पञ्चैबाजाको लय

अन्धविश्वास अनुसार, दमाईहरूले पञ्चैबाजा नबजाई ल्याइएकी दुलहीले पँधेरामा महिलाहरूको व्यंग्य सहनुपर्छ । मन नमिलेको खण्डमा उनीहरू छेड हान्न चुक्दैनन्– जे भए पनि आफू त त्यसै आएको होइन, झ्याइँझ्याइँ पञ्चैबाजा घन्काएर भित्र्याएकी बुहारी हुँ । कसैले हेला गर्न पाउँछन्, यहाँ ?” पञ्चैबाजाको महत्ताबारे प्रकाश दर्नालको पुस्तक हाम्रो सांस्कृतिक धरोहरहरू मा उल्लेख गरिएका पंक्ति हुन् यी ।परापूर्व कालदेखि पञ्चैबाजा नेपाली (खासगरी पहाडी) समाजसँग जोडिंदै आएको पाइन्छ । मंगलवाद्यका रूपमा दमाई जातिले विवाह, व्रतबन्ध, उत्सव, रोपाइँ, पूजा–पञ्चबलि आदिमा पञ्चैबाजा बजाउँदै आएका हुन् ।

प्रदीप रिमालको पुस्तक कर्णाली लोकसंस्कृति मा उल्लिखित जनश्रुति भन्छ, “पहिले गाउँघरमा उत्सवका बेला बाजा बजाउने मान्छे कोही थिएन । एक दिन एक जना गाउँलेको घरमा उत्सव मनाइने भयो । उत्सवमा बाजा बजाउने इच्छा गरेर उनले एउटा दमाहा बनाउन लगाए । दमाहामाथि दुई गजा (बजाउने लट्ठी) राखे र घरमा आएका पाहुनालाई भने– जसले पहिलोपटक दमाहालाई गजाले हान्ला उसैले बाजा बजाउने काम गर्ला ।

तर, उनकै छोरीका सानो छोराले दमाहा बजाउन पुगे । गाउँलेले उनैलाई बाजा बजाउने काम सुम्पे । दमाहा बजाएकाले उनी दमाई भए ।”

रिमालका अनुसार, कर्णाली अञ्चलका लोकवाद्य वादकमा दमाईहरू नै मुख्य हुन् । दमाईहरूको अर्को विशेषता हो, खूट हान्नु । ठूला पहाड र खोलानालाले भरिएको कर्णाली क्षेत्रमा वारि गाउँबाट पारि गाउँ जानुपर्‍यो भने दिनभरि लाग्न सक्छ । रिमाल लेख्छन्, “यस्तो बेला दमाईहरूले दमाहा ठोकेर वारिबाट पारिको मान्छेलाई बोलाउन बजाउने सांकेतिक धुनलाई ‘खूट हान्नु’ भनिन्छ ।”

जुम्ला सिम्पातीका मिमबहादुर परियार (२८) खूट हान्नु सन्देशवाहक कटुवाल प्रथा जस्तै भएको र यसमा दुःख र सुखका सन्देश पठाउन बेग्लाबेग्लै ताल वा आवाज निकालिने बताउँछन् । यो परम्परा बिस्तारै हट्दै गएको उनको भनाइ छ ।

नगेन्द्र शर्माको पुस्तक नेपाली जनजीवन मा उल्लेख छ “कुनै सामाजिक अपराधका आधारमा दमाहा बजाउने पेशा लिनुपरेका दमाई (दमाही) हरू र पुख्र्यौली धर्म आचरण विरुद्ध गएर अभक्ष्य पदार्थ खाएको अपराधको फलस्वरुप पानीबाट हटेर छालाको काम गर्नुपरेकामा सार्कीहरूका पूर्वज पनि बाहुन–क्षेत्रीबाहेक अरु कोही थिएनन् भन्ने मेरो निक्र्योल छ ।”

यहाँ शर्माको कथन सहारा लिएर आजका दलित पनि हिजोका बाहुन–क्षेत्री हुन् भन्ने प्रमाणित गर्न खोजेको होइन, जुन सामाजिक प्रक्रिया वा नियमले बाहुन–क्षत्री जन्मायो, त्यसैले दलित जन्माएको हो । रामशरण शर्माको पुस्तक शूद्रोंका प्राचीन इतिहास अनुसार, पूर्वीय इतिहासमा आर्य, अनार्य, दास, दस्यु, शूद्र हुनुको कथा हिन्दू धर्मशास्त्रले प्रशस्त संकेत गरेका छन् । शूद्र उत्पत्तिको जगबाटै आएको मानिने दलित समुदायको नेपाली समाजको सभ्यता र संस्कृतिको इतिहासमा विशिष्ट भूमिका देखिन्छ ।

दलित समुदायले लुगा सिलाउनेदेखि पञ्चैबाजा बजाउँदै, धातु, छाला र काठको काम गर्दै आएका छन् । आजका दलितहरूको श्रम, संस्कृति र कलाको यो पृष्ठभूमिमा माथिका जनश्रुति र भनाइले संकेत गर्छन्– दमाहा बजाउने नै दमाई भयो ।

पञ्चैबाजा र नौमती बाजा

दमाईले बजाउँदै आएको पञ्चैबाजामा पाँच बाजा पर्छन्– सहनै, ढोलकी, झ्याली, दमाहा र ट्याम्को । रामशरण दर्नालको पुस्तक नेपाली बाजा अनुसार, पञ्चैबाजा पञ्चतत्व, पञ्चधातु र पाञ्चायन देवताको प्रतीक पनि हो ।

२०७२ सालको नयाँ वर्षमा भक्तपुरस्थित बालकोट निवासमा धादिङको ‘राष्ट्रिय पञ्चैबाजा संरक्षण समाज’ का सदस्यसँग बाजा बजाउँदै प्रधानमन्त्री केपी शर्मा ओली ।

दर्नालका अनुसार, मङ्गल र शुभको प्रतीक पञ्चैबाजा वैदिककाल अगाडिदेखि नै बज्दै आएका हुन् । नेपालका मन्दिरमा नगरा र घन्टसँगै पञ्जैबाजा/नौमती बाजा बज्दै आएकाले यी बाजालाई देवबाजा पनि भनिन्छ ।क्यारोल टिङ्गीको पुस्तक हर्टबिट अफ नेपालः दी पञ्चैबाजा (१९९०) मा भने पञ्चैबाजा भारतबाट राजपूत शरणार्थीसँगै १४औं शताब्दीतिर नेपाल आएको हुनसक्ने उल्लेख छ ।

दर्नालका अनुसार, नौमती बाजाको पुख्र्यौली नाम पञ्चैबाजा हो । पञ्चैबाजाका एकसरो बाजाबाट ऊर्जावान् धुन निस्कँदैन । एकभन्दा बढी बाजा एकैचोटि बज्दा बढी शक्तिशाली सुनिने भएकोले पञ्चैबाजामा एउटा सहनाई, दमाहा, नरसिङ्गा र कर्णाल थपेर नौमती बाजा संयोजन गरिएको हो । नौ वटा बाजा रहेकाले यसलाई नौमती बाजा भन्नु सही नभएको दर्नालको भनाइ छ । नौमती बाजा समूहमा ३६ वटा बाजासम्म रहन्छ भने आवश्यक अनुसार यसलाई बढाउन सकिन्छ ।

पञ्चैबाजा वा नौमती बाजामा बज्ने प्रसिद्ध परम्परागत धुनहरू मङ्गल धुन, रामकली, चाँचरी, मालश्री, दिवस राग, बेहुली अन्माउने राग आदि हुन् भने लोकधुनमा ख्याली, झ्याउरे, चुड्का र सेलो लगायत पर्छन् । पाका–पुराना सहनाई वादकसँगै रामकली र चाँचरी धुन भने लोप हुन पुगे । दर्नालका अनुसार, ख्याली, झ्याउरे, चुड्का र सेलो धुन मात्रै नभई ताल र नाचका नाम पनि हुन् ।

नौमती बाजामा भोटेसेलोको धुन बजाउँदा वरपरका दर्शक काँप्न थाल्छन् भने उनीहरूलाई बाजाकै बोलबाट काँप्न रोकिन्छ । यसलाई देवता चढेको पनि भनिन्छ । यद्यपि, संगीतको धुनले मानिस काँप्नु पछाडिको विज्ञान वा मनोविज्ञान खोजको विषय हो ।

पञ्चबाजालाई काठमाडौं उपत्यकामा कुसले (जोगी) जातिले पनि बजाउँदै आएका छन् । उनीहरूले बजाउने पञ्चबाजामा मुहाली (सहनाई), ढोलक, नगरा र मुजुरा पर्छन् ।

सहनाई

मुखले फुकेर बजाइने सुषिरवाद्य सहनाई पञ्चैबाजामध्ये मुख्य स्वरबाजा हो । सहनाईलाई कतै सनही, सनई, सनाई र सहनै पनि भन्ने गरिन्छ । नेपाली बाजा नामक पुस्तकका लेखक रामशरण दर्नालका अनुसार, सहनाईको परिवारलाई फारसीमा शाह–नाय अर्थात् सहनाई भनिन्छ । ‘नाय’ ले फुकेर बजाउने र ‘शाह’ ले शाहीवाद्य जनाउँछ । यसलाई जापानमा ‘हिचिरिकी’ र अङ्ग्रेजीमा ‘स्वाम’ भनिन्छ । पाश्चात्य आधुनिक वाद्ययन्त्रमा यसको विकास गरी ओबो, इङ्लिस हर्न (कोर एङ्गलेस), बस्सुन आदि बनाइएको छ । त्यस्तै, नेवारीमा सहनाईलाई मुहाली र हिमाली क्षेत्रमा ग्यालिङ भनिन्छ ।

मानिसलाई हँसाउने, रुवाउने, नचाउने र गवाउने गरी सहनाईमा लोक धुनदेखि शास्त्रीय संगीतसम्म बजाउन सकिन्छ । सहनाईबाट निस्कने स्वर यति कर्णप्रिय हुन्छ, झ्याउरे, ख्याली लगायत विभिन्न धुन बज्दा श्रोता मन्त्रमुग्ध हुन्छन् ।

अलि पुरानो चलन अनुसार, विवाहमा चेलीको बिदाइमा सहनाईको विशेष भूमिका हुन्छ । माइती पक्षले छोरी अन्माएर दिनु विवाहको सबैभन्दा मार्मिक क्षण हो । आफू हुर्के–बढेको माइती घरगाउँ छाड्नुपर्दाको बेहुलीको पीडामा सहनाई पाश्र्वसंगीत स्वरुप गुञ्जन्छ । यस्तो आभास हुन्छ, बेहुलीसँगै सहनाई रुँदैछ ।

ढोलकी

पञ्चैबाजामा संयोजन गरिने ढोलकी ढोल बाजा समूहको तालवाद्य हो । वाद्यशास्त्र अनुसार, आनद्धवाद्य (छालाले मोरिएको) ढोलका परिवारमा विभिन्न आकार–प्रकार र नामका ढोल पर्छन् । आ–आफ्नो जाति वा समूहमा ढोल बाजाका बोल र बजाउने प्रक्रिया बेग्लै हुन्छन् ।

दुईमुखे ढोलकीलाई पञ्चैबाजामा एकापट्टि गजाले हानेर र अर्कोपट्टि बायाँ हातले ताल दिएर बजाइन्छ । पञ्चैबाजा बज्दा ढोलकीको तालले मानिसलाई नाच्न प्रेरित गर्छ ।

झ्याली

पञ्चैबाजामा तेस्रो सहायक ताल बाजा हो– झ्याली । काँसबाट बनेको झ्यालीलाई विभिन्न आकार–प्रकारमा विभिन्न जाति–समुदायले बजाउँदै आएका छन् । पञ्चैबाजामा यसले तालमा अझ बढी रोमाञ्चकता थप्छ ।

दमाहा

पञ्चैबाजामा चौथो आबद्ध तालबाजा हो– दमाहा । तामालाई छालाले मोरेर बनाइने यो बाजालाई एउटा गजाले बजाइन्छ भने बजाउनु एक दिनअघि पानीमा भिजाइन्छ ।

हिन्दू धर्मशास्त्र र साहित्यमा युद्धको प्रसंग आएसँगै ‘दुन्दुभि’ बजेको चर्चा आउँछ । ऋग्वेददेखि रामायण, महाभारत र पुराणहरूमा सेनालाई साहस दिने हेतुले दुन्दुभि बजाएको पाइन्छ । संस्कृत वाङ्मयमा दुन्दु, दुन्दुभ, दुन्दुभि, पटह, भेरी, आडम्बर, रणवाद्य लगायत यसका विभिन्न नाम छन् । पछि यिनै नाम ढोल, नगरा र दमाहामा परिणत भएको रामशरण दर्नालको निष्कर्ष छ ।

नगरालाई युद्ध र शान्ति दुवैका लागि दुई गजाले बजाएको पाइन्छ । देवी–देवताका मन्दिरमा नगरा बजाउने चलन अझै पनि छ । रामशरण दर्नालको पुस्तक ‘नेपाली संगीत–संस्कृति’ अनुसार, पृथ्वीनारायण शाहले आफ्ना योद्धालाई विभिन्न ठाउँ र चौरस्तामा त्यस क्षेत्रका प्रशासकलाई नगरानिसान समेत प्रदान गरेका थिए । पृथ्वीनारायणकै पालादेखि नगरा बजाउने दमाईलाई नगर्ची भनिएको पाइन्छ । २००७ सालको परिवर्तनपछि नगर्चीको पर्याय नाइके हुँदै खरिदार पद बनेको दर्नालले उल्लेख गरेका छन् ।

नगराकै सानो स्वरुप दमाहा फारसी शब्दबाट आएको हो । दमाहाले पञ्चैबाजाको ताललाई बलियो बनाउँछ ।

ट्याम्को

पञ्चैबाजाको सबभन्दा कान्छो र सानो सहायक बाजाको नाम हो– ट्याम्को । गलामा झुन्ड्याएर दुई गजाले बजाइने ट्याम्कोले तीखो स्वरमा ताललाई निरन्तरता दिन्छ । बाख्राको छालाले मोरेर बनाइने दमाहाकै आकार–प्रकारको ट्याम्कोलार्ई मध्यपश्चिमतिर कुटकुटे पनि भनिन्छ ।

कर्णाल र नरसिङ्गा

धातुले बनेको कर्णाल/कर्नाल प्राचीन सुषिरवाद्यहरूमध्ये एक हो । यसलाई पहिले खासगरी विजयोत्सवमा बजाइन्थ्यो ।

प्रदीप रिमालका अनुसार, कर्णाली नदीको नाम नै कर्णाल बाजाबाट रहेको हो । पहाड–पहरा थर्काउने कर्णालको तीव्र ध्वनि जस्तै नागबेली खेल्दै बग्ने नदीलाई कर्णाली क्षेत्रका आदिवासीले शुरुमा जुनसुकै नाम दिएको भए पनि ‘कर्णाल’ बाजाको आविष्कारपछि कर्णाली भनिएको उनको कथन छ । योगी नरहरिनाथका अनुसार पनि कर्णालकै कलनाद गर्ने भएकाले नदीको नाम कर्णाली रहेको हो ।

विवाहका बेला बाटोमा अर्को जन्तीसँग जम्काभेट हुँदा कर्णाल र नरसिङ्गाले आ–आफ्नो बोलद्वारा परिचय दिन्छन् । कहिलेकाहीं कर्णालकै बोलबाट गालीगलौज पनि हुने दर्नालले उल्लेख गरेका छन् । कर्णाल शैलीको बाजालाई अंग्रेजीमा ‘ट्रम्पेट’ भनिन्छ ।

नरसिङ्गा प्राचीनकालदेखि नै बज्दै आएको बाजा हो । संस्कृतमा यसलाई तूर्य (तुरही), भेरी (सुषिरवाद्य), रणशृङ्ग र रणसिङ्ग पनि भनिन्छ । यी नामले नरसिङ्गा युद्धबाजा भएको संकेत गर्छ । रामशरण दर्नालका अनुसार, यो बाजा धातुको आविष्कार हुनुअघि ठूलो अर्नाको सिङबाट बनेको हुनुपर्छ ।

नौमती बाजाको धुनका बीचमा अनेकौं बोल उत्पन्न गरी जोश र जाँगर भर्न नरसिङ्गा र कर्णालले ठूलो योगदान दिएका छन् ।

संरक्षणमा अन्य जाति

कुनै पनि संस्कृति कुनै जाति वा समुदाय विशेषले कुनै कालखण्डमा निर्माण गर्छ, तर समयसँगै त्यो संस्कृति राष्ट्र र सिङ्गो मानव समुदायकै सम्पत्ति बन्न पुग्छ । हिजो जातीय विभेदमा परेको जाति दमाईले बजाउने बाजाको संरक्षणमा आज बाहुन–क्षत्री, मगर, गुरुङ लगायत जाति लागेका छन् ।

धादिङमा बाहुन, क्षत्री, मगर जातिका १५ युवा मिलेर २०६२ सालमा पञ्चैबाजा बजाउने समूह खोले । जुन २०६४ मा ‘राष्ट्रिय पञ्चैबाजा संरक्षण समाज’ भनेर जिल्लामा दर्ता छ । यो समूहले विवाह, व्रतबन्ध र विभिन्न उत्सवमा पञ्चैबाजा/नौमती बाजा बजाउने गरेको छ । समूहका अध्यक्ष दीपक खतिवडा (४३) का अनुसार, यो समूहले चितवन, स्याङ्जा, अर्घाखाँची, बुटवल, बारा र सर्लाहीसम्म पुगेर बाजा बजाएको छ । खतिवडा भन्छन्, “पञ्चैबाजा लोप हुँदै गयो, दमाईले बजाउन छाडे, त्यसलाई संरक्षण गर्न हामीले बजाउन थालेका हौं ।” आफूहरूले धादिङ र नुवाकोटमा पनि बाहुन, क्षत्री र मगर युवाका लागि पञ्चैबाजाको १२ वटा जति समूह खोलिदिएको खतिवडाको भनाइ छ ।

पाँचथरको फिदिममा नौमती बाजा बजाउने गैरदलित युवाको समूह छ । राई, लिम्बू, मगर, गुरुङ, क्षत्री, बाहुन लगायत १८ सदस्यले २०७३ सालमा ‘लोकबाजा संरक्षण समूह’ गठन गरी विवाह, व्रतबन्ध, उत्सवमा नौमती बाजा बजाउने गरेका छन् । समूहका संयोजक रामप्रकाश सम्थिङ गुरुङ (४९) भन्छन्, “किशोर अवस्थामा बिहेमा जन्ती जाँदा मैले दलितहरूसँगै बाजा बजाउँथें, यसरी नै नौमती बाजाप्रति मेरो लगाव बढ्यो ।”

पोखरामा २०७० सालदेखि ‘नेपाल दृष्टिविहीन नौमती बाजा समूह’ ले विवाह, व्रतबन्ध, उत्सवमा नौमती बाजा बजाउँदै आएको छ । समूहका अध्यक्ष कुमार पुन (३३) का अनुसार, पञ्चैबाजाको तीनमहीने तालिमपछि खोलिएको यो समूहमा दलित तथा गैरदलित १८ जना सदस्य छन् ।

त्यस्तै, काठमाडौंमा २०७० सालदेखि विभिन्न जातिका महिलाहरूको समूहले नौमती बाजा बजाउँदै आएको छ । ‘आठ मार्च सशक्तीकरण मञ्च’ को महिला नौमती बाजा समूहकी अध्यक्ष जानुका पौडेलका अनुसार, समूहमा २१ महिला छन् । पौडेल भन्छिन्, “शुरुमा तीन महीनाको तालिम लियौं । अझै पनि सिकिरहेका छौं ।” उनका अनुसार समूहले निश्चित शुल्क लिएर बिहे, व्रतबन्ध, उत्सव, सरकारी कार्यक्रमहरूमा नौमती बाजा बजाउँदै आएको छ ।

यी लगायत देशका विभिन्न जिल्लामा गैरदलित युवाहरू नौमती बाजाको संरक्षणमा लागेका छन् ।

मानव समाजको इतिहासले देखाउँछ– कुनै पनि श्रम वा पेशालाई मूल्य नदिएर घृणित बनाइँदासम्म त्यसलाई तल्लो वर्गले नै गर्दै आउँछ । तर, तिनको मूल्य स्थापित भएसँगै वा पूँजीवाद आएसँगै तल्लो वर्गको श्रम, संस्कृति र पेशालाई उच्च वा चलाख वर्गले खोस्न थाल्छ । कुनै पनि संस्कृतिको संरक्षणमा सम्बन्धित जाति वा समुदायको ठूलो भूमिका हुन्छ । सम्बन्धित जातिको साथ लिएर पञ्चैबाजा÷नौमती बाजाका लोप हुन पुगेका धुनको संरक्षणमा राज्यले लगानी गर्नुपर्ने देखिन्छ ।

 

साभार : हिमाल खबरपत्रिका


प्रकाशित | ११ आश्विन २०७५, बिहीबार २३:१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')