विदेश ओहोरदोहोर गर्दागर्दै बेहाल भो गोपाल दर्जीको जिन्दगी

सन्जिता देवकोटा

धनकुटा –धनकुटाको सागुरीगढी गाउँपालिकाको बुढिमोरङको मौसम प्रायः फेरबदल भैरहन्छ । कहिले पानी पर्छ बेस्सरी, कहिले हावा चल्छ मनपरी । बद्लिरहने मौसम जस्तै लाग्छ गोपाल दर्जीलाईपनि आफ्नो जिन्दगी घरिघरि ।

गाउँघरमै गरिरहेको जागिर छाडेर विदेश हिँडेदेखि गोपालको जिन्दगीको गति उल्टो चल्न थाल्यो। विदेशमा कमाएर पूरा गर्न साँचेका सपना टुटे । छाडेर गएका खुशी सधैंका लागि भत्किए । घरबाट एक्लै हिडेका उहाँ विदेशबाट फर्कदा सधैका लागि एक्लो हुनुभयो ।

१२ वर्ष विदेश बसेर के लिएर आउनुभयो भनेर सोध्दा गोपाल एकै सासमा भन्नुहुन्छ, ‘मेरा आफ्ना र आफूलाई गुमाएर आएँ ।’

मुढिमोरङको माङदवा चोकमा टेर्लसमा अरुका लुगासँगै आफ्नो फाटेको जीवन सिलाउने कोसिस गरिरहनुभएको छ गोपाल । लुगा काटेर सिलाउन जस्तो सजिलो छैन गोपाललाई आफ्नो फाटेको मन सिउन ।

साउदी हिँड्दा ढाका

२०५४ सालमा गोपाल सडक विभागमा काम गर्नुहुन्थ्यो । विभागमा काम गरेको १५ वर्ष भैसकेको थियो । तलब चाहिँ जम्मा पाँच हजार रुपैयाँ । गरिरहेको काममा भन्दा धेरै कमाइ हुने जागिरको खोजीमा हुनुहुन्थ्यो, गोपाल । चिनजानकै मानिसले साउदीमा मासिक २५ हजार रुपैयाँ कमाइ हुने लोभ देखाए ।

‘गाउँघरकै पाँच हजार भन्दा त दुई चार वर्ष विदेश बसेर २५ हजार कमाइन्छ भन्ने भयो, गाउँको काम छाडेर विदेश जाने निर्णय गरें’ गोपालले गाउँको जागिर छाडेर विदेश जाने निर्णय गर्दाको क्षण सम्झनुभयो । सडक विभागमा हेल्परको काम गरे पनि साउदीमा मेसिन चलाउने काम पाइने बताएका थिए दलालले ।

एक त कमाइ धेरै हुने लोभ, अर्कातिर काम पनि नेपालको भन्दा गज्जबकै हुने भयो भन्ने लागेको थियो गोपाललाई । साउदीमा महिनाको २५ हजार रुपैयाँ कमाइ हुने कुरा सुनेपछि मनमा सपनाले मनमौजी गुँड लगाएका थिए । कहाँको २५ हजार, कहाँको पाँच हजार तलब १ यता सडकमा धुलेफुस्रे काम, उता मेसिन चलाउने काम १

गोपाल २०५५ सालमा साउदी जान निस्कनुभयो । ‘त्यो बेला अहिले जस्तो नेपालबाटै विदेश जानुपर्छ भन्ने थिएन । भारतबाट साउदी उड्ने कुरा भयो ।

घरबाट साउदी जान भारत गएको मान्छे ढाकामा अलपत्र परियो, दलाल भागि हालेछन्’ गोपालले दलालबाट ठगिएको कुरा सुनाउनुभयो । ढाका पुग्नुअघि दलालको चाल गोपालको सोझोपनले चिन्न सकेन ।

ढाकाको एक होटलमा छाडेर दलाल भागे । होटलमा बस्न र खान त पाउनुभयो, तर साउदी कहिले जाने त रु सपनाले तानिरहेको थियो ।

एक महिना ढाकामा बस्नुभयो । गोपाललाई साउदी पुर्‍याउन भागिसकेको दलाल किन आउँथे र रु आपत आइलाग्यो । घर फर्किन पैसा छैन, साउदी जाउँ दलाल छैन ।

‘दिनभरी डुल्यो, गोजीमा पैसा थिएन, यतिकैमा भारत आउने गाडीमा काम गर्ने एक जनासँग चिनजान भयो, उनैको सहयोगमा भारतको बोर्डरसम्म आइपुगें, तर मलाई भारतका प्रहरीले पक्राउ गरे’ फिस्स हाँस्दै गोपालले भन्नुभयो, ‘आफू त मान्छे पनि कालो, बंगलादेशी नै भन्ने ठानेछ क्यारे, नेपाली हुँ भन्छु मरिगए पत्याएन ।’

भारत र बंगलादेशको सीमामा पक्राउ परेका गोपाललाई नेपाली हुँ भनेर बुझाउन समस्या पर्‍यो । ‘धन्न एक जना दार्जीलिङका प्रहरी रहेछन्, उनलाई मैले आफू ठगिएको कुरा सुनाएँ, उनैको सहयोगमा घर फर्किएँ १’ २५ हजार रुपैयाँ कमाउन हिँडेका गोपाल ५० हजार ऋण काँधमा बोकेर बीच बाटोबाटै फर्कनुभयो ।

गार्मेन्टको काममा मलेसिया

भएको जागिर पनि छाडेर साउदी गएका गोपालसँग ऋण तिर्ने विकल्प भएन । साहुको कचकच सहेर मन घरमा अडिएन । गोपाल २०५७ सालमा मलेसिया जानुभयो, गार्मेन्टमा काम गर्न । त्यो बेला मलेसियामा साढे चार सय रिंगिट थियो बेसिक तलब ।

१८ वर्षअघि मलेसियन रिंगिटको भाउ अहिलेको जस्तो थिएन । पाँच हजारको जागिर छाडेका गोपालले मलेसियामा मुस्किलले महिनाको ३४ सय रुपैयाँ बचाउनुभयो ।

‘ज्याकेट र ट्राउजर सिलाइन्थ्यो, जति सिलाएपनि पैसा उही हो, ओभरटाइम पनि नपाइने,’ गोपाललाई सम्झनै मन लाग्दैन जिन्दगीका ती उराठलाग्दा दिन ।

सन्तान नभएका काकाकाकीको जिम्मेवारी पनि गोपालकै काँधमा थियो । ‘मलेसिया पुगेको केही समयपछि नै काकी बिरामी हुन थाल्नुभयो, उहाँको उपचार गर्न पनि पुग्दैन थियो मेरो महिनाको तलब त,’ गोपाल दुःख मान्दै सुनाउनुहुन्छ, ‘एक लाख २० हजार सकियो, काकी पनि बित्नुभयो ।’

एक पछि अर्को बज्रपात आइलाग्यो उहाँलाई । गोपालले मलेसिया टेकेको एक वर्षमा १२ वर्षकी छोरीले पनि संसार छाडिन् । ‘जसका लागि कमाउन गएँ, उनीहरुकै मुख देख्न पाइनँ, खै के पाएँ के गुमाएँ भन्नु,’ गोपालको आँखा रसाए ।

बिरामी काकी र छोरीको उपचारमा लागेको ऋण तिर्न नै गोपाललाई ६ वर्ष लाग्यो । काकी र छोरीको मुख देख्न नपाउँदाको पीडाले परेली नभिजोस् भनेर परपर धकेल्नुहुन्थ्यो । तर दैवको नियती कसले टार्न सक्छर भने झैं भयो गोपाललाई पनि ।

‘छोरी र काकी बितेपछि श्रीमती बिरामी भइन्, उनलाई धरानमा उपचार गराएँ, विराटनगर पनि लैजानु भने, खाई नखाईँ पैसा पठाएँ तर उसलाई पनि बचाउन सकिनँ,’ गोपालले खुइय सुस्केरा हाल्नुभयो ।

२०६२ सालमा उहाँकी श्रीमती पाठेघरको व्यथाले बितिन् । ‘पैसा पनि सकियो, मान्छे पनि रहिन, यस्तै लेखेको रहेछ टार्न सकिन,’ गोपाल चित्त बुझाउनखोज्नुहुन्छ ।
गोपाललाई घर फर्किन मन लागेन । एकतिर उपचार गर्दाको ऋणको भारी, अर्कातिर आफ्ना गुमाउनुको पीडा थामि सक्नुको थिएन ।
घर फर्किन मन लागेन, छोरालाई मलेसिया बोलाएँ

गाउँ फर्किएर उजाडिएको घर हेर्नुभन्दा छोरालाई पनि आफूसँगै काम गर्न मलेसिया बोलाउने निधो गर्नुभयो गोपालले । तीन छोरामध्ये माइलो छोरालाई आफ्नै कम्पनीमा बोलाउनुभयो । कान्छो छोरा परदेश लाग्ने उमेरका भएका थिएनन् । ?

बाबु छोरा मिलेर न्याना न्याना लुगा सिलाए । तर कमाइ भने पहिलेको जस्तै । ‘दुई सय रिंगिटले के गर्नु, त्यो पनि १० वर्ष लागेपछि बस्न नपाइने रहेछ, त्यसैले मन नहुँदा नहुँदै पनि फर्किएँ,’ गोपालले लुगा सिलाउँदै सुनाउनुभयो ।

गोपाल २०६६ सालको भदौमा घर फर्किनुभयो । १० वर्षअघि छाड्दा घर उज्यालो थियो, अहिले घर घर जस्तो थिएन । घरभित्र औसीको कालो रातले डेरा जमाएको थियो । घरमा दुखमा बसेका बुढा आमा बुवा र छोराहरु मात्रै थिए ।

आमाबुवा र छोराहरुलाई हेरेर चित्त बुझाउने कोसिस गर्नुभयो । तर गोपाल फर्किएको दुई महिना पछि नै आमाको निधन भयो । ‘आमा बितेको दुई दिनमा बुवा पनि बित्नुभयो, आमा बुवाको सँगसँगै कर्म सक्काएँ’ गोपाल सम्झनुहुन्छ ।

आमाबुवाको मृत्यु दुई दिनको फरकमा । एक बिते पनि एक त बाँच्नु पर्ने जस्तो लाग्छ अहिले पनि गोपाललाई । श्रीमती, छोरी, आमा, बुवा र काकी आफू विदेश गएकै कारण गुमाएँ किजस्तो लाग्छ गोपाललाई । सम्झँदा पछुतो लाग्छ ।

‘आमाबुवा पनि नभएपछि कसको मुख हेरेर बस्नु घरमा रु’ गोपालको विरक्तिबढ्दै गयो । कहाँ जाने रु के गर्ने रु

फेरि पीडा भुलाउने बहाना विदेशभन्दा अर्को विकल्प भेट्नुभएन । दोस्रो पटक २०६७ सालमा उहाँ त्यही कम्पनीमा काम गर्न मलेसिया जानुभयो । तर योपटक पहिले जस्तो कमाउने र रमाउने सपना लिएर हैन, पीडा भुलाउने आशा बोकेर ।

काम पुरानै । साथी भाइपनि चिनेका । चार वर्ष मलेसियामा बसेर उहाँ २०७१ सालमा घर फर्किनुभयो । मनमा गडेको पीडाको डोब मलेसियाले के निको बनाउँथ्यो र । गोपाल बिरामी पर्नुभयो ।

‘चिन्ताले हो वा बुढो भएर, सुगर र प्रेसरको रोगी भएँ, काम गर्न पनि सकिन, त्यसैले फर्किएर यसो हातमुख जोर्न लुगा सिलाउँदै छु,’ गोपालले भन्नुभयो ।

आफू घर फर्किएपछि उहाँले जेठो छोरालाई २०७३ सालमा साउदी र माइलोलाई कतार पठाउनुभयो । तर विदेश बसेर आफूले पूरा गर्न नसकेका सपना छोराले पूरा गर्लान् भन्ने गोपालको आश फेरि निराशामा बदलियो ।

जेठो छोराको साउदी पुगेको दुई महिनामै दुर्घटनामा परेर ज्यान गयो । माइलो छोरा पनि कतारबाट रित्तो हात नै फर्किए । गोपालको पुरानो घाउमा खाटो बस्नुको सट्टा खाटा बस्न लागेको घाउमा नून चुक थपियो ।

हिजोआज गोपाल आफू जस्तै छोराछोरी र श्रीमती गुमाउनेलाई हेर्दै चित्त बुझाउनुहुन्छ । टेर्लसबाट भएको कमाइले पेट पाल्नुहुन्छ । विदेश जानेहरु बाकसमा फर्किने, अंगभंग भएर फर्किनेहरुको ग्राफ बढ्दो छ ।

विदेशमा कमाएर पूरा गर्न साँचेका सपना पूरा गर्न पाखुरा बजार्दा बजार्दै कसले कतिबेला को गुमाउँछ भन्ने पत्तो हुँदैन । केही परिहाले न सात समुद्र पारि रहेकालाई भेट्न जान सकिन्छ, न त विदेश हुनेहरु भनेको बेला फर्किन सक्छन् । जीवनका जोखिमसँग मुकाबिला गर्ने साहस र धैर्य त व्यक्ति स्वयंसँग हुनुपर्छ ।

‘बाटो बदले पनि भाग्य र भविष्य बदल्न नसकिने रहेछ’ निरास मन बुझाउन हिजोआज गोपाल भन्नुहुन्छ ‘जे परे पनि सहन पर्दोरहेछ ।’

साभार: उज्यालो अनलाईन डटकम


प्रकाशित | २५ भाद्र २०७५, सोमबार १७:१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')