दुर्गमका डाक्टरको स्वास्थ्य सपना

डा. रूपचन्द्र विश्वकर्मा दुर्गमका डाक्टरको रूपमा परिचित हुनुहुन्छ । सुदूरपश्चिम दुर्गम क्षेत्र र जिल्लामा कार्यरत डा. विश्वकर्माका स्वास्थ्य सपना विस्तारै साकार हुँदै गएको छ ।  दुर्गम जिल्लामा जन्मिनुभएका डा. विश्वकर्माले सपना देख्ने क्रममा ‘गाउँ–गाउँमा चिकित्सक’ कार्यक्रम चलाउनुभएको छ । सामाजिक न्यायका लागि दर्नाल अवार्डबाट डा विश्वकर्मा समान्तित हुनुहुँदै छ ।
सपना देख्ने डाक्टर रूपचन्द्र विश्वकर्माको जन्म २०४२ सालमा बाजुरा जिल्लाको कोल्टीमा भएको हो । उहाँको बुबा शिक्षक हुनुहुन्छ ्, शिक्षक अभिभावक भएकै कारण डाक्टर बन्ने सपना सफल पार्न उहाँ सक्षम हुनुभएको छ । पञ्चायत शासनमा दलित परिवारबाट शिक्षक कमै मात्र हुने गर्दथे र, कमैमात्र शिक्षकले आफ्ना छोराछोरीलाई डाक्टर बनाउन सक्ने अवस्था थियो ।
शिक्षक हुँदा उहाँका बुबालाई राजनीतिक हस्तक्षेपको बलमा निक्कै दुर्गम क्षेत्रमा सरुवा गरिएको थियो । शिक्षक भएता पनि दुर्गममा आफ्ना बुबाले बास नपाएको र आफ्नै विद्यार्थीले समेत कतिपय अवस्थामा विभेद गरेको नमिठो कथा सुन्दै हुर्किएका हनुहुन्छ रूपचन्द्र विश्वकर्मा । विभेद र अपमान ब्यहोर्ने क्रम शिक्षक पितामै अन्त्य भएन । आफूले समेत विभिन्न समयमा जातीय विभेद खप्न परेको रूपचन्द्र विश्वकर्माको अनुभव रह्यो ।
शिक्षक बुबाकै प्रेरणाका कारण उहाँमा सानैदेखि पढाइमा रुचि थियो । उहाँको शिक्षा धनगढीको सरकारी स्कुलमा भएको हो । उहाँले माध्यमिक देखि एमबिबिएस सम्मको पढाइ छात्रवृत्तिमै पूरा गर्नुभयो ।
ठाउँहरू बदलिए पनि मानिसका सोच र व्यवहार नबदलिने रहेछ । त्यसले मानिसले अँगालेको विभेदको जरो नमासिने पनि रहेछ । यही कुरा उहाँको स्कुले जीवनको भोगाइले बताउँदछ । उहाँ सम्झनुहुन्छ , सानो कक्षामा स्कुलमा हलुवा खान दिने चलन थियो । ‘अब स्कुलका विद्यार्थी त सबै एक हुन् नि, तर हामीलाई चाहि साथीहरूभन्दा अलग्गै राखेर माथिबाट हलुवा हालिदिइन्थ्यो’, उहाँ विभेदको घटना सम्झनुहुन्छ ।
खानेपानीको धारामा उहाँले पानी खाइसकेपछि धारो पखालेर छोइछिटो हाल्ने गर्दथे, उहाँकै साथीहरू । उच्च शिक्षाका लागि चितवन र काठमाडौँ बस्नुपर्दा पनि उहाँ विभेदको सिकार हुनुभयो । उहाँले आफूले भोगेको विभेदलाई समेत आत्मविश्वासको ऊर्जामा परिणत गर्नुभयो ।
यही क्रममा पढाइ सकिनासाथ उहाँ कैलालीको मालाखेती अस्पतालको प्रमुख भएर जानुभयो । उहाँले अस्पतालको स्तर सुधार्न थुप्रै कार्य थाल्नुयभो । विगत डेढ वर्षदेखि उहाँ बाजुरा जिल्ला अस्पतालको र जिल्ला स्वास्थ्यको कार्यभार सम्हाल्दै आफू जन्मेको जिल्लामा झन्डै दुई वर्षदेखि सेवा गर्दै हुनुहुन्छ । आफ्नो समुदाय र आफ्नै ठाउँमा केही गर्छु भन्ने अठोटका साथ जिल्ला फर्कनु उहाँको सबल पक्ष हो ।
नेपालको मानव विकास सूचांककमा ७५औँ स्थानमा रहेको बाजुरामा शिक्षा र स्वास्थ्य क्षेत्रमा पहुँचको कमी छ । यहाँका मानिसको मनलाई बालविवाह, छाउपडी, जातीय छुवाछूतजस्ता कुरीतिले गाँजेका छन् । स्वास्थ्य समस्याका लागि धामी–झाँक्री देखाउने चलन छँदैछ । बालविवाहका कारण पनि मातृमृत्युदर उच्च छ । गाउँमा सरकार, स्वास्थ्य सेवा र डाक्टरको मुखै नदेख्नेहरूको कमी छैन । जिल्ला अस्पतालमा समेत विभिन्न सेवा नहुने र डाक्टरै नरहने समस्याका कारण बिरामी उपचारका लागि आउँदैनथे ।
रूपचन्द्र विश्वकर्माले बाजुरा अस्पतालको जिम्मेवारी सम्हालेपपछि अस्पतालको अनुहार फेरिन थालेको छ । उहाँ जिल्ला स्वास्थ कार्यालय प्रमुख भएर आएयता जिल्लाको स्वास्थ्य स्थितिमा पनि सुधारका लागि पहल भएको छ । अस्पतालको स्तर उन्नति गर्ने काम भइरहेको छ । दुर्गम क्षेत्रका मानिसलाई स्वास्थ्य सेवाबारे जानकारी गराउने र उनीहरूमाझ स्वास्थ्यको पहुँच बढाउन विभिन्न कार्ययोजना लागू गरिँदैछ ।
हरेक गाउँका जनतामा स्वास्थ्य अधिकारको प्रत्याभूति दिलाउन र स्वास्थ्य अवस्था बदल्न उहाँ दिनरात मिहेनत गर्दै हुनुहुन्छ । उहाँले आफ्नै पहलमा ‘गाउँ–गाउँमा चिकित्सक’ कार्यक्रम थाल्नुभएको छ । यस कार्यक्रमको उद्देश्य हो ः दुर्गमका जनतामाझ चिकित्सक र स्वास्थ्य सेवा पु¥याउनु ।
‘गाउँ–गाउँमा चिकित्सक’ कार्यक्रम दुर्गमका स्वास्थ्य केन्द्र र त्यसले ओगट्ने जनता केन्द्रित छ । यसमा एकीकृत स्वास्थ सेवा प्रदान गरिन्छ । र, एक्सरे मेसिन, सोनोग्राफी मेसिन, ल्याब सेवा, परिवार नियोजन सेवा, नर्सिङ कर्मचारी लगेर स्वास्थ्यचौकीमा सेवा दिइन्छ । तोकिएको दिन उपचारका लागि महिला स्वयमसेविका मार्फत् घरघरमा सूचना दिइन्छ, रेडियोबाट खबर फुकिन्छ । यसरी दुर्गमका जनतासामु स्वास्थ्य सेवा पु¥याइन्छ । विशेषगरी अपांगता भएका व्यक्ति र वृद्धवृद्धाका लागि स्वास्थ्य केन्द्रसम्म ल्याउने व्यवस्था गरिन्छ ।
रूपचन्द्र विश्वकर्मा अन्य सुपरिवेक्षण लागि गाउँ जाँदा पनि औषधि र उपकरण लगेर सेवा दिने गर्नुहुन्छ । यसै क्रममा उहाँ एउटा गाउँको स्वास्थ केन्द्रको मातहतको क्षेत्रमा महिनामा दुई चोटिसम्म सेवा दिने गर्नुहुन्छ । उहाँको मुख्य उद्देश्य हो ः स्वास्थ्यचौकीमा सेवा लिन आउँदा डाक्टरको सेवा दिलाउनु । डाक्टर नहुँदा ससानो रोगको पहिचान पनि नहुने र त्यसले ठूलो रूप लिने अवस्था आउँछ । त्यस्ता रोग पत्ता लगाउने र समयमै उपचार दिलाउनु ‘गाउँ–गाउँमा चिकित्सक’को उद्देश्य रहेको उहाँको भनाइ छ ।
गाउँमा डाक्टर नै सेवा दिन आउने खबर सुनेपछि बिरामी र सेवा लिन आउनेको चाप पनि बढी हुने उहाँ बताउँनुहुन्छ । धेरै जनतालाई ल्याब सेवाबाट रोग पत्ता लगाउन मद्दत गरेको उहाँको अनुभव छ । यसै क्रममा एकै ठाउँमा १–२ सय जनाले समेत ल्याब आदिको सेवा लिने गर्छन् । यस्तो सेवाका लागि उहाँ र उहाँको टिम लगभग जिल्लाका सबै ठाउँमा पुगेका छन् । ८–९ दिन हिँड्नुपर्ने अति दुर्गम ठाउँमा पनि छिटै समयमै पुग्ने उहाँको उद्देश्य रहेको छ । यस कार्यक्रम लागू गर्ने क्रममा गाउँका स्वास्थ केन्द्रमा उपचार हुन नसकेकालाई जिल्ला अस्पतालमा निःशुल्क उपचारको व्यवस्था पनि गरिएको छ । गाडी पुग्ने नसक्ने ठाउँमा हिँडेरै पनि सेवा दिन गएको पनि उहाँको अनुभव छ ।
रूपचन्द्र विश्वकर्माले आफूलाई एक चिकित्सक र चिकित्साका प्रशासकको भूमिकामा मात्रै सीमित गर्नुभएको छैन । उहाँ यस क्षेत्रमा स्वास्थ्य संस्थाको सुधार र संस्थागत विकासका लागि पनि क्रियाशील हुनुहुन्छ । उहाँको मत छ, दुर्गमका जनताको स्वास्थ्यको चासो सरकार र अन्य सरोकारवाला निकायले पनि लिनुपर्छ । यही कुराको बोध गराउन उहाँले स्वास्थ्य क्षेत्रका माथिल्लो निकायसम्म समन्वयका लागि कसरत गर्दै आउनुभएको छ । यसका लागि उहाँ जिल्ला र गाउँ स्तरमा स्थानीय सरोकारवालासँग पनि हातेमालो गर्दै अघि बढिरहनु भएको छ । यसरी उहाँ सरकार र जनताको स्वास्थ्यबीच पुलको काम पनि गर्दै हुनुहुन्छ ।
दुर्गम जिल्लाका विभिन्न भेगमा सामान्य स्वाथ्य सेवाबाट वन्चित छन् । सानो र निको हुने रोग पनि पत्ता लगाउन नसकेका कारण ज्यानै जानेगरी पीडित हुनुपरेको अवस्था छ । यस्तो दुरावस्था बुझनुभएका रूपचन्द्रले दुर्गम ठाउँमा स्वास्थ्यको पहुँच, स्वास्थ्य सेवाबाट कोही पनि वन्चित हुन नपरोस् भन्ने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आउनु भएको छ । उहाँले सबै स्रोत–साधनलाई उपयोग गर्दै स्वास्थ्य अधिकारको प्रत्याभूतिका लागि निरन्तर काम गरिरहनु भएको छ । यतिमात्र नभई सुरक्षित मातृत्व, खोप सेवा आदिका लागि सरकारले लागू गरेको कार्यक्रम पनि उहाँ चुस्त–दुरुस्त रूपमा कार्वान्वयन गर्ने गर्नुहुन्छ । दुर्गममा रहेका सीमान्तकृत समुदायबीच स्वास्थ्यसम्बन्धी सूचना र सेवा प्रवाहका लागि विभिन्न रेडियो र संचारसँग मिलेर उहाँले स्वास्थ्यसम्बन्धी जानकारी पनि दिने गर्नुहुन्छ । स्वास्थ्य अधिकारका लागि सूचना प्रवाह गर्नु उहाँको महत्वपूर्ण प्रयास हो ।
विकट पहाडी क्षेत्रमा भौतिक र अन्य सुविधाको कमी हुनु अनौठो होइन । त्यसैले सरकारी कर्मचारीमा विकट जिल्लामा सरुवा सजायजस्तै ठान्ने प्रवृत्ति छ तर डा. विश्वकर्माले भने आफू जन्मेको जिल्लामै गएर हाँसीखुसीका साथ जनतामा स्वास्थ्यसेवा दिँदै हुनुहुन्छ । आफ्नो पढाइलाई समेत थाँती राखेर उहाँ स्वास्थ्य सेवा र अधिकारका लागि निरन्तर खटिरहनु भएको छ ।


प्रकाशित | ३० श्रावण २०७५, बुधबार ००:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')