चलचित्र ‘प्रसाद’ : विभेदयुक्त समाजको यथार्थबोध तस्बिर

अशोक दर्नाल

अन्तरजातीय विवाह गरेका जोडीहरु अहिले पनि गाउँघरबाट विस्थाापित हुनुको पीडा उस्तै छ । विवाह गरेको निहुँमा हत्या भएका घटनाहरु कम छैनन् । उनीहरु सामाजिक रुपमा तिरस्कृत हुनुपर्ने घटना अझै पनि ज्युकाँत्युँ नै छन, समाजभित्र । विभेदयुक्त समाजको यथार्थतालाई सिर्जनात्मक ढंगले पस्किएको अर्गानिक चलचित्र हो, प्रसाद ।
रुप फेरिएको छ ,तर सार उस्तै छ । समाजको संरचना बदलिएको छ तर बदलिएको समाजभित्रका जकडिएको कुरुप जातियताको अवशेषहरु गाउँघर– सहरबजार सबै सबैतिर व्याप्त छन् । अशिक्षितको त कुरै छाडौं ,शिक्षित समाजभित्रको तस्बिरमा समेत धब्बा बोलिरहेको छ विभेदकारी संरचनाको नियतले ।
विभेद सहरमा पनि छ । चाहे त्यो कथित शिक्षित समाजमा किन नहोस् । दलित समुदायलाई कोठा भाडामा पाउनु अझै मुश्किल छ । दमाईको लबाज फेरिएर टेलर हुनु पुगेको छ । त्यही टेलर इमान्दार र शिल्पीकारको मुख्य कथा हो ,प्रसाद ।
दलित परिवारमा हुर्किएका बाबुराम परियार (विपिन कार्की), वडाध्यक्षकी छोरी नारायणी (नम्रता श्रेष्ठ) र गाउँकै हुनेखाने रमेश (निश्चल बस्नेत)। तीन पात्रको सामान्य फ्युजनमा प्रसाद आर्गानिक चलचित्र बनेको हो । सायद अरु क्लाइमेक्स र छरप्रष्ट एक्सनसँगै कास्टिङको भरीभराउ संवादमा जोेडिएको भए चलचित्र प्रसाद साँच्चै प्रसाद हुन सक्ने थिएन कि !


कथित तल्लो जातको परियार थरका बाबुरामले कथित उपल्लो जातको क्षेत्री थरकी नारायणीलाई गाउँबाट भगाएर सहर (काठमाडौँ) ल्याएसँगै सुरु हुन्छ यो फिल्मको कथा र उनीहरूको संघर्ष पनि । विरानो सहर काठमाडौमा आफ्ना पहिलाको साथीको सहयोगमा बाबुराम र नारायणीको विवाह हुन्छ । साथीले कपडा पसलमा सिलाई गर्नेे काम खोजी दिन्छन् । बाबुराम कपडा पसलमा सिलाई काम गर्न थाल्छन् । केही समय पछि नारायणीले किन्डरगार्र्डेनमा बच्चा हेरविचार गर्ने काम गर्नु अनि बाबुरामले भोलिको सन्तानका लागि कपडा सिलाउनु विम्बत्माक मात्रै लाग्दैन कि, विस्तारै कथालाई प्रेमपूर्ण ढंगबाट सन्तानको चाहनातिर कुशलतापूर्वक मोडिएको छ । प्रसाद चलचित्रमा बाबुराम परियारलाई दलित क्यारेक्टरमा हिनताबोध हुने गरी होइन कि ,दलित नभई एउटा शिल्पकार, इमान्दार, सम्बन्धमा विश्वास गर्ने र परि आए जाई लाग्न पछि नपर्ने कर्मयोगीका रुपमा प्रस्तुत गरिएको छ । अनपढ तर पनि अन्यन्तै चेतनशील पात्रको रूपमा उभ्याउन खोजेको मात्रै छैन, कि स्वीकार्यताको क्षमता समेत रहेको पुष्टि गरिएको छ, बाबुराम परियारको भूमिकालाई । एकअर्कालाई औधी प्रेममा बाँधिएकै कारण गाउँ छाडेको उनीहरु दुवैले चललिचत्रमा यथार्थ ढंगबाट दर्शाएका छन् । बाबुरामको नारायणीप्रतिको प्रेम र बाबुरामका खातिर नारायणीको त्याग आफैँमा आदर्शवादी पक्कै लाग्छ नै, प्रसादमा ।

अन्तरजातीय विवाह यसै पनि माया त हुने नै भयो । तर दुवै जनाको माया यति गाढा छ । यो माया झन्झन् गाढा हुँदै जाँदै गर्दा नारायणीको आमा बन्ने चाहनाको बिउ रोपिन्छ । श्रीमतीले राखेको इच्छा पूरा गरिदिन बाबुराम पनि तयार हुन्छन् । तर जब बाबुराम डाक्टरको परामर्शमा पुग्छन् , उनीहरुको जिन्दगीमा ठूलो त्रासीले प्रकट जमाउन थाल्छ । बाबुराम आफूमा सन्तान उत्पादन गर्ने क्षमता नभएको थाहा पाएपछि त्यसको विकल्पका रुपमा डाक्टरको सल्लाह अनुसार टेस्ट्युब बेवीका लागि आवश्यक खर्चको जोहोमा लाग्छन् । बाबुरामले निकै विश्वास गर्छन आफ्नो साथी रमेशलाई ।

प्रसाद चलचित्रमा बाबुराम परियारलाई दलित क्यारेक्टरमा हिनताबोध हुने गरी होइन कि ,दलित नभई एउटा शिल्पकार, इमान्दार, सम्बन्धमा विश्वास गर्ने र परि आए जाई लाग्न पछि नपर्ने कर्मयोगीका रुपमा प्रस्तुत गरिएको छ ।

बाबुरामलाई केही थाहा हुँदैन रमेशले आफ्नो श्रीमतीलाई गिद्दे नजर लगाएको । बाबुरामले आफूमा सन्तान उत्पादन गर्ने क्षमता नभएको कारण नभनी उही रमेशसँग पैसा ऋण माग्दा रमेशले गाउँको जग्गा बेच्ने सुझाव दिन्छन् । रमेशले दिएको सुझावलाई आत्मसात गरी श्रीमतीलाई समेत आफुबाट सन्तान नहुने कुरा थाहा नदिई पैसा जम्मा गर्न बाबु विरामी भएको बहाना गरी बाबुराम गाउँतिर लागेको बेला बच्चा बेलाको साथी रमेशबाट आफ्नो श्रीमती बलात्कृत हुन पुग्छिन् । गाउँबाट आउँदा र आफ्नै श्रीमतीलाई बलात्कार गर्ने रमेशप्रतिको स्नेह अझै बढी हुँदै गर्दा घटनाले अर्को रुप लिन पुग्छ । बाबुराम र नारायणीको जीवनमा आउने उकाली र ओराली नै चलचित्रको प्रमुख द्वन्द्व हो ।

पछिल्लो दशक केही केही मात्र चलचित्रहरुले सामान्य मौलिकता झल्काउन थालेका छन् । बजार निर्देशित चलचित्रको आतंक सिर्जना गर्न प्रतिस्पर्धा भइरहेका बेला सामान्य पात्रको माध्यमबाट विभेदयुक्त समाजको थिचोमिचो विरुद्ध उधिनिएको प्रसाद मौलिकतासँगै अर्गानिक चलचित्र हो । यसमा मारपिट ,रोमान्स र रोदनको खिचडी फिटिक्कै छैन ।
पश्चिम बाग्लुङको भाषाशैली बोकेको चलचित्र प्रसाद साँच्चै दलित समुदायको असल र इमान्दारीपनलाई कुशल ढंगबाट न्यायिक युक्त चलचित्रका रुपमा निर्माण गरिएको छ । दिनेश राउतद्धारा निर्देशित प्रसाद एक पटक आम दलित समुदायले हेर्नुपर्ने चलचित्र पक्कै बनेको छ । निकै लामो समयदेखि चलचित्र क्षेत्रको रिपोटिङमा अब्बल मानिएका चलचित्र समिक्षक तथा प्रसादका लेखक सुशील पौडेल पात्र, कथा र तिनका प्रवृत्तिमार्फत चलचित्रप्रति अपनत्वबोध गराउन सफल देखिन्छन् ।

अझै पनि मान्छे भएर मान्छेको अस्तित्व स्वीकार नगरेको समाजको यथार्थलाई सिर्जनात्मक ढंगले पस्केकाले लेखक सुशील प्रशंसाका हकदार मात्रै होइन कि ,समाज रुपान्तरणका कडी पनि हुन् ।

मौलिक संस्कृति चलचित्र क्षेत्रबाट हराई रहेको बेला मौलिक कथा लेखनको सुरुवात सुशीलले पौडेलले गरेका छन् । लेखको यो यो नै पहिलो अर्गानिक चलचित्रको रुपमा स्थिापित त भयो, दोस्रो चलचित्र अर्गानिक लेखन हुनु सक्छ कि सक्दैन लेखकमा थप चुनौती थपिदिएको छ । यो निर्देशक दिनेश राउतको करिअरकै उत्कृष्ट फिल्म हो भन्दा कति पनि फरक पदैन् । राउतले लेखकको संवेदनशीलता निकै बुझेको देखिन्छ । उनले संवेदनशील विषयमाथि सार्थक चलचित्र बनाउने प्रयत्न गरेको प्रसादमा देखिन्छ । प्रसाद उनको पाँचौँ फिल्म हो । अझै पनि मान्छे भएर मान्छेको अस्तित्व स्वीकार नगरेको समाजको यथार्थलाई सिर्जनात्मक ढंगले पस्केकाले लेखक सुशील प्रशंसाका हकदार मात्रै होइन कि ,समाज रुपान्तरणका कडी पनि हुन् । अन्ध समाजलाई उज्यालो दिने गरी विभेदकारी समाजको यथार्थ तस्वीर पर्दामा ल्याउन प्रसाद टिमले विशेष योगदान दिएको छ ,चलचित्रको माध्यमबाट ।


विपिन र नम्रताको प्रेमपूर्ण अनेक तहमा निश्चलको द्धन्द्धात्मक शैली चलचित्रलाई थप मलजल गरेको छ । कर्णप्रिय ‘लै लै..’ गीतले चलचित्र प्रसादलाई थप उचाइमा पु¥याएको छ । वास्तविक नेपाली चलचित्र बजारमा मौलिकताको खडेरी लागेको बेला चलचित्र प्रसाद सबै हिसावले विभेदयुक्त समाजको यथार्थबोधको कसिलो तस्बिर हो । एक पटक सम्पूर्ण दलित समुदायले हेर्नुपर्ने चलचित्र बनेको छ । चरम जातीय छुवाछूतबाट रुमलिदै गरेको समाज र समाजभित्रको वास्तविकतालाई बुझ्न पनि चलचित्र प्रसाद काफी हुनसक्छ, समानतामुलक समाज निर्माण गर्ने अभियन्ताका लागि ।


प्रकाशित | २५ मंसिर २०७५, मंगलवार १०:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')