वादी महिलाको कथामा नथिया

गौरी तमु

छोरा जन्मिदा गर्व गर्ने नेपाली समाजमा त्यसको ठीक विपरित छोरी जन्मिदा अत्यन्तै खुसी हुने वादी समुदायको कथा हो नथिया । पहिलोपटक महिनावारी भएपछि नाकमा नथिया (नथुनी) लगाउने तर पहिलो ग्राहकसँगको संसर्गपछि नथिया उतारेर विधिवत रुपमा यौन धन्दामा लाग्ने वादी समुदायको एक अनौठो संस्कृतिमा आधारित उपन्यास हो नथिया ।

आफ्नै आमा,बाबु र दाजुभाई बढाबढमा छोरी चेलीको कुमारित्व बेच्न ग्राहक खोज्दै हिँड्ने र हाँसो अनि रोदनको कथा हो नथिया । महिलालाई भोग्या वस्तुको रुपमा हेर्ने हाम्रै समाजको कथा हो नथिया ।

वादी समुदायको बसोबास रहेको दाङको तुलसीपुर,बाँकेको नेपालगञ्ज,बर्दियाको राजापुर र कैलालीको पटक पटकको लामो स्थलगत अनुसन्धानपछि उपन्यासकार सरस्वती प्रतीक्षाले वादी महिलाहरुले मान्छे भएर बाँच्नका लागि के कस्ता सङघर्षहरु गरे ?बाहिरी आवरणमा वादी महिलालाई जसले वेश्या भनेर थुक्यो, घृणा गर्यो ,उनीहरुले छोएको पानी चलाएनन् मन्दिरमा प्रवेश दिएनन् । त्यहीँ समाजका नेता, कर्मचारी,प्रहरी कवि,लेखक विद्याथी र पुजारी समेत पक्रैया बस्तीमा लर्को लागेर यौनको प्यास मेटाउन जाँदा वादी महिलाहरु मात्रै दोषी किन भए ? एउटी महिला के कारणले देह ब्यापार गर्न बाध्य हुन्छे ?

यसको इतिहास के हो? साँस्कृतिक मूल्य मान्यता के के हुन्? सामाजिक, राजनीतिक र आर्थिक चलखेलहरु कहाँबाट कसरी चालिन्छन् ?भन्नेजस्ता गम्भिर विषयवस्तु समेटिएको उपन्यास हो नथिया ।समग्रमा भन्नुपर्दा पहिचानको मुद्वालाई राम्रोसँग समेटेको महिलाको कथा हो नथिया ।

कीर्तिपुर विश्वविद्यालयका प्रोफेसर दिवाकर थापाले दीक्षान्त समारोहमा वर्षौ अगाडि हराएकी सामली वादीलाई छोरी अवतारमा भेटेपछि नथियाको कथा प्रारम्भ हुन्छ ।सल्यान हुँदै हुरीखोलाको किनारमा बस्ती बसाएका वादीहरुको बस्ती बिस्तारै पक्रैयाको रुपमा परिचित हुन्छ । त्यहीँ बस्तीकी चन्द्रिका वादी रुपले साह्रै कुरुप भएकै कारण उसको नथिया खोल्न कोही नआएपछि गाउँकै शारिरीक कुरुप देब्रेकान्छा सँगको विवाहपछि सुन्दर छोरीको जन्म हुन्छ – सामली ।

पहिलो सन्तान त्यो पनि अत्यन्तै सुन्दर छोरी सामलीलाई छोरालाईभन्दा बढी माया र स्याहारका साथ हुर्काइन्छ । जब सामलीले आफुले नथिया नखोल्ने र यौन पेसामा नलाग्ने कुरा बताउँछे तब ऊ आफ्नै आमा,फुपु र साथीहरुको षड्यन्त्रमा लाखेनाच हेर्न जाँदा गाउँको चर्चित ब्यापारी बेखामानद्वारा बलात्कृत हुन्छे र उसको नथिया उतारिन्छ ।त्यसपछि आफ्नो बाबु र फुपुको निधन पश्चात बाध्यताले सामलीले यौन पेसालाई अपनाउँछे ।

उपन्यास अगाडि बढ्दै जाँदा जय नेपाल ,मोहम्मदजस्ता पात्रको उपस्थितिले उपन्यासलाई इन्ट्रेस्टिङ बनाउँदै लान्छ । सामलीलाई एकोहोर प्रेम गर्ने जय नेपाल पात्र आफुलाई युक्फुङ सरले पढ्न सिकाएको भन्दै सामलीलाई अरु धेरै ज्ञानज्ञुन र परिवर्तनको कुरा सिकाइरहन्छ । एकदिन जब सामलीले रेन्जरसँग विवाह गर्न लागेको कुरा बताउँछे तब जय नेपाल भन्छ, ‘प्रेममा पनि राजनीति चल्दो रहेछ सामली ।

प्रेमले पनि राजनीति गर्दो रह्याछ ।प्रेममा पनि राजनीतिमा जस्तै शक्ति र हैसियतको खेल हुँदो रह्याछ ।’ भन्दै सुनको नथिया उपहार दिएर ऊ त्यहाँबाट सदाका लागि बिदा हुन्छ । सामलीले जुन प्रेमी सोचेर रेन्जरसँग विवाह गर्छे तर विवाहपछि रेन्जर प्रेमी नभई लोग्नेको रुपमा प्रस्तुत हुन्छ । शारिरीक र मानसिक यातना दिन थालेपछि एकदिन गर्भवती सामलीले आफ्नो रेन्जरको बन्धनबाट मुक्त भई मोहम्मदसँग विवाह गर्छे र छोरीलाई बाउको नाम दिलाउँछे । तर छोरी आफुजस्तै पेसामा नलागोस भनी त्यो समाजभन्दा पर काठमाण्डौको होस्टलमा राखेर पढाउँछे ।

मध्यान्तरतिर रैतवी गुमानसिंह र रन्जिताको कहाली लाग्दो घट्नाले उपन्यासलाई चरमोत्कर्ष विन्दुमा पुर्याउँछ ।रैतवीले गुमानसिंहलार्ई रन्जिता गुमानसिंहको आफ्नै छोरी हो भन्ने कुरा बताउँदा बताउँदै पनि उसले यौनको प्यास मेटाउन आफ्नै छोरीको नथिया फुकालेको घट्नाले केही समय पाठकहरु स्तब्ध हुन्छन् ।

यस्तैमा एकदिन सामलीकहाँ दिनहुँ आइरहने ग्राहकहरुको भीडमा दिवाकर वादी समुदायबारे अनुसन्धानका लागि सामलीको कोठामा पुग्छ । बिस्तारै सामलीसँगको भेटमा उनीहरुबीच एउटा उच्चतम् प्रेमको उठबस हुन्छ ।सामलीले रेन्जर र मोहम्मदसँग विवाहबाट पाएको प्रेमभन्दा उच्च प्रेम दिवाकरबाट पाउँछे ।

दिवाकरले सामलीलाई नथिया उपहार दिएर काठमाण्डौ फर्केपछि यता सामली वर्षैदेखिको पेसा छोडेर भाइ र आमालाई बन्दोबस्त गरी आफ्नी छोरी भेट्न काठमाण्डौ जान्छे उता दिवाकर सामलीलाई खोज्दै दाङ आइपुग्छ ।प्रेमलाई न्याय गर्न प्रेमसँग नै निर्मम हुनसक्ने सामलीको चिठ्ठी पढेर आधा बेहोसीमा दुखानीको जंगलमा पुगेको दिवाकरले त्यहीँ रुखमुनि आफ्नो बच्चासँग खेलीरहेकी बघिनीको अनुहारमा कताकता सामलीको अनुहार देख्छ र मनमनै सामली !भनेर बोलाउँदा अनायासै बघिनी ! भन्ने बिम्बात्मक शब्दसँगै उपन्यासको अन्त्य हुन्छ ।

यसरी नथिया सदियौदेखि संस्कृतिका रुपमा यौन पेसा अपनाउन बाध्य वादी महिलाको कथा हो । समाजको यथार्थ घटनालाई समेटिएकोले सामाजिक यथार्थवादी उपन्यास हो ।नथियाले हाम्रो समाजमा गुमानसिंह, रेन्जरजस्ता डेन्जर पुरुष पात्र र सामली,रैतवी र रन्जनाजस्ता पीडित महिला पात्रहरु पनि छन् भन्ने देखाएको छ ।

लेखनका हिसाबले आञ्चलिकता,भौगोलिक परिवेश, इतिहास ,साँँकृतिक बोधका हिसाबले पूर्ण नथियाको पेज ९७ मा यौनकर्मी नयनताराको संवादमा ‘ तमीहरुजस्ता आदमी रण्डा नभए हामीजस्ता औरत आफैं कसरी रन्डी हुँदाछौ ? दशवटा रण्डीका मुतुना चाट्दै हिँड्न्या मान्छे चाँहि सज्जन हुँ भन्नु पदौनई ।’ भन्ने संवादले सबै घट्नामा महिलालाई मात्रै समाजले किन दोष दिन्छ ? वादी महिलाहरु यो पेसामा सामेल हुनुमा के यो समाज र पुरुषहरु चाँहि दोषी छैनन् ?उनीहरुलाई यौन पेसामा लाग्न बाध्य पार्ने पुरुषहरु चाँही निर्दोष हुन्? भन्ने आक्रोशलाई उपन्यासकारले बडो साहसका साथ लेखेकी छन् ।

उपन्यास पढिरहँदा नथियाभित्रका संवादहरुले पाठकलाई हलमा फिल्म हेरिरहेको छु की जस्तो भान पनि पार्छ । ‘तु हाम्रो शरीरको मालिक त होइनस नि ! हाम्रो शरीर तुइको दास त होइन नि ! ’ भन्ने वाक्यले उपन्यासकारको आफ्नो जिन्दगीको मालिक अरु कोही हुन नसक्ने भन्ने विचारलाई स्थापित गरेको छ ।

उपन्यासकारले नथियालाई ९५ प्रतिशत सत्य घट्नामा आधारित भने पनि रचनागर्भदेखि केही समय अगाडि प्रकाशित उपन्यासकारको प्रोफाइल पढ्दा नथिया उपन्यास ९८ प्रतिशत सत्य घटनामा आधारित हो कि झैं पनि लाग्छ ।जम्मा २८२ पृष्ठमा हार्ड र सफ्ट कभरमा बजारमा आएको नथियाको मूल्य क्रमश ःरु ४५० र ३५० रहेको छ ।


प्रकाशित | १२ असार २०७५, मंगलवार १०:१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')