पानी छोएको निहुँमा वडाअध्यक्षबाटै कुटिएका अजय रामको प्रहरीले जाहेरी दर्ता गरेन

सर्लाही– सलोही विष्णु गाउँपालिका वडा २ का वडाअध्यक्षबाट पानीको बाल्टी र जग छोएको भन्दै कुटपिट गरी जातीय विभेद भोगेका पीडित अजय रामको उजुरी अझै दर्ता हुन सकेको छैन ।
घटना भएको करिब तीन महिना पुग्न लाग्दा समेत सर्लाही जिल्ला प्रहरी कार्यालयबाट पीडित अजय रामलाई वडाअध्यक्षसँग मिल्नु पर्ने दबाब दिदै उजुरी दर्ता नगरेको हो ।
साउन २७ गते ३४ वर्षीय अजय रामले आफ्नो ४ वर्षीय छोराको दलित समुदायलाई उपलब्ध गराउँदै आएको पोषण भत्ता बुझ्न जादाँ सोही समयमा वडा अध्यक्ष र कार्यालय सहयोगी नगेन्द्र चौधरीले टेबुलमा रहेको पानीको जग छोएको निहुँमा कुटपिट गरी जातीय विभेद गरेका थिए ।
वडा २ का वडाअध्यक्ष संजयकुमार शाहबाट सामान्य भनाभन भएको र कार्यालय सहयोगी नगेन्द्र चौधरीले कुटपिट गरेको घटना आफुलाई जानकारी भएको प्रमुख जिल्ला अधिकारी द्रोण पोख्ररेलले बताए । ‘ घटनामा केही राजनीतिक घुसपेठ भएको कारण अनुसन्धानमा राखिएको छ पीडितलाई न्याय दिलाउने ढंगबाट हामी अघि बढ्छौं । ’
पीडकलाई जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ बमोजिम हदैसम्मको कारबाहीका लागि जिल्ला प्रहरी कर्यालय सर्लाहीमा भदौ १ गते जाहेरी दर्ता गर्न पीडित अजय रामको टोली पुगेको थियो । तर जिल्ला प्रहरी कर्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले उजुरी दर्ता नगरी गाउँमा मिलापत्र गर्नुपर्ने भन्दै पीडितहरुलाई फर्काइदिएका थिए । आफुहरुलाईउ पीडितहरुको जाहेरी दर्ता नगरे पनि अनुसन्धान र दुई पक्षबीच सहमतिका लागि छलफल चलाएको एसपी काेषराज पोख्ररेलले बताए । हामीले उजुरी दर्ता गरेका छैनौं, तर अनुसन्धान र छलफल गरेका छौं उनले भने, ‘केही कमजोरी भएको छ ।’

पीडित अजय राम भन्छन्
म सर्लाही विष्णु गाउँपालिका वडा २ को वडा कार्यालय पकडीमा पोषण भत्ता लिन गएको थिएँ । वडा कार्यालय वडा अध्यक्षको घरमा छ । त्यहाँ सबै अभिभावकहरु बालबालिकाको लागि आउने पोषण भत्ता लिन आएका थिए । म पनि लाइनमा थिए । वडा अध्यक्ष संजयकुमार साह पनि त्यही हुनुहुन्थ्यो । मलाई पानी तिर्खा लाग्यो । पानी खान म अगाडीको बाल्टीमा रहेको जग निकालेर पानी के मात्रै निकालेको थिएँ । वडा अध्यक्षले डोम चमार भएर बाल्टी छोइस् भन्दै गाली गर्नुभयो । वडासँगै बसेका कार्यालय सहयोगी नगेन्द्र चौधरीले पानी छोएको भन्दै कुटपिट गरे । वडा अध्यक्ष संजयकुमार साहले तिमी चमार जाति भएर किन पानी खाइस् ,पानीलाई किन अपवित्र गरिस् । आफुबाट पानी छोएको भन्दै गाली गलौज र हातपात गरी आफुलाई बाहिर निकालेको घटना सबैलाई थाहा छ । म आफैले आफु माथि भएको अन्याय र जातीय विभेदको घटना दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुगेँ । तर मेरो उजुरी दर्ता भएन । चार पटक गए उजुरी दर्ता गर्न । प्रहरीहरुले वडाअध्यक्षसँग मिल्नुपर्ने दबाब दिन्छन् । उजुरी दर्ता नगरी घटनाको अनुसन्धान गर्ने र घटनालाई मिलापत्र गराउने प्रहरीको भूमिकामाथि नै शंका लागेको छ ।

आन्दोलनको तयारी
अजय राममाथि भएको कुटपिट र जातीय छुवाछूत घटना भएको दुई महिनाभन्दा बेसी भइसकेको छ । तर पटक पटक जिल्ला प्रहरी कार्यालयमा घटनाको उजुरी दर्ता गर्न जादाँ प्रहरीबाट दर्ता गर्न इन्कार गर्ने प्रवृत्तिको विस्तारै दलित अधिकारकर्मीहरुले विरोध गर्न थालेका छन् । अजयमाथि भएको जातीय विभेदको दलित अधिकारकर्मीहरुले संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलनमा उत्रिने भन्दै सबैलाई ज्ञापनपत्र समेत बझाएका छन् । दलित अधिकारकर्मी राजेश पासवानको अनुसार कार्तिक ११ गतेबाट अजय रामको न्यायका लागि आन्दोलनमा उत्रिने बताए । वडाअध्यक्षबाटै जातीय विभेद र कुटपिट भएको छ , त्यसको विरोधमा हामीहरु आन्दोलन गर्दछौ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट घटनाको उजुरी दर्ता नगरी उल्टो वडाअध्यक्षसँग मिलापत्र गराउने परिपञ्चको विरुद्धमा दलित समुदायले आन्दोलन गर्ने पासवानको दावी छ ।


प्रकाशित | ९ कार्तिक २०७५, शुक्रबार २१:३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *