अम्बेडकर विचारधारा र नेपालको दलित आन्दोलन

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्षा  डा. वावुराम भट्टराईले एउटा दलितको संस्थाले आयोजना गरेको कार्यक्रममा दिएको अभिव्यक्ति देशव्यापीरुपमा चर्चाको विषय भएको छ । अनलाइन खबर डटकममा अर्थात १५० भन्दा वढि प्रतिक्रिया पाउने समाचार बन्यो । सो प्रतिक्रियाको ट्रेन्डलाई हेर्दा धेरैजनाले त्यसलाई डा. भट्टराईको राजनैतिक स्टन्ट भएको जनायका छन् । म एउटा दलित अभियन्ताको दृष्टिकोणवाट हेर्दा हामीले गम्भीर रुपमा सोच्नु पर्ने विषय भएको देखिन्छ ।
कुनै पनि विचारधारा त्यसको प्रतिपादन गर्ने व्यक्ति, उसको राजनैतिक र व्यक्तिगत सफलता तथा समाज र देशमा पुर्याएको योगदानको आधारमा मूल्यांकन तथा समिक्षा गर्नु पर्ने हुन्छ र त्यो कत्तिको उपयोगी छ भन्ने कुरा देश काल र परिस्थिति अनुरुप छ की छैन भन्ने विश्लेषण गर्नु पर्छ भन्ने मेरो ठहर छ । अम्वेडकर आफु अंग्रेजको उपनिवेशकालमा जन्मे, हुर्के, उच्च शिक्षा हासिल गरे र भारतीय स्वतन्त्रता आन्दोलनमा सरीक हुँदै संविधान मस्यौदा समितिको अध्यक्ष भए, नेहरु मन्त्रीमण्डलमा कानून मन्त्री भए, तर उनले सोचेको जस्तो काम नहुने देखे पछि राजीनामा गरे । उनको जीवनको महत्वपूर्ण उद्घोष मध्येको हिन्दु भएर जन्मनु उनको वशमा थिएन तर मर्नु उनको वशमा भएको हुँदा आफ्ना लाखौ अनुयायी सहित वौद्ध धर्म ग्रहण गरेर जीवनको अन्तिम यात्रामा निस्के । उनको यत्ति जीवन गाथावाट हामीले के ग्रहण गर्ने र के लागु गर्ने अहिलेको महत्वपूर्ण चुनौती हो ।
भारत स्वतन्त्र हुनु भन्दा धेरै अगाडि देखिन अर्थात १९१७ मै माक्र्सवादलाई आधार वनाएर लेलिनले शोभियत संघमा वोल्सेभिक क्रान्ति गरि सकेका थिए । चीन पनि माक्र्सवादी विचारधारामै आधारित रहेर जनवादी क्रान्ति गर्ने अन्तिम चरणमा थियो । भारतमै पनि कम्युनिष्ट पार्टी गठन भएर आफ्नो भूमिका विस्तार गरि रहेका थिए । हामी नेपाली मध्ये दुई तिहाई जनताले कम्युनिष्टको समानता र सर्वहाराको अधिनायकवाद सिद्धान्तमा आकर्षित भएर संसारवाट लगभग लोप भैसकेको कम्युनिष्ट सिद्धान्तलाई नै पछ्यायर त्यहि विचारधारालाई अंगिकार गरेको दावी गर्ने नेकपाको सरकारलाई दुई तिहाई सहित सत्तामा पुर्याएका छौं । दलितहरु मध्ये हेर्ने हो भने माओवादी जनयुद्ध कालमा ११ सय भन्दा वढिले ज्यानको आहुति दिए भने एमालेमा पनि लाखौ दलित समाहित भएका छन् । हाम्रो नजिकको छिमेकी देश भारत जसको आर्थिक, राजनैतिक तथा सांस्कृतिक पद्धतिवाट हामी धेरै प्रभावित छौं त्यस्तोमा भारतमै जन्मेर फले फुलेको अम्वेडकरवादवाट हामी किन प्रभावित हुन सकेनौ ? किन नेपालको दलित आन्दोलनको मार्गदर्शन सिद्धान्त अम्वेडकरवाद हुन सकेन ?

हामीले नेपालको सन्दर्भमा अम्वेडकर विचारधारालाई ग्रहण गर्ने हो भने हामीले दलितहरुको छुट्टै राजनैतिक शक्ति वनाउन जरुरी छ । भारतमा रहेका १६ प्रतिशत दलितहरुले छुट्टै राजनैतिक हैसियत प्राप्त गर्न सक्छन् भने नेपालमा रहेका १४ प्रतिशत दलितहरुले किन प्राप्त गर्न सक्दैनन ?

भारतको औपनिवेशिक अंग्रेज सरकार जसले पश्चिमा पूजीवादी व्यवस्था लागु गरेको थियो, माक्र्सवादी सिद्धान्तको आधारमा भन्ने हो भने त्यो शासन राजारजौटाहरुले शासन गरेको सामन्तवाद भन्दा प्रगतिशिल थियो, त्यसले सती प्रधाजस्तो मध्ययुगिन महिला उत्पीडनकारी प्रथालाई हटाएको थियो तर त्यहांका अश्पृश्य जातिहरुमाथि भएको उत्पीडनलाई अन्त्य गर्ने कुनै ठोस काम गरेको थिएन । त्यस्तैमा अम्वेडकरले अश्पृश्यता विरोधी आन्दोलन उनको जन्मथलो महाराष्ट्रवाट सुरु गरेर भारतका धेरै ठाउँमा पुर्याए र एउटा छुट्टै राजनैतिक हैसियत पनि प्राप्त गरे । उनीसँग जनवल र वौद्धिक वल दुइटै थियो । यी सवै आन्दोलनमा उनले माक्र्सवादलाई पनि उपयोग गर्न सक्थे, त्यसकै आधारमा संगठन निर्माण गर्न सक्थे तर उनले त्यसो कहिं कतै गरेनन, वरु उनी गान्धीको अहिंसात्मक आन्दोलनका अनुयायी तथा पक्षपाती भए । यसकै आधारमा उनले राष्ट्रिय कांग्रेस, अंग्रेज सरकार समेत सम्मिलित १९३१ को पुनाप्याक्टमा सकृय भाग लिए । उनको आन्दोलन र नेतृत्व यत्ति सशक्त थियो की उनले राखेको प्रस्तावलाई गान्धी र अंग्रेज सरकार दुवैले मान्न वाध्य भए । जसरी मुस्लिमहरुका लागि छुट्टै देशको माग भयो, त्यस्तै माग दलितहरुका लागि पनि उनले राखे, किनभने उनको के वुझाई थियो भने स्वतन्त्र भारतमा पनि सवर्णहरुलेनै शासन गर्ने हुन, जसको शासन त्यत्तिकै वा त्यो भन्दा वढि उत्पीडनकारी हुन्छ जति औपनिवेशिक अंग्रेजी शासन थियो । गान्धी आफु हिन्दु भएकाले मुस्लिमहरुका लागि देश टुक्रिनुमा उनले यसलाई सहजरुपमा स्वीकारे तर दलितहरुका लागि पनि देश टुक्र्याउने कुरा उनलाई सह्य भएन र अनसनमा वसे, पछि उनको ज्यान जोगाउन अम्वेडकरले आफ्नो अडानलाई परित्याग गर्नु पर्यो र त्यसका वदलामा उनलाई संविधान वनाउने जिम्मा दिइयो र भनियो देश टुक्र्याउने वाहेक अन्य जे चाहान्छन दलितका लागि त्यहि व्यवस्था गरिदिने । भारतका एकथरी दलितहरुले यदि पाकिस्तान जस्तो दलितहरुको पनि छुटटै देश भएको भए दलितहरुले दलितहरुकै लागि शासक वन्थे, अहिले जस्तो सवर्णको दयामायामा वस्नु पर्ने थिएन भन्ने गर्छन भने एकथरीले दलितका नाममा देश टुक्र्याएको भए इतिहासमा कलंकित हुने थियो । भारतको यो घटनाले एउटा दर्हो पाठ के लिन सकिन्छ भने कुनै पनि ठूलो माग पुरा गर्न एउटा वलियो राजनैतिक हैसियत प्राप्त गर्नु पर्छ । संभवत पुनाप्याक्टमा अम्वेडकरको त्यो वौद्धिक र राजनैतिक हैसियत प्राप्त नभएको भए संविधान लेख्ने जिम्मेवारी उनले प्राप्त गर्दैनथे र अहिले सम्म भारतमा दुईजना दलित राष्ट्रपति वन्ने अवसर पाउदैनथे । उनले संविधान वनाउन पाउँदा भारतमा दलित तथा आदिवासीका लागि आरक्षणको वलियो जग वस्यो र त्यहां अहिले दलित मध्यम वर्गको ठूलो तप्का खडा भएको छ । राजनैतिकरुपमा पनि दलितको प्रतिनिधित्व सुनिश्चित भयो, अहिले ५४३ जनाको लोकसभामा ८३ जना दलितका सांसद रहेका छन् ।
अम्वेडकरले घोषणा गरेको गैरहिन्दु भएर मर्ने कुरामा उनले आफ्नो जीवनकालमा भारतमा प्रचलित धेरैजसो धर्महरुको गहन अध्ययन गरे । उनको जुन स्तरको वौद्धिकता थियो त्यसलाई आधार मान्दा उनलाई आस्तिक वन्न जरुरी थिएन तर उनलाई के थाहा थियो भने भारतीय समाजलाई धर्मले यति गिजोलेको छ की त्यसवाट मुक्त भएर एउटा नास्तिकको जीवन जिउन धेरै गार्हो छ अतः कुनै न कुनै धर्म अपनाउनै पर्छ, त्यसरी अपनाउंदा कुन धर्म अपनाउने भन्ने शंकट उनमा परेको थियो, उनी लगायत उनका अनुयायीहरुलाई समाहित गर्न भारतमा प्रचलित सवै धर्म लालायित थिए, त्यसमा हिन्दु धर्मको कट्टर अनुयायी राष्ट्रिय स्वंय सेवक संघ पनि अग्रपंक्तिमा थियो । उनले धेरै धर्महरुको तुलनात्मक अध्ययन गरे पछि अन्त्यमा वौद्धधर्मलाई अपनाउने निधो गरे । उनले वौद्धधर्मलाई माक्र्सवादसंग तुलना गरेका छन् र उनको ठम्याई माक्र्सवादको हिंसालाई छोड्ने हो भने ती दुईमा तात्विक भिन्नता रहदैन । अहिले भारतमा हिन्दु धर्ममा रहि रहेका दलित र वौद्धधर्म ग्रहण गरेका दलितको विचमा तुलना गर्दा उनीहरुको जीवनशैली र प्रगतिमा आसमान जमीनको फरक देखिन्छ । अहिले भारतमा दलित उद्यमीहरुको छुट्टै दलित च्याम्वर्स अफ कमर्स एण्ड इन्डिस्ट्रिज भन्ने छुट्टै संगठन छ, यसमा लाखौं उद्यमीहरु सम्मिलित छन र त्यसमा अधिकांश वौद्धधर्म अंगालेकाहरु छन् । यसले जसरी माडवारीहरुले एकअर्कालाई सहयोग गर्दै सम्पूर्ण माडवारी जगतलाई सम्वृद्ध वनाएका छन् त्यस्तै काम गरेको देखिन्छ । यता हिन्दु धर्ममा रहिरहेका दलितहरुको स्थितिमा खासै परिवर्तन आएको छैन । अम्वेडकर विचारधारालाई थप उचाईमा पुर्याउने काम काशीराम र मायावतीले गरेका छन् । उनीहरुको पनि एउटै मन्त्र के हो भने दलितहरु एउटा छुट्टै राजनैतिक शक्ति वन्नु पर्छ र यसमा अन्य जात र धर्मकालाई पनि सम्मिलित गराउन सक्यो भने सत्ता प्राप्त गर्न सकिन्छ ।
हामीले नेपालको सन्दर्भमा अम्वेडकर विचारधारालाई ग्रहण गर्ने हो भने हामीले दलितहरुको छुट्टै राजनैतिक शक्ति वनाउन जरुरी छ । भारतमा रहेका १६ प्रतिशत दलितहरुले छुट्टै राजनैतिक हैसियत प्राप्त गर्न सक्छन् भने नेपालमा रहेका १४ प्रतिशत दलितहरुले किन प्राप्त गर्न सक्दैनन ?


प्रकाशित | ११ आश्विन २०७६, शनिबार १६:२१

One response to “अम्बेडकर विचारधारा र नेपालको दलित आन्दोलन”

  1. arjun says:

    दलित आन्दोलन आइएनजिओको पैसा नपाइ एक कदम पनि अघि सर्दैन । आइएनजिओको तेलबाट चलेको दलित आन्दोलनको इन्जिन तेल आउन रोकिएपछि बन्द हुन्छ । पैसादिनेले बुद्धि पनि दिन्छ । जस्तो बुद्धि दियो उस्तै स्वरुप धारण गर्छ दलित आन्दोलनले । त्यसकारण कुनै सिद्धान्तबाट निर्देशित छैन दलित आन्दोलन । जस्तो दाता उस्तै कार्यक्रम । उस्तै परियोजना । दलित आन्दोलन नै उठेन । मात्र परियोजना चल्यो । परियोजनाले दिएको उपलब्धि र आन्दोलनबाट प्राप्त उपलब्धिमा केही त तात्विक भिन्नता होला । रिसर्च र रिसर्चबाट जन्मिएको साहित्यका लागि पनि पहिले कतै प्रोपोजल फालिएको हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *