संविधानको ४ वर्ष : दलितलाई उपहार

काठमाडाैं- खोटाङको दिक्तेल बजारमा सहभोज कार्यक्रम थियो । दलितले दिएको दही टंकप्रसाद आचार्यले खाए । समाजले ७६ वर्षिय बृद्ध आचार्यलाई बहिस्कार गरिदियो । उनी न्यायको लागि भौतारिदै प्रदेश सभा सचिवालय विराटनगरसम्म आइपुगे ।

गणतान्त्रिक मुलुकको यो सबैभन्दा पछिल्लो आवरण हो ।

अलि अघि २०७५ वैशाखमा फर्किऔँ । महोत्तरी बर्दिवासकी बुद्धमाया विश्वकर्माको छोरी पानी थाप्न जादा धारामै कुटिइन् । सोधीखोजी गर्न पुग्दा बुद्धमायामाथि मुड्की बज्रियो । त्यतिले मात्र पुगेन, उनी समाजको नाकाबन्दीमै परिन् । र, बाध्य भएर विष पिइन् ।

उपचार भने पाइन् । तर, अहिले उनको मानसिक सन्तुलन काबुमा छैन । नयाँ संविधान जारी भएपछिको गणतान्त्रिक मुलुकले दिएको यो अर्को उपहार हो ।

अब अर्को उपहार तर्फ लागौँ । देशमा स्थानीय चुनाव भयो । दलित महिला उमेद्वार बनिन् – कालिकोटकी मना सार्की । नरहरिनाथ गाउँपालिका – ९ की वडा सदस्यमा निर्वाचित बनिन् । निर्वाचित भएको एक वर्ष एक वर्ष नवित्दै मध्य रातमा उनलाई लखेटी लखेटी ढुंगै ढुंगाले हानेर मारियो ।

अब अलि अघि पुगौँ । विश्वलाई नै चकित पार्ने गरि काभ्रेकी लक्ष्मी परियारमाथि आक्रमण भयो । लक्ष्मीलाई हिरा लामाले आफैले पढाउने स्कुलको पोलमा लगेर बाँधे । उनको आमा काइली तामाङले दिसा लिएर आइन् । अनि तलाई बोक्सी भन्दै लक्ष्मीको मुखमा कोच्याइदिइन् । हिरा र काइलीले बोक्सीको नाममा मरणासन्न हुने गरि लक्ष्मीमाथि एकोहोरो भाटा बर्साइरहे । तीन दिनपछि उनको मृत्युभयो । कि हत्या ?

त्यस अघि काभ्रेकै घटनाले देशलाई तरंगीत पारेको थियो । अजित मिजारले गैरदलितको प्रेममा थिए । उनीहरुको विवाह पनि भयो । तर, विहेपछि एकाएक अजित पाचखाल गाउँबाटै गायव भए । पछि घरमा सूचना आइपुग्यो, ‘अजित मिजार झुण्डीएर आत्महत्या गरे ।’ मात्र, प्रमले जित्यो ।

तर, उनलाई धादिङस्थित त्रिशुली नदीको किनारमा गाडिएको थियो । आन्दोलनको बलमा शव उठाइयो र पोस्र्टमार्टम गरियो । साढे तीन वर्षदेखि अजितको शव त्रिवि अस्पताल महाराजगञ्जको शवगृहमा छ । न्यायले हार्यो । हारिरहेको छ ।

अजितकी ४२ वर्षिय आमा काली मिजारले भन्छिन्, ‘अपराध गरेको भए बरु हातखुट्टा भाँचिदिएको भए हुन्थ्यो, जेल हालेको भए हुन्थ्यो । यसरी मार्न चाही नमारेको भए हुन्थ्यो ।’

आज पाँचौ संविधान दिवस । आजैदेखि दलित अनलाइन पाँच वर्षमा टेकेको छ । हामीले उत्सव मनाउनुपर्ने दिन हो, यो । तर, गणतान्त्रिक संविधानलाई धोती लगाएर दलितमाथि कथित उच्च जातीय समाजले गरेको निर्मम प्रहारलाई बडो दुःखका साथ सुनाइरहेका छौँ । यी घटनाहरु देशको औचित्यमाथि प्रश्न बनेर उभिएका छन् ।

यतिसम्मकी प्रतिनिधि सांसद कलदेवी विश्वकर्माले दलित भएकै कारण काठमाडौंमै डोरा नपाउँदा संसदलई नै ध्यानाकर्षण गराइन् । राष्ट्रियसभा सदस्य रामपृत पासवान बारा मलंगवाको पञ्चायतमै कुटिए । गैर दलित युवतिसँग दलित युवाले प्रेम सम्बन्ध गरि भगाएको आशंकामा गाउँ पञ्चायतले क्रुर निर्णय गर्यो । उक्त निर्णय थियो – दुई दिनभित्र केटीलाई उपस्थित नगराए केटाको वहिनीलाई सामुहिक बलात्कार गर्ने । जसको विरोध गर्दा रामपृत गाउँलेको रामधुलाईमा परे ।

जातीय आधारमा नीजि स्थानमा पनि भेदभाव गर्न नपाइने कानूनी व्यवस्था छ । तर, सार्वजनिक स्थानमै दलितहरु कुटिनुपरेको छ । मारिनु परेको छ । आफ्नै देशभित्र बहिष्करणमा पर्नु परेको छ ।

जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ लागुपछि मात्रै छुवाछुतकै नाममा १४ दलितले ज्यान गुमाएका छन् । तर, अधिकांश मुद्दा न्याय नपाएर छटपटाइरहेका छन् ।

हत्या नम्बर -१
गौरीगंगा नगरपालिका–११ कैलालीकी माया विकले भर्खर एसइइ पास गरेकी थिइन् । उनको घर दलित बस्तीमा थियो । माया उक्त बस्तीमै पहिलो पटक एसइइ पास गर्ने पहिलो व्यक्ति थिइन् । उनको सफलताले गाउँलाई नै खुशीले छोप्यो ।
तर, मायाको परिवार चरम गरिबीको शिकारमा थियो । तर, आमाले कुबेत पुगेर भए पनि मायालाई पढाएकी थिइन् । एसइइ पासपछि मायाले पनि गौरिगंगा नगरपालिकामा सामाजिक परिचालिकाको लागि आवेदन दिइन् । र, छनोट भइन् । उनले आमासँग भनेकी थिइन् – अब मैले पनि पैसा कमाएर तपाइको दुःख कम गर्नेछु ।

माया परिचारिकाको पोशाक पहिरिएर कार्यालय जान थालेको एक हप्ता मात्रै भएको थियो । तर, १२ असारमै माया कार्यालयबाट हराइन् ।

तीन दिनपछि प्रहरीले गौरीगंगा नगरपालिका–११ चपरथली सामुदायिक वनमा माया विकलाई भेटायो । मायाको हरमा कपडा थिएनन् । उनको कपडा मुखमा कोचिएको थियो । हात पछाडि लगेर बाँधिएको थियो ।

प्रारम्भिक अनुसन्धानले माया विकको बलात्कारपछि हत्या गरेको बतायो । सुरज चौधरी, भुवन खाती, तपेन्द्र बोगटीलगायत १० जनालाई प्रहरीले नियन्त्रणमा लियो ।

माया विकको हत्या भएको डेढ वर्ष वितिसकेको छ । मायाको गाउँको आँखामा आँशु चिसै छ ।

तर, अदालतमा मायाको मुद्दाको पेशी आठौं पटक सारिएको छ । १३ साउन २०७५ मा ५ जनाविरुद्ध कैलाली जिल्ला अदालतमा जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दा दायर भएको थियो । यसअघिका पेशीहरूमा जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध प्रतिवादीका कानुन व्यवसायी अधिवक्ता गम्भीर सिंह ऐरले उच्च अदालत दिपालयमा वेरीटको आदेश बदर गरी पाऊँ भनी निवेदन दिएपछि मुद्दाको पेशी तीन पटक सारिएको गिरीले बताए । अहिले मायाको परिवार दोहोर पीडाको चपेटामा छ । एकातिर छोरीको विभत्स हत्याले पीडा दिएको छ, अर्कोतर्फ अदालतले ।

हत्या नम्बर – २
सप्तरी पसेराका शिवशंकर दास गाउँकै एक चौधरी युवतीको प्रेममा परे । प्रेमलाई विहेमा परिणत गर्न पाएकै थिएनन् । बरु यातना पाइरहे । १६, माघ २०६८ मा केटी पक्षले शिवशंकरको हात बाँधे । त्यसपछि विष खुवाएर हत्या गरिदिए ।

दाजु दीपेन्द्रले विदेशबाट शिवशंकरलाई नयाँ मोबाइल पठाइदिएका थिए । सो मोबाईल उनकी प्रेमिकाले केही दिनका लागि मागिन र लगिन् । मोवाईले घरमा अनेक प्रश्न जन्मायो । शंका उत्पन्न गर्यो । केरकारपछि प्रेमसम्बन्धबारे खुल्यो ।

त्यसपछि केटीपक्षले शिवशंकरलाई फोन गरेर बोलायो र विष खुवाएर हत्या गरियो । उता प्रहरीले भने विष सेवन गरेर शिवशंकरले आत्महत्या गरेको मिसिल तयार पार्यो । त्यसकै आधारमा अदालतमा चल्यो, सोहीअनुरुप फैसला भयो ।

त्यसपछि, पीडित सर्वोच्चमा पुगे । यो घटनाले सडकदेखि सदन त ततायो । तर, अझै सर्वोच्चको फैसला आइपुगेको छैन । शिवशंकरको परिवारले भने आफुहरु अझै नहारेको बताएका छन् ।

हत्या नम्बर – ३
न्याय नपाएपछि अजितको शव अहिले त्रिवि शिक्षण अस्पतालबाट उठ्न सकेको छैन ।

अजितको शव धादिङमा थियो । तर, आफन्त घटनास्थल पुग्दा प्रहरीले अजितको शव गाडिसकेको थियो ।

अजितले पराजुली थरकी युवतीसँग २५ असार, २०७३ मा प्रेमविवाह गरेका थिए । असार २७ गते कम उमेरमा बिहे भयो भनेर काभ्रे प्रहरीमा केटीको परिवारबाट उजुरी पर्यो । त्यसलगत्तै उनीहरुको सम्बन्ध विच्छेद गरियो । तीन दिनपछि अजितको शव झुन्डिएको अवस्थामा धादिङको परेवाटारस्थित प्रतीक्षालयमा फेला पर्यो ।

विस्तारै अजितको पक्षमा आन्दोलन उठेपछि संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिअन्तर्गतको उपसमितिले पनि अजितको मृत्यु सम्बन्धमा आर्थिक प्रलोभनमा परेर प्रहरीले पोस्टमार्टमको गलत रिपोर्ट बनाएको उल्लेख गर्यो । मुद्दा दर्तापछि पक्राउ परेका मुख्य आरोपित धु्रव भनिने भोजबहादुर पराजुली, उनकी छोरी सम्झना पराजुली र मनोज भन्ने टेकबहादुर पराजुली ५०÷५० हजार धरौटीमा छुटे । अधिबक्ता मोहन शाह शंकरले भने, ‘अनुसन्धानले झुन्ड्याइएको देखिन्छ तर प्रहरी प्रशासनले झुन्डिएको हो भन्छ । राज्यले आफ्नो गल्ती हो भनेर स्वीकार गरिसकेर क्षतिपूर्ती दिएको मुद्दा हो यो । तर, उसकै प्रहरीले पेस गरेको मुद्दामा कर्तव्य ज्यान नभनी आत्माहत्या गरेको भन्ने छ ।’

पछि अदालतले नै हत्या नभएको फैसला सुनायो । धादिङमा अजितको शव देख्दा निकै भक्कानिएका मिजारको दाई भन्छन्, ‘धादिङमा देखेपछि भाइको शव हेर्न जान सकेका छैनन् । जुन दिन न्याय मिल्छ त्यस दिन हेर्छु भाइको शव ।’ अजित टिचिङ अस्पतालको शवगृहमा न्याय कुरेर बसिरहेका छन् ।

हत्या नम्बर -४
मना सार्की नरहरिनाथ गाएँपालिका – ९, की वडा सदस्य थिइन् । दलित महिला सदस्यहरुमाथि दव्र्यवहार र विभेदका वग्रेल्ती घटनाहरु छरपस्ट भइनै रहेका थिए । कतै, छुट्टै बसेर खाना खाने त कतै आशय विभेद भोग्नेहरु जनप्रतिनिधि संयौँको संख्यामा छन् । तर, त्योभन्दा एक कदम माथि उठेर मना सार्कीलाई गाउँलेले नै कुटपीट गरे । लखेटीलखेटी ढुंगाले हानेर मध्य रातमा हत्या गरे । तर, उनीसँगै निर्वाचन लडेका जनप्रतिनिधिहरु मुकदर्शक बने । कुटपीटको नेतृत्व राजेन्द्र र सिर्जना शाहीले गरेका थिए ।

हत्या नम्बर -५
काभ्रेकै लक्ष्मी परियारलाई २० मंसिर, २०७३ मा स्कुलको पोलमा बाँधेर मानव मलमुत्र खुवाईयो, भाटाले हानियो । भैँसीलाई बोक्सी लागाएर घाउँ बनाइदिएको भन्दै शिक्षक हिरा लामा र उनको काइली तामाङले कुटपीट गरे । चार दिनपछि २४ मंसिरमा लक्ष्मीको मृत्यु भयो । लक्ष्मीको विषयले एक पटक देशलाई नै तरंगित पार्यो ।

तर, काभ्रे जिल्ला अदालतले उल्टै लक्ष्मीको श्रीमान मिलनलाई हत्या गरेको अभियोगमा सजायँ सुनायो । हिरा र काइलीलाई वोक्सीको मुद्दामा मात्र सजाय तोक्यो । उनीहरुको सजायँ थियो – आठ महिना कैद र २० हजार रुपैयाँ सजायँ ।

त्यसपछि लक्ष्मीको रिट उच्च अदालतमा पुग्यो । उच्च अदालतले हिरा र काइली तामाङलाई चार वर्ष कैदको सजाय तोकेको अधिबक्ता मोहन सासंकर बताउँछन् । तर, लक्ष्मीको पति मिलनलाई समेत ज्यान मुद्दामा दुई वर्ष कैद सजायँ सुनाएको छ । अब रिट सर्वोच्चमा पुग्ने अधिवक्ता मोहन बताउँछन् । सर्वोच्चको फैसला हेर्न बाँकी छ ।

हत्या नम्बर – ६
जव प्रेमले मान्यता पाउँदैन, प्रेमीहरु जस्तोसुकै कदम उठाउन पनि पछि पर्दैनन् । झापाको कनकाई नगरपालिका–६ की अस्मिता तोलामी (सार्की) र सोही ठाउँका ईश्वर भट्टराईको प्रेमलाई समाजले स्वीकार गरेन । त्यसपछि २३ वर्षीया तोलामी र २५ वर्षीय भट्टराई एउटै डोरीमा पासो लगाएर समाजबाटै विदा भए । उनीहरुको प्रेमले सिसौँको हाँगामा पुगेर विश्राम लियो ।

हत्या नम्बर – ७
दैलेख टोलीका सन्तबहादुर दमाईले १३ भदौ ०६८ मा राजकुमारी शाही अन्तरजातीय विहे गरे । विहेपछि केटी पक्ष बञ्चरो बोकेर एक रात शन्तबहादुरको घर प्रवेश गर्यो । शन्त र उनकी श्रीमतिलाई भेटेन । सन्तबहादुरको बाबा सेते दमाइलाई ढाल्यो । अदालतले सेते दमाईको हत्या गर्ने तीन जनालाई जन्मकैदको फैसला गर्यो ।

हत्या नम्बर -८
कालिकोट जुविथाका मनविरे सुनार २४ मंसिर, २०६८ का दिन जसबहादुर शाहीको पसलमा चिया पिउन पुगेका थिए । मनविरेलाई चुरोटको लत थियो । चियासँगै चुरोट तान्नका लागि मनविरेले सल्काए । तर, चुलो छोइएकै निउँमा उनीमाथि कुटपीट भयो । कुटपीटकै कारण उनले संसार त्यागे ।

हत्या नम्बर – ९
पुम्दीभुम्दीस्थित कोदीकी १० वर्षीया श्रेया सुनारको बलत्कारपछि हत्या भयो । बलत्कारपछि हत्या दोषीलाई आजिवन कारावास भयो ।

हत्या नम्बर – १०
कथित उच्च जातसँग प्रेम गरकै कारण तनहुँकी संगिता परियारले पनि आत्महत्या गर्न बाध्य हुनुपर्यो । यो उनीमाथि समाजले गरेको हत्या हो ।

हत्या नम्बर – ११
ताप्लेजुङ नाङ्खोल्याङ – ३, की १४ वर्षीया झुमा विक २७ असार २०७१ मा झुण्डीएको अवस्थामा फेला परिन् ।

तर, झुमाले भने झुण्डीएर आत्महत्या गरेकी थिएनन् । श्रेष्ठ थरको युवकसँग झुमाको अन्तरजातीय विहे भएको थियो । छोराको असन्तुष्ट सासु मद्मा श्रेष्ठ र बुहारी जुनुले कुटेर हत्या गरेका थिए । हत्यापछि मात्र झुमालाई झुण्डाइएको थियो । न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले झुमाको हत्या गरी झुण्डाइएको ठहर गर्दै पद्माको सासुबुहारीलाई जन्मकैदको फैसला सुनायो ।

हत्या नम्बर -१२
मिथिला नगरपालिका – ३ धनुषाकी नौ वर्षिय दितिया (रेस्मा) रसाईली छिमेकीको विहे हेर्न पुगेकी थिइन् । तर, त्यहीँबाट गायव भइन् ।

उनलाई पनि बलत्कार गरियो, अनि हत्या । रेश्माको बलात्कारपछि हत्या गर्ने अभियुक्त निरज जर्गा मगरलाई जिल्ला प्रहरी कार्यालय जनकपुरले घटना भएको २ दिन पछि फागुन ४ गते पक्राउ ग¥यो ।

हत्या नम्बर -१३
०७५ माघमा मधुमारा ८ बलुवाइ स्थित सिंघानिया खोलामा नौ वर्षिय वालिको सव फेलाप¥यो । उनी थिईन् आठ वर्षियरुपमती कुमारी दास ।

छिमेकीको घरमा टेलिभिजन हेर्न पुगेकी रुपमती घर फिरेकी थिईनिन् । प्रहरीको प्रारम्भीक अनुसन्धानले उनलाई पनि बलात्कारपछि हत्या गरेको देखायो ।

२०६८ को जातीय छुवाछूत कसुर संजाय ऐन यता र संविधान जारी भएपश्चात दलित समुदायमाथिको बर्बर उत्पीडनका घटनाहरु सार्वजनिक हुँदासमेत लेखिएको कानुनहरुलाई कार्यान्वयन गर्न सकिदैन । संविधान जारी भएर कार्यान्वयन अवस्थामा अगाडी बढ्दै गर्दा समेत जातीय छुवाछूतको निहुँमा यो वा त्यो बहनामा भएको श्रृखलाबद्ध घटनालाई सिंगो मुलुकको कानुनी राज्यको उपहास गरेको पक्कै छ ।


प्रकाशित | ४ आश्विन २०७६, शनिबार ००:०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *