यी वर्गभेदका प्रभाव

कृष्णज्वाला देवकोटा

 

एक सातापहिले कालिकोटको नरहरिनाथ गाउँपालिकामा नेकपाका तर्फबाट निर्वाचित वडा सदस्य मना सार्कीको छिमेकीको कुटपिटबाट मृत्यु भएको छ । हत्या आरोपमा छिमेकी राजीन्द्र र सिर्जना शाहीहरू पक्राउ परेका छन् । ४५ वर्षीया मना सार्कीलाई कुट्नेहरू कथित उपल्लो जातका छन् ।

उनीमाथि कसैसँग यौन सम्बन्धमा रहेको आरोपमा कुटपिट गरिएका समाचार सार्वजनिक भएका छन् । घटनामा दुईवटा चासोका विषय देखिन्छन् । पहिलो हो, उनको मृत्यु हुनुमा उनको जातीय पहिचानको हात छ । कुटपिट र हत्याजस्ता अपराधमा जातको कुनै अर्थ रहन्न ।

अर्थात् अपराध जातीय हुन्न । तर, यसको सामाजिक शक्ति सम्बन्ध भने हुन्छ । दोस्रो पक्षचाहिँ शारीरिक सम्बन्ध राखेकै कारण कसैको कुटपिट र हत्या हुनुले महिलाको शरीरमाथि नियन्त्रण कसको हुने भन्ने प्रश्न आउँछ ।

सो घटनामा चर्चा गरिएजस्तै सम्बन्ध राखेकै कारण हत्या भएको हो भने महिलाको यौन र शरीरमाथि अरू कसैको नियन्त्रण कायम गर्न खोजेको अर्थ लाग्छ । घटनामा संलग्न पुरुषलाई कुटपिट नहुनु तर महिलामाथि हातपात हुनुले घटनालाई वर्गीय र जातीय विभेदका रूपमा मात्र होइन, यौनिक भिन्नताका आधारमा गरिएको विभेदका रूपमा पनि बुझ्नुपर्ने हुन्छ ।

हामीले महिला, दलित र हेपिएकालाई उठ्न प्रेरित गरेका छौँ र कानुन तथा संविधानले सबैलाई समान हक स्थापित गरेको पनि छ । तर, व्यवहारमा अझै परम्परागत मूल्यहरूको नियन्त्रण छ । यस्तो अभिव्यक्ति वेलावेला राजनीतिक दलका मुख्य नेताले समेत दिने गर्छन् भने तल्लो तहमा शक्ति सम्बन्धमा परिवर्तन आउन निकै जटिल छ ।समाजमा निर्धालाई दमन गरे पनि आफूलाई कुनै जोखिम हुँदैन, बरु वरपर शासन गर्ने थप शक्ति प्राप्त हुन्छ भन्ने मनोविज्ञान व्याप्त छ ।

यसै साता दाङको भालुवाङमा लाखौँ मोल पर्ने जग्गा हजारमा दिनुपर्छ भन्दै दिलमाया पुनलाई स्थानीय रेखा गुप्ता र अनिता गुप्ताले दिउँसै सार्वजनिक सडकमा अर्धनग्न बनाएर कुटपिट गरे । कसैलाई दिउँसो सार्वजनिक स्थलमा त्यसरी कुटपिट गर्दा पनि छुट्याउनुको सट्टा मानिस रमिता हेरिरहेको देखिन्छ

। यस घटनामा पनि कुटिने दिलमाया गाउँकी बासिन्दा भएको र उनको वर्ग धरातल र सामाजिक सम्बन्धभन्दा कुट्ने गुप्ता महिलाको आर्थिक तथा सामाजिक हैसियत माथि रहेको स्वतः अनुमान गर्न सकिन्छ ।

यो किन पनि भने घटनाका प्रत्यक्षदर्शीका रूपमा साक्षी बस्ने भालुवाङ नगर विकास समितिका अध्यक्ष ओमप्रकाश बुढाथोकीलाई समेत प्रत्यक्ष–अप्रत्यक्ष धम्की दिन सक्ने हैसियतका गुप्ताहरू दिलमायालाई कुट्नुअघि पूर्ण रूपमा सचेत थिए, योजनाबद्ध रूपमा आएका थिए र कुटेपछि आउन सक्ने सम्भावित कारबाहीको जोखिमलाई तर्काउन सकिने विश्वासमा थिए भन्ने अनुमान लगाउन गाह्रो छैन ।

यसको अर्थ हो, यस घटनामा पनि वर्ग र सामाजिक सम्बन्धहरूको भिन्नताले काम गरेको छ । समाजमा निर्धालाई दमन गरे पनि आफूलाई कुनै जोखिम हुँदैन, बरु वरपर शासन गर्ने थप शक्ति प्राप्त हुन्छ भन्ने मनोविज्ञान व्याप्त छ ।

हामीले महिला, दलित र हेपिएकालाई उठ्न प्रेरित गरेका छौँ र कानुन तथा संविधानले सबैलाई समान हक स्थापित गरेको पनि छ । तर, व्यवहारमा अझै परम्परागत मूल्यहरूको नियन्त्रण छ । यस्तो अभिव्यक्ति वेलावेला राजनीतिक दलका मुख्य नेताले समेत दिने गर्छन् भने तल्लो तहमा शक्ति सम्बन्धमा परिवर्तन आउन निकै जटिल छ ।

यसमाथि हस्तक्षेप गर्नुपर्ने राजनीतिक नेतृत्व जब हुनेखाने र शक्तिशालीको पक्षमा लाग्छ अनि परिवर्तनका कानुनी व्यवस्था केवल कागजी बाघमा रूपान्तरित हुन पुग्छन् । जसले हस्तक्षेप गर्नुपर्ने हो, उसैमाथि पो हस्तक्षेप गर्नुपर्ने देखिन्छ ।

साभार :नयाँ पत्रिकाबाट


प्रकाशित | १२ असार २०७५, मंगलवार ०६:१३

One response to “यी वर्गभेदका प्रभाव”

  1. ganesh nepali says:

    मना सार्किलाई मार्ने कारण जातियता वर्ण नै पनि यस्ता घटना लाई बामपन्थीहरुले वर्ग संग जोडेर किन अनावश्यक प्रभावित गर्छन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *