जुझारु दलित कम्युनिस्ट अगुवा

परशुराम रम्तेल /गणेश विश्वकर्मा

नेपालको दलित मुक्ति आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका व्यक्तित्वको नाम हो तिलक परियार । तिलक परियारको नाम नेपालको जनयुद्ध र दलित आन्दोलनसँग एकसाथ गाँसिएर आउँछ ।  तिलक परियारको जन्म जनयुद्धको उद्गम थलोको रूपमा स्थापित रोल्पाको सदरमुकाम लिबाङ्गमा १५ कार्तिक २००० सालमा भएको थियो । आमा भक्तिदेवी परियार र बुबा हस्तबहादुर परियारको आठौँ सन्तानमध्ये चौँथो सन्तान हुन् उनी । उनका बाबुले कपडा सिलाइ, डकर्मी र सीकर्मी तथा बाँसको डोको नाङ्लो बुन्ने काम गर्दथे, आमा घरधन्दा र खेतीपातीको काम गर्थिन । यति धेरै काम जान्ने र अति परिश्रम गर्ने हुँदाुहँुदै पनि ठूलो परिवारको भरणपोषण गर्न निकै सकस हुन्थ्यो ।
परिवारमा साहुको ऋण तिर्न र लत्ताकपडा फेर्न हम्मे–हम्मे हुन्थ्यो । त्यसैले तिलकका जेठा दाजु जीतबहादुर भारतको नागपुर शहरमा नोकरीको खोजीमा गएका थिए । उनका जेठा मामा पहिलेदेखि भारतीय आयल निगममा जागीरे हुनाले जीतबहादुरले पनि त्यही निगममा जागीरे पाएका थिए । उनका दाजुले घरमा बाआमालाई एउटा चिठ्ठी पठाएछन् । तर परिवारमा पढेको मान्छे नहुँदा भारतबाट आएको चिठ्ठी पढेर सुनाउने मानिस पनि भएन । त्यसैले एउटा बाख्राको पाठो दिने कबुल गर्दै उनका बाबुले एक जना बहिदारलाई सो चिठ्ठी पढ्न लगाए । यस्तो घटनाले चेतेका उनका बवुवाले ‘जति खर्च लागे पनि एउटा छोरा पढाउँछु’ भनेर प्रतिबद्धता जाहेर गरेपछि छोरा तिलकलाई स्कुल पढ्न पठाएका थिए ।

बाल्यकाल र शिक्षा
तिलक परियारले प्रारम्भिक शिक्षा एक बाहुन बाजेबाट पाएका थिए । आफ्नै गाउँका साहिँला मुखियाको घरबाट उनको पढाइ शुरु भएको थियो । बालीघरे प्रथाअनुसार मालिकको परिवारजनको कपडा सिलाए बापतत उधौली र उभौली मौसम बाली लिने चलन थियो । तिलकका बाबुले त्यही बाली नलिने र साहिँला मुखियाले उनलाई पढाइ दिने सहमति भएको थियो । उनी आफ्नो पढाइबारे सम्झिँदै भन्छन्, “एक वर्ष साहिँला मुखिया बाजेको घरमा पढेपछि उनी चिठी लेख्ने र पढ्ने भइसकेको थिएँ ।”
एक वर्ष साहिँला मुखियाको घरमा पढेपछि मात्र उनले गाउँको बालकल्याण प्राथमिक विद्यालयमा पढ्न भर्ना हुन पाए । उनले स्कुलमा अध्ययन गर्दा घरैबाट आफू बस्ने चकटी लिएर जानुपर्दथ्यो । सामाजिक विभेद र छुवाछूतका कारण स्कुलमा दलित समुदायका छात्रछात्रालाई पानी खान दिइँदैनथ्यो । त्यसैले उनीहरू तिर्खा लागेपछि दगुरेर पानीपँधेरामा पुग्नुपर्दथ्यो ।  पढाइमा तेज भएकाले होला, तिलकलाई शिक्षकले राम्रो मान्दथे । त्यतिबेला पनि आफ्ना साथीभाइले कहिल्यै भेदभाव गरेको महसुस भएन उनलाई । तर हेडमास्टरले भने उनलाई अन्य विद्यार्थीलाई भन्दा छुट्टै खालको व्यवहार र भेदभाव गर्दथे । त्यस्तो व्यवहार देख्दा उनी खिन्न हुने गर्दथे ।
तिलकका माहिला दाजु गनबहादुर पनि भारतमा काम गर्न गएका थिए । उनी हिमाञ्चल प्रदेशको शिमला जिल्लाको नन्दपुर बासा गाउँमा ठेक्कापट्टाको काम गर्दथे । उनी स्कुलको पढाइकै बीच घरसल्लाह नै नगरी २०१३ सालमा माहिला दाइको पछि लागेर हिमाञ्चल प्रदेश पुगे । दाइले उनलाई त्यहीँको सावडा बजारमा अवस्थित उच्च माध्यमिक विद्यालयमा पढाए ।
दाइको छत्रछायाँमा पढ्न पाउँदा तिलकलाई पढाइमा खासै समस्या भएन । उनले भारतमै कक्षा १० सम्म राम्ररी नै पढे । २०१९ सालमा १० कक्षा पास गरी उनी नेपाल फर्किए, केही समयका लागि । त्यसको लगत्तै उनी दाइसँग पुनः भारततिरै लागे । उनले हरियाणा फरीदाबाद टाउनसीपमा गेडोर टुल्ज कम्पनीमा जागीर खाए । जागिर खाँदै उनले आदर्श स्कुलमा अध्ययन गरे । यही क्रममा पञ्जाब युनिभर्र्सिटी, चण्डीगढअन्तर्गतको बोर्डबाट मेट्रिकुलेसन (११ कक्षा सरह) तह पास गरे ।

अध्ययनसँगै जागिर र पार्टी काम

तिलक परियारले बनारसमा बसेर उच्च शिक्षा अध्ययन गरे । उनी उत्तर प्रदेशबोर्डबाट आई.एको परीक्षा दिने तयारी गर्दै थिए । त्यसै क्रममा भारतीय कम्युनिस्ट पार्टी (माकर््सवादी) का पी.बी.एम. (पोलिटब्युरो सदस्य) बि.टी. रणदिवेसित उनको सम्पर्क भयो । २०२१ सालमा भारतका कम्युनिस्ट नेता रणदिवेको माध्यमबाट नेपालका कम्युनिस्ट नेता क. पुष्पलालसित पहिलो पटक उनको सम्पर्क र परिचय भयो । पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका एक संस्थापक थिए भने उनको नेतृत्वमा क्रियाशील रहेको थियो नेपाल कम्युनिस्ट पार्टी । संगत बढेपछि उनको माक्र्सवादी विचारबाट, जीवन व्यवहारबाट, उनको प्रशिक्षणबाट तिलक निकै प्रभावित भए ।
केही महिनाको छलफलपछि उनले पुष्पलालको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको सदस्यता फाराम भरे । फाराम भरेको छ महिना लगत्तै पुष्पलालकै हातबाट उनले पार्टी सदस्यता प्राप्त गर्ने अवसर पाए । त्यतिबेलादेखि नै उनी कम्युनिस्ट सिद्धान्त र राजनीतिप्रति निष्ठावान रहँदै क्रियाशील भइरहे । बनारसबाट आई.ए पास गरेपछि उनी २०२२ सालमा नेपाल फर्केर आए । त्यसपछि उनी रोल्पाको जेलबाङ गाउँ पञ्चायतको वडा नम्बर २, पुरानागाउँमा रहेको नेपाल राष्ट्रिय प्रावि स्कुलको प्रधानाध्यापक भए । केही समय प्रधानाध्यापक भएपछि उनको जीवनमा नयाँ अवसर आयो । २०२४ सालमा रोल्पामा भूमिसुधार लागू भयो । उनले भूमिसुधार कार्यालयको कर्मचारी भएर केही समय काम गरे । त्यहाँ कर्मचारीले गरेको विभेद र अपमानका कारण उनले राजीनामा दिए । तर, भूमिसुधार अधिकारीले उनको राजीनामा स्वीकृत गरेनन् । अन्याय सहीरहन नसक्ने व्यक्ति हुनाले उनले राजीनामा स्वीकृत हुने समय कुर्दै बसेनन् । राजीनामा स्वीकृत नहुँदै उनी फेरि भारततिर हान्निए ।


उनी भारतको हरियाणा प्रदेशको फरिदाबाद शहरमा उनका गाउँले काकाकहाँ पुगे । डाँगी बिटालु भनिने धनसिंह विश्वकर्माले उनलाई एउटा नोकरीमा लगाइदिए । त्यसपछि उनले नोकरी गर्दै बी.ए. पढ्न थाले ।
उनी पुष्पलालको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीको सम्पर्कमा छँदैथिए । २०२५ सालमा त्यस पार्टीको तेस्रो राष्ट्रिय सम्मेलन गोरखपुरमा भयो । त्यस सम्मेलनमा उनले पनि सहभागी हुने मौका पाए । यसरी उनले आफ्नो जीवनमा पहिलो पटक कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनमा भाग लिने अवसर प्राप्त गरे । त्यसपछि राष्ट्रिय सम्मेलनमा भाग लिने र नेतृत्वमा बस्ने क्रम जारी छ ।
२०२७ सालमा नेपाल फर्किएर उनले लिबाङ्गको बालकल्याण माविमा केही महिना स्वयम्सेवकका रूपमा अध्यापन गरे । बी.ए.को पढाइ नसकिएकोले उनी अर्को वर्ष माहिला दाजुसँगै पुनः भारततिर लागे ।
भारतमा केही समय बेरोजगार भए पनि उनले पछि मेसिन सञ्चालन गर्ने अपरेटरको काम पाए । त्यसै क्रममा कम्पनीमा उनले सङ्गठित मजदुरहरूको सङ्गठनमा पनि काम गर्न थाले । रणदिवे आबद्ध रहेको ‘सेन्ट्रल अफ इण्डियन टे«ड युनियन (सी.आई.टी.यु.)मार्फत उनले मजदुर राजनीति गर्न थाले । सो युनियन रणदिवे संलग्न रहेको भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) सित सम्बन्धित थियो । उनी भारतमा मजदुरी गर्ने र भारतीय मजदुर युनियनमा सक्रिय हुने काम गर्दागर्दै पनि नेकपा पनि आबद्ध रहिरहे । उनी नेकपालाई नियमित रूपमा लेभी बुझाउने गर्दथे । मजदुरी गर्दै पढाइलाई पनि निरन्तरता दिएर उनले बी.ए.सम्मको पढाइ सिध्याए ।

विवाह र सन्तान

तिलकले २०३२ सालमा भागी विवाह गरे, त्यो पनि आफ्नै जेठा मामा दलजीत परियारकी छोरी चन्द्रासँग । सुन्दा प्रश्न उठ्न सक्छ, दलित समुदायमा पनि मामा चेलीसँग बिहे गर्ने चलन छ र ? मगर समुदायको बाहुल्यता रहेको रोल्पामा मामाकी छोरी विवाह गर्ने र भागी विवाह गर्ने प्रचलन छ । त्यसको प्रभाव त्यहाँ बस्ने दलित र अन्य जनजातिमा अहिलेसम्म पनि कायमै छ । उनको बिहे पनि त्यसकै प्रभाव परेको थियो ।

विवाहपछि तिलक र चन्द्राका चार छोरा र चार छोरी भए । तिलकको राजनीतिक र व्यक्तिगत जीवनमा जीवन–संगीनी चन्द्राको साथ र सहयोग हरदम रह्यो । त्यही कारण आफूले सफलता प्राप्त गर्न सकेको गहन अनुभूति छ तिलक परियारको मनमा । उनी भन्छन्, “यदि चन्द्राले घर, परिवार र बालबच्चाको हेरचाह नगरीदिएको भए मैले राजनीति गर्न सम्भव नै थिएन । अहिले मेरो राजनीतिक हैसियत बढ्नुमा र दलित आन्दोलनको नेतृत्वदायी भूमिकाको रूपमा स्थापित हुनुमा मुख्य श्रेय चन्द्रालाई जान्छ ।”
यस्तो परिवारको राजनीतिक दीक्षा पाएका छन् उनका छोराछोरीले पनि । उनका दुई भाइ छोरा र एउटी छोरी त २०५२ सालदेखि थालनी भएको जनयुद्धमै सहभागी भएका थिए । उनीहरूले जनमुक्ति सेनामा रहेर महत्वपूर्ण भूमिका खेलेका थिए ।
युद्धकालमा चन्द्रालाई पनि घरमा बस्न कठिन भएपछि परिवार सम्हाल्नै मुस्किल भएको थियो । त्यसैले कान्छी छोरी कमला र कान्छो छोरा उत्तमलाई बाल्यकालदेखि उनका माहिला दाजु–भाउजुले पालनपोषण गरेका थिए । युद्धको समयमा उनका सबै परिवारजन नै पार्टीकरण भएको थियो । हाल उनी बाँके जिल्लाको कोहलपुरमा बसोबास गर्दै आएका छन् ।

प्रवास सङ्गठनदेखि जनयुद्धसम्म

बीस र तीसको दशकमा नेपालको कम्युनिस्ट पार्टी अनेक धारमा बाँडिएको थियो । यही क्रममा तिलक परियार पनि पुष्पलाल नेतृत्वको नेकपाबाट नेकपा (चौँथो महाधिवेशन)तिर आकर्षित भए । पुराना कम्युनिस्ट नेता मोहनविक्रम सिंहको नेतृत्वमा नेकपाको चौँथो महाधिवेशन सम्पन्न भएको थियो । त्यसको लगत्तै चौमका नेता खम्बासिह (काजीबा)सँग उनको सम्पर्क भयो । २०३२ चैत्रमा फरिदाबादको होलिडे इन होटेलको कर्मचारी क्वार्टरमा मोहनविक्रम सिंहसित उनलाई छलफल गर्ने मौका मिल्यो । दुई घण्टासम्म छलफल भएपछि उनी चौमसँग आबद्ध भए ।
२०३३ सालमा दिल्ली–फरिदाबाद जिल्ला सङ्गठन समिति उनको नेतृत्वमा गठन भयो । त्यस समितिलाई २०३५ सालमा विस्तार गरियो । तत्कालीन जिल्ला सदस्य थिए पदम राना, मानबहादुर बोगटी, पूर्णसिह थापा, प्रेमबहादुर थापा, राजु नेपाली, विष्णुहरि शर्मा, जङ्गबहादुर क्षेत्री, भेषराज भुसाल, लिलानाथ कुसुम, इन्द्रबहादुर थापा र डीलाराम आचार्य ।
२०३५ सालमा तिलक परियारमार्फत नेकपा (चौम) ले अन्य भारतीय सहरमा सङ्गठन विस्तार ग¥यो । त्यसलाई बलियो बनाउन चौमले दिल्लीबाट ‘नेपाली पत्रिका’ निकाल्ने प्रयास गर्न थाल्यो । त्यस पत्रिकाको संरक्षक पार्टीका प्रभावशाली नेता निर्मल लामा भए । प्रकाशक तथा कार्यकारी सम्पादकचाहिँ भए तिलक परियार । त्यही पत्रिकाको नाम परिमार्जन गरी पछि ‘विदेशमा नेपाली पत्रिका’ राखियो । उनको अगुवाइमा दोस्रो अङ्क पनि निकालियो ।
एकदिन उनी र पदम राना पत्रिका विक्रीका लागि दिल्लीको नेहरू प्लेस, ग्रीनहिल पार्क पुगे । त्यहाँ अखिल भारतीय नेपाली विद्यार्थी सङ्घ (अभानेविसङ्घ), दिल्ली शाखाको सम्मेलन भइरहेको थियो । सम्मेलन स्थलमा पुग्दा त्यहाँ योगी नरहरिनाथ र भारतका तत्कालीन रक्षामन्त्री जगजीवन राम उद्घाटन गर्न आएका रहेछन् । त्यहाँ खटिएका मण्डले, कुण्डले र सुराकीहरूले उनीहरूले लगेका सबै पत्रिका खोसेर उनीहरूलाई पिटे ।  त्यसै क्रममा अभानेविसङ्घमा आबद्ध बाबुराम भट्टराईसित उनको पहिलो भेटघाट र चिनाजानी भयो । त्यसपछि दिल्लीमा अध्ययनरत विद्यार्थीबीच उनलाई पार्टी र सामाजिक सङ्गठन विस्तार गर्न सहज भयो । दिल्लीको पञ्चशील एरियाअन्तर्गत पर्दछ जवाहरलाल नेहरू युनिभर्सिटी (जे.एन.यु.) । त्यस क्षेत्रका एरिया इन्चार्ज थिए राजु नेपाली । त्यस जे.एन.यु.मा अध्ययनरत विद्यार्थीलाई सङ्गठित गर्ने क्रममा तिलक परियार र राजु नेपालीको महत्वपूर्ण भूमिका रह्यो । उनीहरूकै पहलमा बाबुराम भट्टराई र हिसिला यमिलगायतका विद्यार्थीलाई पार्टीमा प्रवेश गराइयो र पार्टी सदस्यता दिलाइयो । त्यतिबेला मोहनविक्रम सिंहले तिलकलाई भने, “तिलकजी, तपाईंले बाबुरामलाई सदस्यताका लागि सिफारिस गर्न हतार गर्नुभयो । यो मान्छे कम्युनिस्ट बन्दैन, धेरै भए गणतन्त्रवादीसम्म बन्छ कि ?” उक्त कुरा उनी अहिले पनि झल्झली सम्झन्छन् । र, याद गर्छन् बाबुराम र हिसिलाको बिहेको घटना पनि । २०३८ सालमा दिल्लीको मोडेल टाउनमा भारतीय लेखक, अध्येता र कलाकार समशुल इस्लामको घरमा उनीहरूबीच बिहे भएको थियो । पार्टीको आयोजनामा गरिएको उनीहरूको जनवादी विवाहका प्रमुख अतिथि थिए स्वामी अग्निवेश ।
पार्टी चलाउने मामिलामा मोहनविक्रम सिंहको आफ्नैपना छ । भिन्न मत राख्ने नेताहरूलाई फाँड्ने मामिलामा उनको धेरै आलोचना हुन्छ । त्यसबाट सिंह र परियारको सम्बन्ध पनि अछूतो रहेन । आफ्नो विचारसित असहमत हुनेलाई निषेध गर्ने प्रवृत्तिका कारण सिंह र उनीबीच खटपट हुन थाल्यो । उनको बुझाइमा प्रवासमा सङ्गठन विस्तार तीव्र हुन थालेपछि द्वन्द्व बढ्यो ।
तीस र चालीसको दशकमा चौममा काम गर्दाको अनुभव राख्दै तिलक परियार भन्छन्, “वैचारिक र सैद्धान्तिक छलफल एवं बहस चलाएर क्रान्तिको पक्षमा एकता–सङ्घर्ष–रूपान्तरणको विधि र प्रक्रियाबाट नयाँ आधारमा नयाँ एकता हासिल गर्नुपर्ने हो । तर त्यसको सट्टा आफ्नो विचारसित असहमत हुनेलाई निषेध गर्ने प्रवृत्तिका कारण मोहनविक्रम सिंह र मेराबीचमा खटपट हुन थाल्यो । उनले ‘विदेशमा नेपाली समाज कल्याण परिषद’को विकल्पमा उत्तर प्रदेशको बनारस शहरमा ‘अखिल भारत नेपाली एकता समाज’ स्थापना गरे । अनि सबै पुराना साथीलाई हटाएर आफ्ना मामा गोविन्दसिंह थापाको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरे । यो परिघटनाले नेपाली कम्युनिस्ट आन्दोलनमा सामन्तवादसँगै नातावाद, कृपावाद र उच्चजातीय अहङ्कारवाद जब्बर रूपमा रहेको पुष्टि गर्दछ ।”पार्टीको मुख्य नेतृत्वसँग द्वन्द्व हुँदैमा तिलक परियारले कम्युनिस्ट आन्दोलन त्यागेनन्, बरु पार्टीभित्र अन्तरसङ्घर्ष चलाए । त्यसो त नेकपा चौमको फूटपछि बनेको नेकपा (मसाल)मा पनि आन्तरिक द्वन्द्व चर्कियो । उनले सुरुमा मसाललाई समर्थन गरे पनि त्यसको विभाजनपछि बनेको नेकपा मशाललाई सघाए । त्यही मशाल, चौम र सर्वहारवादी श्रमिक सङ्गठन मिलेर २०४७ सालमा बनेको नेकपा एकताकेन्द्र हुँदै उनी पनि अगाडि बढे । एकताकेन्द्रको फुटपछि स्थापना गरिएको नेकपा (माओवादी)मा आबद्ध भएर उनी जनयुद्धमा सहभागी भए ।
१ फागुन २०५२ देखि माओवादीले जनयुद्धको शुरुवात गरेपछि उनले पार्टीको बफादार सिपाहीका रूपमा उभिए । त्यसैले आफू जनयुद्धमा हाम्फाल्नुलाई स्वाभाविकै ठान्छन् उनी । उनी जनताका विभिन्न मोर्चामा सहभागी भए, उनले तिनको अगुवाइ पनि गरे । उनी त्यतिबेलासम्म पार्टीको वैधानिक मोर्चा : संयुक्त जनमोर्चा, नेपालको केन्द्रीय सदस्य भइसकेका थिए । जनमोर्चाले २४ चैत्र २०५४ मा राखेको ‘नेपाल बन्द’को क्रममा कोणसभालाई सम्बोधन गर्दैगर्दा उनी समातिए । बाँकेको कोहलपुरबाट गिरफ्तार गरी उनलाई सिधै जेल चलान गरियो ।
उनलाई शुरुमा नेपालगन्ज कारागारमा राखियो । पछि ३÷३ महिनामा जेल सरुवा गर्दै विभिन्न कारागारमा हालियो । उनलाई बर्दिया कारागारदेखि दाङ कारागार, भैरहवा कारागार, पाल्पा कारागार, केन्द्रीय कारागार काठमाडौँमा समेत राखियो । विभिन्न कारागारमा गरी उनले ३ वर्ष ४ महिनाको जेल जीवन भोगे । त्यसबीचमा उनलाई मानसिक यातनाका लागि लुम्बिनीको जङ्गलमा पनि लगिएको थियो । त्यतिखेर मात्रै उनले मुक्ति पाए, जतिखेर बन्दी आदानप्रदान गर्ने सम्झौता भयो । १४ श्रावण २०५८ मा जनमुक्ति सेनाले होलेरीमा कब्जा गरेका प्रहरीसित सट्टा भर्ना गर्ने क्रममा बर्दिया कारागारबाट उनीसहित ऋषि घिमिरे र बलराम काफलेलाई रिहा गरियो । आफ्नो राजनीतिक जीवनमा पञ्चायतकालदेखि जेल बस्ने क्रममा उनी २५ पटक जति हिरासतमा बसेका छन् ।

दलित मुक्ति आन्दोलनमा सहभागिता
नेपाली कम्युनिस्ट आन्दोलनमा २०२१ सालदेखि जोडिएता पनि उनी दलित मुक्ति आन्दोलनमा केही समयपछि जोडिए । विशेष गरी २०२९ सालमा काठमाडौँमा आयोजित ‘दलित जनविकास परिषद्’को पहिलो राष्ट्रिय सम्मेलनमा उनी पर्यवेक्षकका रूपमा सहभागी भए । त्यतिबेला पुष्पलालले सम्मेलनका मुख्य आयोजक तथा दलित नेता टी.आर. विश्वकर्मालाई चिठी लेखेर उनलाई पर्यवेक्षकको रूपमा पठाएका थिए ।
उनको अनुभवमा त्यतिबेलासम्म नेपाली दलित आन्दोलनका अगुवाहरूले वैचारिक, राजनीतिक, सैद्धान्तिक र साङ्गठनिक सवालमा छलफल नै गरेनन्, बरु कुन पदमा को रहने भन्ने कुराको छलफलमात्रै गरे । उनी आफ्नै इतिहासतिर फर्केर हेर्ने क्रममा भन्छन्, “कम्युनिस्ट पार्टीमा सङ्गठित भएपछि दलित आन्दोलन र सङ्गठनप्रति त्यति ध्यान दिइएन । तर त्यो सम्मेलनपछि भने दलित आन्दोलनप्रति अलि चासो र चिन्ताका साथ चिन्तन मनन गर्न थालेँ ।”
नेपालमा २०२४ सालदेखि अछूत भनी हेपिएका समुदायले आफूलाई दलित पहिचानका आधारमा सम्बोधन गर्न थालेको थियो । भारतमा त्यसअघि नै यही नयाँ पहिचानका साथ दलितहरू सङ्घर्षरत थिए । भारतको संविधान निर्माता तथा प्रखर विद्वान् डा. भीमराव अम्बेडकरले चलाएको आन्दोलनपछि दलित शब्द स्थापित भएको हो । दलित शब्दको प्रयोग वैज्ञानिक रहेको मत राख्ने तिलक परियारको बुझाइमा अहिले पनि त्यसको औचित्य र आवश्यकता रहेको छ । उनी आफ्नो अनुभवलाई सैद्धान्तीकरण गर्दै भन्छन्, “यो थुप्रै जात, उपजात र समुदायमा विभाजित दलित समुदायमाथि हुने शोषण, उत्पीडन, दमनविरोधी पहिचान हो । यो पानी नचल्ने भनी गरिएको घृणा, अवहेलना, अपमान, मानसिक यातना र विभेदको विरोध पनि हो । यसरी अनेक रूपले दबाएर राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिकलगायत जीवनका सबै क्षेत्रमा वञ्चितीकरण भोग्न बाध्य बनाइएका समुदायलाई एउटै डालोमा राखेर दलित शब्दले सम्बोधन गर्नु जरुरी छ । यसो गर्दा सङ्गठित एकीकृत भौतिक शक्तिमा परिणत हुन्छ, ब्राह्मणवादी चिन्तन प्रवृत्ति र सामन्तवादी राज्यसत्ताका विरुद्ध सङ्घर्ष गर्न सकिने अवस्था हुन्छ । त्यसैले दलित मुक्ति आन्दोलनका लागि सङ्गठनात्मक संरचना बनाउनुपर्दछ ।”
त्यसैका लागि तिलक परियारले पनि कम्युनिस्ट पार्टीभित्र लामो समयदेखि आवाज उठाए । २०४८ सालमा नेकपा (एकता केन्द्र) को एकता महाधिवेशनपश्चात् मात्र पार्टीले दलित सङ्गठनको आवश्यकता महशुस ग¥यो । त्यसपछि निश्क्रीय अवस्थामा रहेको दलित जनविकास परिषद्लाई क्रियाशील बनाउनतिर उनीसहितको एउटा टीम लाग्यो । मिठाइदेवी विश्वकर्मा, पदम सुन्दास, रणेन्द्र बराली, ओमप्रकाश रामदाम, टीकामान परियार, प्रेम नेपाली, विश्वभक्त दुलाल (आहुति) र तिलक परियारलगायतका अगुवाहरूको बैठक राखियो । त्यस बैठकले दलित आन्दोलनलाई एकजुट बनाउने योजना र कार्यक्रम बनायो ।
पहिलो पटक गोल्छे सार्कीसँग एकता गर्ने कुरा गर्दा उनले मानेनन् । गोल्छे त्यतिबेला राष्ट्रियसभा सदस्य थिए । पछि गोल्छे सार्कीसँगै पद्मलाल विश्वकर्मा, आहुति, तिलक परियार, प्रेम नेपालीलगायतका बीचमा लामै छलफलपश्चात् एकताका लागि सहमति जुट्यो । जातीय समता समाज, उत्पीडित जातीय उत्थान मञ्च र दलित जनविकास परिषद्बीच ७ चैत्र २०४९ मा चितवनमा एकता भेला सम्पन्न भयो । त्यही भेलाबाट ‘नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज’ नामक सङ्गठनको स्थापना भयो । भेलाले पद्मलाल विश्वकर्मालाई अध्यक्ष र आहुतिलाई महासचिवमा निर्वाचित ग¥यो भने तिलक परियार केन्द्रीय सदस्य बनायो । २०५१ सालमा मुक्ति समाजको बुटवलमा भएको दोस्रो राष्ट्रिय सम्मेलनमा पनि उनी पुनः केन्द्रीय सदस्य भए ।
जनयुद्धको दौरानमा राज्यले दलित समुदायमाथि अमानवीय दमन र हत्या गर्न थाल्यो । मुक्ति समाज विभिन्न राजनीतिक विचार बोक्ने र सत्ताको राजनीति गरेका र युद्ध गरिरहेका दलहरूसँग जोडिएका सङ्गठनहरूको साझा थलो थियो । त्यसैले युद्धका बेला दलित समुदाय र माओवादी विद्रोहीहरूमाथि राज्यद्वारा गरिएका दमनविरुद्ध मुक्ति समाजले एकमतले बोल्नै सकेन । त्यही कारण माओवादी पार्टीले आन्तरिक मोर्चाको आवश्यकता अनुभूत ग¥यो । त्यसै क्रममा तिलक परियारको नेतृत्वमा ७ चैत्र २०५३ मा चितवनमा राष्ट्रिय भेला गरियो र नेपाल दलित मुक्ति मोर्चा नामक सङ्गठन निर्माण गरियो । जनयुद्धमा दलितको सहभागिता बढाउनमा योगदान दिएको मोर्चाको भूमिका इतिहासमा कोसेढुङ्गा सावित भयो ।
२०५४ चैत्रदेखि २०५८ श्रावणसम्म ३ वर्ष ४ महिनासम्म उनी जेलमा परे । जेल मुक्त भएको केही महिनापछि २६–२७ कार्तिक २०५८ मा चितवनमा नेपाल दलित मुक्ति मोर्चाको अर्काे राष्ट्रिय भेला सम्पन्न भयो । सो भेलाले तिलक परियार अध्यक्ष, थमन परियार र सन्तोषी वि.क. उपाध्यक्ष, प्रेम बराइली महासचिव, परशुराम रम्तेल सचिव र तेजबहादुर मिजार कोषाध्यक्ष रहेको १७ सदस्यीय केन्द्रीय समिति निर्वाचित ग¥यो । सरकार र माओवादीबीच भएको पहिलो वार्ताकालमा रोल्पामा भएको संयुक्त क्रान्तिकारी जनपरिषद्को राष्ट्रिय भेलाबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए ।
जनयुद्धको दौरानमा तिलक परियारले दलित मुक्ति मोर्चालाई सुदृढ र व्यवस्थित गरेका थिए । चरम दमन भएको र सङ्कटकाल घोषणा गरिएको बेला पनि भूमिगत ढङ्गले ७५ वटै जिल्लामा मोर्चाका जिल्ला सङ्गठनको गठन र पुनर्गठन गरे । वार्ताकालमा पनि राजधानीमा मोर्चाको आयोजनामा ठूल–ठूला गोष्ठी र अन्तत्र्रिmया गरे । त्यस क्रममा नेपाली समाजमा जकडिएर रहेको मनुवादी सोच, चिन्तन र व्यवहारविरुद्ध थुप्रै प्रशिक्षण, अन्तक्र्रिया, भण्डाफोर अभियान र नेपाल बन्दलगायतका सङ्घर्षका कार्यक्रम पनि सञ्चालित भए । त्यस्तै मोर्चाकै आयोजनामा जिल्ला र ब्यूरो स्तरमा सांस्कृतिक रूपान्तरणसम्बन्धी अभियान पनि चलाइए । त्यसकै परिणामस्वरूप जनयुद्धका बेलामा जनसत्ता सञ्चालन भएका क्षेत्रमा एकहदसम्म छुवाछूत र विभेद अन्त्यको स्थिति समेत बन्यो ।
२०६२ पुसमा रोल्पा जिल्लाको ओत गाविसको बाँगेतालमा सङ्कटकालकै बीच दलित मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन भयो । सो सम्मेलनले पनि तिलक परियारलाई नै अध्यक्ष बनायो भने परशुराम रम्तेललाई महासचिवमा निर्वाचित ग¥यो । सम्मेलनले नेपाली दलित मुक्ति आन्दोलनको नयाँ ढङ्गले संश्लेषण गर्दै दलित आन्दोलनमा विशषाधिकारको नीति पारित ग¥यो ।

संयुक्त दलित आन्दोलनमा भूमिका
दलित समुदायमाथि हुने सबैखाले शोषण र उत्पीडनविरुद्ध लड्न संयुक्त दलित आन्दोलनको आवश्यकता भएको हो । २०६२ सालपछि दलित आन्दोलनलाई संयुक्त आन्दोलनको रूपमा उठान गर्नमा उनको महत्वपूर्ण भूमिका रहेको छ । २०६२÷६३ सालको जनआन्दोलनमा सबै दलित सङ्गठनको महत्वपूर्ण भूमिका रहेको थियो । शान्ति प्रक्रियाको शुरुको चरणमा उनकै पहलमा दलित गणतान्त्रिक मोर्चा गठन भई दलित आन्दोलनका महत्वपूर्ण मुद्दा उठाउने काम भयो । पछि २०६६ सालमा सबै दलित सङ्घ÷सङ्गठनबीच लामो छलफल र बहसबाट संयुक्त रूपमा २० बुँदे राजनीतिक सहमति र सङ्गठनात्मक २० बुंदे आचारसंहितासहित संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति निर्माण भयो । यो सहमतिको एउटा प्रमुख पहलकर्ता नेतृत्वपङ्क्तिमा उनी पनि पर्दछन् ।
२०६३ सालमा उनी अन्तरिम व्यवस्थापिका संसद सदस्य भए । उनले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि निरन्तरता पाए । उनी बाँके जिल्लाको क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत अत्यधिक मत ल्याएर नेकपा (माओवादी) पार्टीको तर्फबाट संविधानसभाको सदस्यमा निर्वाचित भए । संविधानसभामा, व्यवस्थापिका संसदमा र संविधानसभाका विषयगत समितिमा र बाहिरी सडकको सङ्घर्षमा पनि उनले सफलतापूर्वक नेतृत्व गरे । डा. बाबुराम भट्टराईको नेतृत्वको माओवादी सरकार बनेको बेला प्रधानमन्त्रीको नेतृत्वमा जातीय भेदभाव तथा छुवाछूूत उन्मूलन कार्यान्वयन उच्चस्तरीय समिति गठन भयो, जुन संयुक्त सङ्घर्ष समितिको सङ्घर्षकै बलमा गरिएको थियो । त्यसको केन्द्रीय समन्वय समिति नेपाल सरकारका मुख्य सचिवको नेतृत्वमा र जिल्ला स्तरीय सयंन्त्र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन गर्ने सहमति भएको थियो ।
संसद्बाट जातीय भेदभाव तथा छुवाछूत कसूर सजाय ऐन, २०६८ निर्माण हुँदा विधायन समितिअन्तर्गत सो विधेयक निर्माण गर्दा उनकै नेतृत्वमा उपसमिति निर्माण भएको थियो । त्यसबेला उनले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पार्टी एकता भएर एकीकृत नेकपा–माओवादी बनेपछि माक्र्सवादी विद्वान् कृष्णदास श्रेष्ठलाई केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष बनाइयो भने तिकल परियारलाई सचिवको जिम्मेवारी दिइयो । उनले सो पदमा रहेर पार्टी र जनताको पक्षमा लामो समय काम गरे । स्मरणीय छ, त्यस पार्टीको विधानमा सल्लाहकार समितिका अध्यक्ष र सचिव पार्टीको स्थायी समितिको बैठकमा पनि सहभागी हुन पाउने व्यवस्था थियो ।
संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति गठन गरी संयुक्त आन्दोलन उठान गर्नमा पनि तिलक परियारको भूमिका उल्लेखनीय रह्यो । उनीसँगै खड्ग बहादुर बस्याल, लालबहादुर विश्वकर्मा, पद्मलाल विश्वकर्मा, रणेन्द्र बराली, राजेश नेपाली, केशबहादुर परियार, जितु गौतम, जीवन परियार, गणेश विश्वकर्मा, परशुराम रम्तेल, गौरा नेपाली, सेवल राम, उपेन्द्र छटुञ्जेल लगायतको विशेष भूमिका रहेको थियो । यसको मुख्य पहलकदमी लिने काम तिलक परियार, खड्गबहादुर बस्याल र लालबहादुर वि.क. ले ठूला तीन दलित सङ्गठनका मूल नेतृत्वको हैसियतले पहलकदमी लिएका थिए । सो सङ्घर्ष समितिले इतिहासमा पहिलोपटक दलित समुदायका राजनीतिक, आर्थिक र सामाजिक–सांस्कृतिक एजेण्डालाई समेटेर बीसबुँदे राजनीतिक सहमति र बीसबुँदे सङ्गठनात्मक आचारसंहिता निर्माण गरी जारी गरिएको थियो ।

लेखन, भ्रमण र सम्मान

तिलक परियारका लागि कारावासको जीवन विश्वविद्यालय सरह भयो । साढे तीन वर्ष लामो कारावास बसाइमा उनले थुप्रै माक्र्सवादी पुस्तक, साहित्य, जीवनी आदि पुस्तक अध्ययन गरे । त्यसकै आधारमा उनले ‘माक्र्सवाद र दलित’ नामक पुस्तक लेखे । थुप्रै लेख–रचनाको लेखन सङ्कलनको पर्खाइमा छन् ।
विदेश भ्रमणको क्रममा उनले दक्षिण कोरिया, थाईल्याण्ड, भियतनाम, जापान, स्विट्जरल्याण्ड, भारत, बाङ्लादेश, पाकिस्तानको भ्रमण गर्न भ्याएका छन् । जीवनमा पहिलो पटक कक्षा ८ मा विद्यालयका ‘होल फस्ट’ भएकाले समग्र विद्यालय परिवारले उनलाई फूलमाला र अवीर लगाएर सम्मान गरिएको थियो । २०३५ सालमा दिल्लीको आजाद भवनमा आयोजित वक्तृत्व–कला प्रतियोगितामा प्रथम भए बापत डा. बाबुराम भट्टराईले उनलाई अन्तोनियो ग्राम्सीको किताब पुरस्कार दिएका थिए । पछिल्लो चरणमा नेपाली दलित मुक्ति आन्दोलनमा महत्वपूर्ण योगदान गरेका कारणले २०७२ सालमा दलित विकास समितिले उनलाई ७ हजार नगदसहित सम्मानित गरेको थियो ।

अविष्मरणीय घटना
२०३४ सालमा पार्टी कामको शिलशिलामा दिल्लीको एउटा गाउँमा उनी सहित टङ्क पाठक र राजु नेपालीसँगै पैदल हिँडिरहेका थिए । उनीहरूसँग खाजा खाने खर्च समेत थिएन । हिँड्दै जाँदा बाटोमा निकै राम्रो सप्रेको पालुँगोजस्तो हरियो घाँस भेटेपछि टङ्क पाठक र तिलक परियारले खाए । त्यो पालुंगो जस्तो घाँस खाएको केही समयपछि नै उनीहरू दुवै बेहोस भए । धन्न राजु नेपालीले खाएका थिएनन् । उनले ती दुवै जनालाई बल्लतल्ल अस्पताल लगे । दुई दिनको उपचारपछि बल्ल ठीक भए । यस्तै अर्काे घटना पनि उनका लागि बिर्सन लायक छैन । जनयुद्धको बेला सङ्कटकाल लागेको थियो । उनको जीवनमा पनि थप सङ्कट आइलाग्यो । २०६१ पुसमा सल्यानको बालुवामा उनी नेपाली सेनाको घेरामा परे । उनी घेरा तोडेर बाहिर निक्लन त सफल भए, तर गाउँमा सेनाको घेराबन्दी हुँदा ज्यान जोगाउनै मुस्किल भयो । घेराबन्दीबीच उनलाई कठ्याँग्रिँदो जाडोमा रातभरि जङ्गलमै लुक्नुपर्ने अवस्था भयो । जङ्गलमा सेना र जाडो दुवैबाट बल्ल–बल्ल बाँचेको अनुभूति उनी सुनाउँछन् । यसरी दुःख–कष्ट गरेर बनाएको पार्टी फुट्दा र बिग्रिँदा उनलाई बेला–बेलामा साह्रै नै पीडा हुने गर्दछ ।

जनयुद्ध र भूमिगत जीवनको अनुभूति

पञ्चायतकालदेखि नै भूमिगत जीवनशैली बेहोरेका तिलक परियार जनयुद्धकालीन भूमिगत जीवन नितान्त फरक रहेको उनी बताउँछन् । १ फागुन २०५२ मा विधिवत् रूपमा जनयुद्धको शङ्खघोष हुँदा उनी धेरै खुसी भएका थिए । किनभने उनले कम्युनिस्ट पार्टीको सदस्यता पाएदेखि नै देशमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने र समाजवाद हुँदै साम्यवादसम्म पुग्ने सपना बुन्दै आएका थिए । चीनमा माओले जनयुद्धको माध्यमबाट वर्गसङ्घर्ष गरेको र अन्ततः चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको कुरा इतिहास पढेको र प्रशिक्षणमा सुनिएको कुरा थियो । त्यस्तो दिनको पर्खाइमा भएका उनीजस्ता कम्युनिस्ट लागि साँच्चै फागुन १ गते उत्पीडित समुदायको ऐतिहासिक दिन थियो ।
पञ्चायतकालदेखि नै उनले कम्युनिस्ट राजनीति गरेका थिए । पञ्चायतकालको अन्त्यपछि उनले २०४८ सालदेखि संयुक्त जनमोर्चामा खुलेर काम गरेका थिए । यस्तो भेउ पाएको प्रशासनले उनलाई जनयुद्ध घोषणा भएको चौधौँ दिनमा समातेको थियो । प्रहरीले घर घेरा हाली घरबाटै गिरफ्तार गरेपछि उनलाई सार्वजनिक मुद्दा लगाएर कारागार चलान गरिएको थियो । त्यसै क्रममा दलित मुक्ति समाजका अध्यक्ष पद्मलाल विश्वकर्माले उनलाई जेलमा भेट्न गएका थिए । उनी भन्छन्, “पद्मलाल विश्वकर्माले एमालेको टिकट लिए छुट्न सजिलो हुन्छ तिलकजी’ भनेका थिए । तर मैले ‘माफ गर्नेहोला सर, म विचार र सिद्धान्तमा सम्झौता गर्दिनँ’ भनेर कडा जवाफ दिएँ । केही महिनापछि मलाई प्रशासनले छोडिदियो ।”

प्रेरणाका स्रोत
तिलक परियारको स्वभाव बहिर्मुखी खालको छ । उनी आफ्ना विषयवस्तु प्रस्टसँग राख्ने, कुनै छलकपट नगर्ने, खुला र स्पष्ट वक्ता हुन् । राजनीतिक छलफल गर्न, सैद्धान्तिक र वैचारिक बहस गर्न र साहित्य पढ्न उनी बढी रुचाउँछन् । उनलाई आलोचना गर्नेहरू उनमा एकाङ्कीपन र सङ्कीर्ण भएको तथा कलात्मक पक्षचाहिँ कमजोर रहेको टिप्पणी गर्दछन् । मानिसमा सबल र दुर्बल पक्ष दुवै हुनु स्वाभाविकै छ ।
जेहोस्, नेपाली दलित मुक्ति आन्दोलनमा पञ्चायतकालदेखि बहुदलीयकाल, जनयुद्धकाल हुँदै अहिलेसम्म पनि निरन्तर सङ्घर्षद्वारा नेपाली राजनीतिमा दलित मुद्दालाई स्थापित गर्नमा उनको भूमिका निकै महत्वपूर्ण रहेको छ । उनी जनयुद्धको शुरुको चरणदेखि नै निरन्तर खटेर जेलको मोर्चामा होस् वा युद्धको मोर्चामा, वर्ग बैरीसँग किञ्चित नझुकी सतिसालजस्तै निरन्तर अघि बढ्दै आएका छन् । उनी दलित सवालमा मोहनविक्रम सिंहदेखि प्रचण्ड हुँदै मोहन वैद्यसम्मका नेताहरूसँग पनि ढुक्कसँग सैद्धान्तिक लडाइँ लड्ने व्यक्तित्व हुन् । बेलाबेलामा माओवादी पार्टी दलित सवालमा विचलित हुन खोज्दा उनी कत्ति पनि सम्झौता नगरी जोसुकैको मनुवादी प्रवृत्तिविरुद्ध दृढतापूर्वक जुध्ने गर्दछन् । यसैकारण पनि उनी पार्टीमा आफूलाई पछाडि पारिएको अनुभूति गर्दछन्, तर पनि स्वाभिमानी जीवन नै उत्तम हुने तर्क पनि उनी गर्दछन् । डा.बाबुराम भटेराई प्रधानमंत्री हुंदा उनलाई मंन्त्री बन्न प्रस्ताव राख्दा पार्टीको संस्थागत निर्णयको माग गर्दै मन्त्री पद त्यागेका थिए ।
नेपालमा दलित नेताको नाम लिनुपर्दा तिलक परियारको नाम अग्रपङ्क्तिमा आउँछ । उनीबाट भावी पुस्ताले सिक्ने सबैभन्दा महत्वपूर्ण शिक्षा भनेको राजनीतिमा जुझारूपना र निरन्तरता हो; जस्तोसुकै दुःख–कष्टमा पनि विचार र राजनीतिलाई नै केन्द्रमा राख्ने सोच हो; मनुवादी सोच, चिन्तन र व्यवहारविरुद्ध निरन्तर सङ्घर्ष हो भने खास–खास बेलामा दलितवादी भएर सङ्घर्ष गर्ने प्रवृत्ति हो । उनी सामाजिक रूपान्तरणका लागि एकता, सङ्घर्ष र रूपान्तरणको माक्र्सवादी विधि अपनाउनुपर्नेमा जोड दिन्छन् । हाल ७४ वर्षमा टेकेका तिलक परियार तत्कालीन नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय सदस्य तथा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक थिए । अहिले उनी नेकपा नेता हुन्र । अहिले उनी कम्प्युटरबाटै लेखरचना लेख्छन् र अहिले पनि राति अबेरसम्म अध्ययन गर्ने बानी सबैका लागि मनन गर्न योग्य छ । दलित मुक्ति आन्दोलनसम्बन्धी उनका लेखरचनामा माक्र्सवादी कोण सहजै देख्न पाइन्छ । उनले जनयुद्धमा सिङ्गो दलित आन्दोलनको नेतृत्व गरिरहँदा दलित समुदायको उल्लेखनीय हिस्सा लामबद्ध भएका थिए ।

(दलित महिला केन्द्र नेपालद्धारा प्रकाशित तथा राजेन्द्र महर्जनबाट सम्पादित ‘दलित नेतृत्व : संघर्ष र सफलता’ नामक पुस्तकबाट)


प्रकाशित | १६ मंसिर २०७५, आईतवार २३:२१

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')