दलित बस्तीका बाहुन सर

भानुभक्त आचार्य
धनगढी – ‘प्रदेश ७ को अस्थायी राजधानी धनगढीबाट करिब ५० किलोमिटर दक्षिण लागेपछि पुगिन्छ, गौरीगंगा नगरपालिका। यस नगरपालिकाको बढैपुर बजारबाट करिब पाँच किलोमिटर उत्तर पुगेपछि डिल्ली सरको घर कता पर्छरु भनेर सोधेमा जसले पनि बताइदिन्छन्’, डिल्लीराज जोशीका कान्छा छोरा पुष्पराज जोशीले हामीलाई भने। हामी उनले दिएको नक्सा पछ्याउँदै हिँड्यौ। पूर्व–पश्चिम महेन्द्र राजमार्ग हुँदै केही ग्रामीण सडक काटेर पुग्यौँ, डिल्लीराज जोशीको घर। सेतो रङले पोतिएको एक तले पक्की घर। घर पछाडिको करेसाबारीमा जोशी मकै गोड्दै थिए। सेतै कपाल र अनुहारमा देखिएको बुढ्यौलीपनका रेशाहरू हेर्दा उनले छ दशक उमेर पार गरिसकेका छन् भनेर अनुमान लगाउन कठिन भएन तर जोश जाँगर भने वयष्कभन्दा कम थिएन उनको। केही बेर मकै गोडिसकेपछि उनी जुरुक्क उठे। गोठमा बाँधिएको गाई कराउँदै थियो। गाईका लागि घाँसको जोहो गर्न लागे। ‘जोशी सर, जानुहुन्छ त दुर्गममारु’, विद्यालय प्रशासनले उनलाई सोध्यो। उनले ढिला जगरी राजी भएको बताए। त्यसपछि सुरु गरे जोशीले पंचको विद्यालयमा शिक्षाको ज्योति छर्न। ‘सरहरू को पर्नुभयो, ठम्याउन सकिन नि१’, मुस्कुराउँदै जोशीले जिज्ञासा राखे। ‘हामी पत्रकार, धनगढीबाट आएका’, मैले भने। ‘ए टाढाबाट आउनुभएको रै’छ, के कति काम थियो होला, बसौँ न’, जोशीले विनम्रता देखाए। हामी घर अगाडिको पिँढीमा थचक्क बस्यौँ। भित्रबाट एउटी महिला पानी लिएर आइन्। हामीले अनुमान लगायौँ, सायद बुहारी हुन्। पानी खाइसकेपछि हामी विषय प्रसंगमा लाग्यौँ। करिब चार दशक अध्यापनमा बिताएका एक शिक्षकको विगत र वर्तमानबारे थुप्रै उत्सुकता थियो हामीमा।
पंचको विद्यालयमा शिक्षाको ज्योति
२०४५ सालतिरको समय हुँदो हो। कैलाली जिल्लामै नगण्य मात्रामा विद्यालयहरू थिए। त्यो बेला कैलालीको तत्कालीन मसुरिया गाउँ विकास समितिमा स्थानीय आफैँ सक्रिय भएर सुनपालपंच माध्यमिक विद्यालय स्थापना गरे। पंचायतका बेला उनीहरूकै नामबाट विद्यालय राख्दा सहज होला भनेर गाउँलेहरूले जुक्ति लगाए। भगवानलाई सम्झेर सुनपाल राखे र पछाडि पंचालयललाई सम्बोधन गर्दै पंच थपे। विद्यालयको नाममा जेनतेनको संरचना त बन्यो तर गाउँका १० कटाएका पाउनै मुस्किल अब कसले पठाउने ?  त्यतिकैमा भर्खर बसाइन् सरेर ईन्द्रपुर पुगेका डिल्लीराज जोशीलाई सम्झिए, जसले मसुरियाको जनप्रिय निम्नमाध्यमिक विद्यालयमा पढाइरहेका थिए। गाउँलेहरूले जोड गरे, विद्यालयसँग आग्रह गरे, जोशीलाई सुनपालमा सारिदिन बिन्ती बिसाए। ‘जोशी सर, जानुहुन्छ त दुर्गममारु’, विद्यालय प्रशासनले उनलाई सोध्यो। उनले ढिला जगरी राजी भएको बताए। त्यसपछि सुरु गरे जोशीले पंचको विद्यालयमा शिक्षाको ज्योति छर्न।
अध्यापनमै बित्यो जुग
२००७ सालमा डोटीको बडिकेदार गाउँपालिकाको बराल गाउँमा जन्मिएका जोशी गाउँमा विद्यालय नभएपछि भारतको हरिद्वारमा गएर पढे। सानै उमेरमा अध्ययनका लागि भारत पुगेका जोशी २०२९ सालमा पढाइ सकेर गाउँ फर्किए। गाउँ फर्किएपछि धेरैले धेरैथरि सुझाव दिए। कसैले तराई झर्न भने, कसैले भारत नै फर्कन सुझाव दिए तर जोशीले टेरेनन्। उनले आफूलाई जस्तो समस्या अरूलाई नपरोस् भन्दै आफ्नै थातथलोमा शिक्षाको ज्योति छर्न लागे। ‘गाउँमा बस्नुको जस्तो मज्जा शहरमा कहाँ छ र१’, भन्छन् जोशी। आफ्नै गाउँलाई प्राणझैँ माया गर्ने आफ्ना बुबालाई सम्झेर कान्छा छोरा पुष्पले कविता कोरेका छन्। विद्यालय भनेर बनाइएको एउटा भवन थियो।, जसमा स्वयं जोशीले बाह्रखरी सिकेका थिए। डोटीको विष्णु प्राथमिक विद्यालय मान्नाकापडी गाविस बरालगाउँमा निःशुल्क अध्यापन गर्न लागे उनी। उनले सम्झिँदै भने, ‘म प्रधानाध्यापक थिएँ, ११० रुपैयाँ पाइन्थ्यो। अर्का सर पनि हुनुुहुन्थ्यो। घरको जोहो नटर्ने भन्दै विद्यालय छोड्ने बताएपछि मेरो ११० रुपैया पनि उहाँलाई नै दिन थालेँ। दुवै जनाले तीन वर्ष विद्यालय चलायौँ।’ कैलालीको दशरथ प्राथमिक विद्यालयमा उनले २०३२ सालदेखि २०४१ सालसम्म अध्यापन गरे। २०४१ सालदेखि मसुरियाको जनप्रिय निम्नमाध्यमिक विद्यालयमा पढाउन थाले। त्यसैबीच सुनपाल पंच माध्यमिक विद्यालय स्थापना भयो। २०४६ देखि २०६९ सालसम्म उनले गाउँमा शिक्षाको ज्योति छरिरहे।
गुरुका पनि गुरु डिल्ली सर
२०५५ सालको आसपास डिल्लीराज जोशीले गृहकार्य नगरेको भन्दै उठबस गराएको प्रसंग गणेश जोशीले सुनाए। अहिले गणेश जोशी पनि सुनपाल पंच माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा पढाउँछन्। जोशीले अक्षर चिनाएका थुप्रै विद्यार्थीहरू अहिले सोही विद्यालयमा अध्यापन गराइरहेका छन्। विद्यार्थीकाल सम्झँदै जोशीले भने, ‘सरले उठबस गराउनुहुन्थ्यो, डस्टर देखाएर तर्साउनुहुन्थ्यो।’ सोही विद्यालयमा हाल शिक्षक रहेका तपेन्द्र धामी, लालबहादुर चौधरी र गणेश ताडी पनि जोशीका विद्यार्थी हुन्। संविधानसभाका पूर्वसदस्य कृष्ण चौधरी ‘कुन्दन’ पनि जोशीले पढाएका विद्यार्थी हुन्। चौधरी हाल नयाँ शक्ति नेपालको प्रदेश सात संयोजक रहेका छन्। जोशी भन्छन्, ‘कहिलेकाहीँ चिल्लो कारमा हिँडिरहेकाहरूले रोकेर गुरु नमस्कार भन्छन्, म नतमस्तक हुन्छु।’
दलित बस्तीका बाहुन सर
कैलालीको गौरीगंगा नगरपालिका– ७ ईन्द्रपुरमा अधिकांश दलित समुदायहरूको बसोबास रहेको छ। विकासका दृष्टिकोणले पछाडि परेको गाउँ, त्यसमा पनि जातीय छुवाछुत व्याप्त भएको समय। ईन्द्रपुरमा स्थापना गरिएको सुनपाल पंच माध्यमिक विद्यालयमा अधिकांश दलित परिवारका बालबालिका अध्ययन गर्थे। जोशी दलित बालबालिको भविष्य भन्दै सुगम छाडेर यहाँ आए। उनको यो त्याग र आफ्नो समुदायप्रतिको लगावले सबैले डिल्लीराज जोशीलाई ‘बाहुन सर’को उपमा दिए। अहिले पनि उनलाई बाहुन सर भनेरै धेरैले चिन्छन्। ‘ख्यालख्यालैमा परिचय नै फेरियो’, खित्त हाँस्दै उनले भने। त्यो बेला दुई जना मात्रै शिक्षक रहेको उनले बताए। ‘एक जना नरबहादुर सुनार हुनुहुन्थ्यो, उहाँलाई सुनार सर भन्थे, मलाई बाहुन सर भन्न थाले। अहिले सबैले यसैगरी चिन्छन्’, उनले भने।
बिदाइमा भावविह्वल
२०६९ सालमा उनको एक भव्य समारोहका बीच बिदाइ गरिएको थियो। जोशीलाई सेवानिवृत्त भएपश्चात् विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थीहरूले बिदाइ गरेका हुन्। हरेक दिन पढाउँदै आएका शिक्षकलाई सेवानिवृत्त भएपश्चात् बिदाइ गर्दा विद्यार्थीहरू भावविह्वल भएका थिए। बिदाइ समारोहमा बोल्दै स्थानीय समाजसेवी लालबहादुर खड्काले शिक्षक जोशीलाई बिदाइ गरे पनि विद्यालयप्रतिको उनको लगानी बिर्सन नसकिने बताएका थिए। ‘शिक्षक जोशीबाट विद्यालयले मात्रै नभई समाजले पनि धेरै कुरा सिक्न सक्नुपर्छ’, उनले भनेका थिए। बिदाइ समारोहमा विद्यालयका प्रधानाध्यापक नरबहादुर सुनार पनि भावविह्वल भएका थिए। स्थानीय व्यक्ति, अभिभावक, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, शिक्षकको सहभागितामा उनलाई भव्य बिदाइ गरिएको थियो। शिक्षक जोशीको सम्मानमा दोसल्ला ओढाएर अवीरजात्रा गर्दै फूलमालासहित विद्यार्थीहरूले बिदाइ गरेका थिए। उनीहरूले सेवा निवृत्त शिक्षक जोशीलाई मादल र ताली बजाउँदै विद्यालयबाट आधा बाटोसम्म पुर्‍याएका थिए।
उहिले विद्यालय, अहिले खेतबारी
सुनपाल पंच माध्यमिक विद्यालयमा मात्रै अढाई दशक शिक्षण पेसामा रहेका डिल्लीराज जोशीको अहिले दैनिकी फेरिएको छ। एकाबिहानै पाठ्यपुस्तकमा घोत्लिने जोशी साँझ–बिहान खेतबारीमा भेटिन्छन्। उमेरले छ दशक नाघे पनि उनको ऊर्जा घटेको छैन, जोश जाँगर कम भएको छैन। खेतबारी र कान्लामा पसिना बगाइरहँदा आनन्द आउने गरेको उनी बताउँछन्। दैनिक विद्यालय जाने शिक्षक जोशी अवकाशपछिको जीवन व्यतीत गर्न गाह्रो परेको सुनाउँछन्। ‘सुरुसुरुमा त दिनभर घरमा बस्दाबस्दै दिक्क लाग्थ्यो’, उनले भने, ‘त्यसपछिका दिन कसरी काट्ने भनेर सोच्दासोच्दै खेतीपातीमा लागेँ।’ तरकारी खेती गर्नुका साथै घरायसी काम धन्दामा सहयोग गर्न थालेपछि दिन बितेको पत्तै नहुने गरेको उनी बताउँछन्। ‘अवकाशपछि धेरैले फुर्सदिलो समय त्यसै खेर फाल्छन् तर मैले हेर्नुहोस् त धान लगाएको छु, मकै छन्’, लटरम्म फलेका आँप देखाउँदै उनले भने, ‘यो आँप पनि मैले नै रोपेको, अहिले खाने भइक्यो।’
‘डिल्लीराज सरलाई शहर चित्तै बुझ्दैन’
प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा डिल्लीराज जोशीको घर छ। सबैले द्वन्द्वकालीन समयमा गाउँमा असुरक्षा बढ्न थाल्यो भनेपछि जोशीले धनगढी उपमहानगरपालिका– ४ उत्तरबेहेडीमा जग्गा किने र घर बनाए। तर उनी त्यो घरमा कहिल्यै बसेनन्। ‘मार्न चाहे भने त्यहीँ गएर पनि त मार्लान्’, उनी भन्थे, ‘आफ्नै ठाउँको सेवा गरेर यही माटोमा बाँचिरहने धोको छ।’ अहिले उनले बनाएको घरमा छोरा पुष्प बस्छन्। हामीसँगको भेटमा पुष्पले भने, ‘बुबा काम परेर धनगढी आउनुभयो भने पनि साँझ घरै फर्कनुहुन्छ।’ ‘गाउँमा बस्नुको जस्तो मज्जा शहरमा कहाँ छ र ! ’, भन्छन् जोशी। आफ्नै गाउँलाई प्राणझैँ माया गर्ने आफ्ना बुबालाई सम्झेर कान्छा छोरा पुष्पले कविता कोरेका छन्।
मेरा बाले रोजेको गाउँ
त्यो जवानीमा मेरा बा
दुर्गममा सर्नुभयो
अक्षरकै खेती गर्छु भनेर
विकट गाउँमै छिर्नुभयो
त्यतिबेला धेरैले भनेथे–
‘मान्छे सहर छिर्छन्, ऊ गाउँ पस्दै छ
छोराछोरीको भविष्य बिगार्दै छ’
तर बाले मान्नुभएन
बजारबाटै मट्कौना सर्नुभयो
गाउँमै झुप्रो बनाउनुभयो।
तर आज
समयले कोल्टे फेरेछ
त्यो शहरमा हाहाकार मच्चिँदा
बाले रोजेको गाउँमा अभाव छैन
आँगनका डिलभरि दाउराको थुप्रो छ
घर पछाडिको बारीमा तरकारी फलेकै छ
उहिले सामान किन्न शहर पस्थ्यौँ
अहिले दाउरा, तरकारी र चामल किन्न गाउँ पस्दै छन्।
बाले हिजै भन्नुभयो– ‘अब त मरे छाड्दिनँ गाउँ’
उमेरले साठी काट्दै गर्दा
रामे, काले र माइलाका हात समात्दै
तोते बोली बुझ्न र कखरा सिकाउन छाडेनन् बाले
सिलेटमा अक्षर कोर्दै भविष्य देखाएछन् र पो
त्यसैले होला
अस्ती अवकास पाउँदा गाउँ नै उल्टिएर रोयो
कलिला बालमस्तिष्क
‘बाहुन सर’को बिदाइमा
सुँकसुँकाए फूलमाला र अवीरले
बिदाइ गर्दै गर्दा
खादा ओढाउँदै धरधरी रोएछन् ससाना नानी
त्यसैले त बा भन्नुहुन्छ–
‘गाउँ छाड्दिनँ।’
शान्ति र आत्मसम्मानसँगै
निःस्वार्थ र भाइचारा छ रे गाउँमा
त्यसैले होला बा भन्नुहुन्छ– ‘जान्नँ शहर’ म भन्छु–
‘उपचारका लागि त जाऊँ’
तर मान्नुहुन्न बा शहरमा
औषधि सकिएका बेला हर्रो,
बर्रो र अमला नै काफी छ रे !
साभार : थाहा खबर डटकमबाट

प्रकाशित | १५ श्रावण २०७५, मंगलवार १९:२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')