दशैँ कहाँ मान्ने ?

बागलुङ – अरु बेला बसिमाया परियार परिवारमा दशैंको उल्लास टाढैबाट महसुस हुनेगरि देखिन्थ्यो तर यसपालि परिवारका सदस्यहरुको अनुहारमा न दशैंको रौनक छ, न उल्लास र उमँग ।
बर्खामा पहिरोले घर बगाईदिएपछि छिमेकीको आश्रयमा ओत लिईरहेकी ५२ बर्षीय परियारलाई एउटै कुराको पिरलो छ, दशैँ कहाँ मान्ने ? कसरी मान्ने ? उनी भन्छिन्, ‘छोरी ज्वाइँ आउँछन् । कहाँ राख्ने, के खुवाउने ?‘
चाडबाडको मुखमा यस्तो पीडा भोग्नेमा उनी मात्र एक्लो पात्र होईनन । बाग्लुङको काठेखोला गाउँपालिका–५ बिहुँ काउलेका १४ परिवारको व्यथा समान छ । असार ११ गतेको भीषण वर्षाले गाउँ भासिएपछि विस्थापित बनेका काउलेका चौध घर परिवारका ४६ जना सदस्यलाई दशै दशा भैदिएको छ ।
कमाउन दुबई हानिएका इन्द्रबहादुर परियार दशैंमा घर फिर्दैछन् । तर उनले आफ्नो दैलो टेक्न पाउने छैनन । ‘उहाँ आउँदै हुनुहुन्छ । हामी यहाँ (आफन्त) शरण लिएर बसेका छौं ।’ १६ महिने छोरा अमितलाई काखमा च्याप्दै इन्द्रका श्रीमति सुमित्रा भन्छिन्, ‘ घरगोठ सबै भत्कियो । बारी पनि चिराचिरा परेकोछ ।’ उनी ३ छोरा सहित आफन्तकहाँ आश्रय लिई बसिरहेकि छन् ।
पहिरोले विस्थापित बनेकामध्ये अधिकांश परिवार कोठा भाडामा लिएर बसेकाछन् । दैनिक मजदूरी गरेर जीविका चलाउने परिवारको थातथलो गुमेपछि तिनको विचल्ली छ । धेरै घरगोठ भासिएपछि र खेती गर्नलाई भएको सानो टुक्रा जमीन पनि खण्डहरमा परिणत भएपछि यता न उताको भएका छन् । ७२ वर्षीय दिलबहादुर परियार भन्छन् – ‘खाइनखाई दुई लाख रुपैया खर्चेर बनाएको घर पनि दैवले लग्यो ।’
बिस्थापितहरुलाई पुनःस्थापना गर्ने ठोस पहलकदमी कतैबाट हुन सकेको छैन । छिमेकीको घरमा मासिक एक हजार तिरेर भाडामा बसिरहेकी ७० बर्षीय बिजुला परियार भन्छिन्, ‘ सरसामान, लत्ताकपडा, खाने, सुत्ने सबै एउटै कोठामा थुप्रिएको छ । ‘

‘बिहान बेलुकीको छाक टार्न पनि धौ–धौ छ ।’ विस्थापित हीराकुमारी पुन भन्छिन्, ‘सरकारी पदाधिकारी र स्थानीय जनप्रतिनिधि आउँछन्, आश्वासन बाँडेर मात्र फर्कन्छन् ।’

एउटा पूरै गाउँ बिपत्तिमा पर्दा समेत स्थानीय निकायका जनप्रतिनीधिहरुले तिनका परिवारलाई ब्यवस्थापन गर्न सकिरहेका छैनन । बसिमाया भन्छिन्, ‘आशैआशमा महिनौं बित्यो, अवस्था जहिंको तहिं छ ।’ पीडितहरुको गुनासोलाई वडाध्यक्ष शिव कँडेल स्वाभाविक ठान्दछन् । प्रारम्भिक चरणको राहत बाँडिएपनि क्षतिपूर्ति र पुनःस्थापनामा ढिलाइ भएको स्वीकार गर्दे उनी भन्छन्, ‘विस्थापित परिवारलाई पुनःस्थापना गर्न सुरक्षित ठाउँमा जग्गा खोज्ने प्रक्रिया अघि बढेको छ ।’
सोही वडाको सिर्पाली र लामरातीमा जग्गा हेर्ने काम भइरहेको उनले बताए । चौध वटा घर बनाउन करीब २५ लाख मूल्य बराबरको जग्गा खरिद गर्नुपर्ने र जग्गा खरीदकै लागि बिहुँकोट समाज जापानले आर्थिक सङ्कलन अभियान समेत थालेको छ । उक्त अभियानबाट अहिलेसम्म चार लाख रुपैया उठेको जनाइएको छ ।
‘गुल्मी समाज जापानबाट पनि एक लाख २० हजार राहत आएकोथियो । त्यो रकम दशैँको मुखमा विस्थापित परिवारलाई वितरण गरियो ।’ वडाध्यक्ष कँडेल भन्छन्, ’तर तत्कालै अस्थायी टहरा बनाएर भएपनि विस्थापितलाई राख्ने गाउँपालिकाको प्रतिबद्धता भने पूरा गर्न सकिएको छैन ।’
दीर्घकालीन पुनःस्थापनाको लागि समय लाग्ने हुँदा गाउँपालिकाले अस्थायी संरचना बनाउने वाचा गरेको थियो । जग्गा भएको खण्डमा जनता आवास कार्यक्रमबाट पनि घर निर्माण गर्न सकिने बताइएको छ । ‘सार्वजनिक जग्गामा राख्दा समस्या निम्तने हुँदा सकभर निजी जग्गा खोज्नुस् भनेका छौँ ।’ गाउँपालिका अध्यक्ष अमर थापा भन्छन्, ‘जग्गा भयो भने घर बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्छ ।’
१३ दलित र एक मगर परिवारका ४६ सदस्य बिस्थापितहरु स्वंय आर्थिक रुपले कमजोर पृष्ठभूमी भएका परिवार भएकोले तिनले पनि अर्थ जोहो गर्न सकिरहेका छैनन । काउले वरपर तिनलाई ब्यवस्थापन गर्नपनि अप्ठेरो रहेको एउटा अध्ययनले देखाएको छ ।
भू–गर्भ्विद्को टोलीले स्थलगत अध्ययन गरी काउलेमा बस्ती राख्न नमिल्ने निष्कर्ष निकालेकोछ । मध्यपहाडी पुष्पलाल लोकमार्ग छेउ काउलेको जमीन धसिँदा लोकमार्ग समेत जोखिममा छ । यस्तो अवस्थामा बिस्थापितको ब्यवस्थापन सहज देखिदैंन । बसिमाया भन्छिन्, ‘ के गर्ने १ हामीलाई त यसपालिको दशैं दशा पो बनेर आईदियो ।’


प्रकाशित | २७ आश्विन २०७५, शनिबार २०:३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *