दलित विद्यार्थी र प्राध्यापकमाथि भेदभाव घट्दै : अनुसन्धान

नवीन पोखरेल

लन्डन — नेपालका विश्वविद्यालयहरूमा दलित विद्यार्थी तथा प्राध्यापकमाथि जातीय आधारमा गरिने भेदभाव घट्दै गएको एक अनुसन्धानले देखाएको छ ।

छिमेकी भारतमा दलित विद्यार्थी तथा प्राध्यापकमाथि भेदभाव तथा हिंसाका घटना बढदै गएका बेला जर्मनीको बिलफेल्ड विश्वविद्यालयमा सोसल मानवशास्त्रकी प्राध्यापक जोआना फाफ जार्नेकाले गरेको एक अध्ययनले त्यस्तो देखाएको हो ।

Yamaha

ब्रिटेन-नेपाल प्रज्ञा परिषदद्वारा लन्डनको सोआसमा आयोजित १६ औं वार्षिक नेपाल प्रवचन शृंखलामा ‘प्राज्ञिक संस्थाहरूसँगको आबद्धता, उच्च शिक्षा, असमानता तथा विकास’ विषयमा बोल्दै प्राध्यापक जार्नेकाले नेपालमा गत एक दशकमा प्राज्ञिक संस्थामा दलित विद्यार्थीको संख्या केही मात्रामा बढेको भए पनि दलित प्राध्यापकहरूको विकास र सहभागिता खासै बढ्न नसकेको बताइन् ।

तर उनले भारतीय शैक्षिक संस्थाहरूको तुलनामा नेपालका दलित शिक्षक तथा विद्यार्थीले आफूहरूप्रति सकारात्मक व्यवहार हुने गरेको बताएको उल्लेख गरिन्। विद्यालयको तुलनामा विश्वविद्यालय जातीय हिसाबले बढी स्वतन्त्र रहेको उनले बताइन्।‘यद्यपि भारतमा प्राज्ञिक क्षेत्रमा दलितको आबद्धता र उपस्थिति स्पष्ट देखिएको भए पनि नेपालमा यस्तो उपस्थिति न्यून वा अदृश्य छ,’ उनले भनिन् ।

गत अप्रिलमा भारतको कानपुर सहरस्थित आईआईटी कलेजमा पीएचडी गरिरहेका दलित समुदायका एक छात्र भीम सिंहले आत्महत्या गरेपछि त्यहाँ दलित विद्यार्थीप्रति भेदभाव कायमै रहेको भनी चर्को आलोचना भएको थियो ।

यसअघि हैदरावाद विश्वविद्यालयमा पढ्ने अर्का दलित छात्र रोहित बेमुलाले पनि विश्वविद्यालयले आफूलाई दिने छात्रवृत्ति रोकिदिएको भन्दै जनवरी २०१६ मा आत्महत्या गरेका थिए ।

प्राध्यापक जार्नेकाले नेपालका प्राज्ञिक स्थलमा जातीय भेदभाव घटेको, दलित विद्यार्थीले कथित उच्च जातिका प्राध्यापकबाट आवश्यक सहयोग र प्रेरणा पाएको भए पनि आफूलाई उनीहरूका घरमा बोलाउने नगरेको बताएको पनि जनाइन् । उनले नेपालमा निकै कम संख्यामा मात्रै दलित विद्यार्थीले स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गर्ने गरेको र तीमध्ये पनि अधिकांश प्राविधिक विषयभन्दा मानविकी र समाजशास्त्रजस्ता विषय पढिरहेको बताइन् ।

उनले नेपालका दलित स्नातकहरू अधिकांश समावेशिताका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थामा आबद्ध रहेको पनि जनाइन्। त्रिविका पूर्णकालीन झन्डै आठ हजार शिक्षक तथा प्राध्यापकमध्ये केवल १० जना मात्र दलित रहेको पनि उनले बताइन्। भारतको तुलनामा नेपालमा आरक्षण लागू गरिएको केही वर्ष मात्रै भएकाले शैक्षिक क्षेत्रमा दलित खासै अगाडि आइनसकेको उनको भनाइ थियो ।

दलित विद्यार्थीले भने कतिपय अवस्थामा आफ्नो पहिचान लुकाउनुपरेको, काठमाडौंलगायत सहरमा पनि डेरा खोज्दा भेदभाव बेहोर्नुपरेको बताउने गरेका छन् । नेपालमा साक्षरता दर झन्डै ६६ प्रतिशत छ भने दलित समुदायको साक्षरता दर झन्डै ५२ प्रतिशत छ ।

तराई मधेसका दलितको साक्षरता दर ३५ प्रतिशतभन्दा पनि कम छ। त्यस्तै विद्यालय तहमा बीचमै पढाइ छाडने विद्यार्थीमध्ये दलित विद्यार्थीको संख्या उच्च रहेको अध्ययनले देखाएका छन्।

(निम्नलिखित सामाग्री कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।)


प्रकाशित | १९ कार्तिक २०७५, सोमबार १०:१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *