उच्च शिक्षितहरूबीच समेत ‘आसय छुवाछूत’ बाँकी छ

 

जातिभेदबाट अझै पनि हाम्रो समाज मुक्त छैन। पण्डित, पुरोहित, पुराणका ज्ञाता र अज्ञानी सबैजना वेद र पुराणमा कतै जातिभेद नभएको तर्क दिन्छन्। तर, त्यहाँ यत्रतत्र जातिभेद र शूद्रलाई मान्छेको कोटीमा नराखिएका अनेक प्रसंग छन्। शूद्र भएर तपस्या गरेकै कारण रामायणमा सम्बुकको हत्या गरिन्छ। सूतपुत्र भएको आरोपमा महाभारतमा कर्णलाई बारम्बार अपमान र तिरस्कार गरिन्छ। रंगभूमिमा अर्जुनसँग प्रतिस्पर्धा गर्न र द्रौपदीको स्वयंवरका लागि राखिएको मत्स्यवेद प्रतियोगिताबाट उनलाई वञ्चित गरिन्छ। शूद्र भएकैले एकलव्यलाई धनुर्विद्या सिकाउन गुरु द्रोण अस्वीकार गर्छन्। हिन्दु धर्मग्रन्थमा जातिभेद छैन भन्ने चतुरहरू दलितलाई आज पनि दैलोबाट भित्र पाइला टेक्न दिँदैनन्। यस्तो नहुँदो हो त भारतका प्रसिद्ध दलित विद्वान् भीमराव अम्बेडकरले हिन्दु धर्म छाडेर आफ्ना १० हजार अनुयायीसहित बौद्ध धर्ममा प्रवेश गर्नैपर्ने थिएन। नेपाल र भारतका लाखौंलाख दलितहरू इसाई धर्मतिर आकर्षित हुनुपर्ने कुनै कारण थिएन। स्थिति आज पनि यस्तो छ। तर, ज्ञानमार्गका महान् गुरु बुद्धले झन्डै २६ सय वर्षअघि नै यस्ता मानवताविरोधी पर्खाललाई गर्लामगुर्लुम भत्काइदिएका थिए। जातिभेद, कर्मकाण्ड, ईश्वरवाद र अन्धविश्वासविरुद्ध नै उनी ज्ञानको खोजीमा हिँडेका थिए।

जन्मैले कोही अछूत हुँदैन

सम्बोधी प्राप्त गर्नुअघि उबेला गाउँ नजिकैको वनमा एक जना ‘अछूत’ बालक तपस्वी सिद्धार्थको साथी बनेका थिए। उनको नाम थियो, स्वास्ती। उनका बाबुआमा दुवै धेरैअघि बितिसकेका थिए। बाह्रवर्षे यी बालक साहुको भैंसी गोठाला भएर आफ्ना भाइबहिनीलाई पालिरहेका थिए।

उनले सिद्धार्थलाई ध्यान गर्ने आसन बनाउन कुसको घाँस दिएर सहयोग गरेका थिए। स्वास्तीसँग पहिलो भेट हुँदा सुजाता सिद्धार्थलाई खाना दिँदै थिइन्। सिद्धार्थले उनलाई बोलाए। ती दलित बालक उच्चजातीय ग्राम प्रमुखकी छोरी सुजातालाई देखेर अनकनाइरहेका थिए। सिद्धार्थले उनलाई आफूसँगै बस्न आग्रह गरे। सिद्धार्थसामु केराको पातमा भात र तैलचूर्णयुक्त नुन थियो।

‘स्वास्ती, तिमीले खाना खायौ रु ’ सिद्धार्थले सोधे।

‘छैन श्रीमन,’ स्वास्तीले भने।

‘ठीक छ, त्यसो भए हामी तीनै जनाले बाँडेर खाऊँ, हुन्छ ? ’

सिद्धार्थले एक भाग स्वास्तीलाई दिए। स्वास्तीले धन्यवाद भन्दै खाना लिन अस्वीकार गरे। एउटा पोका खोलेर स्वास्तीले भने, ‘मैले पनि अलिकति खाना ल्याएको छु श्रीमन।’

उनले केराको पातमा खाना राखे। खानामा खैरो रंगका मोटा मोटा भातका सिता थिए। विचरा उनको खानामा सित्तन थिएन। सिद्धार्थको भागमा भने नरम, सेतो चामलको चाम्री र स्वादिलो सित्तन थियो। सिद्धार्थ मुस्कुराए, ‘त्यसो भए सबै भोजन तीनै जनाले बाँडेर खाऊँ, हुन्न ? ’

सिद्धार्थले सबै खाना तीन भाग लगाए।

‘सुजाता, स्वास्ती तिमीहरूले ल्याएको खाना निकै मूल्यवान् छ। म खाँदा मौन हुन्छु ता कि यसको स्वाद पूर्ण रूपले आत्मसात् गर्न सकूँ। सुजाता, तिमीले स्वास्तीले ल्याएको खैरो रंगको मोटो चामलको भात कहिल्यै खाएकी छ्यौ रु यो चाख। खुबै स्वादिष्ट हुन्छ। अब हामी तीनैजना खाना खाउन्जेल पूरै मौन रहन्छौं।’

तीनै जनाले चुपचाप भोजन गरे। भोजनपछि सुजाताले प्यालामा गाग्रीबाट पानी खन्याइन् र सिद्धार्थलाई दिइन्। सिद्धार्थले स्वास्तीलाई दिए। स्वास्तीले अप्ठेरो मान्दै भने, ‘ श्रीमन, पहिले तपाईं पिउनुस्।’

‘स्वास्ती, म चाहन्छु, पहिला तिमी नै पिऊ’, उनले फेरि प्याला स्वास्तीलाई दिए।

स्वास्ती दुविधामा परे। उनले धन्यवाद भन्दै दुवै हातले प्याला उठाए र पानी पिए। त्यसपछि त्यसै प्यालामा सिद्धार्थले आनन्दपूर्वक पानी पिए अनि सुजातालाई दिए। सुजाताले पनि त्यसैगरी पिइन्। कुनै बेलाका राजकुमार सिद्धार्थले एक ‘अछूत’ को जुठो प्यालामा पानी पिएको देखेर सुजाता अचम्भित भएकी थिइन्। यसरी सिद्धार्थप्रति उनमा अनौठो आदरभाव उम्लिरहेको थियो।

‘सुजाता, स्वास्ती, तिमीहरूले मेरो आसय बुझ्यौ होला। साधनाका क्रममा मलाई के बोध भएको छ भने जन्मैले कोही अछूत हुँदैन। सबैको आँसुको रंग निर्मल हुन्छ। सबैको रगत रातै हुन्छ। त्यसो भएपछि के फरक भयो त रु त्यसैले मान्छेलाई जातिका आधारमा उचनिचको भेदभाव गर्नु अमानवीय कुरा हो, बुझ्यौ ? ’

सुजाताले भनिन्, ‘मलाई तपाईंका कुरामा पूरै विश्वास छ। तर, तपाईंबाहेक यस्तो भन्ने कोही छैनन्। शुद्र र अछूत ब्रह्माको खुट्टाबाट जन्मेका हुन् भन्नेमा सबैजना विश्वास गर्छन्। वेद–शास्त्रले पनि यही भनेका छन्। कोही पनि यसभन्दा भिन्न तरिकाले सोच्ने साहसै गर्दैनन्। किन होला गुरु रु ’

‘हो, मलाई थाहा छ। तर, कसैले विश्वास गरे पनि नगरे पनि सत्य त सत्य नै हो। करोडौं मान्छेले विश्वास गरे पनि झुट त झुट नै हुन्छ। सत्यको बाटोमा हिँडेर जीवन निर्वाह गर्न ठूलै साहस चाहिन्छ, सुजाता ! ’

सम्बोधी प्राप्तिपछि

यसको केही दिनपछि नै सिद्धार्थलाई ज्ञान प्राप्त भयो। त्यसको भोलिपल्ट गाउँका बालबालिका र किशोरकिशोरीलाई पहिलोपल्ट उनले आफूलाई प्राप्त ज्ञानबारे बताए। उनले तिनलाई हरेक क्षण सचेत अवस्थामा रहनुपर्ने अर्थात् जागृत भएर जिउनुपर्ने शिक्षा दिए। त्यही भेटमा सुजाताले उनलाई ‘बुद्ध’ नाम दिइन्। उनले सहर्ष स्वीकार गरे।

‘सचेत अवस्थामा जिउनुको अर्थ हो, त्यस क्षण विशेषमा बाँच्नु। यसो हुन सक्यो भने व्यक्ति आफूलाई र आफ्नो परिवेशमा भइरहेको घटनाबारे जानकार हुन्छ। यही अवस्थामा रहिरहन सकियो भने ऊ आफू र आफ्नो वरिपरिको परिवेशलाई गहिराइमा पुगेर बुझ्न सक्षम हुन्छ। यस ज्ञानले सहनशीलता र प्रेमको उदय हुन्छ। जब सबै प्राणी एकले अर्कोलाई ठीकसँग चिन्न थाल्छन्, त्यसपछि उनीहरू एकअर्कालाई स्वीकार्न र प्रेम गर्न थाल्छन्। त्यस अवस्थामा संसारमा त्यति धेरै कष्ट बाँकी रहँदैन। तिम्रो विचार के छ स्वास्ती रु मान्छेको हृदयमा परस्पर ज्ञान नभए के ती आपसमा प्रेम गर्न सक्षम होलान् ? ’

सिद्धार्थको संगतले यी ‘अछूत’ बालक ज्ञानी भइसकेका थिए। उनले भने, ‘आदरणीय गुरुदेव, ज्ञानबिना प्रेमको उदय असम्भव छ। एकपल्ट मेरी सानी बहिनी भीमा रातभरि रोइरही। ठूली बहिनी बालाले धैर्य गुमाएर उसलाई थप्पड दिई। भीमा झन् बेस्सरी रुन थाली। मैले भीमालाई काखमा लिएँ। उसलाई हलुका ज्वरो थियो। ज्वरो भएपछि पक्कै उसलाई टाउको दुखिरहेको थियो। मैले बालालाई भीमाको टाउकोमा हात राख भनेँ। त्यसपछि बालालाई पनि भीमा रुनुको कारण थाहा भयो। उसको आँखामा करुणा भरियो। उसले भीमालाई काखमा लिएर लोरी सुनाउन थाली। भीमा चुप लागी, जब कि त्यसबेला पनि उसलाई ज्वरो थियो। आदरणीय गुरुदेव, यो यसकारण सम्भव भयो कि बालालाई भीमाको दुःखाइबारे ज्ञान भयो। तसर्थ मलाई लाग्छ, ज्ञानबिना प्रेम सम्भवै छैन।’

उच्च शिक्षितहरूबीच समेत ‘आसय छुवाछूत’ बाँकी छ। २६ सय वर्ष अगाडिका बुद्धबाट तिनले कहिले सिक्लान् ?

‘तिमीले ठीक भन्यौ स्वास्ती’, बुद्धले भने, ‘परस्पर समझदारीबाटै प्रेम सम्भव हुन्छ।’

यिनै ‘अछूत’ बालकलाई पछि बुद्धले भिक्षु संघमा प्रवेश गराए।

धर्मचक्र प्रवर्तन

त्यसपछि बुद्धले असार पूर्णिमाका दिन सारनाथमा आफ्ना पूर्वतपस्वी मित्र कौडण्य, महानाम, भद्दीय, बप्प र अस्सजीलाई आफूलाई प्राप्त ज्ञानबारे प्रवचन दिए। बौद्ध साहित्यमा त्यसलाई धर्मचक्र प्रवर्तन भनिन्छ।

‘मित्रहरू, ज्ञानमार्गका अनुयायी सबै जना अतिवादबाट बच्नु जरुरी छ। विषय वासना (भोग विलास) मा चुर्लुम्म डुब्नु एउटा अति हो। शरीरलाई कष्ट दिनु वा आधारभूत आवश्यकताबाट वञ्चित राख्नु अर्को अति। अतिबाट विफलतामात्र मिल्छ। मलाई प्राप्त ज्ञानमा अतिको कुनै स्थान छैन। मेरो तरिका मध्यमार्ग हो। यसले नै मान्छेलाई ज्ञान, मुक्ति र शान्तिको मार्गतिर अग्रसर गराउँछ। मान्छे दुःखी छ, दुःखको कारण छ, दुःखबाट मुक्ति पाउन सकिन्छ र मुक्ति पाउने उपाय पनि छ। यी हाम्रो जीवनका चार आर्य सत्य हुन्।’

बुद्धका अनुसार पहिलो आर्य सत्य जन्म, जरा, रोग, मृत्यु, शोक, क्रोध, द्वेष, चिन्ता, उद्वेग, भय र निराशा सबै दुःख हुन्। मानिसका जीवनमा यी सबैको उपस्थिति छ। प्रियजनसँगको वियोग र अप्रियजनसँगको मिलन पनि दुःख हो। दोस्रो आर्य सत्य, दुःखको मूल अज्ञान हो। तेस्रो आर्य सत्य, जीवनको सच्चा ज्ञान प्राप्तिपछि दुःख र शोकको निदान हुन्छ। चौथो आर्य सत्य हो, दुःख निदानको उपाय। यो अष्टांग मार्गबाट प्राप्त गर्न सकिन्छ। बुद्धको अष्टांग मार्ग सही (सम्यक्) ज्ञान, सही विचार, सही वाणी, सही कर्म, सही जीवनयापन, सही प्रयास, सही चेतना र सही एकाग्रता हुन्।

उनले भने, ‘मित्रहरू, ज्ञान दुःखसँग सोझै सामना गर्ने मार्ग हो। खासमा यो सचेत अवस्थामा अर्थात् हरेक क्षण जागृत भएर बाँच्ने तरिका हो। सचेत अवस्थाको अभ्यासले एकाग्रता प्राप्त हुन्छ। अनि एकाग्रतामै ज्ञान प्राप्त गर्न सकिन्छ। सही एकाग्रताले सही चेतना, सही विचार, सही वाणी, सही कर्म, सही जीवनयापन र सही कर्म प्राप्त गर्न सकिन्छ। यसरी प्राप्त ज्ञानले दुःखका हरेक बन्धनबाट मुक्ति मिल्छ। अनि सही शान्ति र आनन्द प्राप्त गर्न सकिन्छ।’

‘अछूत’ को प्रतिभा

बुद्धको ज्ञान अन्याय, अत्याचार, अन्धकार, जातिभेद, अशान्तिलगायत सारा अज्ञानबाट मुक्तिका लागि थियो। त्यसलाई उनी आफैंले लागू गरेर पनि देखाए। वर्षा प्रवासपछि एक दिन बुद्ध र उनका भिक्षुहरू गंगा किनारको एक गाउँमा भिक्षाटन गरिरहेका थिए। बुद्धले मलमूत्रको बाल्टिन बोकेर हिँडिरहेका एक युवकलाई देखे। तिनको नाम थियो सुनित। उनको कपडा मैला थिए र मलमूत्रको गन्ध सहिनसक्नु थियो। उच्च वर्ग र जातका बुद्ध अनि उनका भिक्षुहरू आफ्नो स्पर्शबाट अपवित्र नहोऊन् भनेर ती दलित युवक बाटोबाट पन्छिएर गंगाको किनार हुँदै अगाडि बढे। बुद्धले उनलाई पछ्याए। सारिपुत्त र मेघीय नामका भिक्षु पनि बुद्धको पछि लागे। युवक डराए। उनी बाल्टिन एकातिर राखेर नदीमा लुक्न गए। तर, पानी घुँडासम्म मात्र आयो। अन्ततः हात जोडेर उनी त्यहीँ उभिए। बुद्धले भने, ‘मित्र नडराऊ, यहाँ आऊँ, म तिमीसँग कुरा गर्न चाहन्छु।’

हात जोड्दै सुनितले भने, ‘म अछूत हुँ, तपाईं र तपाईंका भिक्षुलाई अपवित्र पार्न चाहन्नँ।’

बुद्धले भने, ‘सुनित, तिमी हामीजस्तै मान्छे हौ। लोभ, घृणा र हिंसाले मान्छेलाई अपवित्र बनाउँछ। तिमी भिक्षु बन, सम्बोधीको मार्गमा कोही पनि उँचो र निचा अनि छूत र अछूत हुँदैन।’

बुद्धको कुराले द्रवित हुँदै उनले भने, ‘आजसम्म कसैले पनि मसँग यति आत्मीय भएर बोलेको थिएन। आजको दिन मेरा लागि सर्वाधिक प्रसन्नताको दिन हो। तपाईं मलाई शिष्य बनाउनुहुन्छ भने म अवश्य आफ्नो सम्पूर्ण चेतनासाथ तपार्ईंको शिक्षाअनुरूप अगाडि बढ्छु।’

त्यसपछि बुद्ध स्वयं र उनका भिक्षुले सफा हुनेगरी सुनितलाई नुहाइदिए। अनि नदीकिनारमै प्रव्रज्या दिए।

यस खबरले उच्च वर्ग र जातबीच ठूलो खलबली मच्चियो। कोशलको इतिहासमा यतिन्जेल कसैले शूद्रलाई धार्मिक समुदायमा प्रवेश दिएको थिएन। यस पवित्र परम्परालाई उल्लंघन गरेको भन्दै मानिसहरू बुद्धलाई निन्दा गर्न थाले। बुद्ध कति पनि विचलित भएनन्। भिक्षुहरूसँग उनले भने, ‘सुनितलाई प्रव्रज्या दिँदा आज हामीले कठिनाइ झेल्नुपरेको छ, यो साँचो हो। तर, यो यस्तो अपूर्व घटना हो, जसका लागि आगामी पिँढीले हामीलाई धन्यवाद दिनेछ। हामीले धैर्य र साहस गुमाउनु हुँदैन।’

बुद्धको निन्दा चुलिँदै गएपछि एक दिन राजा प्रसेनजित स्वयं बुद्धलाई भेट्न आइपुगे। उनी आउँदा कुटी बाहिर भिक्षुको सानो दललाई अर्का भिक्षु आकर्षक शैलीमा विद्वत् प्रवचन दिइरहेका थिए। राजाले उनको बारे सोध्दा बुद्धले भने, ‘तिनको नाम सुनित हो, कुनै दिन उनी अछूत मानिन्थे र मानिसहरूको मलमूत्र बोक्ने काम गर्थे। तपाईंलाई उनको प्रवचन कस्तो लाग्यो ? ’

बुद्ध शिक्षाको प्रभावकारिता देखेर राजा अचम्भित भए। त्यसपछि यो विवाद त्यतिकै सामसुम भयो।

अन्त्यमा

भिक्षु संघमा पछि स्वास्ती, सुनितमात्र होइन, अर्का दलित युवक उपालि पनि उच्च सम्मानित पदमा पुगे। विगतमा दलित भएकामा तिनको सम्मान र आत्मसम्मानमा कहिल्यै आँच आएन।

एक्काइसौं शताब्दीको गणतन्त्रमा पनि हाम्रा राज्य संरचनाहरूमा अझै दलितलाई तिनको अधिकारका रूपमा नभई दयाका रूपमा मात्र समावेश गरिएको छ। सामाजिक जीवनमा त तिनको आत्मसम्मानमाथि पु¥याइएको चोटको हिसाब नै छैन। उच्च शिक्षितहरूबीच समेत ‘आसय छुवाछूत’ बाँकी छ। २६ सय वर्ष अगाडिका बुद्धबाट तिनले कहिले सिक्लान् ?

साभार :अन्नपुर्ण पोष्टबाट


प्रकाशित | १० श्रावण २०७५, बिहीबार २३:१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')