केसीको मागमा सम्पादकहरुको समर्थन विवादको घेरामा

काठमाडौँ- राष्ट्रिय दैनिकका सम्पादकहरुले कुनै आन्दोलन र मागबारे आफैँ उपस्थित भई समर्थन गर्नु कतिको उचित होला ? व्यावसायिक पत्रकारिताको सिद्धान्त र धर्मअनुसार सम्पादक र पत्रकारले आफूलाई प्रत्यक्षरुपमा संलग्न गरएको विषय पुनःविवादित बनेको छ ।

पत्रकारले उपयुक्त लागेको विषयमा सम्पादकीय वा लेख, विचारका माध्यमबाट जनमत निर्माण गर्न सक्ने भए पनि कुनै आन्दोलनरत पक्षकोमा पुगेर ऐक्यबद्धता जनाउनु विज्ञहरुको विचारमा उचित होइन ।

अस्पतालमा आधारित आमरण अनशनरत चिकित्सक डा गोविन्द केसीलाई आइतबार त्रिवि, शिक्षण अस्पतालमा भेटेर विभिन्न सम्पादकले उहाँका मागप्रति ऐक्यबद्धता जनाउँदै अविलम्ब माग पूरा गर्न वक्तव्यसहित सार्वजनिक आह्वान गरेका थिए । राष्ट्रिय दैनिकका १४ जना सम्पादक र पूर्वसम्पादकले त्यसरी गर्नुभएको ऐक्यबद्धता व्यावसायिक पत्रकारिताको धर्मविपरीत भएको वरिष्ठ पत्रकार एवं विज्ञहरुको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालयका आमसञ्चार तथा पत्रकारिता विषयका प्राध्यापक पी. खरेलले संविधान: आफ्ना हकअधिकारका विषयमा आवाज उठाउन जुनसुकै नागरिकलाई अधिकार भए पनि सम्पादक र पत्रकारले ती सबैका माग उचित वा अनुचित भनेर वकालतमा उत्रनु व्यावसायिक पत्रकारिताको धर्मविपरीत भएको टिप्पणी गर्नुभयो ।

रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “पत्रकारिता भनेको पहरेदारको पनि पहरेदार गर्ने पेसा हो । आफूलाई उचित लागेको विषयमा विचार र सम्पादकीय लेख्न पाइन्छ तर यसरी अनशनस्थलमा पुगेर सम्पादकले सामूहिकरुपमा समर्थन गरेको उदाहरण विश्वमा विरलै पाइन्छ ।”

वरिष्ठ पत्रकार किशोर नेपालले सम्पादकले आफूले पालना गर्ने कर्तव्यको परिभाषा कसरी गरेका छन्, त्यसै आधारमा उक्त ऐक्यबद्धतालाई हेर्नुपर्ने बताउनुभयो ।

कान्तिपुर दैनिकका पूर्वसम्पादक नेपालले भन्नुभयो, “प्रजातान्त्रिक समाजमा विचार राख्न पाउने स्वतन्त्रताअन्तर्गत सम्पादक अस्पताल गएको हुन सक्छ तर उहाँहरु कसैको ‘कुक्स’ का आधारमा गएको हो भने राम्रो होइन, एक्टिभिष्ट नभई सम्पादकीयमार्फत आफ्नो विचारलाई जनतासमक्ष फराकिलोरुपमा लान सकिन्छ ।”

उहाँले सरकारले पनि डा केसीको अनशन र उहाँको मागलाई वास्ता नगरेकाले सम्पादकहरु त्यहाँ पुगेको हुन सक्ने बताउनुभयो ।

पत्रकार आचारसंहिता, २०७३ मा पत्रकारले गर्न नहुने विषयअन्तर्गत बुँदा नम्बर १० मा पत्रकारले “अनुचित दबाब र सम्बन्ध” राख्न नहुने उल्लेख छ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ पत्रकारले एक्टिभिज्म र पक्षधरता देखाउनु पत्रकार आचारसंहिताविपरीत हुने भन्दै गणतन्त्र स्थापनाका लागि भएका आन्दोलन र अभियानमा ऐतिहासिक आवश्यकताका आधारमा पत्रकारहरु लागेको अनुभव भए पनि हरेक मुद्दापिच्छे सम्पादकको ऐक्यबद्धता देखिनु निष्पक्षता नहुने बताउनुभयो ।

कार्यवाहक अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यसले गर्दा निष्पक्ष पत्रकारिताको कर्तव्य र भूमिकाबाट च्यूत भएको ठहर्छ ।”

ऐक्यबद्धतामा सहभागीमध्येका नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले केसीले सर्वसाधारणको शिक्षा र स्वास्थ्यको अधिकारका आवाज उठाएको आफूहरुलाई लागेकाले विगतदेखि नै लेख्दै र समर्थन जनाउँदै आइएको प्रतिक्रिया दिनुभयो ।

“जुन कुरामा हाम्रो विश्वास छ, त्यसमा त्यसरी प्रतिबद्धता जनाउन जानै हुन्न भन्ने होइन”, लुइँटेलले भन्नुभयो, “केसीको जीवनरक्षाका लागि पनि हामीले दबाब दिएका हौँ । हामीहरु २०६२÷०६३ को जआन्दोलन र पछि पनि मानवअधिकारका विषयमा पर्दा यसरी उत्रँदै आएका छौँ । त्यसकारण यसपल्ट पनि गएका हौँ ।”


प्रकाशित | ७ श्रावण २०७५, सोमबार २३:४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')