दलित हिन्दू शासित समाजको वास्तविक चालक समुदाय हो

आहुति

 

१. भूमिका

नेपाली समाजमा आज पनि दलित समुदाय भनेको पछाडि परेको वा उत्पीडनमा परेको समुदायका रुपमा मात्र बुझ्ने आम चलन छ । यही बुझाइका कारण दलित अधिकारका पक्षमा बोल्न चाहने प्रगतिशील गैरदलित समुदायका व्यक्तिहरुले पनि दलित समुदायलाई सहानुभूतिको नजरले नै बढी हेर्ने दृष्टिकोण बन्न पुगेको छ । त्यसैगरी दलित मुक्तिको निम्ति संघर्षरत दलित योद्धाहरुमा समेत पनि आफ्नो समुदायका योगदानको ऐतिहासिकताबारे कम ध्यान गएर हुन सक्छ, आजको आवश्यकताको स्तरमा आफू र आफ्नो समुदायको अस्तित्वप्रति गर्वको भाव व्यक्त हुन सकिरहेको छैन । जुन समुदायले आफैप्रति र आफ्नो योगदानप्रति गर्व गर्न सक्दैन, त्यसले आफ्नो मुक्तिको दाबीलाई ठीक ढंगले प्रस्तुत गर्नै सक्दैन ।

आज नेपाली समाजमा दलित आन्दोलन र दलित समुदाय जुन स्थानमा आइपुगेको छ, त्यहाँबाट अझै माथि उठाउन नेपालको राज्यसत्ता र उत्पीडक वर्गले परम्परादेखि निर्माण गरेर लादेका अनगिन्ती भाष्य र अवधारणालाई परिवर्तन गर्नु जरुरी छ । मूलतः जातव्यवस्थालाई टिकाउन जातव्यवस्थामा आधारित भएर बनाइएका के ठीक, के बेठीक ? कस्तो राम्रो, कस्तो नराम्रो ? को माथि, को तल ? को अब्बल, को कमसल ? कुन भोजन, कुन कुभोजन ? को शिक्षित, को अशिक्षित ? को सफा, को फोहोरी ? के चोखो, के जुठो ? को साहसी, को कायर ? को पवित्र, को अपवित्र ? को महान्, को तुच्छ ? कुन जात, कुन कुजात ? जस्ता सयौं सयौं विषयमा बनाइएका उत्पीडनकारी भाष्य र अवधारणामाथि अब प्रश्न उठाउनै पर्दछ र त्यसलाई परिवर्तन गर्नै पर्दछ ।

नेपाली समाजमा दलित आन्दोलन र दलित समुदाय जुन स्थानमा आइपुगेको छ, त्यहाँबाट अझै माथि उठाउन नेपालको राज्यसत्ता र उत्पीडक वर्गले परम्परादेखि निर्माण गरेर लादेका अनगिन्ती भाष्य र अवधारणालाई परिवर्तन गर्नु जरुरी छ ।

त्यही पुराना उत्पीडनकारी भाष्य र अवधारणामाथि प्रश्न उठाउने उद्देश्यका साथ दलित समुदायका सम्बन्धमा पहिलो आवश्यकता यही बन्न जान्छ कि नेपाली समाजको अग्रगतिका निम्ति दलित समुदायले गरेको योगदानको ऐतिहासिकताको खोज र सही व्याख्या गर्नु । नेपालको परम्परागत सत्ताको प्रस्तुति हेर्दा त यस्तो लाग्छ कि दलित समुदायको योगदान भनेको फगत बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई दिएको सल्लाह मात्र हो ! निश्चितै रुपमा दलित सबै हिन्दू शासित समाजमा सबैभन्दा बढी अमानवीय उत्पीडनमा पारिएको समुदाय हो, तर यो एउटा पाटो मात्रै हो । सबैभन्दा बढी अमानवीय उत्पीडनमा तीन हजार वर्षभन्दा बढी समयदेखि पर्दै आएर पनि दलित हिन्दू शासित समाजको अग्रगतिका निम्ति सबैभन्दा बढी योगदान गर्ने मानव जमात हो । वास्तवमा दलित हिन्दू शासित समाजको वास्तविक चालक समुदाय हो । त्यो कसरी हो ? यही प्रश्नको उत्तर खोज्नु यस आलेखको मुख्य उद्देश्य हो ।

२. समाजव्यवस्था निर्माण केले गर्दछ ?

स्कुल कलेजमा कलिला नानीहरुलाई समाज निर्माण ठूलठूला मानिएका राजा, महाराजा, सेनापति वा पण्डितहरुले आफ्नो बरकतले बनाएको जसरी पढाइन्छ । नेपालमा त यस्तो प्रचलन अझ बढी नै थियो र अझै यो भाष्य प्रयोग गर्न छाडिएको छैन । तर यथार्थमा कुनै पनि समाजव्यवस्थाको चरणको निर्माण, सञ्चालन र परिवर्तन गर्न मुख्य उत्प्रेरक भूमिका त्यस समाजको उत्पादक शक्तिले खेलिरहेको हुन्छ । उत्पादक शक्तिमध्ये पनि औजार र प्रविधिले नै उत्प्रेरकको भूमिका खेलिरहेको हुन्छ । त्यसपछि निर्णायक भूमिकाचाहिँ समाजका श्रमजीवी मानिसहरुले खेलिरहेका हुन्छन् । राजनीतिक परिवर्तनकारी प्रतिनिधि व्यक्तिहरु तबसम्म प्रकट नै हुँदैनन्, जबसम्म उसको आवश्यकता जन्माउने औजार र प्रविधि अनि त्यसलाई चलाएर उत्पादन गर्ने श्रमजीवी मानिस हुँदैनन् । राजनीतिक अर्थशास्त्रले निकालेको निष्कर्ष यही हो, र यही कुरा नै सत्य हो ।

नेपालको परम्परागत सत्ताको प्रस्तुति हेर्दा त यस्तो लाग्छ कि दलित समुदायको योगदान भनेको फगत बिसे नगर्चीले पृथ्वीनारायण शाहलाई दिएको सल्लाह मात्र हो !

आरनको आविष्कार हुँदैनथ्यो भने सामन्तवादी समाज हुँदैनथ्यो, त्यसले प्रगति गर्न सक्दैनथ्यो । इन्जिनको आविष्कार हुँदैनथ्यो भने सामन्तवाद ढलेर पुँजीवादी समाज हुँदैनथ्यो । त्यसैगरी आरन र त्यसताकाका सबै प्रविधि र औजार प्रयोग गरेर उत्पादन गर्ने श्रमजीवी हुँदैनथ्यो भने, इन्जिन निर्माण गर्ने र सञ्चालन गर्ने मजदुर वर्ग हुँदैनथ्यो भने क्रमशः सामन्तवादी समाजको प्रगति र पुँजीवादको प्रगति पनि सम्भव थिएन । त्यसकारण सबै समाजको जन्म र अग्रगतिमा औजार एवं श्रमजीवी मानिसको भूमिका नै केन्द्रीय महत्त्वको विषय हो भन्ने कुरा प्रस्ट छ । यस दृष्टिविन्दुबाट हेर्ने बित्तिकै सबै समाजका शासक, महान् भनिएका व्यक्ति, औजार एवं प्रविधि र श्रमजीवी मानिसले गरेको उत्पादनमाथि जन्मिएर सकारात्मक वा नकारात्मक भूमिका खेल्ने पात्र बाहेक केही पनि होइनन् । त्यसैले नै आम रुपमा स्वीकार गरिएको हो कि इतिहासका निर्माता श्रमजीवी जनता हुन् । यसप्रकारको दृष्टिकोणबाट प्रवेश नगरी हिन्दू शासित समाजमा दलित समुदायको योगदानको ऐतिहासिक सत्यलाई बाहिर ल्याउन सकिँदैन, दलित समुदाय भनेको निरीह, तल परेको, कुनै महान् योगदान नभएको भनी प्रस्तुत गरिएको परम्परागत सत्ताको प्रशिक्षण वा भाष्यलाई बदल्नै सकिँदैन ।

सिन्धु घाँटी हुँदै गंगा मैदानसम्म आइपुगेर पूर्ण रुपमा विकसित जातव्यवस्थामा आधारित हिन्दू समाजलाई अध्ययन र्गयो भने पनि यो यथार्थ छर्लङ्ग हुन्छ । दास युग हुँदै सामन्तवादको पूर्ण विकाससम्म अर्थात भनौँ भारतमा ब्रिटिसहरु इन्जिन लिएर नपस्दासम्म तत्कालीन हिन्दूस्थान र तत्कालीन नेपालको हिन्दू समाजमा मुख्य औजार एवं प्रविधि के थिए र श्रमजीवी को थिए ? आरन, तेल पेल्ने कोल, गोरु गाडा, घोडे रथ, चर्खा र हातेतान, डुंगा, कपडा रंगाउने खाडी, काँचो छाला प्रशोधन प्रविधि आदि । यी सबै औजार र प्रविधिको केन्द्रविन्दुमा थियो आरन, जुन बिना धेरैजसो औजार र हतियारको निर्माण सम्भव नै थिएन । र, त्यो आरन अनि सबै सबै औजार प्रयोग गरेर कृषि उत्पादन बढाउने, ललितकलाको विविध रुपको विकास गर्ने, सेवा गर्ने कामको केन्द्रमा शुद्र थियो । यो इतिहास र समाजशास्त्रले प्रमाणित गरेको तथ्य हो ।

सबैभन्दा बढी अमानवीय उत्पीडनमा तीन हजार वर्षभन्दा बढी समयदेखि पर्दै आएर पनि दलित हिन्दू शासित समाजको अग्रगतिका निम्ति सबैभन्दा बढी योगदान गर्ने मानव जमात हो । वास्तवमा दलित हिन्दू शासित समाजको वास्तविक चालक समुदाय हो । त्यो कसरी हो ?

यस अर्थमा दक्षिण एसियाको हिन्दू सभ्यताको मुख्य चालक वर्ण भनेकै शुद्र हो । त्यही शुद्रभित्रबाट अछूत बनाइएको हिस्सा, जो आज दलितका नामले चर्चित छ, यो दलित समुदाय स्वतः त्यस चालक हिस्साको अंग रहँदै आयो भन्ने कुरा सहज रुपमा बुझ्न कुनै कठिनाइ पर्ने विषय रहेन । विगत तीन हजार वर्षभन्दा बढी समयदेखि लगातार श्रमजीवी मात्रै रहँदै आएको संसारकै एक मात्र समुदाय आजको दलित हो, यो समुदायले इतिहासमा कसैलाई शोषण गरेन, कसैलाई अत्याचार गरेन । यदि श्रमिक हुनु, काम गरी खानु गर्वको विषय हो भने विगत तीन हजार वर्षमा सबैभन्दा बढी गौरवमय जीवन दलितकै रह्यो । सबैभन्दा बढी मानवतावादी इतिहास वस्तुतः दलितकै रह्यो । जातव्यवस्थामा उच्च जातमा रहेकाले के गरे ? राजा भए, महाराजा भए, सेनापति भए, सामन्त भए । उनीहरुले मोजमस्ती गरे, दमन गरे, अत्याचार गरे, उत्पीडनका नयाँ नयाँ नियम बनाए तर उनीहरुले आरन चलाएनन्, हलो जोतेनन्, वस्त्र सिलाएनन्, कपडा बुनेनन्, धागो काटेनन्, काँचो छालालाई पाको बनाएनन्, तेल पेलेनन् । वास्तवमा समाजलाई अग्रगतितिर लैजान उनीहरुले आधारभूत रुपमा श्रम नै गरेनन् । सत्य यही हो । दक्षिण एसियाको इतिहासमा श्रमको गौरव हिन्दू समाजको कथित उच्च जातको भागमा कदापि पर्न सक्दैन । त्यो गौरव दलितको अंशमा मात्र छ भन्ने सही भाष्यको निर्माण अब जरुरी छ ।

३. नेपाली समाजको अग्रगति र दलित

(क) पहिलो वैज्ञानिक— दलित !

अन्य सामन्तवादी समाजमा जे थिए नेपालको हिन्दू शासित सामन्तवादी समाजको विकसित औजार र प्रविधि मूलतः तिनै थिए । आरन, हलो, गोरु गाडा, चर्खा एवं हातेतान, छाला प्रशोधनको प्रविधि, कपडा रंगाउने विधि आदि । त्यसको केन्द्रमा थियो आरन र त्यो आरनको निर्माता एवं सञ्चालक दुवै नै पहाडमा छुवाछूत समेत गरिने शुद्र कामी र तराईमा छुवाछूत नगरिने परम्परागत शुद्रभित्रको लोहार । राणा प्रधानमन्त्री चन्द्र शमशेरले नेपालका फलाम र तामा खानी बन्द गराउनुभन्दा पहिले ती खानी सञ्चालन गर्ने मुख्य वैज्ञानिक एवं प्राविधिक दलितभित्रका कामी थिए । उनीहरुलाई आग्री पदीय नामले पुकारिन्थ्यो, आज पनि त्यो पदीय नाम थरको रुपमा तिनका सन्ततिमा कायमै छ । खानीबाट फलाम र तामा निकाल्ने औजार, भाँडाकुँडा र हतियार बनाउनु भनेको त्यतिबेलाको विज्ञान र प्रविधिको उच्च रुप थियो । त्यो कामलाई फत्ते गर्ने दलितहरु त्यतिबेलाको हिन्दू समाजका प्रथम वैज्ञानिक र प्राविधिकहरु थिए ।

भारतको कानपुरजस्तो परम्परागत छालाको केन्द्रमा समेत सम्मानपूर्वक नाम लिइने दैलेखमा सावर छाला उत्पादन गर्ने दलित छालाका वैज्ञानिक होइनन् ?

घोडाको काँठीमा बस्न मात्र जान्ने, हलो नजोत्ने अनि जुत्ता लगाउन मात्र जान्ने शासकहरुको पक्षमा बोल्ने इतिहास र समाजशास्त्रले बताउन नचाहे पनि गाई, गोरु, भैंसी, बाख्रा, भेंडा आदि जनावरका आलो छालालाई काती र अमला, लप्सी वा अन्य रुखको बोक्रामा पाइने क्षार (द्यबकभ) लाई प्रयोग गरेर गन्ध नआउने, नकुहिने पाको छाला तयार पारी काँठी, हल्लुँडो, जुत्ता र छालाका सामान तयार पार्ने सार्की वा चमारजस्ता दलितहरु त्यतिबेलाका वैज्ञानिक एवं प्राविधिक होइनन् भने अरु के हुन् त् ? भारतको कानपुरजस्तो परम्परागत छालाको केन्द्रमा समेत सम्मानपूर्वक नाम लिइने दैलेखमा सावर छाला उत्पादन गर्ने दलित छालाका वैज्ञानिक होइनन् ? कागजका नोटभन्दा पहिलेका सबै टक्सारका प्राविधिक को हो ? दलित हो । नेपालमै पहिलो बन्दुक बनाउने को हो ? दलित हो । आधुनिक नेपालका प्रथम वैज्ञानिक भनिएका गेहेन्द्र शमशेरका प्रयोगशाला एवं ज्यासलका मुख्य प्राविधिक तिनै ऐतिहासिक वैज्ञानिकका खलक कामी र सार्की नै थिए ।

नापी(नापी सूर निकाल्ने वा भनेकै ताल निकाल्ने मादल, सारङ्गी, सनई आदि वाद्यवादनका आविष्कारक र निर्माता के तिनै दलित होइनन् ? भाँती(भाँतीका वस्त्रका ढाँचा निकाल्ने ती दलित वस्त्रशास्त्रका प्रथम प्राविधिकबाहेक अरु के हुन् ? जताबाट हेरे पनि जताबाट नापे पनि नेपाली हिन्दू शासित सभ्यताको प्रथम वैज्ञानिक एवं प्राविधिक दलित हो भन्ने कुरामा कसैले विमति राख्नु पर्ने देखिँदैन ।

(ख) पहिलो संगीतकार — दलित !

नेपालमा रहेका सबै सभ्यता र जातिमा ऐतिहासिककालदेखि बन्दै आएका गीत संगीत छन्, हुन्छन् नै तर ती गीतसंगीतका रचनाकार थाहा हुँदैन । त्यो कालान्तरदेखि चल्दै परिमार्जन हुँदै आएका हुन्छन् । तर नेपालको हिन्दू शासित समाजमा भने गीत, संगीत र नृत्य बनाइरहने समुदाय दलित हो । गन्धर्व त्यतिबेलाको समकालीन विषयमा नै गीतसंगीत निर्माण गर्ने समुदाय हो । त्यस्तै वादी र दमाई पनि संगीत र नृत्यमा त्यो भूमिका समेत पूरा गर्ने समुदाय हुन् । मारुनी, ढाल तरबार नृत्य, पातर नृत्यजस्ता सयौं संगीत र नृत्यका जननी एव संगीत क्षेत्रका प्रथम उस्तादहरु दलित नै हुन् । हिन्दू समाजमा कथित उच्च जातसँग कुनै गीतसंगीत नै थिएन भन्ने होइन, तर मुख्य संगीत क्षेत्रको भूमिका दलितले नै पूरा गर्दै आएको सन्दर्भलाई उदाङ्ग पार्न मात्र यस विषयलाई यहाँ प्रस्ट पारिएको हो ।

जातव्यवस्थामा उच्च जातमा रहेकाले के गरे ? राजा भए, महाराजा भए, सेनापति भए, सामन्त भए । मोजमस्ती गरे, दमन गरे, अत्याचार गरे, उत्पीडनका नियम बनाए तर आरन चलाएनन्, हलो जोतेनन् ।

(ग) पहिलो सञ्चारकर्मी — दलित !

आज सञ्चार क्षेत्र सेवाभन्दा व्यापार र राजनीतिको महत्वपूर्ण विषयका रुपमा विकास हुँदा दलितहरु त्यस क्षेत्रमा धेरै नै पछि पर्न पुगे तर नेपाली समाजको प्रथम सञ्चारकर्मी भने दलित समुदाय नै हो । पहाडमा कट्वालका रुपमा समाचार सम्प्रेषण हजारौँ वर्षदेखि दलितले नै गर्दै आए । मिसन सञ्चारकर्मीका रुपमा भने गन्धर्वहरुले युद्धका, व्यवस्थाका, प्राकृतिक प्रकोपका गीत बनाएर गाउँ(गाउँ सन्देश बाँड्दै आए, सूचना र विचार सञ्चार गर्दै आए । कट्वाल प्रथा त अझै पश्चिम नेपालमा जीवितै छ । तराई क्षेत्रमा ढोल पिटेर बस्ती बस्ती सूचना बाँड्ने काम पनि त्यतिबेला पानी अचल बनाइएको समुदायकै जिम्मामा थियो ।

(घ) पहिलो सफाइको अभियन्ता — दलित !

निश्चितै रुपमा सफाइ पेसाका रुपमा दलितभित्रका खास(खास जातमाथि लादिएको हो । शासकहरुले लादेको हुनाले नै सफाइ गर्ने समुदायलाई त्यसले फोहोरी भनी लाञ्छना लगाउँदै आयो । सफाइ गर्ने कामलाई नै फोहोरी एवं कमसल काम हो भन्ने अवधारणाबाट सिंगै समाजलाई प्रशिक्षित र्गयो, जुन बिल्कुल गलत थियो । फोहोर सफा गर्नु फोहोरी काम हो र सफा गर्ने मानिस फोहोरी हो भने फोहोर गर्नु चाहिँ सफा काम हुनसक्छ त ? शहर फोहोर मात्र गर्ने चाहिँ सफा समुदाय अनि त्यो फोहोरलाई सफाइ गरेर सिंगै बस्तीलाई रोगव्याधी फैलिनबाट रोक्ने र सफा पार्ने चाहिँ झन् उल्टो फोहोरी समुदाय ? कति षडयन्त्रकारी उत्पीडक मान्यता ! च्यामे, पोडे, डोम, हलखोर जात फोहोरी अनि फोहोर मात्र गर्ने तर सफाइ नगर्ने जातहरुचाहिँ सफा ?

वास्तवमा फोहोर र सफा अनि जुठो र चोखो भनेको बनाइएको मान्यता मात्र हो, यथार्थ होइन । स्वास्थ्यलाई हानिकारक हुने अर्थको फोहोर यथार्थ हो तर मान्यताको फोहोर भने मान्यता मात्र हो । हिन्दू पुरेतको अबीर केशरीले रंगिएको हात अर्को धर्मको धार्मिकका लागि फोहोर हो किनकि त्यो मान्यता मात्र हो । हातले भात खाउञ्जेल भात लागेको हात फोहोर होइन तर खाएपछि फोहोर हो, किनभने त्यो मान्यता हो । तर दिसा नधुनु फोहोर हो किनभने त्यो हानिकारक हुन्छ । त्योचाहिँ यथार्थ फोहोर हो ।

यसरी हेर्दा दलितलाई फोहोर देख्ने, अझ दलितभित्रका सफाइकर्मीलाई फोहोरी देख्ने दृष्टिकोण कथित मान्यता मात्र हो, यथार्थ होइन । यथार्थमै फोहोरीपनको श्रोत के हो ? एक, अभाव र गरिबी । दुई, चेतनाको न्यूनता । फरक फरक सभ्यताका मानिसमा र फरक फरक समाज विकास चरणका मानिसमा चेतनामा नै गुणात्मक फरक हुनसक्छ । तर दलित र हिन्दू समाजका गैरदलित त एउटै सभ्यताका हुन् र समान समाज विकासको चरणमा सँगसँगै छन् । तसर्थ, सफाइसम्बन्धी चेतनामै गुणात्मक अन्तर कहिले पनि थिएन र छैन । गैरदलितले बच्चा जसरी हुर्काउँछ, दलितले त्यसरी नै स्याहार गर्छ । पकाउने, नुहाउने, कपडा धुने काइदा तरिका उही थियो र छ । तसर्थ चेतनामै अन्तर हुँदै होइन । यहाँ मूल पक्ष अभाव र गरिबीले खेलेका थिए र छन् । गरिबीको कारणले हुने फोहोरीपन त कथित हिन्दू उच्च जातभित्रका गरिब परिवारमा पनि स्वतः हुन्छ, जुन सबैले देखेकै भोगेकै कुरा हो । तसर्थ दलितलाई र दलितभित्रका, सफाइ पेसा तोकिएका जातहरुलाई फोहोरी किटान गर्नु एउटा दमनकारी शासकीय मान्यता मात्र हो । यसरी विश्लेषण गर्दा दलितभित्र सफाइ पेसामा पुस्तैनी क्रियाशील जातहरु सरसफाइका अभियन्ता समुदायहरु हुन् । हो, फोहोर मात्र गर्नेभन्दा फोहोरलाई सफाइ गर्नेहरु ऐतिहासिक रुपमा यथार्थमा सफा समुदाय हुन् ।

(ङ) प्रथम जोताहा— दलित !

सामन्तवादी समाजको मुख्य उत्पादनको क्षेत्र कृषि हो भन्ने प्रस्टै छ । तर हिन्दू समाजमा तागाधारीभित्र रहेकाले त शुरुमा हलो जोत्नै हुँदैनथ्यो, खेतीमा काम त तल्लो स्तरको श्रम मानिन्थ्यो । त्यसैले कतै हलिया बँधुवा बने, कतै बँधुवा हरवा बनेर हलो जोत्ने काम दलितकै रहिआएको हो । तराईका मुसहरको त माटो काट्ने जात भनेर समेत परिचय बनेको छ । यसप्रकार सिंगो हिन्दू समाजलाई भरण पोषण गर्न सबैभन्दा बढी पसिना बगाएको प्रथम जोताहा नेपाली हिन्दू शासित समाजको दलित नै हो भन्ने यथार्थ स्वतः प्रस्ट छ ।
यस बाहेक सिकर्मी, डकर्मी, बेतबाँस, रोगको उपचारलगायत सर्वत्र क्षेत्रमा नेपाली हिन्दू समाजको निर्माण, सञ्चालन र अग्रगतिका निम्ति दलित समुदायले चालक समुदायका रुपमा र्पुयाउँदै आएको योगदान दिनको घामभन्दा पनि उज्यालो छर्ने गरी छर्लङ्ग छ ।

हिन्दू शासित सभ्यताको अग्रगतिको चालक समुदायको भूमिका खेल्दै आएकोले ऊ यो समाजको मुख्य अंशियार हो भन्ने अवधारणासहित आन्दोलनलाई अगाडि बढाउनु पर्दछ ।

 

अब आन्दोलनको भाव र वैचारिक पक्षलाई माथि उठाउनु जरुरी छ । दलित मानिस नै हो मात्र होइन, ऊ इतिहासमा समाज निर्माण र सञ्चालनमा निर्णायक भूमिका खेल्दै आएको समुदाय हो, त्यसैले सहानुभूति होइन, सम्मानको लायक हो भन्ने भाष्य अँगीकार गर्नुपर्दछ ।

 

४. निष्कर्ष

यसप्रकार हिन्दू शासित रहँदै आएको अन्यत्रको जस्तै नेपाली समाजको पनि दलित केवल पछाडि पारिएको, निरीह, योगदानविहीन, कमसल समुदाय होइन, बरु यस समाजको निर्णायक चालक समुदाय हो । विज्ञान(प्रविधि, संस्कृतिका आधारभूत आयामहरु अनि सिंगो समाजको पेट भर्न निर्णायक योगदान गर्दागर्दै पनि राज्यसत्ताले गरेको अमानवीय दमन र बहिष्करणका कारणले दलित जीवन ध्वस्त बन्दै आयो । आज पनि त्यो ध्वस्तकरणको प्रक्रिया रोकिएको छैन, यो विडम्बनायुक्त पाटो त छँदैछ तर हिन्दू शासित समाजको भव्य सभ्यता निर्माणमा मुख्य योगदान भने उनीहरुले नै गरेका हुन् भन्ने कुरा प्रस्ट छ । यसरी हेर्दा दास युगपछि सबैभन्दा सिर्जनशील र सबैभन्दा श्रमशील भएर पनि जीवन ध्वस्त पारिएको संसारको एक मात्र समुदाय दलित हो ।

हिन्दू शासित सभ्यता र समाजलाई अग्रगति दिन दलित समुदायले र्पुयाएको निर्णायक योगदानलाई छोपछाप पार्दै सबै हिन्दू समाज र नेपालको पनि हिन्दू उच्चजातीय राज्यसत्ताले ‘अछूत’ करार दियो, कुरुप बतायो, कमसल मान्छे भन्यो, अशिक्षित बुद्धि नहुने जात भन्यो, पापको फल भोग्ने कुजात भन्यो, जाँड खाने भनेर अपमान र्गयो, सिनो खान र फाल्न बाध्य र्पायो । बोक्सीको आरोपमा बढीभन्दा बढी यसैलाई डाम्यो आदि आदि । यसो गर्दै हिन्दू उच्चजातीय सत्ताले दलित व्यक्ति र दलित अस्तित्वलाई हेर्ने अवधारणा र भाष्य नै अत्याचारी एवं अपमानजनक बनाएर सिंगो समाजलाई त्यही प्रशिक्षण लिन र व्यवहार गर्न बाध्य र्पायो ।

अबको आवश्यकता भनेको हिन्दू उच्चजातीय उत्पीडनकारी राज्यले निर्माण गरेको दलितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हो । उसले बनाएका अवधारणा र भाष्यमै परिवर्तन गर्न दलित आन्दोलन र दलित मुक्तिका पक्षधर गैरदलित समुदायले वैचारिक एवं व्यावहारिक संघर्ष गर्नु जरुरी छ । आजसम्मको आन्दोलनको सार दलित पनि अरु सरहको मानिस हो भन्ने भाव वरपर केन्द्रित थियो । सहानुभुति खोज्ने वा सहानुभूति गर्नुपर्छ भन्ने भावको वरपर थियो । दलित पनि नागरिक हो, त्यसैले उसले हक अधिकार पाउनुपर्छ भन्ने नाराको वरपर थियो ।

अब आन्दोलनको भाव र वैचारिक पक्षलाई माथि उठाउनु जरुरी छ । दलित मानिस नै हो मात्र होइन, ऊ इतिहासमा समाज निर्माण र सञ्चालनमा निर्णायक भूमिका खेल्दै आएको समुदाय हो, त्यसैले सहानुभूति होइन, सम्मानको लायक हो भन्ने भाष्य अँगीकार गर्नुपर्दछ । र हिन्दू शासित सभ्यताको अग्रगतिको चालक समुदायको भूमिका खेल्दै आएकोले ऊ यो समाजको मुख्य अंशियार हो भन्ने अवधारणासहित आन्दोलनलाई अगाडि बढाउनु पर्दछ ।

 

२०७३ असार १ गते काठमाडौंमा सम्पन्न नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको पाचौं राष्ट्रिय सम्मेलनको क्रममा आयोजित अन्तर्क्िरयामा प्रस्तुत कार्यपत्र


प्रकाशित | १० असार २०७५, आईतवार १७:२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

 

 

')