के पत्रकारिता अराजकताको लाइसेन्स हो ?

जीवन डाँगी

‘र, अन्त्यमा समाचार संकलन गर्न जाने निर्दाेष पत्रकारलाई एसएसपीले किक हानेको त देखियो । तर, देशको विमानस्थलमा बसेर वर्षाैदेखि तस्करी गर्ने लाज पचेका नकचराहरूलाई टुँडिखेलमा राखी उडेर घुमाएर एक–एक किक हान्न मन छ, त्यो पनि नाकको डाँडी भाँचिने गरी । आउनुहोस् सुरु गरौं, जनताको चासो, गुनासो र प्रश्नसहितको विशेष कार्यक्रम सिधा कुरा जनतासँग,’ २०७५ बैशाख २० गते बिहीबारको कार्यक्रममा प्रस्तोता रवि लामिछानेले बोलेका शब्द ।

टेलिभिजन कार्यक्रममार्फत् प्रस्तोता रविले सुन तस्करीका अभियुक्तको नाकको डाँडी भाँचिने गरी किक हान्ने इच्छा व्यक्त गरे । जुन ‘आपराधिक मनसाय’ हो । नेपाली कानून अनुसार हत्याजस्ता गम्भीर अपराधका अभियुक्तलाई छानविनका क्रममा केरकार गर्दा प्रहरीले समेत कुटपिट गर्न पाउँदैनन् । अर्थात्, हत्याराको पनि मानवअधिकार हुन्छ र त्यसको सम्मान गरिनुपर्छ भन्ने मान्यता राखिन्छ ।

यो पृष्ठभूमिमा टेलिभिजन कार्यक्रम प्रस्तोताले कानून हातमा लिएर कुटपिट गर्ने मनसाय व्यक्त हुनु मनासिव ठहरिन्छ ? पत्रकारले जे तथ्यले बोल्छ, दिन्छ, त्यहीँ पस्कने मात्र हो । तथ्यमा विचार मिसाएर पत्रकारिता गरिन्छ भने त्यहाँ आग्रह, पूर्वाग्रह झल्कन्छ । त्यसलाई पत्रकारिताको मूल्य मान्यताभित्र राखिँदैन । पत्रकारिता वा पत्रकारको पेशा यस्तो लाइसेन्स होइन, जसले जे पनि बोल्न वा लेख्न छुट पाओस् । पत्रकारका पनि सीमा हुन्छन् । पत्रकारलाई पनि कानुन लाग्छ । कानूनभन्दा माथि कोही पनि हुँदैनन्, पत्रकार पनि हुने कुरा भएन ।

सुन तस्करीका अभियुक्त तथा प्रहरीका एसएसपीले पत्रकारमाथि लात्ता (किक) प्रहार गरेको घटनासँग जोडेर प्रस्तोता रविले किक हान्ने इच्छा व्यक्त गरेका थिए उनकै कार्यक्रममा । आपराधिक मानसिकताबाट सिर्जित अभियुक्त एसएसपीको हर्कत घृणित, गैरजिम्मेवार र निन्दनीय थियो । यसको अर्थ एसएसपीकै शैलीमा सबैले कानून हातमा लिएर कुटपिटमै उत्रिनुपर्छ भन्ने हुन सक्दैन र हुनु हुँदैन । त्यसमाथि एसएसपीकै शैलीमा नाकको डाँडी भाँचिने गरी हान्नुपर्ने विषयलाई उठाउने हो भने जसले जसलाई जे गरेपनि भइहाल्यो नि ? किन पत्रकारितामा तथ्य, सन्तुलनता, निष्पक्षताको सवाललाई ख्याल गर्नुपर्यो र ?

सस्तो लोकप्रियता
टेलिभिजन कार्यक्रमका लागि शब्द चयन गर्दा ‘सस्तो लोकप्रियता’ पाउने उद्देश्य राखिनु गलत हो । राज्य संयन्त्र र प्रणालीबाट रुष्ट केही नागरिकले बेला–बेला ‘फाँसी’ र ‘देश निकाला’को प्रसंग समेत सामाजिक सञ्जालतिर उठाउने गरेका छन् । असन्तुष्ट अभिव्यक्तिलाई रिझाउन वा आकर्षित गर्न टेलिभिजन कार्यक्रमबाटै ‘फाँसी दिनुपर्छ’ र ‘देश निकाला गर्नुपर्छ’ भनेर भनिदिने त ?

छापा माध्यमबाट विकास हुँदै आएको नेपाली पत्रकारितामा एउटा महत्वपूर्ण सिद्दान्त छ– समाचारमा पत्रकारले आफ्नो धारणा र मत राख्नु हुँदैन । आफ्नो धारणा राख्न सम्पादकीय वा विचार लेख्नुपर्छ । त्यही भएर सञ्चार गृहमा संवाददाताले लेखेका समाचारलाई ब्यूरो सम्पादक, डेस्क सम्पादक, भाषा सम्पादक लगायतले शब्द–शब्द केलाएर सम्पादन गर्छन् । समाचारबाट अनावश्यक शब्द फालिन्छन् । समाचारमा विचार मिसाउन दिँदैनन् ।

पछिल्लो समय रेडियो र टेलिभिजन पत्रकारिताको विकाससँगै रिपोर्टहरूमा सन्तुलित र तर्कपूर्ण विचारलाई स्थान दिन थालिएको छ । ‘नाकको डाँडी भाँचिने गरी किक हान्ने’, ‘नकचराहरू’, ‘कट्टु पनि नलगाई नांगियो’ जस्ता वाक्य निर्माण र शब्द चयन नेपाली पत्रकारितामा नौलो अभ्यास हो । छिमेकी भारतीय टेलिभिजनमा भने यस्तो शैली अभ्यासमा रहँदै आएको छ । आफ्नो च्यानललाई प्रतिस्पर्धामा टिकाइराख्न भारतीय टेलिभिजनले प्रस्तुतीकरणलाई उग्र बनाउँछन् । टेलिभिजन कार्यक्रमको प्रस्तुतीकरणमा आक्रोश र निराशा अराजक शैलीमा अभिव्यक्त हुने गरेको छ ।

सशक्त समर्थन
नेपाली पत्रकारितामा रवि लामिछाने शैलीलाई ठूलो युवा जमातले सशक्त समर्थन गरेको देखिएको छ । रविको शैलीमा विषय छनौट, पूर्वतयारी र सक्रियता प्रशंसनीय छ । तर, प्रस्तुतीकरणमा थुप्रै सच्याउनुपर्ने पाटा देखिन्छन् । नेपालका पत्रकारमध्ये जनस्तरबाट सर्वाधिक प्रत्यक्ष समर्थन पाउने पात्रमा रवि लामिछाने शीर्ष स्थानमा पर्छन् । यो रविका लागि ठूलो सफलता र सकारात्मक पक्ष हो । यसकै आधारमा के अब नेपाली पत्रकारितामा रवि शैली स्थापित हुँदै जाने हो ? यो बहसको विषय बन्न सक्छ । तर, रविलाई समर्थन गर्ने जमातको प्रवृत्तिले चिन्तित बनाएको छ ।
प्रेस काउन्सिल नेपालले सोधखोज र छानविन गरिरहेको सन्दर्भमा रविका केही समर्थकबाट व्यक्त भएका शब्द र शैली घिनलाग्दा छन् । समर्थकको शैलीको दोष रविलाई जानु त हुँदैन । तर, रविको शैलीलाई पछि पार्दै समर्थकले झन् उग्रता देखाएका छन् । रविमाथि भइरहेको छानविन र राज्यको कानून मान्नुपर्ने मत राख्दा समर्थकहरू छाडा गालीगलौचमा उत्रिए ।

प्रेस काउन्सिलले छानविन गरिरहेको विषयमा समर्थन जनाउनुको अर्थ रविको विरोध गरिएको थिएन । सामाजिक सञ्जालमा प्रेस काउन्सिलको छानविनका पक्षमा उभिनेविरुद्ध व्यक्त भएका छाडा गालीगलौच अहिले पनि हेर्न र पढ्न सकिन्छ । समर्थकले देशद्रोही, बलात्कारी, भ्रष्टाचारी जस्ता उपमा सहजै भिराइदिन्छन् । जनस्तरमा यो शैली कसरी स्थापित भयो ? गालीगलौच गर्दा कानूनी फन्दामा परिने डर–त्रास किन देखिएन ? गालीगलौच नगरेर पनि समर्थन र विरोध गर्न सकिन्छ भन्ने पक्षमा किन ध्यान पुगेन ? थुप्रै प्रश्नबीच उग्रता र अराजकता स्थापित हुँदै गएको देखिन्छ ।

प्रेस काउन्सिलको छानविन
पत्रकारिता र समाचारमा देखिने विवाद निरुपण गर्ने निकाय प्रेस काउन्सिल हो । समाचार सम्बन्धी विवाद प्रहरी र प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले हेर्न नपाउने तथा प्रेस स्वतन्त्रताको अनुभूति गराउन प्रेस काउन्सिल स्थापना गरिएको हुन्छ । प्रेस काउन्सिल संस्थाप्रति पत्रकारको आस्था र विश्वास हुन्छ । पत्रकारले प्रेस काउन्सिललाई अदालत जत्तिकै सम्मान गर्छन् र गर्नुपर्छ ।

कुनै पत्रकारले समाचार र सञ्चारमाध्यमका सामग्रीमा गलत तथ्य समावेश गरेमा उजुरी गर्ने निकाय प्रेस काउन्सिल हो । त्यसकै आधारमा रवि लामिछानेविरुद्ध काउन्सिलमा उजुरी आयो । त्यसपछि काउन्सिलले छानविन शुरू गर्यो । जुन स्वभाविक प्रक्रिया हो । रविको नागरिकताका विषयमा समेत सवाल खडा भएपछि काउन्सिलले सम्बन्धित निकायमा पत्राचार गरेर आधिकारिक जानकारी लियो । पहिलो चरणका सरकारी रेकर्डमा रवि लामिछाने अमेरिकन नागरिकका रुपमा नेपालमा रहेको देखियो ।

जसरी रविलाई जेल हाल्न खोजियो, षड्यन्त्र भयो भन्ने प्रचार गरियो, त्यो सरकारी रेकर्डबाट कतै देखिँदैन । रवि र प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको केही व्यक्तिगत हिसाब–किताब छ भने त्यो सार्वजनिक जानकारीमा छैन । तर, प्रेस काउन्सिलले गर्ने छानविन, सोधखोज एकदमै उपयुक्त छ । त्यसलाई जायज मानिुनपर्छ । त्यसमा जेल हाल्ने प्रक्रिया कतै थालिएको देखिँदैन । पछिल्लो घटनाक्रमले छानविनबाट डराएर घटनालाई अतिरञ्जित बनाउन खोजिएको त होइन भन्ने प्रश्न खडा गरेको छ ।

नागरिकताको कानूनी पाटो
माथि उठाइएको विषय पत्रकारितासँग सम्बन्धित छ । तर, रविको विषयमा प्रेस काउन्सिलले गरिरहेको छानविनको विषय नितान्त कानूनी पक्ष पनि हो । त्यो विषयमा सोझै गृह प्रशासनले पनि छानविन गर्न सक्छ । गृहले छानविन गरेको छैन, यो रविका लागि सुखद पाटो हो ।

नेपाली नागरिक हुन टेलिभिजन कार्यक्रममा चिच्याएर वा फेसबुक लाइभमा बोलेर हुँदैन, कागज बोल्नुपर्छ । सरकारी रेकर्डमा नागरिकता लिएको वा पुनः नागरिकता कायम भएको रेकर्ड हुनुपर्छ । त्यो नभएकै कारण प्रेस काउन्सिलले पत्राचार गर्दा गृह मन्त्रालय मातहतका निकायबाट रवि अमेरिकन नागरिक रहेको भनेर पत्राचार भएको थियो ।
‘मैले अमेरिकन नागरिकता र पासपोर्ट फिर्ता दूतावासमा गरिसके’, म नेपाली थिए, छु र रहनेछु भनेर चर्काे स्वरमा चिच्याएर सरकारी रेकर्डमा नेपाली नागरिक कायम भइँदैन । नेपालको कानून अनुसार पूरा गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेपछि मात्रै सरकारी रेकर्डमा नागरिक भइन्छ । रवि लामिछानेले १८ मे २०१८ मा नेपालस्थित अमेरिकन दूतावासमा नागरिकता र राहदानी परित्याग गरेको निवेदन दिएको सार्वजनिक गरेका छन् ।

तर, रविले नेपाली निकाय सम्बन्धित जिल्ला प्रशासन कार्यालय र अध्यागमन विभागलाई त्यो जानकारी उतिबेलै दिए कि दिएनन् ? स्पष्ट सार्वजनिक गरिएको छैन । उतिबेलै जानकारी दिएको भए सरकारी रेकर्ड अद्यावधिक किन भएन ? यो खोजीको विषय बन्न सक्छ । तर, प्रेस काउन्सिल नेपालले जारी गरेको विज्ञप्ति अनुसार रविले २०६५ असार ६ गते अध्यागमन विभागमा आफूले अमेरिकन नागरिकता त्यागेको निवेदन दिएका छन् । रविले अमेरिकन नागरिकता त्यागेको जानकारी उतिबेलै नेपाली निकायमा दिएको भए रवि अमेरिकन नागरिक भएको भनेर प्रेस काउन्सिलमा जानकारी आउने थिएन कि ?

कानूनी अधिकार र प्रावधान छाडेर एकछिन नैतिक प्रश्नतिर जाने हो भने पनि रवि कमजोर देखिन्छन् । रविले अहिले मातृभूमिप्रति जतिसुकै प्रेम देखाउन खोजेपनि रविले प्रेस काउन्सिलकै दबाबमा अमेरिकन नागरिकता त्यागेको देखिन्छ । रविले अमेरिकन नागरिकता त्याग्नुअघि प्रेस काउन्सिल लगायतका निकायबाट पटक–पटक पत्राचार भएका देखिन्छन् । रविलाई साँच्चिकै नेपालप्रति प्रेम हुन्थ्यो भने उनले अमेरिका छाडेर नेपाल आउने बित्तिकै अमेरिकन नागरिक त्याग्न सक्थे । रविले नेपाल आएको मिति र अमेरिकन नागरिकता दूतावासमा बुझाएको मितिबीच धेरै महिना बितेका छन् ।

नागरिकताको ऐननियम
नेपालको कानूनले कुनै पनि नेपालीलाई नेपाली नागरिकता त्यागेर अर्काे देशको नागरिक हुने अधिकार दिएको छ । तर, नेपाली नागरिकले २ देशको नागरिकता लिने अधिकार पाएको छैन । अमेरिकामा चाहिँ दोहोरो नागरिक हुने सुविधा रहेको देखिन्छ ।

नेपाल नागरिकता ऐन २०६३ को दफा १० मा लेखिएको छ, ‘नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन ।’ यो प्रावधान अनुसार रवि अमेरिकन नागरिक भएकै मितिदेखि नेपाली नागरिक रहेनन् । रवि अमेरिकन नागरिक भएको रेकर्ड नेपाली निकायमा पुगिसकेको छ ।

तसर्थ, नेपाली नागरिकता त्यागेको थिएन, अमेरिकन नागरिकता लिएको मात्रै हो, अब अमेरिकन नागरिकता त्याग्ने बित्तिकै स्वतः नेपाली भइन्छ भन्ने तर्कलाई यो व्यवस्थाले खारेज गरिदिन्छ । अमेरिकन नागरिकता त्यागेपछि पुनः नागरिक हुन केही प्रक्रिया पूरा गर्नुपर्छ । नागरिकता ऐनको दफा ११ मा लेखिएको छ, ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ ।’

नेपाल नागरिकता नियमावलीको नियम ११ मा लेखिएको छ, ‘(१) ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशको नागरिकता त्यागेको निस्सासहित निजलाई पहिले नागरिकताको प्रमाणपत्र प्रदान गर्न मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय समक्ष अनुसूची ११ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिमको सूचनाको निवेदन प्राप्त भएपछि अनुसूची १२ बमोजिमको ढाँचामा सूचना दर्ताको जानकारी दिई नियम ८ बमोजिमको अधिकारीले साविककै नागरिकताको विवरण सहितको नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्नेछ ।’ नियम ८ बमोजिमको अधिकारी भनेको प्रमुख जिल्ला अधिकारी हुन् ।

अन्त्यमा,
रविले अमेरिकन दुतावासमा अमेरिकन नागरिकता र पासपोर्ट बुझाएकै आधारमा पुनः नेपाली नागरिक भइन्छ भन्ने तर्कबाट मुक्त हुनुपर्छ । र, नेपाली निकायलाई वेवास्ता गर्न, अटेरी गर्न, घमण्ड प्रस्तुत गर्न छाड्नुपर्छ । रविले टेलिभिजन कार्यक्रममा उठान गर्ने विषय ज्यादै प्रशंसनीय छन्, त्यसले अझैं निरन्तरता पाउन् सबैको कामना छ । विषय उठान र सक्रियताबाट नेपाली पत्रकारिताले सिक्नुपर्छ । तर, प्रस्तुतीकरणमा जथाभावी बोल्ने शैलीमा सुधार गरिनुपर्ने सुझाव छ ।

पत्रकारिता भनेर सामाजिक संस्कार विकास र सुधार गर्ने क्षेत्र पनि हो । टेलिभिजनको प्रस्तुतीकरणबाट समाजले सिक्ने संस्कार समर्थकले सामाजिक सञ्जालमा गरेका कमेन्टबाट प्रष्ट देख्न सकिन्छ । टेलिभिजन कार्यक्रमबाट सामाजिक विकृति, समस्या र व्यक्तिगत कठिनाइ समाधान गर्ने सँगसँगै सभ्य र शिष्ट समाज निर्माणमा समेत रविले योगदान गर्न सक्छन् । त्यसको शुरुवात आफैंले नेपाली कानूनको पालना गरेर गर्नुपर्छ ।

नेपालमा प्रेस स्वतन्त्रताको विकास भइसकेको छ । यहाँ समाचार र टेलिभिजन कार्यक्रममा प्रस्तुत सामग्रीकै आधारमा पत्रकार धेरै दिन थुनिनु पर्दैन । राज्य र सरकारभन्दा पनि केही सीमित सुरक्षाकर्मी र कर्मचारीको स्वार्थमा पत्रकारलाई थुन्ने गरिएको त छ । तर, त्यस्तो अवस्थामा पत्रकारिता क्षेत्र एकजुट हुन्छ र प्रेस काउन्सिल नेपाल नै पत्रकार थुन्ने कार्यको विरोधमा हुन्छ । अन्ततः पत्रकारलाई थुनामुक्त गर्न सरकार बाध्य हुन्छ ।

कथम्कदाचित थुन्ने कदम नै चालियो भनेपनि हामी सबै त्यो कदमको विरोधमा हुनेछौं । यसको अर्थ पत्रकारले नेपाली कानून नै मान्नुपर्दैन, आवश्यक प्रक्रिया नै पुर्याउनु पर्दैन भन्ने तर्कमा हामी सहमत हुन सक्दैनौं । तोकिएको ऐन नियम अनुसार नेपाली नागरिक भएर वा ‘वर्क परमिट’ लिएर नेपालमा अधिकारको उपयोग गर्न सकिन्छ । प्रेस काउन्सिलले चालेका कदम थुन्नलाई होइन कि पत्रकारको सहजताका लागि नै हुन् भनेर बुझ्नुपर्छ ।

अमेरिकन नागरिक पनि भइरहने चाहना हुँदाहुँदै प्रेस काउन्सिलको कदमले नागरिकता त्याग्न बाध्य हुनुपरेको हो भने दुःख मानेर व्यक्तिगत रिसइबीमा उत्रिनुको कुनै अर्थ हुँदैन । बरु, अमेरिकन नागरिकता त्यागेर शुद्ध नेपाली हुन पाएकोमा गर्व गर्नुपर्छ । नेपाली हुनुमा साँच्चिकै गर्व छ ।


प्रकाशित | १४ असार २०७५, बिहीबार ०९:५८

Leave a Reply

Your email address will not be published. Required fields are marked *