मिठाइदेवी विश्वकर्माकाे संघर्ष गाथा : न मन्त्री, न राजनीतिक नियुक्ति

परशुराम रम्तेल / गणेश विश्वकर्मा

मिठाइदेवी विश्वकर्मा । नेपाली दलित आन्दोलनमा सबैभन्दा अगाडि रहेकी महिला नेतृ । उनको नामसँग जोडिएका छन् दलित समुदायको आन्दोलनका अनेक गाथा । ती गाथाभित्र पनि गाँसिएका छन् दलित महिलाका सङ्घर्ष–कथा । उनी नेपालको पहिलो दलित महिला सङ्गठन ‘महिला परिगणित सङ्घ २०१२ की संस्थापक अध्यक्ष हुन् ।
अनेक सङ्घर्षका कारण उनको आफ्नै विशिष्ट परिचय छ । उनलाई आफ्ना श्रीमान् वा कुनै पुरुषसँग जोडेर चिनाइराख्नु पर्दैन । उसो त उनी दलित नेता टि.आर. विश्वकर्माकी धर्मपत्नी हुन् । र, दलित नेता सहर्षनाथ कपालीकी भतिजी पनि । दलित नेता सहर्षनाथ कपालीका भाइ बेखानारायण कपाली उनका पिता हुन् ।
सुजीकारकी छोरी
मिठाइदेवी १० फागुन १९९३ मा काठमाडौँको इन्द्रचोकमा जन्मिएकी हुन् । उनी बुबा बेखानारायण कपाली र आमा मिश्रीदेवी कपालीकी जेठी छोरी हुन् । उनका एक भाइ र ४ बहिनी थिए । हाल उनीसहित दुईटी बहिनी र एक भाइ काठमाडौँमै बस्छन् ।
उनी नेवार समुदायअन्तर्गतका कपाली समुदायका सदस्य हुन् । उनका बुबा–आमा जातअनुसार पेसा अँगाल्ने क्रममा सुजीकारको काम गर्दथे । कम या बेसी होला, तर कपालीहरुलाई पनि त्यसबेला लुगा सिउने दमाई वा ‘अछूत’लाई जस्तै व्यवहार गरिन्थ्यो ।
उनको अनुभवमा कपाली समुदाय र सुजीकारको काम गर्ने परिवारकी भए पनि केटाकेटीसँग खेल्दा र स्कुलमा पढ्दा त्यति विभेद हुँदैनथ्यो । तर मिठाइ पसल, चिया पसल, मन्दिरमा भने छुवाछूत र विभेद भएको महसुस हुन्थ्यो । यस्तो अनुभूति मिठाइदेवीले पनि बाल्यकालमा गरेकी थिइन् ।

पढाइ छाडेर सुँडेनी तालिम

राणाकाल र त्यसपछि पनि महिलाहरुका लागि शिक्षाको ढोका राम्ररी खुलेको थिएन । तर पनि मिठाइदेवीले पढ्ने अवसर पाइन्, ढिलै भए पनि । १२ वर्षको उमेरमा मात्रै विद्यालयमा भर्ना भएकी थिइन् मिठाइदेवी ।
उनलाई परोपकार संस्थाका संस्थापक तथा अभियन्ता दयावीर सिंह कंसाकारले एउटा प्रस्ताव राखे, विदेशमा गएर तालिमका लागि । कंसाकारले परोपकार संस्थाबाट १ वर्षे सुँडेनी तालिमका लागि उनलाई भारतको इलाहाबादस्थित कमला नेहरु हस्पिटलमा पठाए । त्यसबेला उनी ९ कक्षामा पढ्दै थिइन् । १ वर्षको तालिम सकेर काठमाडौँ फर्केपछि उनले फेरि विद्यालयमा पढ्न थालिन् । उता परोपकार संस्थामा स्वयंसेविकाको रुपमा काम गरिरहिन् ।
उनले प्रौढ शिक्षा निकेतनबाट २०१५ सालमा मेट्रिक (एसएलसी सरह) पास गरिन् । कपालीको परिवारबाट, त्यसमा छोरीमान्छेले मेट्रिक पास गर्नु कम खुसीको कुरा भएन । त्यही खुसियालीमा काठमाडौँ, फर्पिङस्थित दक्षिणकाली मन्दिरमा भोज गरियो । सबैले सगुन लिएर उनलाई बधाई तथा आशीर्वाद दिए ।
त्यसपछि पनि उनले पढाइ छाडिनन् । पद्मकन्या कलेजबाट आईए पास गरिन् । तर बीए पढ्दापढ्दै पढाइ पूरा नगरी छाडीदिइन् । अचम्मको कुरा, त्यस जमानामा त्यति धेरै पढेर पनि उनले कहीँकतै जागिर खाइनन् । उनी खालि परोपकार संस्थाबाट समाजसेवा र दलित महिलाको राजनीतिमा मात्रै लागिरहिन् । त्यस्तै, आरक्षणका लागि आवाज उठाउने, आर्थिक स्थिति सुधारका लागि ध्यानाकर्षण गराउने काममा उनी बढी लागिन् ।
यसरी आवाज उठाउने क्रममा विशेष गरी उनले दलित महिलाहरुलाई सङ्गठित गरिन् । उनकै प्रयासमा रेश्मा धोवी, डाइमन सुजीकार, जुनु विश्वकर्मा (महिला परिगणित सङ्घकी सचिव) लगायत महिलाहरु सङ्गठित भइन्् । उनले चेतना र सङ्गठनको विस्तारसँगै महिलाहरुलाई छुवाछूतविरुद्ध परिचालित गरिन् ।
उनको अनुभव के छ भने त्यसबेला सङ्गठन गर्न गाह्रो थिएन । कुनै एक घरकी महिलालाई खबर गरियो भने सबै महिला जम्मा हुन्थ्यो, तर आजकल भने अलिक अप्ठेरो छ । त्यसबेला दलित आन्दोलन स्वयमसेवी भावनाले प्रेरित थियो । उनको भोगाइमा देशव्यापी सङ्गठन निर्माण र परिचालन स्वतःस्फूर्त रुपमा हुन्थ्यो । उनी आफ्नो भोगाइको रस निचोर्दै भन्छिन्, “अहिले परियोजनावाद र राजनीतिकवादमा फँसेको सुन्छु । स्वतन्त्र सङ्गठनहरु र तिनमा बस्नेहरुको खासै महत्व छैन ।”

पशुपतिमा प्रवेशका लागि सङ्घर्ष

छुवाछूत र विभेदविरुद्ध दलितहरुले गरेका अनेक खालका सङ्घर्षसँगै मिठाइदेवी हुर्केकी–बढेकी हुन् । २०१० सालमा उनकै ठूलो बुबा सहर्षनाथ कपालीको अगुवाइमा पशुपति मन्दिर प्रवेश आन्दोलन भएको थियो । त्यस ऐतिहासिक आन्दोलनमा आफू छुटेकोमा उनलाई अहिले पनि पछुतो छ ।
उनको भनाइ छ, “नेपालको दलित आन्दोलनको क्रममा सहर्षनाथ कपालीले पशुपति मन्दिर प्रवेश आन्दोलनको नेतृत्व गर्नुभयो । पशुपति मन्दिर प्रवेश हामी सबैको सपना थियो । तर म त्यसबेला सुँडेनी तालिम लिन छिमेकी मुलुक भारत गएकी थिएँ । त्यस पशुपति मन्दिर प्रवेश कार्यक्रममा हजारौँ महिलाको सहभागिता रहेको थियो । यस घटनालाई स्वदेश तथा विदेशबाट महत्वपूर्ण ढङ्गले हेरिएको थियो । यो घटनामा सहभागी हुन नपाउँदा पछुतो लागेको छ ।”
पशुपति मन्दिरमा प्रवेशका लागि पटक–पटक सङ्घर्ष भएको इतिहास छ । त्यसका साक्षी रहेकी मिठाइदेवीको सम्झनामा छ, अम्बेडकरको नेपाल भ्रमण र पशुपतिमा प्रवेशका लागि भएको कोसिस पनि ।
२०१३ सालमा भारतका चर्चित दलित नेता डा. भीमराव अम्बेडकर नेपाल भ्रमणमा आएका थिए । मिठाइदेवीका अनुसार अम्बेडकर नेपाल आउँदा सबै दलित हर्षित भएका थिए । तर त्यसबेलाको हिन्दू समाज र राज्यले भने उनलाई पशुपतिनाथको मन्दिरमा प्रवेश गर्न दिएनन् । उनलाई चमार वा सार्की ठानेर मन्दिर प्रवेशमा प्रतिबन्ध लगाइयो ।
मिठाइदेवीको भनाइअनुसार त्यस्तो कुरा थाहा पाएपछि अम्बेडकरले पनि पशुपति जान्न भने, बरु दलित बस्तीमा जाने चाहना राखे । त्यसबेला बिरामी अवस्थामा रहेका अम्बेडकरलाई तामदानीमा बोकेर सबैजसो दलित बस्तीमा लगियो ।
अम्बेडकरको नेपाल भ्रमणबारे मिठाइदेवीको अनुभव र अनुभूति छ, “दलित नेताहरुले उहाँलाई यहाँका दलितहरुले भोग्नुपरेका उत्पीडनका घटना सुनाए । ती घटना सुनेर उहाँले उत्पीडनका प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँको आगमनले दलित आन्दोलनमा लागेका अगुवाहरु प्रोत्साहित भए । पछि नेपाली दलित आन्दोलनले पनि आरक्षणलाई मूल मुद्दा बनायो ।”

अन्तरजातीय विवाह गर्ने साहस

नेपालका पढेलेखेका दलितले अमेरिका पढ्न जान पाउने भए भन्ने विषयमा काठमाडौँमा दलित अगुवाहरुबीच एक भेला आयोजना भएको थियो । त्यही भेलामा जाँदा दलित अगुवासँग पहिलो पटक उनको आँखा जुध्यो । ती युवा थिए टि.आर. विश्वकर्मा ।
त्यतिबेला टि.आर. डेरा गरी बस्दथे । त्यो पनि मिठाइदेवीकै ठूलो बुबा सहर्षनाथको घरमा । ठूलो बुबाकहाँ जाने आउने गर्दा त्यहीँ टि.आर.सँग पनि कहिलेकाहीँ उनको भेटघाट हुन थाल्यो ।
त्यसबेला उपत्यकाबाहिरबाट आउने दलितहरुले काठमाडौँमा डेरा पाउन गाह्रो थियो, छुवाछूतका कारण । त्यसैले काठमाडौँका नेवार दलितहरु मोफसलबाट आउने दलितलाई दया–माया गर्थे । कतिपयले त उनीहरुलाई आफ्नै घरमा राखेर सित्तै खुवाउने पनि गर्थे । टि.आर.लाई पनि त्यसरी नै डेरामा राखेर सघाइएको थियो । त्यसबेला उनको व्यक्तित्वको प्रभाव पनि बढ्दो थियो । किनभने उनी एक कम्युनिस्ट नेताका रुपमा क्रियाशील थिए । सहर्षनाथ कपालीको परिवारले उनलाई जेठो छोराको जस्तो व्यवहार गर्दथ्यो ।
मिठाइदेवीलाई टि.आर.का कविता खुब मन पथ्र्याे । अन्ततः कविताप्रतिको प्रेम व्यक्तिसँग प्रेममा फेरिन पुग्यो । बुढेसकालमा उनी युवावस्थाको प्रेमको मिठो अनुभव सम्झन्छिन्, “हाम्रो बीचमा प्रेम सम्बन्ध बढ्यो । प्रेमको अवधि करिब ९ वर्षको रह्यो ।”
टि.आर.सँग उनको प्रेम भएको सङ्केत थाहा पाएपछि कपाली परिवार उनीहरुबीच विवाह गर्न सहमत हुने छाँटकाँट देखिएन । दलितभित्र पनि जात नमिल्ने कुराले उनीहरुको प्रेमलाई विवाहमा परिणत गर्न नदिने आशङ्का बढ्यो । त्यसैले टि.आर.का साथीहरुले सल्लाह गरे । उनीहरुले केही दिनअघि नै टि.आर.लाई धरान पठाएर विवाहको तारतम्य मिलाएका रहेछन् । त्यसको केही दिनपछि नै सङ्गठनको कामको निहुँमा भनेर उनलाईल पनि हवाईजहाजमा विराटनगरमा पठाइयो । विराटनगर एयरपोर्टमा उनलाई लिन धरानका दलित नेता उमालाल विश्वकर्मा आएका थिए र उनले नै मिठाईलाई धरान लगे अनि त्यही टिआर र मिठाईको विवाह सम्पन्न भयो ।”
अझै पनि नेपाली समाजमा अन्तरजातीय विवाह सहज छैन, त्यसबेलाको के कुरा । मिठाइदेवीको विवाहपछि पनि झमेला सुरु भयो । जात र उँचनीचको पुरानो द्वन्द्व देखियो ।  माइती पक्षका मान्छेहरुले ‘कामीकोमा गई’ भनेर उनलाई बहिष्कार गरे । उनका बुबाले त झन् अन्तरजातीय विवाहलाई स्वीकार्दै स्वीकारेनन् । उनकी आमाले भने लुकेर लुकाएर भए पनि भेटघाट गर्ने, खानेकुरा दिने गर्थिन् । पछि उनका काका (नाम) ले ‘छोरीलाई अलग गर्नुहुन्न’ भनेर घरमा बोलाएर विवाहलाई मान्यता दिए । त्यसपछि उनको जीवन अलिक सहज भयो र माइतीघरको ढोका सदाका लागि खुला भयो । मिठाइदेवी कपाली र टि.आर. विश्वकर्माबीचको विवाह नेपालमा भिन्नाभिन्नै थरका दलितबीच भएको उल्लेखनीय विवाह थियो । त्यसको पृष्ठभूमिमा दुवै अभियन्ताको अठोट र साथीभाइको सहयोग थियो । त्यसैको फलस्वरुप अन्तरदलित विवाह सफलताको विन्दुमा पुग्यो ।

सुकुल किन्ने पैसाको अभाव

मिठाइदेवी र टि.आर.बीच विवाह भएपछि उनीहरु नयाँ डेरामा सरे । न्युरोडमा एउटा कोठा भाडामा लिइयो । कम्युनिस्ट नेता भएकाले टि.आर.लाई भेट्न साथीहरु आइरहन्थे । उनीहरुलाई सकेसम्म मिठोमसिनो खुवाउनुपर्दथ्यो । खुवाएर मात्रै पुग्दैन, राति सुताउनु पनि पर्दथ्यो । तर सुत्ने बेला जहिले पनि समस्या आइलाग्थ्यो ।
एउटै मात्र कोठा । पाहुना र साथीभाइलाई धेरै । उनीहरु सुताउने कि आफूहरु मात्रै सुत्ने ? दिनदिनैजसो सुताइको सङ्कट हुन्थ्यो । यस्तो बेलामा मिठाइदेवी आफ्ना बच्चा लिएर राति माइतीघर जाने गर्थिन् ।
विवाहपछि २०२१ सालमा छोरी प्रेरणाको जन्म भयो । २०२४ सालमा छोरा कसमस जन्मिए । र, २०३१ सालमा छोरी विम्झनाको जन्म भयो । पहिलो छोरी प्रेरणा जन्मिएपछि २ वर्षमा अन्तरालमा अर्की छोरीको जन्म भएको लेखक सरोज दिलुको जिकिर छ । दलित आन्दोलनमा दुवै अभिभावकको व्यस्तता र गरिबीका कारण बचाउन नसकेको उनको भनाइ छ । यसमा मिठाइदेवीको भनाइ भिन्न छ ।
मिठाइदेवी भन्छिन्, “आफ्ना जति पनि सन्तान जन्मिए, ती सबै जस्ताका तस्तै हुर्किए । आर्थिक अवस्थाको हिसाबले परिवार चलाउन त्यति सजिलो थिएन । येनकेन कसमसलाई बुढानीलकण्ठ स्कुलमा पढाइयो । छोरीहरुलाई सरकारी स्कुलमा पढाइयो । संजीवनी पत्रिकाको विज्ञापन र टि.आर.को शिक्षण पेसाबाट आएको आम्दानीले यो सबै काम गरियो ।”
एउटा प्रसङ्ग सम्झना गर्दै उनी थप्छिन्, “टि.आर.का बुबाको धरानमा निधन भयो । टि.आर. काजक्रिया सकेर सेतो लुगा लगाएर कपाल खौरेर आए । त्यो दृश्य देखेर जेठी छोरी प्रेरणा बिरामी नै भइन्, बुबालाई चिनिनन् पनि ।”
छोरी बिरामी भएकै बेलाको कुरा हो, चीन सरकारको निमन्त्रणामा टि.आर. कोदारी राजमार्गको उद्घाटन समारोहमा जानुपर्ने भयो । त्यहाँ जाडो हुने भएकोले उनले पातलो दरी र गतिलो ब्लाँकेट लिएर गए । उनले ती सबै सामान उतै छाडेर आएछन् । त्यतिबेला उनीहरुसँग ३ रुपियाँको सुकुल किन्ने पैसा पनि थिएन । त्यसैले उनीहरु मातृभूमि पत्रिका र समय पत्रिकाका पुराना खोष्टाहरु ओछ्याएर काखको नानीसहित रात बिताउनुप¥यो । यसले गर्दा छोरीलाई निमोनिया भयो ।
बिरामी छोरीको उपचार गर्ने पैसा हुने कुरै भएन । निःशुल्क उपचार गर्ने ठाउँ खोज्ने क्रममा मारबाडी सेवा समितिबाट उपचार गरियो । कम्युनिस्ट नेता हिरण्यलाल श्रेष्ठले ल्याक्टोजिन खाने व्यवस्था मिलाई दिए । विवाहको सुरुका वर्षमा मिठाइदेवीले यस्तै कष्टकर दिन बिताउनुपरेको थियो ।
त्यसबेला जीविकाका लागि टि.आर. स्कुलमा पढाउने गर्थे । सोही आम्दानीबाट परिवार चलाउनुपर्ने अवस्था थियो । मिठाइदेवी पनि अङ्गुरबाबा जोशीको संस्थामा मासिक २०० पाउनेगरी स्वयमसेवीको जागिर खान्थिन् । यसरी नै दुवैको सामान्य कमाइबाट उनीहरुको जीवन चलिरहेको थियो ।


देश र समाजसँगै समय फेरिएको छ र उनीहरुको समय पनि बदलिएको छ । टि.आर. विश्वकर्माको देहान्त भइसकेको छ भने मिठाइदेवी आफ्ना छोराछोरीका साथ जीवन यापन गर्दै छिन् । आफ्ना तीनै छोराछोरी हुर्काउन सफल भएकोमा मिठाइदेवीमा गर्वको भाव छ । अहिले छोरी प्रेरणा पाल्पाका बस्याल थरका बाहुनसँग बिहे गरेर काठमाडौँमै बस्दै आएकी छन् । उनी विद्यालयमा पढाउँछिन् । छोरा कसमस विश्वकर्मा काठमाडौँकै बुढानीलण्ठमा बस्छन् । उनी प्रतिष्ठित सञ्चारकर्मी हुन् । छोरी विम्झना भने अमेरिकामा स्वास्थ्यकर्मीका रुपमा कार्यरत छिन् । अहिले मिठाइदेवी छोराछोरीकहाँ पालैपालो बस्छिन् । ८१ वर्षकी हुँदा पनि उनी विशेष कार्यक्रममा सहभागी हुन्छिन् । त्यति विरामी नभए पनि वृद्धावस्थाकै कारण धेरैजसो घरमै बस्नुपर्ने बाध्यता छ । सबैजसो संस्था छाडेर उनी हर्ट क्लबकी सदस्य बनेर जीवनलाई सक्रिय बनाइराखेकी छिन् ।

आन्दोलनको अग्रभागमा

जीवन यापनमा भोगिएका कष्ट आफ्नो ठाउँमा छ । ती कष्टलाई सबै जनताको पीडाको रुपमा बुझेर समाधानका लागि क्रियाशील हुनु आफ्नै ठाउँमा छ । मिठाइदेवीले टि.आर.सँग जीवनयापन र राजनीतिक कर्ममा सहकार्य गर्ने क्रममा यस्ता अनेक कष्ट झेलिन् । तर पनि उनी दलित आन्दोलनमा खटिरहिन्, आफ्नै सुरमा, आफ्नै क्षमतामा ।
उनको नेतृत्वमा काठमाडौँ उपत्यकाका दलित समुदायबीच आयोजना गरिएको सहभोज उल्लेखनीय छ । सबैजसो दलितलाई बोलाएर उनले दलित–दलितबीच सहभोज गरेकी थिइन् । उनको भनाइमा यस्तो सहभोज त्यसबेलासम्म देशभरिमा आयोजना भएकै थिएन । उनले आयोजना गरेको सहभोजमा बढीजसो महिला आएका थिए ।
कुनै भेला र आन्दोलन गर्नुपरेमा उनी काठमाडौँको दक्षिणी भागमा रहेको सुनार गाउँका महिलालाई बोलाउँथिन् । उनीहरु पनि खबर गर्ने बित्तिकै आउँथे र सहभागिता जनाउँथे । त्यसबेला मिठाइदेवीको अगुवाइमा सञ्चालित सङ्गठन काठमाडौँ उपत्यकाका दलित बस्तीमा केन्द्रित थियो । दलित बस्ती र घरसम्म फैलिएका ती सङ्गठन दलित महिलाहरुको सङ्गठन निर्माण र क्रियाशीलताका हिसाबले कोसेढुङ्गा थिए ।
२०१३ सालमा डा. अम्बेडकरको नेपाल भ्रमणपछि भारतका दलित नेताहरुसँग नेपालका दलित नेताहरुको सम्पर्क बढ्यो । यसै क्रममा भारतीय नेता जगजीवन रामको निमन्त्रणामा २०१६ सालमा टि.आर. विश्वकर्माको नेतृत्वमा नेपालबाट एक प्रतिनिधिमण्डल भारत भ्रमणमा गयो । त्यस भ्रमणको क्रममा नेपाली दलित नेताहरुले भारतीय दलित आन्दोलनबारे बुझ्ने र डा. अम्बेडकरप्रतिको धारणा बुझ्ने अवसर पाए ।
मिठाइदेवीले पनि एक पटक भारत भ्रमणमा जाने मौका पाइन् । उनी टि.आर.सँगै एक पारिवारिक भ्रमणको भारत गएकी थिइन् । त्यसबेला उनीहरु डा. अम्बेडकरको घरमा पनि गए । तर घरको संरक्षणको अभाव खड्किएको उनको अनुभूति छ । त्यस भ्रमणमा मिठाइदेवीले भारतका धेरै राजनीतिक अगुवालाई भेट्न पाइन् । त्यसबेला भेटेका नेतामध्ये जगजीवन राम र उनकी छोरी मीरा कुमारको नाम उनी अहिले पनि सम्झन्छिन् । मीरा कुमार भारतीय काङ्ग्रेसकी नेतृ एवं लोकसभाका प्रथम महिला स्पीकर हुन् । मिठाइदेवी विश्वकर्माले चीन, अमेरिका, श्रीलङ्का, थाइल्याण्ड र भारतको भ्रमण गरेकी छन् ।


मिठाइदेवी नेपाली दलित आन्दोलनमा करिब ६ दशक सक्रिय भइन् । उनको नाम टि.आर. विश्वकर्माकी धर्मपत्नीको रुपमा मात्रै लिइनु उचित हुँदैन । किनभने उनी आफ्नै बलबुता र हैसियतमा पनि यस आन्दोलनको अग्रभागमा बसिन् । मिठाइदेवी अहिले पनि झलझली सम्झन्छिन्, दलित आन्दोलनका उतार–चढावका दृश्य । टि.आर.को अगुवाइमा २०२४ सालमा भएको थियो दलित जनविकास परिषद्को सम्मेलन । त्यही सम्मेलन र सङ्गठनको नाममा पहिलो पटक राखिएको ‘दलित’ शब्द नै संस्थागत रुपमा स्थापित भएको थियो ।
२०२९ सालको राष्ट्रिय दलित सम्मेलनमा १४ अञ्चल ७५ जिल्लाका दलित अगुवाको सहभागिता रहेको तथ्य पनि उनी सम्झन्छिन् । सोही सम्मेलनले नेपालमा दलित समुदायका लागि आरक्षणको माग गरेको थियो । र, दलित समुदायको अगुवाइका लागि देशव्यापी सङ्गठन बनाउने निर्णय गरेको थियो । मिठाइदेवीको नेतृत्वमा रहेको महिला सङ्गठन पनि सोही सङ्गठनको सहयोगी भएर अघि बढेको थियो ।

न मन्त्री, न राजनीतिक नियुक्ति

मिठाइदेवीले बाँचेको समयक्रममा नेपाल र नेपाली समाजमा व्यापक उथलपुथल आयो । उनी अनेक हावाहुरीबीच पनि विचलित भइनन् । कुनै सरकारी जागिर, सेवा–सुविधा, नियुक्तिको लोभ गरिनन् । उनका श्रीमान् टि.आर. विश्वकर्माले आफ्नो जीवनलाई दलित समुदायको पक्षमा मात्रै खर्च गरेको देखिन्छ । यसरी मिठाइदेवी र उनका श्रीमान् टि.आर. विश्वकर्मा न मन्त्री भए, न कुनै राजनीतिक नियुक्तिमा गए । उनीहरुले राज्यका कुनै सुविधा नलिईकन दलित आन्दोलनको सेवा गरेको देखिन्छ ।
टि.आर. लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय थिए । टि.आर.का दाजु हिरालाल भने नेपाली काङ्ग्रेससँग आबद्ध थिए । ती दुई दाजुभाइबीच सधैँ राजनीतिक र वैचारिक विषयमा विवाद भइरहन्थ्यो । कहिलेकाहीँ मिठाइदेवीका ठूला बुबा सहर्षनाथ कपालीले उनीहरुको विवाद मिलाउने गर्दथे । ती तीनै जना नेतामा दलित आन्दोलनबारे भने साझा बुझाइ थियो ।
समयक्रममा सहर्षनाथ कपाली सांसद् भए । हिरालाल विश्वकर्मा त मन्त्री नै भए । र टि.आर. विश्वकर्मा पनि कम्युनिस्ट विचार थाति राखेर भएपनि राष्टिय सभाको साँसद भए । तरपनि उनी दलित आन्दोलनको पक्षमा उभिरहे, पछिल्लो ३० वर्षसम्म । उनले २०१७ सालदेखि २०४७ सालसम्म दलित आन्दोलनलाई जोगाए । उनले दलित आन्दोलनलाई पञ्चायतमा पनि दलित हक अधिकार पक्षमा वकालत गर्दै दह्रोसँग उभिएर बसे । त्यसमा मिठाइदेवीको सहयोग र सहकार्य उल्लेखनीय थियो  । हुन टि.आर. विश्वकर्मा र हिरालाल विश्वकर्मा दुई भाइ मिलेर दलित आन्दोलनलाई दरबारमा बुझाएको आरोप लाग्ने गरेको छ । टि.आर.लाई पनि पञ्चायतमा फँसेको र दलितको पक्षमा खुलेर काम गर्न नसकेको भन्दै प्रश्न उठाउने गरिएको छ । त्यस्ता आरोपको दृढतापूर्वक इन्कार गर्दै मिठाइदेवीले भनिन् “टि.आर. पूरै पञ्चायतभरि पुष्पलालको कम्युनिस्ट पार्टीमा रहनुभयो । बरु पदका लागि कहिल्यै सिद्धान्तमा सम्झौता गर्नुभएन ।”
टि.आर.मा न त्यस्तो अवसरवाद देखिन्छ, न त आन्दोलनलाई धोखा दिएको इतिहास नै । उनको दृढ विश्वास थियो, देशव्यापी सङ्गठनमार्फत दलितहरुको साझा सङ्गठन निर्माणबाट मात्रै दलित आन्दोलन सफल हुनसक्छ । दलित नेता भएर लिन सक्ने राजनीतिक अवसरलाई तिलाञ्जली दिँदै उनी दलित आन्दोलनको पक्षमा उभिरहे ।
खाक बन्न सकिनँ म, डढेर पनि, हुरहर्ती जलेर पनि
साग बन्न सकिनँ म, हरियो भएर पनि, पातैपात भएर पनि,
छाक बन्न सकिन म, जवान भएर पनि,
मानिसहरुका घर र ढोकाहरुमा, मुटुका ढुकढुकीहरुमा
हिउँ बन्न सकिन, म पग्लिएर पनि, परिवेश र फाँटहरुमा
मानिस बन्न सकिन म प्रेम गरेर पनि,
यसै यसै थेंग्रिरहेछु, वसन्तका दिन र रातहरुमा
हाँस्न सकिन म प्रेरणा र कसमसहरुमा ।

यस कवितामा टि.आर.ले आफ्नो जीवनको निष्कर्ष प्रकट गरेका छन् । राजनीतिक सङ्घर्ष तथा दलित आन्दोलनमा लागेका हरेक योद्धाको जीवन विडम्बनापूर्ण हुन सक्ने सङ्केत गरेका छन् ।
राजनीतिक जीवनमा पद र प्रतिष्ठा कमाउन सत्ता–शक्तिसँग पहुँच र प्रभाव जरुरी हुन्छ । त्यही कारण पनि हुन सक्छ, मिठाइदेवीको जीवन पदबाट टाढै रहेको देखिन्छ एउटा निश्वार्थ निष्ठाकासाथमा । उनीहरुले पञ्चायतभरि मात्र होइन, त्यसपछि पनि राजनीतिक क्रियाशीलता जारी राखे, कुनै पदको आस नगरीकनै । विशेष गरी २०४६ सालमा पञ्चायतको अन्त्यपछि परिवर्तनको बाढीमा आएका अवसरबाट पनि मिठाइदेवीलाई वञ्चित गरियो ।  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालका समकालीन नेता थिए टि.आर. विश्वकर्मा । त्यस्तै, लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनकी नेतृ साहना प्रधानकी समकालीन अगुवा थिइन् मिठाइदेवी । पद र प्रभावमा नभएकाले होला, उनीहरु दुवैको योगदानलाई वास्ता गरिएन । दलित आन्दोलन र कम्युनिस्ट आन्दोलन उनीहरुको योगदानको कदर र चर्चा गर्नमा चुकेको देखिन्छ । मिठाइदेवीजस्तो जिउँदो इतिहास समयमा पढेकी दलित महिलालाई राजनीतिक दल र दलित आन्दोलनले राज्यको निर्णायक स्थानमा पु¥याउन नसक्नु पनि विडम्बना नै हो ।

आफ्नै खुट्टामा टेकेको आन्दोलन
वर्तमान संविधानको विषयमा मिठाइदेवी धेरै सन्तुष्ट पनि देखिन्न्, तर खुशी पनि छैनन् । नयाँ संविधानको अध्ययन गरेपछि संविधानमा दलितले उठाएको क्षतिपूर्तिसहितको आरक्षणको मुद्दा छुटेकोमा उनी बेखुसी छिन् । करिब ७ दशकको दलित आन्दोलनमा यसका नेताहरुका त्याग, तपस्या र योगदानअनुसार संवैधानिक परिवर्तनले सम्बोधन गर्न नसकेकोमा भने उनी चिन्तित छन् ।
यही चिन्ताका साथ चिन्तकको मुद्रामा उनी भन्छिन्, “आन्दोलनको विकल्प छैन । अबको दलित आन्दोलनले दलित समुदायमा सामाजिक न्यायसहितको समृद्धिको सपना देखाउन सक्नुपर्दछ । अन्यथा ‘हात्ती आयो हात्ती ..’ भन्ने उखान चरितार्थ हुनेछ । यसका लागि दलितहरुले आफ्नै एकतामा, आफनै योजनामा र आफ्नै ताकतमा आन्दोलनमा जुट्नुपर्दछ । अबको दलित आन्दोलन कुनै पार्टी सिवशेषको योजनामा भन्दा पनि आफ्नै योजनामा उठ्न सके मात्र परिणाम निस्कन सक्छ, अन्यथा यति लामो सङ्घर्षको खासै अर्थ हुँदैन ।”
लामो समयदेखि दलित आन्दोलनमार्फत सामाजिक रुपान्तरणमा लागेकी मिठाइदेवी विश्वकर्मा थप दलित आन्दोलनको पक्षमा प्रस्ट छिन् । उनी दलित आन्दोलन र राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि निरन्तर सङ्घर्षमा जुट्नुपर्दछ भन्ने मान्यताप्रति दृढ छिन् । उनको धारणा छ, “अरुको बैशाखी टेकेर उठाएको दलित आन्दोलनभन्दा दलितहरुले आफ्नै खुट्टामा टेकेर उठाएको एकताबद्ध आन्दोलन आजको आवश्यकता हो ।”

एक प्रेरक व्यक्तित्व
नेपाली दलित राजनीतिमा एक आदर्श व्यक्तित्व हो मिठाइदेवी । उनी दलित आन्दोलनकी साझा र निष्कलङ्क व्यक्ति हुन् । उनको जीवनमा पदीय स्वार्थ र लोभ देखिँदैन । २०१२ सालमै दलित महिला सङ्गठन खोलेर आन्दोलनको अगुवाइ गरेकी मिठाइदेवीको भूमिका नेपालको सङ्गठित लोकतान्त्रिक आन्दोलनमा अविस्मरणीय छ । उनले भारतबाट अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकी छन् । त्यस्तै, नेपालमा दलित मुक्ति समाजको राष्ट्रिय सम्मेलनबाट सम्मानित भएकी छन् । र उनले विभिन्न क्लब र सङ्घसंस्थाबाट सम्मान प्राप्त गरेकी छन् ।

(दलित महिला केन्द्र नेपालद्धारा प्रकाशित तथा राजेन्द्र महर्जनबाट सम्पादित ‘दलित नेतृत्व : संघर्ष र सफलता’ नामक पुस्तकबाट)


प्रकाशित | १४ मंसिर २०७५, शुक्रबार ००:३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')