काठमाडौँमा ४० वटा मिटमार्ट निर्माण गर्नेः मन्त्री खनाल

काठमाडौँ –  कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले काठमाडौँमा जनघनत्व बढेसँगै सर्वसाधारण जनताले बढी उपभोग गर्ने दूध, पानी, तेल तथा मासुमा सरकारले नियमित नियमन गर्न नसकेको बताउनुभएको छ ।

रिपोर्टस क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “चाडबाडमा एक महीना जति नियमन हुने र त्यसपछि क्रमशः हराएर जाने प्रवृत्ति छ, यस्तो प्रवृतिलाई अन्त्य गरी अब वर्षभरि नै नियमन गर्ने प्रक्रिया ल्याईनेछ ।”

मन्त्री खनालले स्वस्थ मासुको व्यवस्थापनका लागि हेटौँडास्थित दैनिक २०० राँगो काट्ने क्षमता भएको बधशालाको उपयोगमा ल्याउने बताउँदै काठमाडौँ उपत्यकामा ४० वटा मिटमार्ट निर्माण गर्ने योजना सरकारले बनाइरहेको जानकारी दिनुभयो ।

हाल काठमाडौँमा दैनिक ४०० राँगा काट्ने गरिएको उल्लेख गर्दै बधशालामा सर्वसाधारण जनता तथा उपभोक्ताको पहँुँच नभएकाले ती मासु स्वस्थकर नहुने बताउनुभयो ।

यसको तुलनामा खसी, बोका तथा भेडा काट्ने ठाउँमा उपभोक्ताको उपस्थित भएकाले मिटमार्टले जथाभावी गर्ने सम्भावना कम रहेको मन्त्री खनालको भनाईछ ।

उहाँले फोहर तथा अव्यवस्थित बधशालाका कारण राँगा काट्ने चार वटा बधशाला बन्द गरेको र पानीका २२ उद्योगमा तालाबन्दी गरेको जानकारी दिदैं नियमित अनुगमनका कारण ९३ पानी उद्योगमा सुधार आएको बताउनुभयो ।


प्रकाशित | २६ आश्विन २०७५, शुक्रबार १८:५२

Leave a Reply

Your email address will not be published. Required fields are marked *