आयआर्जनमा जुट्दै दलित महिला

 

दलित अनलाईन डेक्स

दिउँसभरको समय घरायसी काममा विताउने गाउँका महिलाहरु हिजोआज आय आर्जनमा जुट्न थालेका छन् । घरखर्चको जोहो गर्न श्रीमानकै भरपर्नु बाध्यताबाट उनीहरुले छुटकारा पाएका हुन् । विहान उठेदेखि झमक्क साँझ परुन्जेल महिलाहरु उद्यम, व्यवसाय र कृषिखेतीमा व्यस्त हुन थालेका छन् ।

प्यूठान नगरपालिका–१ दाखाक्वाडी भलापाटाकी माया नेपालीले व्यवसायीक कुखुरापालन शुरु गरेकी छिन् । ३२ वर्षीय नेपालीले विगत एक वर्षदेखि घरमै स्थानीय(लोकल) जातका कुखुरापालन गरेर आम्दानीको बोलियो स्रोत बनाएकी हुन् । ‘कुखुरा नपाल्दासम्म मेलापातमै समय विताउँथे’,उनले भनिन्,‘श्रीमान सधँै भारतमा जानुपर्ने बाध्यताले गर्दा व्यवसाय थालेकी हुँ ।’ रोजगारीका लागि श्रीमान् सुनिल नेपाली भारतमा रहेको उनले जानकारी गराइन । ‘श्रीमानले कमाएको पैसा बचत हुन्छ’,उनले भनिन्,‘घरखर्च चलाएर पनि थोरैधेरै केही रकम बचाएकी ।’ सामान्य लेखपढ गर्नसक्ने उनले मेहनत गर्नसके घरमै आम्दानी गर्नसकिने अनुभव सनाइन् । ‘धेरै ठाउँमा पुरुषहरुले कुखुरापालन संचालन गर्नुभएको छ’,उनले भनिन्,‘महिलाहरुले पनि पुरुषजस्तै काम गर्न सक्छन् भन्ने उदाहरण दिन मन लाग्यो र, व्यवसाय शुरु गरे ।’
थोकमा चार सय र खुद्रामा प्रति किलो पाँच सय रुपैयाँमा कुखुरा विक्री गर्दै आइरहेको उनले जानकारी गराइन । जति कुखुरा भएपनि गाउँमै खपत हुने गरेको उनको भनाई छ । फाट्टफुट्ट बाग्दुलामा समेत कुखुरा पु¥याउने गरेको उनले बताइन । घर आँगनमै मोटरबाटो संचालन भएकाले ढुवानी गर्न समस्या नरहेको उनको भनाई छ । यसैको आम्दानीबाट छोरा नमु नेपालीलाई पढाइरहेको उनले जानकारी गराइन । आठ वर्षका उनका छोराले अहिले चार कक्षामा पढ्दैछन् ।

दलित समुदायका महिलाहरु उद्यममा लागेर आम्दानी गरीरहेका छन् । सोही ठाउँकी रिता नेपालीले पनि घरमै बोइलर कुखरापालन संचालन गरेकी छिन् । २९ वर्षीय नेपालीका श्रीमान् कमल नेपाली रोजगारका लागि दुवइमा छन् । कुखरापालन व्यवसायबाट भएको आम्दानीले उनले घरखर्चसँगै छोरालाई बोर्डिङमा पढाएकी छिन् । ‘दुइवर्षदेखि श्रीमान विदेशमा हुनुहुन्छ’,नेपालीले भनिन्,‘घरको काम गरेर मात्र नहुँदो रहेछ । डेढवर्ष भयो कुखुरापाल्न थालेको ।’ शुरुमा फर्म संचालन गर्दा कालिका विकास केन्द्र नेपाल, सेभ द चिल्ड्रेन अन्तर्गत पन्ध्र हजार रुपैयाँ बरावरको सहयोग मिलेको उनले जानकारी गराइन । ‘कालिकाले तालिम, दाना र डेढ सय वटा चल्ला दियो’,उनले भनिन्,‘७० हजार बढी रुपैयाँ लगानीमा फर्म शुरु गरेकी हुँ ।’


महिलाहरु गाउँकै साझा कृषि सहकारी संस्थामा समेत आवद्ध छन् । व्यवसाय संचालन गर्दा आर्थिक अभाव भएको बेला उनीहरुले सहकारीबाट ऋण लिने गरेका छन् । ‘सहुलियत व्याँजदरमा महिलाहरुलाई ऋण दिने व्यवस्था मिलाएका छौँ’,संस्थाका अध्यक्ष शुनिल सापकोटाले भने,‘गाउँका धेरै महिलाहरुलाई पेशा, व्यवसायमा लाग्न प्रोत्साहन गर्दै आएका छौँ ।’ महिलाहरुले संचालन गरेको फर्मको वजारीकरणमा समेत संस्थाले पैरवी गर्दै आइरहेको उनले जानकारी गराए । घरायसी काममा सिमित हुँदै आएका अधिकांश गृहणीहरु विगत दुई वर्षदेखि आय आर्जनमा सक्रिय हुन थालेको उनले जानकारी गराए ।

जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश ठाउँहरुमा व्यवसायीक कुखुरापालन संचालन हुने क्रम पछिल्लो समय बढ्दै गएको छ । दुर्गम गाउँहरु सडक सञ्जालले जोडिएपछि कुखुरापालन व्यवसायतर्फ आकर्षण थपिँदै गएको पाइएको छ । ६४ वडामध्ये बहुसंख्यक वडामा कुखुरापालन व्यवसाय संचालनमा रहेको जिल्ला पशुसेवा कार्यालय प्यूठानका बरिष्ठ पशुविकास अधिकृत डा.शरण कुमार पाण्डेले जानकारी गराए । ‘जिल्लाभर २ सय ५० वटा फर्महरु संचालनमा छन्’,उनले भने,‘यसमध्ये ३० वटा बढी फर्महरु महिलाहरुले चलाएका छन् ।’ एउटै फर्ममा २० हजार बढी कुखुराहरु अट्नसक्ने क्षमताका भौतिक पूर्वाधारहरु समेत जिल्लामा रहेको उनले जानकारी गराए । महिलाहरुले नेतृत्व गरेर संचालन गरेका फर्महरुलाई कार्यालयले विशेष प्रोत्साहन गर्दै आइरहेको उनको भनाई छ ।


प्रकाशित | १९ मंसिर २०७५, बुधबार १८:५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')