‘साहित्यको बजार यौनलाई मानिएको छ’

संगीता पनेरु

 

आफ्नै लोग्नेसँग
सुत्केरी सिंह लडिरहेकी छे युद्ध
आफ्ना बच्चाहरूलाई बचाउन
यतिवेला ठीक मेरो देशजस्तै ।
कविताका यी हरफमा साहित्यकार हरिमाया भेटवालले देशको अवस्था बयान गरिरहँदा कविताले उनको लेखन पनि सशक्त छ भन्ने देखाउँछ । करिब ०५० को दशकदेखि नेपाली साहित्यमा प्रवेश गरेकी भेटवालले ०६३ सालमा ‘दोस्रो दर्जा’ कथासंग्रह प्रकाशित गरेर नेपाली साहित्य फाँटमा पाइला टेकिन् । उनले ०६८ सालमा ‘मैनका मान्छे’ कथासंग्रह ल्याइन् । ०६९ मा ‘आहाल’ नाटकसंग्रह पाठकमाझ ल्याएको तीन वर्षमा ‘बाटो खोज्दै बाटोमा’ कवितासंग्रह प्रकाशित गरिन् । ०७३ सालमा ‘कल्ली’ उपन्यास लेखेर चर्चित भइन् । साहित्य शब्दको माला गुथ्ने अक्षरको खेती हो । पक्कै यो सहज काम होइन । त्यसमाथि महिलालाई साहित्य लेखनमा कत्तिको गाह्रो छ त ? ‘गाह्रो छ । पहिलो कुरा त महिलाले सबै थोक खुलेर लेख्न सक्दैनन् । लेखे भने पनि भर्खरै बसेको घर तोडेर सन्तान बोकेर बाहिर निस्कनुपर्ने अवस्था छ,’ हरिमायाले भनिन्, ‘पुरुषहरू महिनौँ रिसोर्टमा बसेर, रक्सी खाएर, साथीहरूसँग छलफल गरेर, निस्फिक्री घुमेर यौनका, प्रेमका कुराहरू गर्वका साथ लेख्छन् । महिलाले त्यस्तो लेख्न घर छोडेर बाहिर जान सक्ने अवस्था छैन ।’

यस्तै पीडा एकजना कथाकारले आफूलाई सुनाएको उनी स्मरण गर्छिन् । ती महिला साहित्यकारले भनेकी थिइन् रे, ‘हरिमायाजी मसँग क्षमता हुँदाहुँदै म चर्चित हुन नसक्ने भएँ ।’ किन त ? उनको जिज्ञासामा ती महिला सर्जकले भनेको स्पष्ट पार्दै भनेकी थिइन्, ‘काठमाडौंमा दुईवटा कोठा लिएर बसेकी छु, एउटा कोठामा भान्सा र अर्कोमा छोराछोरी सुत्ने गर्छन्, दिनभरि अफिसको काम । बेलुका घरको काम सकेर ९ बजेतिर लेख्छु भनेर सोच्यो लेख्ने ठाउँ पाउँदिनँ ।’

ती महिला लेखकको पीडा उनले करिब सबै महिला साहित्यकारमा लागू हुने दाबी गरिन् । महिलाले आफूमा भएको सीप छोराछोरी श्रीमान्लाई ‘डिस्टर्ब’ हुने डरले बत्ती बाल्न नपाएकै कारण त्यसै दबाएर राख्नुपरेको विडम्बना सुनाइन् । ‘ल हेर्नुहोस्, काठमाडौंभित्रकै महिला लेखकको हालत यस्तो छ, बाहिरी जिल्लाका महिलाले कसरी समय भ्याएर लेखेका होलान् ?’ उनले प्रश्न गरिन्, ‘एउटी महिला बत्ती बाल्न नपाएकै कारण राति लेख्न सक्दिनन् । दिउँसो लेख्न फुर्सद छैन । महिलालाई साहित्य लेख्न र टिक्न कि परिवारसँग च्यालेन्ज गरेर बाहिरै निस्कनुपर्छ, कि त लेखनलाई तिलाञ्जली दिनुपर्छ ।’

लेखक हुन्छु भन्नु महिलाका लागि अप्ठेरो बाटो हिँड्न निस्कनु हो । यसो भन्दैमा सबै महिला अप्ठेरो बाटो हिँडेको पनि उनी देख्दिनन् । ‘कसैले आफ्नै परिवारभित्रका गन्थन, सुन्दरताका कुरा लेखेका, लेखिटोपलेका छन् त कसैले विदेश घुमेका रमाइला पक्ष पनि लेखेका हुन्छन्,’ हरिमाया भन्छिन्, ‘समाजले स्थापित गरेका विचारहरू भत्काउन, धर्मले गरेका शोषणका विरुद्ध लेखेर हिँड्ने महिला छन्, ती महिलालाई झनै चुनौती छ ।’ समाजले स्थापित गरेका कुरा सबैभन्दा पहिला घरभित्रबाटै भत्काउन सुरु गर्नुपर्ने उनी सुझाउँछिन् । महिला लेखकलाई लेखिसकेपछि प्रकाशन गर्न पनि उत्तिकै गाह्रो भएको उनको भनाइ छ ।

साहित्यको सस्तो बजार
‘प्रकाशनको प्रायः जिम्मा ‘बिग हाउस’ले लिएजस्तो भएको छ । केही किताब आउनुभन्दा पहिले नै चर्चा हुन्छ,’ उनले भनिन्, ‘सिवानी सिंह थारूको ‘काठमाडौंमा एकदिन’ बजारमा नआउँदै चर्चाको एक नम्बरमा ल्याइयो, त्यो कति जायज हो ?’ केही मान्छे नियोजित रूपमै महिलालाई कसरी हाइलाइट गर्ने, मोडलहरूलाई कसरी लेखक बनाउने भन्ने उद्देश्यमा देखिएको उनको आरोप छ ।

कविता, निबन्ध र नाटक बिक्दैन भनेर प्रकाशकले प्रकाशन नै गर्न नमान्ने गरेको उनले बताइन् । ‘अहिले बजारमा बिक्ने भनेको उपन्यास हो । प्रकाशकहरू बिक्ने कुराको खोजीमा हुन्छन्,’ उनले भनिन्, ‘मैले पछिल्लो समय देखेकी छु, अहिले साहित्यको बजार यौनलाई मानिएको छ । प्रकाशकहरू यौनका कुरा लेखिएका कृति प्रकाशन गर्न लालायित छन् ।’ लेखकहरू पनि सिर्जनाको धर्मभन्दा मार्केट लिने ‘कन्टेन्ट’ लेखिरहेको उनको आरोप छ । उपन्यासका सवालमा महिलाले गहिराइमा गएर लेख्ने वातावरण नभएको देख्छिन्, उनी । आत्मकथामा पनि त्यही समस्या देख्छिन् ।

‘आत्मकथामा सही कुरा लेख्नुप-यो । महिलाले कति सही कुरा लेख्न सकेका छन् त ?,’ उनले प्रश्न गरिन्, ‘महिलालाई सही कुरा लेख्न कत्तिको वातावरण छ त ? सही कुरा लेख्दा महिलाले पारिवारिक सम्बन्ध टिकाइराख्न सक्छन् कि सक्दैनन् ?’

उनले तत्कालीन एमाले नेता प्रदीप ज्ञवालीकी धर्मपत्नीलाई सम्झिइन् । ‘सरस्वती ज्ञवालीले अहिले ‘लाल्टिनको उज्यालो’ बजारमा ल्याउनुभएको छ । एउटा पार्टी लिडरको श्रीमतीले केके कुरा भोग्नुपरेको हुन्छ, उसलाई लिडर बनाउन, तर अन्य नेताका श्रीमतीले किन लेख्न सक्दैनन् ? गाह्रो छ लेख्न,’ उनले प्रस्ट्याइन् ।

महिला अगाडि नआउनुमा महिला नै बाधक हुन् भन्ने कुरामा पूर्ण सत्यता नभएको उनको भनाइ छ । यस्तो समस्या महिला–पुरुष दुवैमा छ । ‘महिला बाधकभन्दा पनि साइलेन्ट बसिदिन्छन्,’ उनले आफ्नै उदाहरण पेस गरिन्, ‘जब मेरो कल्ली उपन्यास आयो, राम्रा महिला लेखक कसैले पनि सकारात्मक वा नकारात्मक प्रतिक्रिया दिएनन् । यसलाई सहमति भन्ने कि विमति ?’

आफूमाथि उग्र लेखकको आरोपबारे उनले भनिन्, ‘मलाई पुरुषले उग्र देख्छन् । कारण अरू महिलाले श्रीमान्को आयु लामो होस् भन्दै पानी पनि नखाएर तिजको व्रत बसिरहेको दिन म भात खाइरहेको फोटो फेसबुकमा राख्छु ।’ पितृसत्तात्मक सोचका मान्छेले आफूलाई उग्र देख्नु उनी स्वाभाविक ठान्छिन् । ‘कुसंस्कारका विरुद्ध भए पनि म मेरो परिवार र श्रीमान्का लागि एकदमै सहज छु,’ उनले स्पष्टीकरण दिइन् । तर अन्याय, विकृति र विसङ्गतिका विरुद्ध बोल्ने भएकाले समाजले उग्र देखेको उनको भनाइ छ ।

साहित्यिक बाटो
हरिमाया कसैको प्रेरणाले होइन, एउटा घटनाले साहित्यकार बनिन् । उनका दाइ कम्युनिस्ट राजनीतिमा थिए । दाइको प्रभावले उनी ०४४ सालमा ९ कक्षामा पढ्दै गर्दा विद्यार्थीको प्रारम्भिक कमिटी सदस्य बनेर राजनीतिमा लागिन् । ‘मदन भण्डारीको हत्या हुँदा सबैभन्दा पहिला माइक समातेर मैले दासढुंगामा भाषण गरेँ,’ उनले भनिन्, ‘विवाह भयो । काठमाडौं आइयो । पार्टी कमिटीमा रहेर काम गरेँ ।’

०६२/६३ को आन्दोलनमा उनी बालबच्चालाई घरभित्र थुनेर पुरानो बानेश्वरदेखि चाबेलसम्म पुगिन् । तत्कालीन समयमा नेतृ विद्या भण्डारी, सुजाता कोइराला, उनीलगायतलाई प्रहरीले गिरफ्तार गरेर महेन्द्र पुलिस क्लब लग्यो । ‘२५ दिन थुनामा राखेपछि मलाई इन्फेक्सन भयो । अस्पताल लगियो । अरू साथीले मुद्दा खेपे,’ उनले भनिन्, ‘म बिरामी भएकाले मुद्दा खेप्नुपरेन ।’ आन्दोलनलगत्तै उनले पुस्तक प्रकाशित गरिन् । त्यो पुस्तक लिएर उनी पार्टी नेतृत्वकोमा पुगिन् । ‘मैले अत्यन्त विश्वास गरेको पार्टी नेतृत्वले गरेको व्यवहार देखेर घृणा लाग्यो,’ उनले नमिठो अनुहार पार्दै भनिन्, ‘उनीहरूको देखाउने र चपाउने दाँत फरक रहेछ । मेरो आत्माले हरिमाया तँ राजनीति गर्न होइन, साहित्यकै लागि जन्मेकी होस् भन्यो, म साहित्यमै लागेँ ।’

छैन पछुतो
राजनीति छोडेकोमा उनलाई कहिल्यै पछुतो भएन । ‘म चाकडी र चाप्लुसी गर्न नजान्ने मान्छे । सही कुराको समर्थन र गलत कुराको विरोध गरिहाल्ने मान्छे,’ उनले भनिन्, ‘कसले पचाउँथ्यो र मलाई ? पार्टीभित्रका बेथिति चुपचाप हेरिरहने मान्छे मात्र अटाउँछन् ।’ जनताबाट संकलित पैसा पार्टीभित्र धेरै दुरुपयोग भएको उनले देखेकी छिन् । ‘त्यहाँ बसिरहेको भए विकृति र बेथितिबारे म यसरी कहाँ लेख्न सक्थेँ,’ उनले भनिन्, ‘त्यहाँ त पार्टीह्विप जारी हुन्छ । पार्टीमै भएको भए कृति कहिल्यै आउने थिएनन् ।’ यद्यपि, वैचारिक मानसिकतामा अभिवृद्धि भने पार्टीमा लागेरै भएको उनी स्विकार्छिन् ।

परिवारको सहयोग
यहाँ आइपुग्न हरिमायाले थुप्रै संघर्ष गरेकी छिन् । सुरुसुरुमा उनको परिवारबाट निकै असहयोग थियो । ‘तिमीले किन लेख्नुप¥यो ? लेखेर के हुन्छ ? खान पुगेकै छ । दुनियाँको तारो बनेर के फाइदा ?,’ उनले सम्झिन्, ‘मैले कल्ली लेख्दै गर्दा मेरा दाजुहरूले भन्नुभएको थियो, तिमीले यो किताब लेख्दै गर्दा ज्वाइँसँग सल्लाह गरेकी छ्यौ ? भोलि सम्बन्धमा चिसो नआओस् नि ?’ तर, उनले परिवारबाट विद्रोह गरेर लेखनलाई निरन्तरता दिइन् । समाजले स्थापित गरेका नराम्रा विश्वास भत्काउन लेखिरहेको उनी प्रस्ट्याउँछिन् । ‘म एक्लै हुन्छुहोला । तर, मलाई दुःख लाग्नेछैन । किनकि, म एक्लै हिँड्दै छु, र त फटाफट हिँडिरहेकी छु ।’

 साभार :    नयाँ पत्रिका दैनिकाबाट


प्रकाशित | १२ असार २०७५, मंगलवार १०:४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')