हिरे सार्की उर्फ हीरालाल नेपाली

नबीन विभास

परम्परागत गुन्यु–गाडा पहिरेकी र अनुहारमा थोरै पाउडर घसेकी गाउँले युवतीजस्तै देखिन्थे, गेरुले पोतिएका घर। तिनै युवती अनुहारका घर तलमाथि र वरपर उभिँदा गाउँ बनेको थियो। सानो तर गज्जब।

र, युवतीको कम्मर धराले फन्को मारेजस्तै त्यो गाउँलाई सालघारीले फनक्क एक फन्को लाएको थियो।

खासमा चौरजहारीस्थित ‘चिलगाडी’ पार्कबाट (खोलागाउँ गुड्ने गाडीमा) झन्डै २० मिनेट गुडेर १५ मिनेट पैदल उकालिनासाथ त्यो गाउँसित आँखा ठोकिन्थ्यो।

त्यो गाउँको एउटा टोल थियो, सारीगाउँ। सारीगाउँमास्तिर थियो हरिभक्तको घर भने मुन्तिर शान्तको।

सारीगाउँलाई बीचमा पारेर (यस्तै सय मिटरको दूरीमा) तलतिर उभिएका तिनै दुई घरमा बस्थे रे, दुई मीत। तिनका ‘मीत कथा’ले तान्दैतान्दै पोहोर चैतमा मलाई त्यो गाउँमा पुर्‍याएको थियो।

त्यै गाउँ त थियो, दुई मीतको गाउँ। खहरे।

शान्त–हरिभक्त पहिलो कोटीका मीत थिए। यस्तो कोटीका मीतलाई रोल्पा–रुकुमतिर ‘हितको मीत’ भन्छन्। अर्थात् ‘दिलचित्’ खाएर लगाएको मीत। खासमा बाबाहरुले किशोरवयमै तिनका मित्रतालाई ‘मीत’ साइनोले गाँसिदिएथे। र, त्यो ‘मीत–डोरी’ पञ्चायत व्यवस्था ढलेपछि चुँडियो। शान्त लागे एकताकेन्द्र (माओवादीको आमा पार्टी) नामक कम्युनिस्ट पार्टीमा भने हरिभक्त कांग्रेसमा।

संयोगले त्यो दिउँसो घरमै भेटिए, प्रेमप्रकाश। हरिभक्तपुत्र। अर्थात् रुकुम (अहिले पश्चिम रुकुम) कांग्रेस सभापति। पारिबाट सारीगाउँमास्तिर फरक अनुहारको त्यै घर थियो, हरिभक्तको।

परिवारसहित सदरमुकाम मुसिकोट बस्ने प्रेम त्यसै बिहान घर पुगेका थिए।

आँगन घेर्न लगाइएको पर्खाल (होचो भएकाले मान्छे बस्न सकिने०मा स्थानीय कांग्रेस कार्यकर्ता फिँजिएका थिए। तिनले मौसमसँगै

(स्थानीय चुनाव आउन लागेको )चर्कंदो राजनीति तापले पाकेको बोइलर कुखुरासित चिउरा घान हाल्दैथिए।

सारीगाउँबाट ओरालिएपछि पुगिन्थ्यो, अर्का मीत शान्तको घर।

सारीगाउँमा सार्की थिए। सायद गैरदलितले सार्कीगाउँ भन्दाभन्दै दलितले नाउँ दिएथे, सारीगाउँ।

शान्त घर पुग्दा शान्तकी जेठी बुहारी गाग्रो बोकेर पानी लिन जाँदै थिइन्। घरमा शान्तका जेठापुत्र शेरबहादुरपत्नी, नातिनी र नातिनी बुहारी मात्र थिए।

शेरबहादुर कलकत्ता (अहिलेको कोलकाता)मा ‘गोर्खे बहादुर’ बन्न गएका थिए।

०००

प्रचण्ड नेतृत्वको एकताकेन्द्र माओवादी बन्यो। माओवादीले ‘जनयुद्ध’ थाल्यो।

एउटा मीत अर्थात् शान्तबहादुर पुन ‘कमरेड गोरे’ भए। युद्धमा लागे। भूमिगत भए। नेता भए।

अर्का मीत हरिभक्त ओली रुकुम कांग्रेस नेता भए। त्यसपछि रु रुकुम जिल्ला विकास समिति सभापति।

दुई मीतका पार्टी सत्ताधारी र विद्रोही कित्ताकाट भए। दुई मीत भए, सरकारी र गैरसरकारी दल नेता। फराकिलियो, सत्ताधारी कांग्रेस र विद्रोही माओवादीका स्थानीय नेता÷कार्यकर्ताबीच पानी बाराबार।

हेर्दाहेर्दै दुई मीतको राजनीति गाडी विपरीत दिशाबाट एकअर्कासित ठोक्किएर दुर्घटना हुनेगरी गुड्यो।

त्यही जगजगी यामको एक रात अर्थात् २०५५ असोज २६ गते शान्त गायब भए। शान्तको साथमा कोटजहारीका पूर्णप्रसाद शर्मा पनि।

स्थानीय र स्थानीय माओवादीले भने, ‘पुलिसले समात्यो। चौरजहारी पुलिसले मार्‍यो। भेरीमा बगायो। शान्त र पूर्णको लास नै भेटिएन।’

माओवादीले शान्त ‘हत्या अभियोग’ उनकै मीत हरिभक्तलाई लगायो। र, हरिभक्तलाई चौरजहारी बजारमा दिनमै (माओवादी भाषामा सफाया ! मार्‍यो।

खहरेमा मगर थिए। थिए दलित। बाहुन थिए। र, तिनै बाहुनबाट बनेका नयाँ र पुराना क्षेत्री थिए।

भद्रको घरमा अर्थात् पत्रकार एवं मित्र भद्र शर्माको घरमा त्यस साँझ तब अर्को साँझमा फेरियो जब भद्रपिता नन्दराम शर्माले मीतकथा हालिरहेको बेला कोही आए।

आए, लौरो टेक्दै।

उनी थिए, यस्तै पाँच फिट पाँच इन्च जति अग्ला। नीलो टि–सर्ट, खैरो हाप्पेन्ट र ढाका टोपी लगाएका अधबैंसे। चैते साँझमा बलेको बिजुलीमा किन हो कुन्नि रु उनका आँखा चम्केजस्तो लाग्यो।

गर्मी भएकाले पेटीमै बसी भद्रपिता मीतकथा हाल्दै थिए।

उनले लौरो भुइँमा राखे। र, छेउमै अर्थात् पेटीमै बसे। ख्वाक्क खोके। खोकी कम्पनले टोपी बसेको ठाउँ हल्लाएजसरी दुई हातले टोपी मिलाए।

त्यसपछि ?

सम्झेजसरी घडी हेरे।

औषधि खाने समय भएछ भन्दै पानी मागे। अम्खोरामा पानी दिएपछि औषधि खाए।

‘खाइनँ भने न निदाउन सक्छु न त हलचल गर्न। जीउ दुख्छ’, पानी सहाराले दुईवटा ट्याब्लेट भुँडीभित्र पठाएलगत्तै उनले भने।

दिनको दुई पालि औषधि खान्थे। केको औषधि रु दुखाइ कम गर्ने।

औषधि किन्न नै महिनामा झन्डै डेढ हजार लाग्थ्यो। कहिले धेरी

९ज्यालादारी काम ! गर्थे त कहिले रिन। ‘औषधि जोहो’ नै उनलाई भारी भएको थियो। बाँकीका के कुरा।

पत्नी थिइन्। उकालीओरालीमा साथ दिने एक हल गोरु। थोरै बारी। र, सानो घर।

‘किसान थिएँ। सग्लो जिउ भए खेती गरी खान्थेँ हुँला। धेरी गरी खान्थेँ हुँला,’ त्यस साँझ अध्याँरोमा कतै बिकल्प नदेखे पनि उनले सुनाए, ‘किसान भएर के गर्नु रु हलो जोत्न नसक्ने भएँ। अरुको भरमा बाली लाउँछु। त्यसले मुस्किलले पाँच महिना धान्छ।’

कसरी हलो जोत्न नसक्ने भए रु भएको के थियो रु ट्वाँ परेँ।

लेखापढी थिएन। भनसुन गर्ने न ठाउँ थियो उनको न त कोही उनका आफन्त थिए ठाउँमा। बचेको एउटै सीप थियो उनीसित। त्यो थियो, घरको गारो लाउने। यै सीपबाट उनको जीविका गति सुस्तरी चलेको थियो।

घरको गारो लगाएबापत दिनको ६०० रुपैयाँ कमाउँथे। तर, काम सधैं पाइँदैनथ्यो।

‘नेपालगन्जबाट त फर्किएँ। तर, न मरिजाने न गरिखाने भएर’, खास कुरा नराखी औषधि वरपर नै कुरा घुमाउन थाले, ‘औषधि सकिन लाग्यो। यसपालि कसरी किन्ने होला ? ’

औषधि सकिन थालेको औषधि–भाँडो देखाए। र, भने, ‘बढीमा साताबार धान्छ कि ? ’

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेता टाउको दुखे नि विदेश धाउने, देशका नागरिक भने यो सामान्य औषधि किन्न पनि हत्ते हालिरहेका थिए।

थाहा पाएँ— उपचारका लागि उनी नेपालगन्ज पुगे। कारण के थियो रु अनुमान लगाएँ— यिनलाई कसैले कुट्यो या दुर्घटनामा परे।

‘लौरो टेकेर मात्र हिँड्न सक्छु’, त्यसपछि उनले सोधे, ‘के गरिब र दलितलाई याँ न्याय हुन्न ? ’

थाहा भयो उनी गरिब त हुन् नै, दलित पनि हुन्। संविधानमा त लेखेको छ भनेर पत्याउनेवाला थिएनन्। देखाउनलाई त पञ्चायतले पनि सबै क्षेत्र र जातिका भन्दै सिंहदरबारमा लगेकै हो। तर, व्यक्तिलाई मात्र। तिनका समुदाय र गरिखाने वर्गलाई होइन। गणतन्त्रपछिको लोकतन्त्रमा पनि त पञ्चायत न दोहोरियो। कसरी रु व्यक्ति बने। तर, पाखा पारिएका क्षेत्र÷ठाउँ, तिनका समुदाय र लिंग जहाँको तहीँ रहे। फेरिएको त व्यक्ति र राजनीतिक व्यवस्था मात्र थियो।

चुपचाप उनलाई सुनेँ मात्र। तर, पर्खेको जवाफ पो थियो।

हीरालालको साँवलो अनुहारमा न गणतन्त्रको चमक पुगेको थियो न त लोकतन्त्रकोे मसिनो झिल्का नै। पञ्चायतकालमा भन्दा फरक यत्ति थियो कि उनको अनुहारमा उमेरले पाकेर मुजाका आकार र संख्या बढ्दै थिए।

 

भएको के थियो ?

त्यो थियो, २०५५ पुस ३ गतेको झिसमिसे।

उनले हरिभक्तको बारी साँझे ९आधाआधा लाने गरी अधिया लाउने ! लाउँथे। अधियाँ पाउनलाई पनि हरिभक्तकै पार्टीमा हुनुपर्ने भयो। अर्थात् उनी पनि कांग्रेस भए।

गाउँमा त कांग्रेस र माओवादीबीच पानी बाराबार बढ्दै थियो।

त्यस्तो बेला कमरेड गोरे मारिए।

त्यसपछि ?

माओवादीले उनलाई कुटेर थला पारे।

अँ, त्यस दिन माओवादीले कुटेको दुई साता लाग्दैथियो। राम्ररी हिँडडुल गर्नसमेत सक्दैनथे।

खहरेमा पुलिस पसे। उनलाई पनि घिसार्दै स्कुलछेउ चौरमा ल्याए, जहाँ उनीजस्तै पुसे चिसोमा ओछ्यानबाट ल्याइएका गाउँले थिए। कोही एकसरो लुगामा थिए त कोही नांगै।

गाउँका बूढापाकालाई समेत बाँकी नराखी पुलिसले कुट्न थाले।

उनकै सरकार थियो। र, उनकै सरकारको पुलिस। लाग्यो, उनी बोले त मान्लान्।

‘गाउँका बूढाबूढीलाई पनि कुट्न थालेपछि मनले मानेन। जे त होला भनी भनेँ— किन कुट्नु हुन्छ बूढाबूढीलाई रु त्यसपछि मलाई कुटे’, औषधि खाने गरी पुलिसले यसरी थला पार्नुको कारण खुलाउँदै उनले भने।

त्यस बेला उनकै पार्टी सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए।

गाउँ दुई मीतमा विभाजित हुँदै एमालेसम्म तन्किएको थियो।

जीउमा एक टुक्रा लुगा पनि नबच्नेगरी कुटे। गाउँलेले नै लगाउने लुगा दिए। ओढ्ने काम्लो दिए।

र, उपचारका लागि चौरजहारीबाट नेपालगन्ज उडाए।

चौरमा उनलाई कुट्दा उनकी दोजिया पत्नी घरमै कुटिएकी थिइन्। छोरी त पाइन् तर, अर्कैले खुवाइदिनुपर्ने÷लगाइदिनुपर्ने बिकलांग।

गाउँलेले चिताएका पनि थिएनन् कि ती सावँला मान्छे नेपालगन्जबाट फर्कनेछन्। फर्किए। तर, लौरोसित हिँड्ने गरी। निदाउनलाई नि औषधि खाने गरी।

‘रक्सी खाएर लडेकाले पनि राहत पाए। कोही आफैं ढलेकाले पनि हामी हौं भनी खाए। जीउमा कुनै दाग नलागेकाले पनि खाए’, आफ्नो पहुँच नहुँदा सहयोग नपाएको गुनासो पोख्दै उनले भने, ‘आफ्नो त अत्तोपत्तो छैन।’

भर्न त उनले पनि राहत फाराम भरेका थिए। ती कहाँ पुगे रु उनलाई थाहा भएन। भरेका फारममध्ये सत्य निरुपण तथा मेलमिलाप आयोगमा पुगेका ६० हजारमध्येको पनि थियो कि रु उनलाई यकिन छैन।

दोषीलाई कारबाही गरेको हेर्ने, दुखेको तन÷मनमा मल्हम लाउने रहरचाहिँ रहर मात्र होला कि भन्ने चिन्ता दिन दुगुना रात चौगुना तन्नेरी हुँदै थियो। त्यसैमाथि थपिएको थियो, औषधि किन्ने र परिवार पाल्ने सकस।

सात छोरी। सग्ला जति लाखापाखा लागे। बाँकी थिइन्, १९ लागेकी विकलांग छोरी।

आफूहरू अगाडि बाटो लागे ती छोरीलाई के होला भन्ने पीरको हावाले फुक्दाफुक्दा उनी झन्झन् फुकीढल हुँदै थिए।

उनलाई जति सुन्दै थिएँ, त्योभन्दा सात गुना दिउँसोपख उनेको सारीगाउँ मनमा फन्का मार्न थाल्यो। हरिभक्तको घरबाट ओरालिएर सारीगाउँ काटी शान्तको घर पुग्दा सूर्य टाउकोमाथि आएका थिए।

खहरेको माथ्लो भागमा हरिभक्तको घर। सारीगाउँ काटे भेटिने शान्तको घर।

सारीगाउँका ससाना घर। तिनैमध्येको एउटा उनको घर। घरछेवैमा भकारो। भकारोमा बाँधिएका एक हल गोरु। विकलांग छोरी स्याहारिरहेकी उनकी पत्नी। औषधि, छोरीको स्याहार र साँझबिहानको जोहो गर्नमै भएजति रहर भुलेको दलित परिवार।

द्वन्द्वभर कांग्रेस उनी शान्तिप्रक्रियापछि एमाले भए। फेरि कांग्रेसमै फर्के।

०००

सोध्नुपर्छ जस्तो लाग्यो। ९कुराकानी बिट मार्न थाल्दा० नाउँ सोधेँ। कस्ता थिए भन्ने थाहा पाए नि को थिए भन्ने जान्नलाई पनि नाउँ जरुरी लाग्यो।

भने, ‘हीरालाल नेपाली।’

थाहा भयो, गाउँमा भने उनलाई भन्दा रहेछन्, हिरे सार्की। गरिब र दलित भएपछि उनलाई कसले भन्नु हीरालाल !

यसैपालि उनी ५० लागेका थिए।

हीरालालको साँवलो अनुहारमा न गणतन्त्रको चमक पुगेको थियो न त लोकतन्त्रकोे मसिनो झिल्का नै। पञ्चायतकालमा भन्दा फरक यत्ति थियो कि उनको अनुहारमा उमेरले पाकेर मुजाका आकार र संख्या बढ्दै थिए।

उनका कुरा काठमाडौं पुर्‍याइदिन भन्दै (भद्रपिताको घरबाट) तन्नेरिन थालेको रातसँगै लौरो टेकेर उनी सारीगाउँ उकालिए।

द्वन्द्व–जाँतोमा पिसिएर धुलोपिठो पारिएका उनका ससाना रहर पनि औषधि र साँझबिहानको सर्जाम गर्दागर्दै लाखापाखा लागेका थिए।

उनी बाटो लागेको पदचाप जति मधुरियो उति नै मन–सडकमा हीरालाल नेपालीहरूले नाराजुलुस गरे। जो सार्की भएकैले÷गरिब भएकैले द्वन्द्वताका न गरी खाने न मरी जाने पारिए। अंगभंग भए। मारिए।

सास्तीका के लेखाजोखा !

मन यसै खसखसायो, जीवनको जटिल मोडमा लर्खराउँदै हिँडेका हीरालाल नेपालीहरूका जुलुस हेर्ने तिर्खाले। लाग्यो, सुन्नु त यिनलाई पो हो !

कति होलान् हँ गाउँ÷सहरमा, हीरालाल नेपालीहरू !

हीरालाल कथासँगै त्यो साँझ ढल्यो, दुई मीतको गाउँमा। तर, एउटा अन्योल थाती राखेर। त्यो थियो, हीरालाल नेपालीहरू कहाँ लोकतन्त्र÷गणतन्त्रको घाम झुलेको हेर्न कहिलेसम्म पर्खनुपर्ने हो भन्ने अन्योलता। कहिले हिरेहरूलाई हीरालाल भनेर बोलाउँछन् भन्ने अन्योलता।

सालघारी घेरा तोडेर खोलागाउँ लाग्दा (भोलिपल्ट) उज्यालोले खहरे गाउँ झर्न बल्ल सुरसार गर्दै थियो। काले कल्चुको आवाज टाढिँदै थियो। बाटो लाग्दा हेरेँ, त्यो बिहान उस्तै थियो जस्तो थियो, पुलिसले गाउँलेलाई चौरमा कुटिरहेको पुसे बिहान। चौर उस्तै थियो। फरक त्यत्ति थियो कि, ओछ्यानबाट जबर्जस्त ल्याइएका गाउँले चौरमा थिएनन्। हीरालाल पत्नीलाई घरमै पुलिसले कुटिरहेका थिएनन्। उसो त उनी दोजिया पनि थिइनन्। र, थिएन पुसको चिसो।

दुई मीतको कथा, तिनले खहरे र रुकुममै पारेका प्रभावबारे

(भद्रपिताले सुनाएका कुरा ! आइमास भन्छु है )

 

साभार : अन्नपुर्ण पोष्ट दैनिकाबाट


प्रकाशित | १६ असार २०७५, शनिबार १४:१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *