नेपालको दलित आन्दोलनमा दलित अनलाईनको आवश्यकता

हिरा विश्वकर्मा

भनिन्छ संचार क्षेत्र आवाजविहिनहरुको आवाज हाे, त्यसमा पनि राज्यको चौथो अंग हो । जव आवाजविहिनहरुको आवाज भन्ने गरिन्छ, ती आवाजविहिनहरुको सूचीमा दलित समुदाय सवै भन्दा अग्रपंक्तिमा आउँछन् । तर के नेपालका संचार क्षेत्रहरु दलितहरुको आवाज वन्न सकेको छ, सामान्य अर्थमा भन्दा सकेका छैनन् । यसरी दलितहरुको आवाज आम संचार क्षेत्रमा हुन नसक्नुको प्रमुख कारण के होला भनि हामीले खोज्यौं भने के पाउछौं भन्दा, अहिलेको युगलाई वैश्य युग भनिन्छ अर्थात व्यापारको युग । जसरी व्यापार जगतले वजारमा जे विक्छ त्यसैलाई विभिन्न वस्तु वनाएर वेच्छ । संचार क्षेत्र पनि एउटा व्यापार नै हो भन्दा अत्युक्ति हुदैन किनभने नेपालका सफल तथा ठूल्ठूला संचार क्षेत्रहरु ठूलै व्यापारिक घराना वा व्यक्तिहरुले चलाइ रहेका छन् । जुन संचार क्षेत्रलाई व्यापारी समूहले हात हालेको छैन, त्यो या त सानो स्तरमा संचालित छ या टिक्न नसकेर वन्द भएको छ । यस्तोमा दलितका लागि वा दलितले चलाउने संचार क्षेत्रको हालत के होला जो कोहीले अनुमान लगाउन सक्छ ।
दलितहरु सवै दृष्टिकोणवाट सवै भन्दा आवाजविहिन समुदाय हो भन्ने कुरामा खासै वहस गर्नु पर्ने जरुरत पर्दैन किनभने देशमा सवैभन्दा गरितम समूहमा दलित पर्छ । त्यसको उदाहरणको रुपमा अन्य सवै समुदायको गरिबी ३० प्रतिशत भन्दा कम हुंदा दलितको गरिबी ४२ प्रतिशत रहेको छ (नेपाल जीवनस्तर सर्वेक्षण २०११)। संसारको जुनसुकै ठाउंमा पनि गरिब हुनु भनेको आवाज विहिन हुनु पनि हो । यसरी सवैभन्दा आवाज विहिन भएको समुदायको मूलधारका संचार क्षेत्रहरु के दलितको आवाज हुन सकेका छन् त ? यस प्रश्नको उत्तर खोज्दा टाढा टाढा सम्म पनि हेर्दा आवाज विहिनको आवाज त परै जाओस् हामीलाई मर्का परेको घटना वा समाचार पनि उनीहरुले पस्केका हुदैनन । यसरी संचार क्षेत्रले हाम्रो मुद्धालाई वेवास्ता गर्दा हामीलाई के असर परेको छ भन्ने प्रश्न गर्ने हो भने मूलतः हाम्रो सवाललाई मूलधारका संचारले वेवास्ता गर्छन् । अनि सरोकारवालाहरु खासगरी राज्यको निकायहरुले हाम्रो सवाललाई वेवास्ता गर्दा हामीले पाउनु पर्ने न्युनतम अधिकारहरु पनि हामीले पाउन सकेका छैनौ ।
यो सवै परिवेशमा हाम्रो आवाजलाई मुखरित गर्ने कुनै न कुनै माध्यम चाहिन्छ, तर हाम्रा लागि त्यस्तो माध्यमहरु उपलव्ध छैनन् या भएका पनि पर्याप्त छैनन् । नेपालको दलित आन्दोलन मुख्यतया गैरसरकारी क्षेत्रवाट संचालित तथा परिचालित छ । गैरसरकारी क्षेत्र भन्ने वित्तिकै यसमा दाताको कुरा आउँछ, दाताको कुरा आउने वित्तिकै यो प्रायोजित हुन्छ र प्रायोजित भन्ने वित्तिकै कसैको स्वार्थ गाँसिएको भन्ने मानिन्छ र यस्तो स्वार्थ गाँसिएको कुरालाई नतः सरकारले न आम जनताले गंभीर रुपमा लिन्छन् । अझ सरकारले त यस्तो कुरालाई वेवास्ता गर्ने वा दमन गर्ने हिसावले पनि लिन सक्छ । यसको मतलव एउटा विश्वासिलो, भरपर्दो, स्वतन्त्र र पारदर्शी संचारको खांचो छ भन्ने हो ।
नेपालको विगतलाई हेर्ने हो भने राजाको स्तुति गान गाउँदै भए पनि स्वर्गीय टिआर विश्वकर्माले प्रेरणा, संजिवनी भन्ने साप्ताहिक पत्रिका तथा मासिक पत्रिका पंचायत कालमै निकाल्थे । तत्कालिन समयमा अन्य संचार क्षेत्र पनि कमजोर नै थियो र पनि टिआर विश्वकर्मा तथा उनको परिवारले धेरै लामो समयसम्म यसलाई निरन्तरता दिएको थियो । टिआरको अवसान संगै यी दुईटा पत्रिका पनि अस्तित्वमा रहेनन् । अहिले हामी गणतन्त्र कालमा छौं अर्थात सामन्ती व्यवस्थाको अवशेष राजतन्त्र विहिन लोकतन्त्रमा छौं, यो लोकतन्त्रमा पनि हामी संचारको हिसावले जसरी पंचायत कालमा थियौं अहिले पनि त्यस्तै हालतमा छौं । अर्थात नतः हाम्रो आवाज मूलधारका संचार क्षेत्रले मुखरित गरिदिन्छ नतः हाम्रो आफ्नै स्वतन्त्र संचार क्षेत्र छ । हाम्रो सवै भन्दा ठूलो दूर्भाग्य के हो भन्दा स्वतन्त्र र पारदर्शी तरीकाले चल्ने हाम्रो संचार क्षेत्र त भएन भएन, केही व्यक्तिगत तथा गैरसरकारी क्षेत्रवाट स्थापित तथा संचालित संचार क्षेत्रले निरन्तरता कहिल्यै पाएन । यसको उदाहरणको रुपमा छापा क्षेत्रमा केही समय प्रकाशित जनउत्थान, नेपाली मंच, दलित निगरानीलाई लिन सकिन्छ । विद्युतीय संचारमा हेर्दा दलित सेवा संघले संचालन गरेको कांचुली सहयात्रा, दलित महिला संघले चलाएको हाम्रो सरोकारलाई लिन सकिन्छ । अरु त अरु दलित विकास समिति तथा दलित आयोगले पनि टिभी कार्यक्रमहरु चलाएका थिए, यी दुवै सरकारी निकाय हुँदाहुँदै पनि यिनीहरुले चलाएको कार्यक्रमहरु पनि अहिले कहांँ छन् खोज्नु पर्ने हुन्छ ।

१७ देशमा रहेका नेपाली तथा दलितहरुले यो अनलाईनलाई नियमित रुपमा पछ्याउछन् । त्यसमा साउदी अरेविया, युरोप तथा अमेरिका पर्छन । कुनै कुनै विषयलाई २८ हजार पाठकहरुले हेरेको रेकर्ड छ, नियमित हेर्ने १५ हजार भन्दा वढि छन् ।

अर्को शव्दमा भन्ने हो भने संचारको हिसावले दलितको क्षेत्र मरुभूमी जस्तै छ । जहां जो सकुै तीर्खाएको हुन्छ, त्यस्तो अवस्थामा दलित अनलाईनले थोरै पानीले घांटी भिजाउने सम्मको आवश्यकता पुरा गरेको छ । यसले धेरै तहल्का मच्चाउन नसकेता पनि अन्त प्रकट हुन नसकेको विचार, घटना तथा भावनाहरुलाई यसले समेटेको छ । अहिले एकीकृत रुपमा दलितका आवाज तथा समस्याहरु कही खोज्नु पर्यो भने त्यो ठाउंँ दलित अनलाईनले उपलव्ध गराएको छ । तर यो अत्यन्त असंगठित, थोरै श्रोत साधन तथा सीमित व्यक्तिहरुवाट संचालित छ । दलितको क्षेत्रमा एउटा सवैभन्दा ठूलो समस्या के छ भन्दा, संचार क्षेत्रको अभाव सवैले कुनै न कुनै रुपमा महशुस गरेका हुन्छन् तर त्यसलाई निरन्तरता दिन कसैले पहल गर्दैन । मैले माथि नाम लिएका खास गरी छापाका संचार क्षेत्रलाई दलितका अग्रजहरुको साथ सहयोग भएको भए त्यसले निरन्तरता पाउँथ्यो तर त्यसमा कसैले चासो राखेको देखिदैन । पत्रिका निकाल्नु आफैमा ठूलो कार्य हो, यो निकाल्दा समय, विचार तथा पैसा सवैको लगानी हुन्छ अनि मात्र कुनै पत्रिका जन्मिन्छ । त्यसरी जन्मेको पत्रिकालाई त्यसका पाठक वा सरोकारवालाहरुले सर्हाना गरिदिने, नियमित रुपमा पढ्ने, वैचारिक मद्दत गर्ने, सके आर्थिक सहयोग दिने काम गर्नु पर्छ, तर दुःखका साथ भन्नु पर्छ हाम्रो दलित समुदाय यसमा सधै मौन तथा निरपेक्ष छ जसले गर्दा आफ्नो समय, विचार र पैसाको लगानी गरेका व्यक्ति तथा संस्थाहरु कहिल्यै प्रोत्साहित हुन सक्दैनन् । नभए पछि केही समयसम्म जोश जाँगरका साथ निक्लेको पत्रिका वा अन्य कुनै उत्पादन वन्द भएर जान्छ । सवैभन्दा ठूलो विडम्वना त त्यो किन वन्द भयो, त्यो वन्द हुंदा त्यसले दलित आन्दोलनलाई के असर ग¥यो भन्ने सम्मको चासो चिन्ता व्यक्त पनि गरिदैन नत त्यस विषयमा समीक्षा नै गरिन्छ ।
माथि उल्लेखित यस्तो विषय परिस्थितिमा पनि दलित अनलाईनका संस्थापक तथा सम्पादक अशोक दर्नालले दलित आन्दोलनलाई ठूलो गुन लगाई रहेका छन् । मैले थाहा पाए अनुसार पनि विगत ४, ५ वर्ष देखि यो अस्तित्वमा छ तर पनि यो घिटिघिटी गर्दै किन नहोस् अस्तित्वमा छ र दलितका सवालहरुलाई निरन्तर उजागर गरिरहेको छ । मेरो जानकारीमा आए अनुसार यसको उपादेयता सवैभन्दा वढि विदेशमा वस्ने नेपाली तथा त्यसमा पनि दलितहरुलाई वढि छ । सुन्नमा आए अनुसार १७ देशमा रहेका नेपाली तथा दलितहरुले यो अनलाईनलाई नियमित रुपमा पछ्याउछन् । त्यसमा साउदी अरेविया, युरोप तथा अमेरिका पर्छन । कुनै कुनै विषयलाई २८ हजार पाठकहरुले हेरेको रेकर्ड छ, नियमित हेर्ने १५ हजार भन्दा वढि छन् । यस्तो हुंँदाहुँदै पनि यसले समग्र विषय तथा तत्कालै समेट्न पर्ने विषयहरु नसमेटेको वा नसकेको देखिन्छ ।
यसो हुनुमा सवैभन्दा ठूलो वाधक भनेको आर्थिक अभाव हो । मैले आफै पनि यसलाई अक्षय कोष उपलव्ध गराएर यसको न्युनतम स्वरुपमा चल्ने वातावारण श्रृजना हुनुपर्छ भनेर सहयोग गर्न खोजेको हुँ। यसमा विदेशमा रहेका केही दलित मानकारीहरुले पहल गर्न खोजेका पनि हुन तर सोचे जस्तो केही भएको देखि रहेको छैन । अशोक दर्नालको व्यक्तिगत प्रयासमा यसलाई धान्ने काम भई रहेको छ, त्यसले कति दिन टिकाउंछ भन्न सकिदैन ।
अतः दलितको सवाललाई संचारको माध्यमवाट मुखरित गर्ने तथा जीवित राख्ने कार्यमा हामी सवैको सरोकार तथा साथ सहयोगको खाँचो छ र म यसै आलेख मार्फत सवैलाई त्यसमा लाग्न आह्वान गर्दछु ।


प्रकाशित | ४ आश्विन २०७६, शनिबार १९:०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *