‘आर्टिकल’ १५ जस्तो चलचित्र नेपालमा वन्न सक्दैन ?

गत वर्ष माघ १८ गते सर्लाही जिल्लाको कविलासी नगरपालिका नं ७ सिरसियाकी १५ वर्षीय वालिका संझाकुमारी मुसहरको वलात्कारपछि हत्या अभियोगमा कविलासी ७ सिरसियाकै विनय राय र चुनचुन रायले छोरीको वलात्कार गरि हत्या गरेको भन्दै आमा फुलकुमारी मुसहरले माघ २६ गते इलाका प्रहरी कार्यालय हरिपुरमा जाहेरी दर्ता दिएकी छन् । तर पीडकलाई अझै पक्राउ गरिएको छैन ।
मंलगवा सघीय समाजवादी फोरम नेपालवाट राष्ट्रिय सभा सांसद रामपृत पासवान दलित युवतीमाथि सार्वजनिक रुपमा सामुहिक वलात्कार गर्ने पंचायतको निर्णयको विरोध गर्दा कुटिए । गैरदलित युवती स्थानीय दलित युवासँग भागेको आशंकामा वसेको पंचायतले केटा पक्षले २ दिन भित्र केटी र केटालाई उपस्थिति नगराए केटाकी अविवाहित वहिनीलाई सार्वजनिक रुपमा सामुहिक वलात्कार गर्ने निर्णय गरिएको थियो । त्यस्तो अमानवीय तथा कानुन विरोधी निर्णयको सांसद पासवानले विरोध गर्दा उल्टै घरेलु हतियारले ज्यान मार्ने उद्देश्य सहित प्रहार गरेका थिए । सांसद जस्तो व्यक्ति कुटिदा पनि पीडकहरु कानुनको घेरामा आएका थिएनन् ।
माथि उल्लेखित दुईटा प्रतिनिधिमूलक घटनाले खासगरी नेपालको तराई मधेशमा दलितका विरुद्ध हत्या, उत्पीडन र वलात्कारका घटना सधै घट्छन भन्ने देखिन्छ तर त्यस्ता घटनालाई लिएर यथार्थपरक सिनेमाहरु नेपालमा वनेको देखिदैन । वर्षमा १००को संख्यामा वन्ने ती फिल्महरु मध्ये अधिकांश लगानी पनि उठाउन नसक्ने हुन्छन् । त्यति हुँदाहुँदै पनि फरक र यथार्थपरक घटनालाई समेटेर मौलिक फिल्महरु किन वन्न सक्दैनन् ?


कुनै वेला बलिउडमा गोविन्द निहलानी, सत्यजित रे जस्ता निर्देशकहरुले वनाउने चलचित्रलाई अलग धारको चलचित्र भनिन्थ्यो र त्यसका सीमित दर्शक हुन्थे । त्यस्ता चलचित्रहरुले राष्ट्रिय पुरस्कार त थुप्रै पाउँथे तर व्यावसायिक हिसावले त्यति सफल हुदैनथे, अतः मूलधारको वलिउडले त्यस्तो सिनेमा कमै वनाउँथ्यो । तर अहिले परिस्थिति धेरै फेरिएको छ । त्यहि फेरिएको परिस्थितिमा निर्माण भएको सिनेमा हो आर्टिकल १५ । भारतका संविधान निर्माता तथा दलित नेता डा. भीमराव अम्वेडकरवाट प्रतिपादित सो संविधानको धारा १५ ले कसैलाई पनि जात, जाति, रंग, भाषा आदि कुनै पनि आधारमा भेदभाव गर्न नपाईने यदि गरेमा कानून वमोजिम सजाय हुने भनेको छ । तर के त्यो धारा व्यवहारमा लागु भएको छ ? के भेदभाव, उत्पीडन तथा हत्या जस्ता जघन्य अपराधवाट पीडित त्यहाँका हजारौं दलितहरुले न्याय पाएका छन् भन्ने कुरा उधिन्नको लागि निर्देशक अनुभव सिन्हाले सो फिल्मको निर्देशन गरेका छन् । अहिले बलिउडमा फिल्म चल्न कथावस्तु तथा त्यसले उठाएका विषयमा केन्द्रित यथार्थपरक भए पनि दर्शकहरुले साथ दिन्छन भन्ने देखिएको छ । प्रदर्शनको तेश्रो हप्तामा रहंदा सो फिल्मले ६० करोड भन्दा वढि कमाई गरेको छ र आफुलाई हिट फिल्ममा दर्ता गराई सकेको छ । आखिर त्यसमा के छ र दर्शकहरुले त्यसलाई किन मन पराए भन्ने कुरा जान्न नेपालका फिल्म निर्माताहरुलाई पनि अनुरोध गर्दछु ।

केवल कथा, पटकथा तथा प्रस्तुतिको भर तर मौलिक कथाको भरमा यदि त्यहां फिल्म हिट हुन सक्छ भने नेपाली दर्शकले हाम्रो नेपालमा हुने हजारौं घटनावाट प्रेरित भएर त्यस्तो फिल्म निर्माण गर्न सक्दैनन् । फिल्म प्रसादले त्यस्तो विषयवस्तु उठाउन खोजे पनि न्याय र अन्यायमा आधारित फिल्महरु अत्यन्तै कम देखिन्छन् ।

सिनेमाको कथा सन २०१४ मा उत्तरप्रदेशको वडाउँ भन्ने गाउँमा भएको सामुहिक वलात्कार तथा उना भन्ने ठाउँको गाइको मासु खाएको अभियोगमा सन् २०१६ मा चमारहरुलाई पिटिएको घटनावाट प्रेरित छ । खासगरी हिन्दु अतिवादीहरु जागरुक भईरहेको अवस्थामा मरेको त्यसमा पनि गाईको छाला काड्ने चमारहरुलाई गाई मारेको अभियोगमा सार्वजनिक ठाउँमा मरणासन्न हुने गरि पिटिन्छ तर त्यहाँको प्रहरी प्रशासनले पीडितहरुलाई न्याय दिदैन । यिनै दुईटा घटनाहरुलाई जोडेर कथा अगाडि वढाइएको छ । दुईजना वालिकालाई सामुहिक वलात्कार पछि रुखमा झुण्ड्यार सार्वजनिक गरिन्छ । स्थानीय प्रहरी जसमा एकजना दलित पनि सहायक इन्सपेक्टर हुन्छन त्यसले पीडकहरु को हुन भन्ने थाहा हुंँदाहुँदै पनि उल्टै मृतका वावुहरुलाई अनर किलिङको आरोप लगाउंँदै जेल हालेको हुन्छ । ती वालिकाहरुको अपराध गाउंको जमीनदारको कारखानामा दैनिक ज्याला रु २५ वाट वढाएर रु २८ पुर्याउने माग गरेका हुन्छन् ।

त्यसरी ज्याला वढाउने मागलाई जमीनदारहरुले विद्रोहको रुपमा लिन्छन् र सवै दलितहरुको औकात देखाइदिन सामुहिक वलात्कार गरि हत्या गरिएको हुन्छ । उक्त गाउंको प्रहरी चौकीमा आइपिएस अफिसर आयुष्मान खुराना आउँछन्, उनकी श्रीमति जो पत्रकार पनि हुन्छिन् र यस्ता सामाजिक मुद्धामा लेखहरु लेख्छिन्, उनले आफ्ना श्रीमानलाई केही गिज्याउदा, ती हाकिमले आफ्नो किसिमले अनुसन्धान गर्छन् । अनुसन्धान गर्दा उनलाई आफ्नै टिम देखि लिएर उनी भन्दा उपल्ला निकायले समेत असहयोग गर्छन् । उनका आफ्नै सहायक (मनोज पाह्वा)ले त केसलाई अगाडि वढ्न नदिन अनेक व्यवधान खडा गर्छन् किनभने त्यो हत्या तथा वलात्कार केसमा उनी लगायत अन्य प्रहरी पनि प्रत्यक्ष संलग्न भएका हुन्छन् । सो अपराध गर्ने स्थानीय जमीनदार यति अभिमानी र प्रष्ट छ की ती हाकिमको अगाडि वयान दिंदा हो मैले उनीहरुको औकात देखाईदिन हत्या गरेको हुं भनि स्वीकार गर्छ र सजाय वाट डराउदैन र उल्टै त्यहांवाट तुरुन्तै सरुवा गराई दिने धम्की दिन्छ । यी सवै कुरावाट नडराईकन ती हाकिमले अनुसन्धान अगाडि वढाउंछन र अपराधीको माथिसम्मको पहुंचका कारणले गर्दा सिआइवी मार्फत अनुसन्धान गराउने नाउंमा त्यो घटनालाई कमजोर पार्दै अपराधीलाई छुटाउने प्रपंच हुन्छ । तर ती हाकिम आफ्नो इच्छा शक्तिलाई दृढ राख्दै आफ्नो अनुसन्धानको कपिलाई गृहमन्त्री सम्म पुर्याएर निलम्वित हुँंदाहँुदै पनि अनुसन्धानलाई जारी राख्छन् । ती हाकिम जातीय व्यवस्था अनुसार अति उच्च स्थानमा हुने कान्यकुव्ज व्राम्हण हुन्छन र भन्छन् यस्तो जातीय व्यवस्था रुपी फोहरलाई सफा गर्न हामी आफै व्राम्हणहरु त्यसमा उत्रिनु पर्छ ।


वलात्कार गरिएका ३ जना मध्ये एकजना वेपत्ता भएकी हुन्छिन् र उनलाई खोज्न ठूलो दलदल युक्त तलाउ तथा जंगलमा सारा पुलिसको दल र आफै पनि त्यसमा पस्छन्, अन्त्यमा ती वेपत्ता भएकी वालिका एउटा ह्युम पाईप भित्र अधमरो अवस्थामा हुन्छिन् र उनको अनुसन्धानको अन्तिम सफलता त्यहि हुन्छ । त्यस विचमा माथि वस्ने सवै खराव हुदैनन् भन्ने सन्देश सहित ती निलम्वित भएका अधिकृतलाई अनुसन्धान जारी राख्न अनुमति दिएका कारणले वास्तविक अपराधीलाई न्यायको कठघरामा ल्यांउछन् र हत्या तथा वलात्कारमा संलग्न आफ्नै अधिकृतलाई पनि जेल सजाय गराउंछन र फिल्म संयोगान्तमा टुँगिन्छ ।
यो फिल्मवाट नेपाली सिनेकर्मीहरुले सिक्नुपर्ने धेरै कुराहरु छन् । सामान्यतया नेपाली फिल्महरुमा शुत्रवाट प्रेरित हुन्छन् जसले गर्दा सवै सिनेमाहरु उस्तै उस्तै लाग्छन् र दर्शकहरुले विविधता पाउदैनन् । तर यो फिल्म अत्यन्त यथार्थ परक छ, पुरै दुई घण्टा ४ मिनेटको फिल्ममा कुनै चल्तिको गीत छैन, प्रेमी र प्रेमिका विचको कुनै रोमान्टिक सिन पनि छैन, नतः नायकलाई सुपरम्यान देखाउने कुनै द्वन्द्वको दृष्य नै छ । अर्थात फिल्मलाई मनोरंजनात्मक वनाउने चल्तिका कुनै पनि शुत्रहरु त्यसमा छैनन् ।

चल्तिका नायक भनेको आयुष्मान खुराना मात्रै छन् मनोज पाहवालाई छोड्ने हो भने अरु चल्तिका कलाकार पनि छैनन् । केवल कथा, पटकथा तथा प्रस्तुतिको भर तर मौलिक कथाको भरमा यदि त्यहां फिल्म हिट हुन सक्छ भने नेपाली दर्शकले हाम्रो नेपालमा हुने हजारौं घटनावाट प्रेरित भएर त्यस्तो फिल्म निर्माण गर्न सक्दैनन् । फिल्म प्रसादले त्यस्तो विषयवस्तु उठाउन खोजे पनि न्याय र अन्यायमा आधारित फिल्महरु अत्यन्तै कम देखिन्छन् । भारतमा सरकारले पनि अलग धारका फिल्म जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा आफ्नो उपस्थिति जनाई प्रतिस्पर्धा गर्न सक्छन् त्यस्तो फिल्ममा लगानी गर्ने गरेको छ । सरकारले दिने राष्ट्रिय पुरस्कारको त्यहाँ वेग्लै महत्व छ । अतः यस्तै कुराहरुवाट नेपालका सिनेकर्मी तथा सरकारले पाठ सिक्न सके न्यायको विषयमा यथार्थपरक तथा मर्मस्पर्शी फिल्महरु वन्न सक्ने थिए ।


प्रकाशित | ११ श्रावण २०७६, शनिबार १८:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *