थानीमाई मन्दिर : जातीय भेदभाव मुक्त

सुवास पण्डित

तनहुँ – एकैचोटि दर्जनौं संख्यामा पञ्चेवाजा घन्काउँदै सयौं मानिसहरु नाचगान गरेको दृष्य अन्यत्र सायदै देखिएला । तनहुँको थानीमाई मन्दिरमा भने यस्तो दृष्य कुनै नौलो होइन ।

कात्तिक महिनाबाट यस मन्दिरमा पञ्चेवाजासहित फूलको डोली लैजाने क्रम सुरू हुन्छ । कात्तिकको पहिलो, दोस्रो र तेस्रो हप्ता अत्याधिक भीड हुने गर्दछ । शुक्रअन्न परेको बेलामा भने त्यति डोली आउँदैनन् ।

थानीमाई मन्दिरमा साउन महिनाबाहेक हरेक महिनाको सोमवार भक्तजनको अत्यधिक चहलपहल हुन्छ । सोमवार र मंगलवार औंसी अथवा एकादशी परेमा भने पूजा गरिदैन ।

थानीमाइको मन्दिरमा दर्शनका लागि तनहुँ, लमजुङ गोरखा, धादिङ चितवन, कास्की लगायतका जिल्लाबाट धेरै भक्तजनहरू आउने गर्छन् । थानीमाई मन्दिर संरक्षण तथा व्यवस्थापन समितीका अध्यक्ष जीवन थापामगरले भने, ‘अनेकौ कष्टका बाबजुद पनि पैदल वा सवारी साधानमा समेत टाढा-टाढाबाट भक्तजनहरू फूलको डोली लिएर आउने गर्दछन् ।’

पछिल्ला वर्षहरूमा थानीमाई जाने नयाँ सडकसमेत खुलेका छन् । सडक खुलेपछि भक्तजनहरूको संख्यामा थप वृद्धि भएको अध्यक्ष जीवन थापामगरले बताए ।

भक्तजनहरू फूलको डोली र पञ्चैवाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई ३ फन्का घुमाएर बाँध्ने गरिन्छ ।

त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जायमान हुन्छ ।

सोमबार राति नै मन्दिरमा बत्ति बाल्ने भक्तजनहरूको भिड लागिसकेको हुन्छ । भत्तजनहरु भजन गाउँदै नाचगान गरी थानीमाईको काखमा रात बिताउने गर्दछन् । विभिन्न आस्था र विश्वासको सेरोफेरोमा संरक्षित छ, थानीमाइ ।

कार्तिकपछि माघ महिनामा भक्तजनहरूको भीड लाग्ने थानीमाई मन्दिर संरक्षण समितिका थापामगरले वताए । २०७३ सालको एकै दिनमा ११५ डोली पञ्चैबाजासहित दर्शन गर्नका लागि आएको रेकर्ड छ । एक बर्षमा झण्डै ७ सयभन्दा बढि फूलको डोली थानीमाई मन्दिरमा ल्याउने गरिन्छ ।

मन्दिर दर्शनका लागि बाषिर्क ६० हजार भक्तजनहरू आउने अनुमान छ । हरेक फूलको डोलीबाट मन्दिर प्रवेशका लागि रु ५ सय रुपैयाँ लिने गरिन्छ । इच्छा हुनेले बढि पनि दिन्छन् । मन्दिर परिसरभन्दा झण्डै ७ सयमिटर वर नै सवारी साधनका लागि पार्किङको ब्यवस्था गरिएको छ । मन्दिर संरक्षण समितीले मन्दिरभित्रको भेटी, डोलीबाट लिइने प्रवेश शुल्क र पार्किङ शुल्कबाट गरी वाषिर्क करिव ५ लाख रुपैया आम्दानी गर्ने गरेको छ ।

थानीमाई मन्दिरमा स्थानीय टारमा फलेका बदाम, कालो भुटेको भटमास, सुन्तला र सख्खरखण्डको ब्यापार बढि हुने गरेको छ ।

पर्यटकीय केन्द्र, जातीय विविधता

थानीमाई मन्दिर भानु नगरपालिका वडा नं. ७ स्थित डाँडाथुम्कामा रहेको छ । सामुद्रीक सतहबाट करिव १२ सय मिटरको उचाइमा छ यो मन्दिर ।

हिमाल छोएर आएको चिसो बतास यहाँ निरन्तर चलिरहन्छ । मन्दिरमा आफुलाई असीम आनन्द प्राप्त भएको पहिलोपटक थानीमाइ पुगेका जामुनेका दर्शनार्थी इन्द्रबहादुर रानाभाटले वताए ।

‘यहाँको प्राकृतिक दृष्यावलीले मनै लोभ्यायो,’ उनले भने, ‘भोलीका दिनमा फेरि आउन सक्छु-सक्दिन । तर जीवनमा कहिल्यै यो भूमिलाई बिर्सने छैन ।’

थानीमाइ मन्दिरबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङ्टार, राइनसकोट, आँपपिपल, धमिलिकुवा, पश्चिमतर्फ माछापुच्छ्रे हिमाल, अन्नपूर्ण हिमशृंखला, उत्तरमा गणेश हिमाल लगायतका निकै सुन्दर हिमाली दृश्यहरु देख्न सकिन्छ । उच्च भाग भएको हुँदा यहाँबाट फाउदी खोला, आदिकवि भानुभक्तको जन्म स्थान भएर बग्ने नागवेली बगेको चुँदी खोला, तनहुँको अग्लो चुचुरो छिम्केश्वरी, दोस्रो अग्लो चचुरो एवं पर्यटकीय क्षेत्र मिर्लुङकोट, तनहुँसुर दरवार र लम्जुङको राईनसकोट लगायत गगनचुम्बी पहाडहरू मज्जाले हेर्न सकिन्छ ।

थानीमाई मन्दिर वरपर ब्राम्हण, क्षत्री, मगर, नेवार, दमाई, कामी, सार्की मुस्लीम धर्मालम्बीहरुको बाहुल्यता पाइन्छ । मुस्लिमहरुको मस्जिद पनि नजिकै नजिकै रहेको छ । जातीय र धार्मिक सद्भाव तथा जातिय पहिचान र भेषभूषा साँस्कृतिक पहिचान यहाँका गहना हुन् ।

धार्मिक पर्यटनका प्चुर सम्भावना बोकेको भए पनि प्रचारप्रसारको अभावमा मन्दिर पछाडि परेको थानीमाई मन्दिर व्यवस्थापन तथा संरक्षण समितीका सचिव हर्क थापामगरले वताए ।

जातीय भेदभाव मुक्त र बलि प्रतिवन्ध

यो मन्दिर जातीय भेदबाटबाट मुक्त छ । मन्दिरमा ३ जना मगर जातका पूजारीहरू छन् । मन्दिर प्रवेशमा कुनै पनि जातजाति भएकै कारण रोक लगाइदैन ।

‘हजारौ भक्तजनको भिड्लाग्ने थानीमाई मन्दीरमा भने कुनै जात जातीको भेदभाब कहिल्यै पनि गरिएको छैन र गरिदैन पनि’ – मन्दिरका पूजारी सर्वजीत पाटामगरले भने । मन्दिर भएको स्थान बसन्तपुर डाँडामा अधिकांंश मगर जाति छन् । दलित जातजातिहरूको बसोवास छ ।

मन्दिरमा बलि चढाउन पाइैदन । बलि नचढाइने भएकाले गर्दा पनि अन्य मन्दीरको तुलनामा यो सफा देखिन्छ ।

ऐतिहासिक किम्वदन्ती

जनश्रुतीअनुसार झण्डै ४ सय बर्षअघि लेक (भोट) बाट एक भोटिनी र उनकी छोरी जडिबुटीहरू बेच्दै बसन्तपुर गाउँमा आए । साँझपख गाउँमा बास माग्दा गाँउलेहरूले दिएनन् । केही टुनामुना लाउन सक्ने डरले गाउँलेहरुले बास दन इन्कार गरेका थिए ।

कहिँ पनि बाँस नपाएपछि उनीहरु डाँडामा रहेको एउटा कटुस -स्थानीय भाषामा सिमतारा) को बोटमा आश्रय लिन पुगे । चैत्र महिनाकेा समय थियो, त्यतिबेला । त्यही कटुसको बोटमुनि बास बस्ने क्रममा राति अन्धाधुन्द असिना पानीसहित ठूलो हावाहुरी चल्यो । आमाछोरीको त्यहीँ मृत्यु भयो । त्यहीे दिनदेखी त्यस गाउँमा भाँडभैलो मच्चिन थाल्यो । भूतले तर्साउने, विभिन्न दैविप्रकोप प्राकृतिक प्रकोपले सताउन थाल्यो । बाघले सताउने र रातभरि सुत्न नदिने अवस्था आयो ।

स्थानीय जमलसिंह पाटामगरलाई राती सपनामा तिनै भोटिनी थानीमाईको रुप लिएर त्यही स्थानमा बसेको र उनीहरुको पूजाआजा गरेर फूल चढाए दुःख दिन छाड्ने सन्देश आएपछि पूजाआर्चन गर्न थालियो । देवीले भने बमोजिम नै सोमवार राती सत्यनारायणको पूजा लगाई मंगलबार चोखोनितो सहित फूलको डोली चढाउने गरिएको स्थानीय बताउँछन् । अहिले पनि मन्दिरभित्र ती आमाछोरीको मुर्तिमा पूजा गरिन्छ । हरेक बर्ष कार्तिकको पहिलो मंगलबार स्थानियहरुको घर घरबाट अक्षता र फूलपाती ल्याएर चढाएपछि मात्र अन्यहरुका लागि मन्दिरमा फूलको डोली चढाउन दिने चलन छ ।

२०७२ गत बैशाख १२ गते गएको बिनाशकारी भूकम्पले मन्दिरमा क्षति गर्‍यो । विभिन्न निकायको सहयोगमा ४० लाख रकम खर्चिएर मन्दीरको पुर्ननिर्माण गरिएको संरक्षण समितीका अध्यक्ष थापा मगरले जानकारी दिए ।

अझैं पनि निर्माणको काम बाँकी नै छ । मन्दिरको चारैतर्फ भिरालो ठाउँबाट सामान्य ढंगले पर्खाल उठाई त्यसमा सिमेन्ट लगाइएको छ । त्यसलाई भत्काएर बनाउने योजना रहे पनि रकमको अभाव भएको थापामगरले बताए ।

मन्दिरको आम्दानीबाट खानेपानी र शौचालयको व्यवस्था गरिएको छ । करीव ३० लाखको लागतमा लिफ्टको माध्यमबाट शुद्ध पिउने वितरण गरिएको छ । सोमवार राती बत्ति बाल्न आउने भक्तजनलाई बस्ने व्यवस्थाका लागि काठका पौवाहरु पनि निर्माण गरिएका छन् । थकाई मेटाउनको लागि र भक्तजनको सामान सुरक्षित राख्नको लागी वरिपरी ६/७ वटा पाटी पौवाहरुको निर्माण गरिएको छ ।

मन्दिरको आन्तरिक आम्दानी बाषिर्क ५ लाख हुने गरेको छ । यसैबाट पूजारी र कर्मचारीहरुले तलव खादै आएका छन् । भानु नगरपालिकाका मेयर उदयराज गौंलीले थानीमाइ मन्दीर व्यवस्थापन समिति गठन गर्ने योजना नगरपालिकाको रहेको बताए । ‘केही सिमित व्यक्तिले पुख्यौली सम्पती जस्तो गर्दा यसको विकास हुन सकेन’ मेयर गौंलीले भने, ‘आर्थिक हिसावकितावपनि पारदर्शी भएन, शंख, घण्ट पनि हराए भन्ने कुरा आयो ।’

क्षेत्र विकास समितिको स्वरुपमा मन्दीर व्यवस्थापन समिति गठन गर्ने र नगरपालिका मातहत राखेर काम गर्ने सोच नगरपालिकाको भएको मेयर गौंलीको भनाई छ । थानीमाई मन्दिरको वृहत गूरूयोजना बनाउने काम रकम अभावमा अलपत्र छ । भ्यू टावर वनाउने काम पनि अघि बढ्न सकेको छैन् ।

कहाँबाट जाने ?

लमजुङको सदरमुकाम बेसिशहर जाने राजमार्गको बाइजंघारसम्म १८ किलोमिटर पिच सडक र वाइजंघारबाट ८ किलोमिटर उत्तर-पश्चिमतर्फको कच्ची सडक पार गरेपछि थानीमाई मन्दिर पुग्न सकिन्छ । यो बाटो अहिलेको मुल चलनचल्तीको सडक हो । यसअघि हिडेर नै फूलको डोलीसहित थानीमाई दर्शनका लागि जानुपर्दथ्यो ।

यस्तै डुम्रे बेसिशहर सडकखण्डको अर्चलधारासम्म पिच सडक र अर्चलधाराबाट लौडारी भज्याङ हुँदै करिव १६ किलोमिटरसम्मको कच्ची सडकबाट पनि थानीमाई मन्दिर पुग्न सकिन्छ । अझै छोटो सडकखण्ड डुम्रे भन्सार हुँदै चुँदी टुहुरेपसल र चन्द्रावतीबाट अलग अलग कच्ची सडकबाट ६ किलोमिटर पार गरेपछि थानीमाई दर्शनका लागि जान सकिन्छ ।

स्थानीय बासिन्दा खुमप्रसाद श्रेष्ठले थानीमाई मन्दिर आउने बाटो पिच गरेको खण्डमा यहाँ आउने पर्यटक र भक्तजनको संख्या उल्लेख्य मात्रामा बृद्धि हुने बताए । तनहुँ क्षेत्र नः १ का सांसद किसानकुमार श्रेष्ठले थानीमाइ जाने सडक पिच गर्ने काम चाँडै गरिने आश्वासन दिएका छन् । वाइसजंघारबाट थानीमाई मन्दीर र टुहुरेपसलबाट थानीमाइ जाने दुवै सडक कालोपत्रे गरिने सांसद श्रेष्ठले बताए ।

भानु नगरपालिकाले चालु आर्थिक बर्षमा सडकको स्तरसुधारका लागि एक करोड रकम विनियोजन गरेको नगर प्रमुख उदयराज गौंलीले जानकारी दिए ।

(सुवास पण्डितद्धरा लिखित यो सामाग्री अनलाइन खबरबाट जस्ताको तस्तै साभार गरिएको हो ।)


प्रकाशित | २० कार्तिक २०७५, मंगलवार २०:०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')