पहिलो संविधानसभामा हाम्रो दुई तिहाई तुहाईयो (भिडियो सहित)

संविधान घोषणा गर भनेर हामीले पहिलो संविधानसभामा ४३७ जना सभासदको हस्ताक्षर संकलन गर्यौं । जति बनेको छ त्यति घोषणा गर भनेर त्यो हस्ताक्षर गराएका थियौं । हस्ताक्षर गर्नेहरु सबै राजनैतिक दलसँग सम्बन्धित उत्पीडित समुदायका सभासदहरु थिए । देव गुरुङ पासाङ शेर्पा र म लगायतका साथीहरु त्यसमा क्रियाशिल थियौं । मधेसका साथीहरु पनि क्रियाशिल हुनुहुन्थ्यो ।
हस्ताक्षरको एक थान पत्र प्रचण्डलाई बुझायौं । एक कपी सुभास नेम्वाङलाई बुझायौं । एक थान प्रधानमन्त्रीलाई दियौं । बुझाउन त बुझायौं तर हाम्रो सुनुवाई भएन । ४३७ जना भनेको दुई तिहाई बहुमत हो । तर दुई तिहाईले मात्र काम नगर्दाेरहेछ । संविधान घोषणा हुन दिईएन । संविधानसभा नै भंग गरियो । त्यसपछि अहिलेको संविधान बनाईयो ।
पर्दा पछाडि निर्णय गर्ने त अर्के हुँदा रहेछन । लेलिनले संसदलाई खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो भनेर त्यसै भनेका रहेनछन् । यथार्थ कुरा हामीले त्यतिबेला बुझ्यौं । अहिले घोषणा भएको संविधान भन्दा त्यतिबेलाको संविधान कयौं गुणा प्रगतिशील थियो । त्यो संविधान जारी गरिएको भए संविधानलाई लिएर अहिलेको जस्तो ध्रुबीकरण पनि हुन्थेन होला ।
अहिलेको संविधानमा हामीले के के पाएका छौं त्यो सबैलाई छर्लङ्गै छ । हिंजो नीजि स्थानमा जान पाउँदैनथ्यौं अहिले जान पाउने कानुन बनेको छ । धारा २४ ले छुवाछुतलाई गम्भीर सामाजिक अपराध मानेको छ । कहिं कतै छुवाछुत र भेदभाव गर्न पाईदैंन । एकातर्फ यस्तो छ भने अर्काेतर्फ प्राप्त यी अधिकारलाई व्यवहारमा लागू गर्न आन्दोलन गर्नुपर्ने अवस्था छ ।

उत्पीडित समुदायका लागि मुलुक अहिलेपनि नवऔपनिवेशिक अवस्थामा छ । यसलाई बदल्न त क्रान्तिकै आवश्यकता हुन्छ । त्यो क्रान्ति गर्न जाने मानसिकतामा नेपाली जनता तयार छन् कि छैनन ? अहिले तत्काल त्यसमा तयार छैनन । अझै दश पन्ध्र बर्ष तयार हुने सम्भावना देखिदैंन । त्यसकारण हामीले जे पाएका छौं जति पाएकाछौं त्यसको रक्षा गर्ने, प्रयोग गर्ने र सक्दो मेहनत गरेर थप विकास गर्न तयार हुनुपर्दछ । रक्षा, प्रयोग र विकासको प्रक्रियाबाट अगाडि बढ्नुपर्ने अहिलेको बस्तुगत बाध्यता हो ।दमनमा परिनुमा हाम्रो अवस्थाको पनि केहि प्रभाव होला । म तपाईंहरुलाई मेरो एउटा अनुभव सुनाउन चाहन्छु । पन्चायतकालमा मैले पुष्पलालको चिठी बोकेर नेपाल राष्ट्रिय दलित जनविकास परिषदको काठमाण्डौमा गरिएको राष्ट्रिय भेलामा सहभागी हुन आएको थिंए । भूमिगत रुपमा भएको दुई दिने त्यो भेलामा दलित आन्दोलनको कार्यदिशा के हुने ? कार्यक्रम के हुने ? के योजना बनाउने ? कसरी अगाडि बढ्ने ? त्यसम्बन्धि केहि कुरै भएन । त्यहाँ अध्यक्ष र महासचिव को बन्ने भन्दै लड्दैमा दुई दिन बित्यो । यो हो हाम्रो विगतको ईतिहास ।
मेरो लामो अनुभवको आधारमा भन्न सक्छु अहिले पनि यस्तै छ हाम्रो अवस्था । पदका लागि माराकाट गर्छौ तर दलित मुक्ति र आन्दोलनबारे केहि छलफल नै गर्देनौं । आन्दोलन कता जाँदैछ , हामीलाई कता लगिदैंछ यसबारे कसैलाई चिन्ता छैन । हाम्रा दलित नेताहरु बिचार, कार्यदिशा र दर्शन माथि घोत्लिदैनौं । पदमा जान मरिहत्ते गर्छौ र त्यहाँ पुगेपछि कसरी फाईदा लिन सकिन्छ त्यतातिर मात्र ध्यान दिन्छौं । कुन नेताको चाकडी गरेपछि साँसद र राज्यमन्त्री मात्र भएपनि बन्न सकिन्छ त्यता दिमाग लडाउँछौं । व्यक्तिगत लाभ हेर्छौ समुदायको चिन्तन गर्दैनौं । यस्तो चिन्तनले कहाँबाट हुन्छ मुक्ति ?
हामीले के बिर्सिरहेकाछौं भने जबसम्म राज्यसत्तामा दलितहरुको हस्तक्षेपकारी पहुँच हुदैंन तबसम्म दलित समुदायको मुक्ति संभव नै छैन ।

(यो जनयुद्धकालका प्रभावशाली नेता तथा अहिले नेकपाका स्थायी समिति सदस्य तिलक परियारले दलित अनलाईनले संविधान दिवसको दिन काठमाण्डौमा आयोजना गरेको अनलाईनको बार्षिकोत्सव कार्यक्रममा ब्यक्त गरेका बिचार हो । )


प्रकाशित | ६ आश्विन २०७५, शनिबार १९:५२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')