‘रानीपोखरी पुनःनिर्माण सेनालाई दिइने साँचो होइन’

–शर्मिला पाठक
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणका लागि नेपाली सेनालाई जिम्मा दिने विषय साँचो नभएको स्पष्ट पारेको छ ।
कामपा भौतिक पूर्वाधार पुनःनिर्माण विभागका प्रमुख राम थापाका अनुसार केही दिनअघि पुरातत्व विभागसँग भएको बैठकमा निर्माणका क्रममा सेनाको पनि सहयोग लिने कि भन्ने विषयमा मात्र छलफल भएको हो । बाहिर आएको हल्लाजस्तो पुनःनिर्माण स्थानीय तहले गर्न नसकेर पूर्ण रुपमा सेनालाई दिने विषयमा कुरा पनि नभएको थापाले स्पष्ट पार्नुभयो । बैठकमा कामपा प्रमुख विद्यासुन्दर शाक्य पनि उपस्थित हुनहुुन्थ्यो ।
“ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि न त कामपाले सेनालाई जिम्मा दिन खोजेको छ, न सेनाले नै निर्माण गर्न इच्छा देखाएको छ, त्यसैले यो कुरा साँचो होइन । आगामी हप्तासम्म निर्माणबारे निर्णय बाहिर आइसक्छ र निरन्तर रुपमा काम अघि बढ्छ”, थापाले भन्नुभयो । विसं २०७२ को भूकम्पको कारण क्षति पुगेको रानीपोखरी गोरखा भूकम्प झण्डै तीन वर्ष बितिसक्दा पनि पुनःनिर्माणले गति लिन सकेको छैन । यसअघि पुनःनिर्माणका क्रममा प्रयोग भएको आधुनिक निर्माण सामग्री पनि हटाइसकिएको छ । भत्किएको नौ महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माणको शिलान्यास गर्नुभएको थियो । कामपाले म्युजिकल फाउण्टेनसहितको रमणीय पार्क बनाउने गरी उक्त पोखरीको माछा बालाजु बाइसधारा सारेको पनि दुई वर्ष बितिसक्यो ।

कामपाले व्यापारिक दृष्टिकोणले सोहीअनुरुप पोखरी क्षेत्रको पुनःनिर्माण शुरु गरे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि शुरु गरिएको निर्माण रोकिएको छ । सोसम्बन्धी विवाद समाधान गर्न गत पुस १३ गते गठन गरिएको विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने सुझाव दिएको थियो ।

प्रताप मल्लका छोरा चक्रवर्तीन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरी निर्माण गराइएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । पोखरीको निर्माण करीब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ (विसं १७२६) मा सम्पन्न भएको थियो र नेसं ७९० (विसं १७२७) मा शिलापत्र राखिएको थियो जसलाई नेपाल संवत् ८११ मा न्हुरपुखुर (न्हु पुखु) भनिएको छ जसको अर्थ नयाँ पोखरी भन्ने हुन्छ ।

मन्दिरका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर(वर्षमा एक दिन भाइटीका दिन मात्र खुल्ने, दिदीबहिनी नहुने दाजुभाइले दर्शन गर्ने)को स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रष्ट हुन्छ । पोखरीमा देशविदेशका १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले पोखरीका चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । ती मन्दिरमा उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश छन् ।


प्रकाशित | २५ श्रावण २०७५, शुक्रबार १८:२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')