दलित होमस्टेमा विदेशीको आकर्षण

उपेन्द्र खनाल

जिल्लाको व्यास नगरपालिका–१३ आपस्वाँरास्थित दलित होमस्टेमा विदेशी पर्यटकको आकर्षण बढेको छ । दुई वर्षअघि दैनिक गुजारा चलाउन कठिन हुने दलित परिवारले राम्रो आम्दानी गर्न थालेपछि उनीहरूको दैनिकी फेरिएको छ । सो गाउँका स्थानीयहरू कतिपयले सामान्य लेखपढ गर्न सक्ने गरी मात्र शिक्षा लिए पनि अहिले विदेशी नागरिकलाई राम्रो समन्वय गर्न सक्ने भएका छन् ।

दलित समुदायको मौलिक परम्परा र स्थानीय परिकारको स्वादमा रमाउन थालेसँगै स्थानीय कला, संस्कृति प्रस्तुत गरी तनहुँका गाउँहरू होमस्टेको माध्यमबाट समृद्धिको बाटोमा लागेका छन् ।

फुर्सदिला महिलाहरू व्यस्त
आपस्वाँरा गाउँमा ०७३ सालदेखि होमस्टे सञ्चालनमा ल्याइएको हो । पर्यटन कार्यालय पोखरामा होमस्टे दर्ता गरी नेपालकै पहिलो दलित होमस्टेका रूपमा आपस्वाँरा सामुदायिक दलित होमस्टे सञ्चालन गरिएको होमस्टेका अध्यक्ष रेशम विकले बताए । पहिले फुर्सदिला महिलाहरूको अहिले व्यस्तता राम्रै बढेको छ । होमस्टे सुरु गरेपछि फुर्सदिला महिलाहरूले काम पाएका छन् ।

पाहुनाहरूले सत्कार गर्नेदेखि संस्कारसम्म सिक्ने अवसर पाएका छन् । ‘आर्थिक रूपमा दलित महिला सक्षम बन्न सकून् भन्ने उद्देश्यका साथ होमस्टे सुरुवात गरेका हौँ,’ अध्यक्ष रमेश विकले भने, ‘होमस्टे सञ्चालन गरिएपछि दलित समुदायलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ ।’

आन्तरिकभन्दा बाह्य पर्यटक बढी
आपस्वाँराका १७ दलित घरपरिवारका सदस्य मिलेर होमस्टे सुरु गरेका थिए । होमस्टेमा आन्तरिकभन्दा बाह्य पर्यटक बढी आउन थालेपछि उनीहरूको मनोरञ्जनका लागि विभिन्न सांस्कृतिक कार्यक्रम गर्न सामुदायिक भवनको निर्माणसमेत गरेका छन् । होमस्टेका सदस्य विष्णुमाया विकले आम्दानीका साथै हुनुका साथै गाउँको सरसफाइमा समेत सुधार भएको बताइन् । ‘अन्य जातजातिले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ,’ उनले भनिन् । दलित समुदायको चालचलन तथा बसोवासको स्थिति बुझ्नका लागि पर्यटकहरू होमस्टेमा आउने गरेका छन् ।

दृश्यावलोकन गर्न सकिने
होमस्टेबाट बिहान उठ्नेबित्तिकै सूर्योदय, माछापुच्छ्र्रे, अन्नपूर्णलगायतका हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । त्यस्तै, मादी र सेतीको पवित्र संगमस्थल, मानुङकोटलगायतका पहाडलाई नियाल्न सकिनेछ । धार्मिक एवम् ऐतिहासिक छाब्दीवाराही मन्दिरको अवलोकनसमेत गर्न पाइन्छ ।

यस्ता छन् खानाका परिकार
होमस्टेमा लोकल कुखुराको मासु, गाउँकै अर्गानिक सागपात, गुन्द्रक, भटमास, सिस्नो, ढिँडोलगायतका खानाको परिकार पाइन्छ । त्यस्तै, पर्यटकलाई बिहान ‘ब्रेकफास्ट’का रूपमा गाउँमै बनाएको पेनकेक, दुनोट, आलुको चिप्स, भुटेको मकै , भटमास, साग, सिप्लिगान, निगुरो, गुन्द्रकको अचार, कोदाको रोटी, गाउँमै बनाइएको अचारलगायतका परिकारको व्यवस्था गरिएको छ ।

गाउँका स्थानीयलाई खानाका परिकार बनाउने प्रशिक्षण दिएकाले सबै परिकार स्थानीयले नै तयार पार्ने गरेका छन् । होमस्टेमा आएका पाहुनाहरूले बढी मासु मन पराउने भएकाले होमस्टे सदस्यहरूले घरघरमा लोकल कुखुरा र बाख्रापालन गरेका छन् ।

१५ देशका पर्यटकको आगमन
होमस्टेमा अहिलेसम्म पन्ध्रभन्दा बढी देशका पर्यटक आइसकेका छन् । अमेरिका, इन्डोनेसिया, अस्टे«लिया, जर्मन, भारतलगायत देशका तीन सयभन्दा बढी पर्यटकहरू आइसकेका छन् । स्वदेशी पर्यटकको संख्या पनि वृद्धि भएको छ । पर्यटकको रोजाइमा पछिल्लो समय लोपोन्मुख दलितको आरन, हँसिया, माटोका गहना, खुकुरीलगायत पर्ने गरेको छ भने प्रायजसो पर्यटकले मायाको चिनोका रूपमा लैजाने गरेका छन् ।

होमस्टेमा आउने पर्यटकलाई बेलुका दलित संस्कृतिअनुसारको सांस्कृतिक प्रस्तुति देखाउने गरिएको छ । पर्यटकलाई फूलमालाका साथमा खैँजडी, मादल, बासुरीलगायतका बाजाहरू बजाएर स्वागत गर्ने गरिएको छ ।


प्रकाशित | १२ आश्विन २०७५, शुक्रबार ०९:४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *