सामाजिक अगुवाबाट राजनीतिक नेतृत्वसम्म

जाडो मौसमको चिसो बिहानीमा कलावती भाँड डडेल्धुरा बजारमा जानुभएको थियो । त्यति बेला उहाँ कक्षा दुईमा पढ्दै हुनुहुन्थ्यो । काठमाडौँबाट जाडो विदामा घर जाुनभएको थियो । उहाँले त्यहीँ एउटा पसलमा सामान किन्नुभयो र पसलेको हातैबाट सामान लिनुभयो । अचम्म, पसलेको हातबाट सामान लिनु उहाँको ‘अपराध’ ठहरियो । त्यही ‘अपराध’को बदलामा कहिले पनि नबिर्सने गरी अपमानको घाउ पाउनुप¥यो ।
कलावतीले छोएको आक्रोशमा पसलेले आफूले पिइरहेको तातो चिया उहाँको मुखमा छ्यापे । आफूलाई तातो चियाले किन छ्यापेको होला, उहाँ रणभुल्लमा पर्नुभयो । पोलेको अवस्थामा उहाँको मनमा पीडा र प्रश्न थियो । कुरा बुझ्न नसकेर पीडाबीच रणभुल्ल पर्नुभयो ।
कलावतीले पछि थाहा पाउनुभयो , उहाँले त गर्नै नहुने अपराध पो गर्नुभएको रहेछ । एक दलित महिला भएर कथित उच्च जातको हातबाटै सामान लिनु त ठूलो सामाजिक अपराध रहेछ !
तातो चियाले पोल्न थालेकाले उहाँले मद्दतका लागि यताउता हेर्नुभयो तर आफूलाई एक्लै पाउनुभयो । आफूलाई निरीह र निसहाय देख्नुभयो । अपमानको घाउ बोकेर उहाँ त्यहाँबाट आफ्नो गाउँतर्फ लाग्नुभयो । जातको सत्तासामु भनेजति तिरिएको पैसाको मोल पनि उही नहुने रहेछ । तातो चियाले पोलेको डाम र अपमानले पोलेको मानसिक घाउ कहिले निको नहुने गरेर उहाँभित्र गढिरह्यो ।
‘यो घाउ म कहिले बिर्सिने छैन’, उहाँ भन्नुहुन्छ । आत्मसम्मानमा अपमानले लगाएको ठेस र त्यसको चोट आज पनि उहाँका आँखामा ज्वाला बनेर दन्किरहेका छन् । त्यही अपमानलाई ऊर्जा बनाउनुभएको छ , जसले उहाँलाई अगाडि बढ्ने हौसला दिइरहेको छ ।
कलावती आफ्नो आमाबुबाकी चौथो छोरीका रूपमा जन्मिनुभएको हो । त्यो पनि त्यतिबेला, जतिबेला उहाँका आमाबाबुले छोराको चाहना गरिरहेका थिए । पितृसत्ता चल्ने समाज र परिवारमा छोरी भएकै कारण पनि उहाँ सानैदेखि विभेदमा परिरहनुभयो ।
हिन्दू वर्णव्यवस्थाअनुसार सामाजिक हिसाबले पिँधमा पारिएको समुदाय हो दलित समुदाय । त्यही दलित समुदायभित्र पनि सीमान्तमा परेको वादी समुदायकी सदस्य भएको कारण झन् विभेदमा पर्नुभयो उहाँ ।
उहाँका आमाबाबु माटोको भाँडा बनाउने, अरुको घरमा हरुवाचरुवा र हलियाका रूपमा पनि काम गरेर जीविकोपार्जन चलाउँथे । रकममा कारोबार नहुने र बालीमा आश्रित हुनुपर्ने अवस्थाका कारण उहाँको परिवारले विभेदसँगै चरम गरिबीको मारमा गुज्रनुप¥यो ।
यसैबीच एक संस्थाको सहयोगमा उहाँले काठमाडौँ आएर पढ्ने मौका पाउनुभयो । संस्थाको होस्टेलमा बसेर पढ्न पनि त्यति सजिलो थिएन । तर उहाँमा असीमित साहस थियो र थियो केही गर्छु भन्ने भाव । त्यही कारण उहाँले यहीँ बसेर एसएलसी परीक्षा उत्तीर्ण गर्नुभयो ।
यसपछि उहाँलाई काठमाडौँ बस्न झनै गाह्रो भयो । उहाँले गाउँ फर्कने निर्णय गर्नुभयो तर त्यहाँ पनि उहाँले सोचेजस्तो सहज भएन । २०५७ सालमा सहश्रलिङ्ग उच्च मा.वि.मा उच्च शिक्षाका लागि भर्ना भएसँगै उहाँले विद्यार्थी राजनीति गर्न थाल्नुभयो । आफ्नो राम्रो पढाइ हुँदाहुँदै पनि कमजोर आर्थिक अवस्थाका कारण उहाँले पढाइ जारी राख्न सक्नु भएन ।
२०५८ सालमा उहाँ गाउँमा समुदायका महिलाका लागि प्रौढ शिक्षाको अभियानमा लाग्नुभयो । शैक्षिक अभियानले उहाँलाई सामाजिक न्यायको क्षेत्रमा तान्यो । उहाँले सुस्तरी सामाजिक न्यायको क्षेत्रमा पाइला चाल्नुभयो । उहाँ अनौपचारिक शिक्षामार्फत स्थानीय दलित समुदायलाई साक्षर बनाउने अभियानमा लाग्नुभयो ।
त्यस बेला माओवादी जनयुद्ध चरम विन्दुमा पुगेको थियो । उहाँलाई गाउँमा बस्न पनि अप्ठेरो हुन थाल्यो । उहाँले घरदेखि काठमाडौँ, काठमाडौँदेखि घर गर्नुप¥यो । यसैबीच उहाँले सिटिइभिटीबाट छपाइसम्बन्धी तालिम लिएर काम गर्न थाल्नुभयो । तर आफ्नो समुदायका लागि केही गर्नुपर्छ भन्ने हुटहुटीले उहाँलाई छोडेन ।
२० वर्षको उमेरमै कलावती वादीले २०६२ सालदेखि २०६५ सालसम्म कैलाली, कंचनपुर, दाङ, डडेल्धुरा र बर्दियामा ‘सामुदायिक सेवा समिति’को नेतृत्व गर्नुभयो र संघर्षका लागि वादी समुदायको अगुवाइ गर्नुभयो । उहाँले उपाध्यक्षका रूपमा राष्ट्रिय वादी महिला अधिकार संघर्ष समिति दाङको समेत नेतृत्व गर्नुभयो ।
डडेल्धुरामा जन्मिएर अन्य जिल्लामा नेतृत्व गर्नु सामान्य थिएन् । परम्परागत रूपमा मनोरन्जन पेसामा लागेका वादी समुदायकी सदस्य हुँदाका अनेक बाधा थिए । त्यसमा पनि ‘देह व्यापार गर्ने समुदायका सदस्य’ भनेर लान्छना लगाइएका वादी महिलाको छविलाई चिर्न कहाँ सहज थियो र ! यस्ता सबै बाधा–व्यवधान पार गर्दै कम उमेरमै नेतृत्वदायी भूमिका सम्हाल्नु कलावतीका लागि मात्रै होइन, जोकोहीका लागि पनि कम चुनौतीपूर्ण थिएन ।
कलावती २०६४ सालमा भएको ४८ दिने वादी आन्दोलनमा सुरुदेखि अन्त्यसम्म नेतृत्वदायी भूमिकामा हुनुहुन्थ्यो । सुदूर पश्चिममा वादी आन्दोलनका कार्यक्रम तय गर्नेदेखि आन्दोलनलाई गति दिनेसम्मको भूमिकामा समेत आफूलाई खरो रूपमा उतार्नुभएको थियो उहाँले । काठमाडौँमा भएको निर्णायक आन्दोलनमा समेत उहाँले उमादेवी वादी र सुन्दरी वादीलगायतका हस्तीहरूसँग सहकार्य र नेतृत्व गर्नुभएको थियो । यो वादी पुरुषको अगुवाइमा होइन, भुइँतहका महिलाहरूको नेतृत्वमा भएको आन्दोलन हो । यसको नेतृत्वपंक्तिमा रहनुभएकी कलावतीक निरन्तर संघर्ष र समुदायप्रतिको लगावको
एक नाम हो । अवसर भएमा सामाजिक रूपमा पिँधमा पारिएका मानिस अगाडि आउन सक्छन् भन्ने तथ्यको एक उदाहरण हुनुहुन्छ उहाँ ।
उहाँले वादी समुदायमा डरलाग्दो रूपमा देखिएको एचआइभी एड्सको समस्या समाधान गर्न र उनीहरूका स्वास्थ अधिकार स्थापित गर्न सुदूर र मध्यपश्चिममा सहजकर्ताको भूमिका खेल्नुभयो । वादी तथा अन्य महिलालाई हरेक हिसाबले संगठित र शिक्षित बनाउने सवालमा उहाँले कुनै पनि कार्य गर्न बाँकी राख्नुभएन ।
२०६८ सालदेखि भने उहाँले स्थानीय तहमै रहेर समुदायको विकासमा योगदान गर्न थाल्नुभयो । विस्तृत शान्ति सम्झौतापछि स्थानीय तहमा उहाँले दलित समुदायका अधिकार र आत्मसम्मानका लागि संचालन गरेका अभियानले उहाँलाई राजनीतिक रूपमा पनि स्थापित गरायो । २०७० सालको संविधानसभाको निर्वाचनमा उहाँ समानुपातिक प्रणालीतर्फ उम्मेदवारको सूचीमा पर्नुभयो ।
यसरी कलावतीको नेतृत्व क्षमता र गतिशीलता विस्तारै सुधारिँदै गएको देखिन्छ । उहाँको कार्यक्षेत्र विभिन्न जिल्लामा फैलिएको देखिन्छ, त्यो पनि सशक्त ढङ्गले । कुशल नेतृत्वदायी भूमिकाकै कारण उहाँले २०७४ सालको स्थानीय चुनावमा अजयमेरु गाउँपालिकाका उपाध्यक्षको रूपमा टिकट पाउनुभयो ।
सामाजिक विभेद र असमानता अन्त्य गर्ने अभियानको अगुवाइ गर्नुपर्ने राजनीति विकृतिबाट मुक्त छैन । यही विकृतिका कारण समाजका अगुवाहरूलाई पनि चुनाव जित्नु त्यति सहज थिएन, त्यो पनि वादी समुदायकी महिलाका लागि । निर्वाचनको क्रममा राजनीतिक विकृतिमा सामाजिक विभेदका अनेक आयाम देखिएका थिए । दलित, त्यसमा पनि वादी, त्यसमा पनि महिलालाई ‘नमस्कार’ गर्नुपर्छ भन्ने डरले भोट नदिने कुरासम्म उठेको थियो । सामाजिक विभेद त्यतिमा मात्रै सीमित थिएन । चुनाव प्रचार–प्रसारमा जाँदा उहाँका गैरदलित सहयोगीलाई घरमा बास दिइन्थ्यो भने उम्मेदवारलाई चाहिँ गोठमा सुत्न लगाइन्थ्यो । अनेक विभेदका बाबजुद उहाँले कहिले हिम्मत हार्नुभएन र चुनाव जितेरै छाड्नुभयो । अहिले उहाँ अजमेरु गाउँपालिकाका उपाध्यक्षका रूपमा स्थानीय निकायमा नेतृत्वकारी भूमिका निर्वाह गर्दैहुनुहुन्छ ।
सामाजिक आन्दोलनको अगुवाबाट राजनीतिक संरचनाको नेतृत्वमा पुग्नुभएकी कलावतीको जीवन संघर्ष प्रेरणादायी छ ।


प्रकाशित | २९ श्रावण २०७५, मंगलवार ००:०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')