युनिस्ट पार्टीभित्रको आन्तरिक सङ्घर्ष चुनौतीपूर्ण छ । यसको मूल कारण पार्टीमा निम्न मध्यम वर्गको मात्र प्रवेशले गर्दा नै हो । उनी अचेल वर्ग र वर्णका समस्याबारे घोत्लिँदै नेपाली समाजको पुनव्र्याख्या गर्ने क्रममा वैज्ञानिक समाजवादका लागि नयाँ कम्युनिस्ट धार निर्माणमा सक्रिय छन् ।
सांस्कृतिक काम गर्ने क्रममा उनले ‘दलन’ नामक चर्चित टेलिशृङ्खला लेखेका थिए । उनका वैचारिक रचनाको सङ्कलनको रूपमा ‘हिन्दू समाजमा दलित जातीय मुक्तिको प्रश्न’ र ‘नेपालमा वर्णव्यवस्था र वर्ग–सङ्घर्ष’ प्रकाशित छन् । त्यस्तै, ‘तपश्वीका गीतहरू’ र गहुँगोरो अफ्रिका (कविता सङ्ग्रह)सँगै ‘नयाँ घर र स्खलन (उपन्यास)जस्ता साहित्यिक रचना उल्लेखनीय छन् ।

(दलित महिला केन्द्र नेपालद्धारा प्रकाशित तथा राजेन्द्र महर्जनबाट सम्पादित ‘दलित नेतृत्व : संघर्ष र सफलता’ नामक पुस्तकबाट)


प्रकाशित | १ पुष २०७५, आईतवार २३:०२

Leave a Reply

Your email address will not be published. Required fields are marked *