‘दमाई दाइ’ को विम्ब

ठाँटिएका परी, देउता स्वर्गका छन् सुरा

हामी नांगा, हामी भोका, हिउँदका छुरा

हामी नाला, हामी गन्दा, हामीहरू कीरा

सुनको मन्दिर, ढुंगो ईश्वर, धर्म गाँजा सन्की

अचाक्ली नै भयो हाम्लाई, हाम्रा हक छन् कि

सडेका कपडा अनि कुहेका चमडा,

रगत सुक्यो दमाई दाइ

नक्कलीले लाल सर्बत पिएर।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका कवितामध्ये मलाई सर्वाधिक मनपर्ने एउटा कविता हो ‘दमाई दाइ’। यसमा गायक शिशिर योगीले सुमधुर स्वर र संगीतले प्राण भरेका छन्। यो कविता वर्णा श्रम समाजमा पिँधमा धकेलिएका हाम्रा दलित दाजुभाइप्रति सहानुभूति स्तरमा मात्र छैन, यसले तिनका हक, अधिकारको पैरवी र थोत्रिएको शासन व्यवस्थाप्रति अर्थपूर्ण आक्रोश पनि व्यक्त गर्छ। अभिव्यक्तिको स्वफूर्तताले गर्दा यसको स्वरूप पक्का प्राकृतिक छ।

देवकोटाले आफ्ना अधिकांश उर्वर रचना त्यतिखेर गरे जतिखेर ‘समानता’ शब्द उच्चारण गर्नु नै अपराध मानिन्थ्यो। त्यो राणा शासनको चरम यातनामय अन्धकार युग थियो। त्यहाँ राणा देश लुट्न लाइसेन्स प्राप्त अभिजात थियो। दलित त वर्णा श्रम व्यवस्थाअनुसारै सबै ‘उच्च जात’ को सेवा गर्न र मेवा गुमाउन अभिशप्त। त्यस्तै बेला तल्लो जात भनेर हेपिएका दमाईहरूप्रति असीम प्रेम प्रकट गर्दै उनले शासकलाई ठाडो चुनौती दिए। पढालिखा भनेर शासकको छड्केमा परिसकेका देवकोटाले ‘अचाक्ली नै भयो हाम्लाई हाम्रा हक छन् कि’ भनेर लेख्नु कम्ता हिम्मतको कुरा थिएन। त्यति मात्र होइन, यसै गीतमा उनले ‘मान्छे सडाई मान्छे खान्छ झिँगाजस्तो भन्की, देख्दाखेरि मेरो कञ्चट त्यसै आउँछ रन्की’ भनेर शासकका जंगली आँखासँग आँखा जुधाउने दुस्साहस गरे। त्यसअघि नै उनले ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भनेर लेखिसकेका थिए जुन जातीय ऊचनिचको युगमा अपूर्व क्रान्तिकारी वाणी थियो। आज पनि हाम्रा कतिपय लेखक शासकलाई बिझाउने कुनै कुरा लेख्न चाहँदैनन् किनभने उनीहरू सत्ताको नजिक हुन चाहन्छन् अथवा सत्ताको सुविधाबाट वञ्चित हुन चाहँदैनन्। पण्डितका छोरा देवकोटाले भने साहसपूर्वक उपेक्षित, उत्पीडित दमाईलाई ‘उचाल्ने’ काम गरे।

जातिभेदको जरा

वर्गीय र जातीय बडप्पनको अहंकारले हाम्रो सामाजिक जीवन कायल छ। अतः यो पुनर्गठनको संघारमा छ। पहिलेको वर्ग नश्लीय अभिमानमा परिणत भयो। विस्तारै त्यसले जातिभेदको रूप लियो। प्राचीन इतिहासमा दुई वर्ग थिए। एउटा, चलाख दिमाग भएका जससँग श्रम गर्ने जाँगर थिएन। कालान्तरमा ती उच्च जाति कहलिए। अर्को, विभिन्न सीप र कलाकारी जान्ने, श्रम गर्ने जससँग धूर्त दिमाग थिएन। ती शुद्र कहलिए जो आधुनिक युगका दलित हुन्। त्यसैले त संविधान र कानुनमा जे लेखिए पनि सामाजिक जीवनमा जातीय ऊचनिचको भावना यथावत् रह्यो। त्यसको सबैभन्दा ठूलो मार दलितलाई पर्‍यो। उसलाई आत्महीन जिन्दगी बाँच्न बाध्य पारियो। नेपालमा गणतन्त्र स्थापनापछि छुवाछूत विरोधी कानुन बनेको छ। समावेशिताका प्रावधानले दलितलाई राज्य संरचनाको मूल प्रवाहमा ल्याउन प्रोत्साहित गरेको छ। परन्तु, सामाजिक रूपमा अझै पनि दलित जनअत्याचार र अपमानका सहस्र नीलडाम छातीमा बोकेर हिँडिरहेका छन्।

दलित कवि तथा पूर्वसभासद् आहुतिको किताब ‘नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष’ का अनुसार दक्षिण एसियामा करिब ३५ सय वर्षअघि वर्ण व्यवस्थाको जग हालिएको थियो। करिब दुई हजार वर्षअघि ब्राह्मण राजा मनुको शासनकालमा वर्णव्यवस्थामाथि छुवाछूत लादियो। त्यसपछि कथित उच्चजातीय शासनलाई दीर्घजीवी बनाउन छुवाछूतसहितको वर्ण व्यवस्था कठोर पार्दै लगियो। भारतबाट हिन्दु शासक र जनताको प्रवेशसँगै नेपालमा पनि यो व्यवस्था आइपुग्यो। नेपालमा पानी नचल्ने बनाइएका तीन समुदाय छन्। खस–पहाडियामा दमाई, कामी, सार्कीलगायत, नेवारमा च्यामे, पोडे, कसाई, कुस्ले, गाइनेलगायत अनि मधेसीमा मुसहर, पासवान, वादी, कमैया, चमार आदि छन्।

हिन्दु सनातन संस्कारको प्रभाव रहेको हाम्रो समाजमा अझै पनि महाभारत, रामायणलगायत १८ पुराणलाई आदर्शको स्रोत मानिन्छ। तिनका जरादेखि टुप्पैसम्म दलितको अपमान गरिएको छ। वैज्ञानिक युगको फड्कोसँगै हाम्रो समाजमा गीता नियमित पढ्ने, सम्पूर्ण पुराणको सारसंक्षेप श्रीमद् भागवत् लगाउने चलन बढ्दो छ। हाम्रा शास्त्र सिर्जनशीलता र कल्पनाशीलताका दृष्टिले संसारकै उत्कृष्ट साहित्य हुन्। किन्तु, इतिहास र समाजशास्त्रका हिसाबले यी सर्वथा विरोधाभासपूर्ण, अस्पष्ट, रहस्यमयी, अन्यायी र धोकापूर्ण छन्। कति ठाउँमा यिनले विश्व भाइचारा, करुणा, दया, माया, मानवताका कुरा उठाएका छन्। तिनको खण्डन यिनैका कतिपय प्रसंगले गरेका छन्। विडम्बना, तिनले सिकाएका असल कुरा हामी अनुसरण गर्दैनौं। खराब चाहिँ तुरुन्तै ग्रहण गर्छौं। १८ पुराणका कति प्रसंगमा दुष्ट, राक्षस र दलित हत्याको पाप लाग्दैन भनिएको छ। भक्त शवरीको जुठो बयर खाएर रामले जातीय भेदभावको रेखा मेट्न खोजेका थिए। आठ ऋषिको उक्साहटमा वेद पढेको र तपस्या गरेको अभियोगमा उनैले शुद्र शम्बुकको हत्या गरेर अमानवीय वर्ण व्यवस्थालाई प्र श्रय दिए।

महाभारतको कथामा दलित भएका कारण द्रोणाचार्य एकलव्यलाई धनुर्विद्या सिकाउन अस्वीकार्छन्। तिनै एकलव्य स्वअभ्यासबाट कुरुकुलका राजकुमारहरूभन्दा पारंगत हुन्छन्। त्यसपछि द्रोण गुरु–दक्षिणास्वरूप बूढीऔंला कटाएर उनको तेजोबध गर्छन्। कुनै पनि कुरामा कम नहुँदा पनि सूतपुत्र कर्ण अर्जुनसँग प्रतिस्पर्धा गर्न पाउँदैनन्। दलित भएकै कारण उनले द्रौपदीको स्वयंवरमा मत्स्यवेध प्रतिस्पर्धामा भाग लिन पाएनन्।

वर्गीय मुक्तिसँगै दलितको जातीय मुक्ति अर्थात् आत्मसम्मानको पनि पुनर्बहाली गर्नुपर्नेमा माक्र्सवादीहरू प्रस्ट हुनैपर्छ। महाकविले ‘दमाई दाइ’मा समाजको यही जातिवादी र वर्गभेदी विचारको मेरुदण्डमा प्रहार गरेका हुन्।

दलित र महिलाका हकमा हाम्रा शास्त्रका कतिपय सन्दर्भ मानवताविरुद्ध अपराध गर्न उक्साउने खालका छन्। युधिष्ठिरले द्रौपदीलाई पाँच दाजुभाइकी पारिवारिक वेश्या बन्न बाध्य पारे। कुरुकुलको भारदारी सभाले सुन्दरी द्रौपदीलाई युधिष्ठिरले जुवामा बाजी थाप्ने हक छ भनिदियो। यसरी महिला पुरुषका लागि ‘मालसामान’ मात्र हो भन्ने सन्देश दिइयो। विडम्बना, महाभारतले तिनै युधिष्ठिर, भीष्म, युद्ध उत्प्रेरक कृष्णलाई आदर्श पुरुष मान्छ। चेतन वा अचेतनमा यस्ता सन्दर्भले हाम्रो ग्रन्थीलाई प्रभावित पारिरहेका छन्। शिक्षित, जातिभेद विरोधी, छुवाछुत विरोधी व्यक्तिको मुखबाट पनि ऐनमौकामा जातिभेदी वचन बाहिर आउनु दलितमाथि जातिभेदी व्यवहार हुनुको कारण यही हो।

देवकोटाको प्रहार

झन्डै २६ सय वर्षअघि नै बुद्धले जातिवादी समाजको अवधारणालाई खारेज गरिसकेका थिए। उनको संघमा उपालि, सुनित, स्वास्तीजस्ता दलित भिक्षु सम्मानित ओहदामा पुगेका थिए। तर, सनातन समाजले जातिवादलाई मलजल गरिरह्यो। फलतः श्रमलाई नै भगवान् मान्ने यो समुदाय हिन्दु समाजको आर्थिक वर्गको पिँधमा पुग्यो। त्यतिले नपुगी उसलाई पशुलाई भन्दा तल्लो दर्जामा राखी अछूत बनाइयो। माक्र्सवाद सिर्जनशील दर्शन हो। तर, माक्र्सवादलाई जडसूत्र बनाउनेहरू वर्गीय मुक्तिपछि दलितको समस्या पनि समाधान हुने ठान्छन्। निश्चय पनि वर्गीय मुक्ति अत्यन्त महत्वपूर्ण कुरा हो। तर, दक्षिण एसियालाई हेर्ने हो भने वर्गसँर्ग वर्णव्यवस्थाले लादेको जातिप्रथालाई पनि भुल्न मिल्दैन। समान आर्थिक हैसियत भएको एउटा ब्राह्मण र एउटा दलितलाई हाम्रो समाजले किन समान व्यवहार गर्दैन ? यसले प्रस्ट पार्छ, वर्गीय मुक्तिसँगै दलितको जातीय मुक्ति अर्थात् आत्मसम्मानको पनि पुनर्बहाली गर्नुपर्नेमा माक्र्सवादीहरू प्रस्ट हुनैपर्छ। महाकविले ‘दमाई दाइ’ मा समाजको यही जातिवादी र वर्गभेदी विचारको मेरुदण्डमा प्रहार गरेका हुन्। उनले सहानुभूति होइन, समानुभूतिको स्तरमा आफूलाई अभिव्यक्त गरेका छन्। अन्त्यमा, महाकविको यो सानदार कविताको पूर्ण पाठ–

सियोको टुप्पोले मुटु बिझ्यो दमाई दाइ

आजलाई देशलाई देखेर

जर्जर पातमा कीराले दमाई दाइ

देश दशा झलक्क लेखेर।

ईश्वरको मूर्ति मान्छे, मान्छे गर्छ हेला

एउटै मासु एउटै रगत एउटा अर्को पेला

पहिले खाँद्छन् मुलालाई पछि भन्छन् सिन्की

मान्छे सडाई मान्छे खान्छ झिँगाजस्तो भन्की

देख्दाखेरि मेरो कञ्चट त्यसै आउँछ रन्की

जसले चुस्छ त्यही गुरु रे त्यसकै तिमी चेला

भएन है अझै किन आँखा खोल्ने बेला ?

कुकुर चुम्छन् मानिस थुक्छन् हामीलाई दमाई दाइ

लात्तीले नै फुटबलझै फेँकेर।

थिचिएको सुनको खानी भुइँचालोले झिक्ला

दबिएको आवाजलाई ज्वालामुखी फेँक्ला

ठाँटिएका परी देउता, स्वर्गका छन् सुरा

हामी नांगा, हामी भोका हिउँदका छुरा

हामी नाला, हामी गन्दा हामीहरू कीरा

सुनको मन्दिर, ढुंगो ईश्वर धर्म गाँजा सन्की

अचाक्ली नै भयो हाम्लाई हाम्रा हक छन् कि

सडेका कपडा अनि कुहेका चमडा

रगत सुक्यो दमाई दाइ,

नक्कलीले लाल सर्बत पिएर।

निम्नलिखित सामाग्री अन्न्पूर्ण पोष्टबाट साभार गरिएको हो ।


प्रकाशित | १७ कार्तिक २०७५, शनिबार १४:४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *