आर्टिकल १५ र माया विकहरु

बोलीचालीमा पटक पटक सुनिएता पनि चलचित्र समाजको ऐना भने अवश्य होइन । कुनैपनि चलचित्रमा ऐनामा जस्तो समाज जस्ताको त्यस्तै परिवर्तित हुँदैंन । तसर्थ, जति नै यथार्थ पस्किन खोजेता पनि चलचित्र एक किसिमले उपरियथार्थ नै हो भन्दा अतिशयोक्ति नहोला । चलचित्रमा के देखाउने वा नदेखाउने र कस्तो विचार समाजमा फैलाउने वा नफैलाउने जस्ता महत्वपुर्ण निर्णयहरु निर्देशकिय सोचले प्रभावित वनाउने हुनाले चलचित्र समाजको हुवहु ऐना भने अवश्य पनि होइन । यद्यपी, कुनै पनि समाजको चरित्र र अन्तरविरोधहरुको दृश्यभाषामा अवलोकन गर्ने भने चलचित्रहरु प्रभावकारी श्रव्यदृश्य माध्यमहरु हुन् । सामाजिक पिडाहरुकै कथा भन्ने सिलसिलामा पुरानो हिमनदी जस्तो स्थीर भएर जमेको जातीय मुद्दाको वहसलाई सतहमा लेराएर वहस सिर्जना गर्न भारतीय चलचित्र आर्टीकल १५ ले जमर्को गरेको छ । अनुभव सिन्हा निर्देशित यस चलचित्रले उत्तरप्रदेशको काल्पनिक लालगाउँमा दलित किशोरीहरु माथि भएको वलात्कार र हत्या जस्तो अमानवीय घटनाहरुको सवालमा तिखो प्रश्न उठाएको छ । भारतीय सविंधानको धारा १५ ले जात, क्षेत्र, धर्म, लिंग र वर्णको आधारमा कुनै पनि किसिमको भेदभावलाइ गैरकानुनी मानिएको हुनाले यही धाराको नामवाट चलचित्रको नाम जुराएको देखिन्छ । दिल्लीमा हुर्किएको र विदेशमा अध्ययन गरेको आयन रञ्जन जस्ता पात्र खडा गरेर उत्तरप्रदेशको काल्पनिक लालगाउँको कथा शहरिया गैरदलितको नजरवाट पस्किने जमर्को निर्देशक सिन्हाले गरेको देखिन्छ ।
सिमान्तकृत वस्तीको अँध्यारोले हुने खानेको महल झनै चम्किलो देखियोस् भन्ने सोचले अरुलाइ धनी बनाउन आफुहरु गरिव भइदिएको भन्ने मार्मिक व्यङग आर्टीकल १५ मा अभिव्यक्त गरिएको छ । चलचित्रले पस्किएको उत्तरप्रदेशको लालगाउँमा जातिय छुवाछुतको र्जजरता यतिसम्म जकडिएको छ की पाशी समुदायको हातवाट पानी खाने त के उनीहरुको छायाँ समेत कुनै गैरदलितलाइ पर्नु हुन्न भन्ने मानसिकताले जरो गाडेको देखिन्छ । न्यायको भिख माग्ने होइन, जुन काम गरिरहेको छ त्यो काम वन्द गर्ने हो भन्ने प्रगतिशिल उर्दी दलित अगुवाहरुवाट पाएपछि नियमित श्रम गर्ने दलित श्रमिकहरुले केवल तीन रुपैँया वृद्धि गर्ने माग गर्दै हडतालमा सरिक भएका हुन्छन् । आफुले गरिआएको श्रममा केवल तीन रुपिँया वृद्धि गर्ने माग गर्दा दलित युवतीहरुमाथि सामुहिक बलात्कार र हत्या गरेर जवाफ दिने कु्रर समाजको वर्वर चित्रलाइ आर्टिकल १५ ले उतारेको छ । यस चलचित्रमा दलितहरुलाइ औकात सम्झाउनकै लागि वलात्कार र हत्या पछि दुई युवतीलाइ गाउँकै रुखमा झुण्डाइन्छ र अर्की एक युवतीको अवस्था अन्जान हुन्छ । सन्नी लियोनको चलचित्र हेरेर किशोरीहरुले समलैंगिक शारिरिक सम्वन्ध राखेको वावुहरुले सहन नसकेर उनीहरु स्वयंले आफ्नै छोरीहरुको हत्या गरेर रुखमा झुण्डाइएको जस्ता झुठ आरोपहरु लगाएर दुवैलाइ कालकोठरीमा जाकिन्छ । असहायहरुलाइ दोषको भारी वोकाएर पिडितलाइ नै घटनाको दोषारोपण गर्ने शक्ति संरचनाको कु्रर चरित्र यस चलचित्रले उदांगो वनाएको छ ।

बिरामी हात्ती जस्तो सुस्त गतिमा हिंडिरहेको दलित वहसलाई आर्टिकल १५ ले झकझकाएता पनि सशक्त दलित आन्दोलनले मात्र जातिय छुवाछुत, वलात्कार र हत्या जस्तो अमानवीय कृयाकलापलाइ निषेध गर्दै लैजान सक्ने तागत राख्दछ । महिला र दलितमाथि हुने बलात्कार र हत्याको श्रृंखलामा माया विक एक प्रतिनिधी पात्र मात्र हुन् ।

आर्टिकल १५ मा देखाए जस्तै नेपालको कैलालीको गाउँ गौरीगंगा निवासी माया विकको पनि सामुहिक बलात्कार पछि हत्या भएको थियो । दुवै घटनामा सामञ्जस्यता यो छ कि उता उत्तरप्रदेशको लालगाउँमा वलात्कार र हत्या भएका किशोरीहरुको चित्कार दिल्लीले सुन्दैन, यता कैलालीको गौरीगगाँमा उस्तै नियती भोग्न वाध्य माया विकको आवाज काठमाडौंले सुन्दैन । शक्तिको वेग्लै जात हुने भएकोले सत्तामा पुग्न जुन समुदायको काँधमा चढिन्छ सत्तामा पुगेपछि त्यही समुदायको आवाज माथि दमन गरिन्छ भन्ने भनाइ आर्टीकल १५ मा पनि राखिएको छ । भिम संर्घर्ष सेनाका कमाण्डर निषादले प्रहरी र प्रशासनकै अघि वोलेको यस संवादले विद्रोह सत्ताको दमनवाट शुरु हुन्छ भन्ने यर्थाथको शसक्त प्रतिविम्व देखाएको छ । आयन रञ्जनकी जीवनसँगीनीको संवाद मार्फत भारतमा पनि दुरदराजमा घटेकको दलित माथि भएको अत्याचारको समाचार किन राष्ट्रिय दैनिकमा छापिदैंन भन्ने प्रश्न जर्वदस्त रुपमा उठेको छ । आर्टिकल १५ मा देखाइएका महन्त र दलित नेता शान्ती प्रसादको सहभोजनले समाजमा दलित र गैरदलित बीचमा एकता भएको भ्रम छरेर राजनितिक अभिष्ट पुरा गर्नको लागि दलितको आँखामा छारो हाल्ने प्रवृत्तिहरु नेपाली सन्र्दभमा पनि हुवहु मिल्दोजुल्दो देखिन्छ । हिन्दुवादी महन्तले टिभीमा दलितहरुसँग सहभोजन गरेर गैरदलित र दलित एकतामा जोड दिएता पनि सहभोजन गर्ने भाँडादेखि खाना सम्म घरवाट नै लेराएका हुन्छन् । दलित समुदायसँग सहभोजनको नाटक गरेर आफ्ना अभिष्टहरु पुरा गर्न खोज्ने ठालुहरुको कथित सुधारवादी राजनीतिक आडम्वरहरु समेत यस चलचित्रमा चित्रण गरिएको छ । नेपालमा पञ्चायतकालमा दलितका केहि जान्ने सुन्ने मानिसलाइ दरवारले सत्ताको स्वाद चखाएर वोक्रे समावेशीता देखाउँदै आम दलितहरुको नजरमा छारो हाल्ने भुलभुलैयाको राजनितीक झझल्को आर्टिकल १५ मा स्पष्टै देखिएको छ ।

चलचित्र एक्लै लै क्रान्ति गर्ने होइन । आर्टिकल १५ ले उतारेको उत्तरप्रदेशको लालगाउँमा भएकोे काल्पनिक घटनाले नेपालमा भइरहेको महिला र दलित माथिको हत्या र वलात्कारको दृृश्यलाई पटकपटक मानसपटलमा झक्झकाइरहन्छ । चलचित्र आर्टीकल १५ मा लालगाँउमा दलित समुदायमाथि भएको अन्यायको विरुद्ध आवाज उठाउन एक नायक आउँछन् । तर नेपालमा घटेको माया विकको घटनामा कुनै एक अमुक नायकले भन्दा पनि सम्बन्धित सरोकार वालाहरुले समयमा नै नायकत्व किन देखाएनन् भनेर प्रश्न उठाउने ठाउँ देखिएको छ । चलचित्रको मुख्य पात्र आइपिएस अफिसर आयन रञ्जन जो भारतीय समाजमा व्राम्हण समुदायको प्रतिनिधित्व गर्दछन् उनको नायकत्वमा चलचित्रको कथा बगेको छ । एकातर्फ चलचित्रमा दलित समुदाय माथि गरिएको वर्वर अत्याचार सम्वन्धी मुद्दाको उठान त भएको छ । तर यस चलचित्रले दलित माथि भइरहेको प्रत्येक दमनको श्रृंखलाको आवाज वुलन्द वनाउन गैरदलितकै नायकत्व जरुरत छ त भन्ने अहम प्रश्न पनि उठाउन सकिने अवस्थाको सिर्जना गरेको छ । दलितको मुद्दा दलितको मात्र अवश्य होइन । जती धेरै गैरदलितहरुले दलितको मुद्दालाई आत्मसाथ गरेर परिवर्तनको लागि आवाज उठाउँछन् । त्यति नै दु्रतगतिमा समाज रुपान्तरित हुँदै गएर छुवाछुतको अन्त्य हुने प्रकृया सिर्जना हुन्छ । तर सिमान्तकृत समुदाय आफैंले आवाज निकालेर अन्याय विरुद्द वोल्न सक्ने वातावरण वन्नु साँचो अर्थमा सशक्तिकरण हो । आर्टिकल १५ मा यस्तो मानिसहरुको आवश्यक छ जस्ले नायकको प्रतिक्षा नगरुन भन्ने वाक्यले व्यक्ति केन्द्रित नायकत्वको आलोचना गरे जस्तो लागेता पनि दिल्लीमा हुर्किएको एक व्राम्हण पात्रलाई दलितहरुको मुक्तिदाताको रुपमा चलचित्रले स्थापित गरेको छ । उत्तर औपनिवेशीक कालमा गोराहरु संसारभरका गरिव देशहरुमा “विकास” गर्ने ठेक्का लिएर पुगेका थिए । आर्टिकल १५ मा पनि एउटा व्राम्हण जातको नायकले महशुश गरेर दलितहरुले न्याय पाउने कथामा दलितहरु आफैं भने अत्याचार विरुद्द आवाज उठाउन सक्षम हुँदैनन कसै न कसैले वोलिदिनु पर्दछ भन्ने विचारको पुनरुत्पादन गरेको छ । आर्टिकल १५ मा निषाद जस्ता पात्रहरु किन मुख्य नायक वन्न सकेनन् वा वलात्कृत भएकी किशोरीहरुको वावुहरुको वा अर्की वलात्कृत किशोरी पुजाको दिदी जस्ता महिला पात्रहरुको आँखावाट यो कथा किन भनिएन भन्ने अहम प्रश्नहरु निर्देशकिय गर्भ गृहभित्र नै लुकेर वसेको छ ।

भारतको लालगाउँको कथामा दलित किशोरीहरुले भोगेको नियती र नेपालमा माया विक जस्ता प्रतिनिधि पात्रहरुले भोगेको नियति दुरुस्त उस्तै नै छ ।

बिरामी हात्ती जस्तो सुस्त गतिमा हिंडिरहेको दलित वहसलाई आर्टिकल १५ ले झकझकाएता पनि सशक्त दलित आन्दोलनले मात्र जातिय छुवाछुत, वलात्कार र हत्या जस्तो अमानवीय कृयाकलापलाइ निषेध गर्दै लैजान सक्ने तागत राख्दछ । महिला र दलितमाथि हुने बलात्कार र हत्याको श्रृंखलामा माया विक एक प्रतिनिधी पात्र मात्र हुन् । काठमाडौं वानेश्वर देखि दोलखामा सम्म दलित किशोरी तथा महिलाहरु वलात्कृत भएको उदाहरणहरु छन् । हरेक दिन जस्तो महिला, दलित र र सिमान्तकृत समुदायको कसै न कसैमाथि भएको विभेद, बलात्कार र हत्याको घटनाहरु स्थानिय देखि राष्ट्रिय तहको शक्ति सम्वन्धहरुको कारण भित्रभित्र नै दवाइन्छ । र नेपालको दलित आन्दोलन डलरको मन्द विषले यति धेरै गलिसकेको छ कि, कतैवाट मौटै रकम उपलव्ध नभए सम्म दलित हक अधिकारकै लागि भनेर खुलेका संघसंस्थाहरु समेत मौनताको चिसो उत्सव मनाइरहने तर अत्याचारको विरुद्ध वुलन्द आवाज ननिकाल्ने नियति देखिन्छ । संसारभर प्रतिरोध आन्दोलनको सुस्त छायाँ नेपालको महिला आन्दोलनमा पनि परेको र त्यस्को प्रतिविम्व दलित महिलाको हक अधिकारको लागि गरिने आन्दोलनमा पनि देखिएको छ । वर्तमान अवस्थामा दलितहरुको टुटेको सपना र रुपान्तरित हुने आशालाइ सशक्त प्रतिरोध आन्दोलनले मात्र महिला र दलित सम्वन्धी मुद्दाहरुको उठानमा जोडबल पुग्ने अवस्थाको सिर्जना हुन्छ ।
आर्टिकल १५ मा स्थानीय तवरमा ठेकेदार, प्रहरी र नेताको सन्तुलनमा तयार भएको शक्ति संरचनामा प्रश्न उठाउँदा अपराधको माखे साङलो खुल्दै गएर विना कुनै मारकाट अपराधिक मनोवृक्तिको अन्त्य भएको र पिडितहरुलाइ न्याय मिलेको देखाइएको छ । भारतिय समाजमा पनि कथित उच्च जात र कथित तल्लो जात भित्र नै उचनिचको भावना छ भन्ने अवधारणाहको सचेतना गरेता पनि जाति व्यवस्थाको मुल कारणहरुमा प्रहार गर्न भने यस चलचित्र चुकेको छ । यद्यपी, अध्याँरो कालरात्रीको पनि आफनै सुमधरु सँगीत हुन्छ भने जस्तै डलर र युरोले थंगथिलो बनाएको दलित आन्दोलनलाई आर्टीकल १५ जस्तो चलचित्रले तरंग सिर्जना गर्न भने सफल भएको देखिन्छ । भारतको लालगाउँको कथामा दलित किशोरीहरुले भोगेको नियती र नेपालमा माया विक जस्ता प्रतिनिधि पात्रहरुले भोगेको नियति दुरुस्त उस्तै नै छ । यस चलचित्रमा देखाए जस्तै प्रहरी प्रशासन, ठेकेदार र राजनीति गर्ने व्यक्तिहरुको कलुषित र अपराधिक सोचले अवोध किशोरीहरुको बलात्कार तथा हत्या गरेर आफनो अभिष्ट पुरा गरेको तितो यथार्थ नेपाल र भारत लगायत संसारभरको गरिव तथा अल्पविकसीत राष्ट्रहरुमा दोहोरी रहने नियति हो । पितृसत्ताको घृणित अनुहार महिलामाथि हुने बलात्कार र हत्या जस्ता अपराधको रुपमा प्रकट हुने घटनाहरुको विरुद्ध जो जहाँ छ त्यहिँवाट अनि जे उपलव्ध छ त्यही विधिवाट निरन्तर आवाज उठाइरहनु नै सचेतजनहरुको सामाजिक उत्तरदायित्व हुन आउँछ ।


प्रकाशित | २ कार्तिक २०७६, शनिबार २०:१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *