जातीय विभेदले ‘भूमिगत’ बनेको जोडीको कथा

काठमाडौं- जातभात मान्नुहुँदैन भन्दै सहर–बजार र गाउँटोलमा चर्कै नारा घन्किरहेका छन्। जातीय आधारमा विभेद गर्नेलाई कानुनले ‘अपराधी’ करार गर्छ। समय बदलियो र अझै बन्दल्नुपर्छ भन्ने पनि नभएका होइनन्। तर त्यतिबेला यी सबै आदर्श ढोंगमा अनुदित हुन्छन् जब व्यवहारमा कसैले जातभातको मान्यतामा मलजल गर्छ। यसैका आधारमा कसैले विभेद मात्र होइन त्रास सिर्जना गर्छ भने कानुन होइन, कुसंस्कारको रक्षामा लागिपर्छन् कानुनका रखवाला।

हामीले यस्तै एउटा निर्मम उदाहरण फेला पारेका छौं।

परिवार, समाज र प्रहरी प्रशासन तिनैतिरबाट प्रताडित बनेको छ अन्तरजातीय विवाह गरेको झापाको एक जोडी। बुद्धशान्ति गाउँपालिका वडा २ जयपुरका लोकेश दर्जी र कन्काई नगरपालिका ७ की देवका विमली (सिटौला) ले दुई महिनाअघि प्रेम विवाह गरे। तर, दर्जीसँग बाहुनीले विवाह गरेको पचाउन नसक्ने परिवार, समाज र प्रहरी प्रशासनबाट ज्यान जोगाउन दुई महिनादेखि एक बन्द कोठामा कैदी सरहको जीवन बिताइरहेको छ यो जोडी। झापाबाट जसोतसो फुत्केर काठमाडौं आइपुगेको यो जोडीलाई युवातीका माइतीतर्फका आफन्तले खटाएका गुन्डासँग डर छ। उनीहरुकै पक्षमा रहेको प्रहरी प्रशासनसँग डर छ।

नजिकिँदो चाडबाडको उल्लासको झोक्का उनीहरुसम्म पनि पुग्छ। तर, मन अमिलो बनाएर फर्किन्छ। ‘दसैंतिहार आउँदैछ। सबै मान्छे देशविदेशबाट घर फर्किरहेका छन्। हामी यहीँ भएको मान्छे यसरी भूमिगत भएर बन्द कोठामा लुकेर बसिरहनु परेको छ,’ श्रीमती देवकातिर हेर्दै लोकेशले मनको बह पोखे।

उत्साह र त्रास दुवै मिसिएका आँखा जुधाउँदै देवकाले थपिन्, ‘चाडपर्वमा कल्लाई घर जान मन लाग्दैन। हामी नयाँ जोडीलाई बाबा आमाको हातबाट दसैंको टीका थाप्न मन छ। तर, ज्यानको सुरक्षा छैन कसरी जाने?’

केही दिनअघि गुन्डाले उज्याएको खुकुरी जस्तो धारिलो देखेछन् लोकेशले देवकाको प्रश्नवाचक चिह्न। भुइँतिर हेरेर एकछिन मौन रहे। तर समयले जिन्दगीको यात्रामा प्रश्न लगाइदिएपछि सामना नगरी कहाँ धर छ र? लोकेश आफैंले प्रश्नवाचक उत्तर फर्काए, ‘गोजीमा भएको पैसा सकिसक्यो। यहाँ पनि आफन्तकोमा बसिरहेका छौं। झापादेखि न्याय खोज्दै र ज्यान बचाउँदै यहाँसम्म आइपुगियो। अब हामी जाने कहाँ?’

वातावरण पूरै प्रतिकूल हुँदा पनि एकअर्काप्रतिको भरोसाले यो जोडी जुध्ने हिम्मत बाँकी राखेर बसिरहेको छ। यही बेला प्रेम अंकुराउँदाको ती पलहरु सम्झिन लगाइयो उनीहरुलाई।

निरासाको बादल मडारिएको लोकेशको आँखामा एकाएक चमक फर्कियो। उनले सुनाए, ‘म कपडा पसलमा सेल्सम्यानको नोकरी गर्थें। उनी पल्लोपट्टि पार्लर सिक्न आइन्। यसरी हाम्रो देखभेट भयो।’ देखभेट र बोलचालपछि  देवकाले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाइन्। च्याटमा उनीहरुको कुराकानी हुन थाल्यो। त्यसपछि मोबाइल नम्बर लेनदेन भयो। कुराकानी बढ्दै गयो। प्रेमको बिरुवा हुर्किदै गयो।

मनमा गाँठो परेर बसेको प्रेम एकदिन राति फोनमा कुरा गर्दै गर्दा लोकेशले देवका समक्ष फुकाउने मनसाय बनाए। उनले मुटुको रक्तचाप बढिरहेको महसुस गरे। हिम्मत गरेर भनिदिए, ‘म तिमीलाई माया गर्छु।’

देवकाले फोन काटिदिइन्। लोकेशलाई मनको भारी बिसाएकोमा शान्ति र देवका रिसाएकोमा पीर दुवै एकैपल्ट महसुस भयो । लोकेश सिरानी काखमा च्यापेर छटपटिँदै थिए। टङटङ फोनको घन्टी बज्यो। म्यासेज देवकाको थियो। फेरि मुटुको धड्कन बढ्न थाल्यो। म्यासेजे खोलेर हेर्दा लेखिएको थियो– लभ यु टू।

लोकेशले यति बताउँदै गर्दा देवकाले आफ्नातर्फको कहानी सुनाइन्, ‘उहाँले प्रपोज गर्दा मलाई डर लाग्यो। के भनुम् के भनुम् भयो। माया त थियो तर भन्न सकिरहेको थिइनँ। मुखले भन्न नसकेर म्यासेजबाट जवाफ फर्काएँ।’

उनीहरु त्यसपछि रातभर पनि फोनमा गफिन थाले।

कुरा के हुन्थे त? दुवैलाई थाहा छैन। तर, कुरा गर्दागर्दै उज्यालो हुन्थ्यो। देवका लोकेशको घर आउजाउ गर्न थालिन्। लोकेशले आमासाँग कुरा गरिसकेका थिए। लोकेशकी आमाले बुहारीको रुपमा स्वीकारिसकेकी पनि थिइन्।

जातभातको साँघुरो बाटो भत्काएर प्रेमको चौडा मैदान बनाउने काम देवकाबाट भएको हो। बाहुन परिवारकी उनी जातभातको कुसंस्कारबाट बाहिर निस्किसकेकी थिइन्। लोकेश भन्छन्, ‘मैले कहिलेकाहिँ कुरा निकाल्दा उनी रोक्थिन् । मलाई प्रोत्साहित गर्थिन्।’

प्रेम सधैं सिधा बाटोको यात्रा होइन। माया नै माया बाँड्दै गर्दा कहिलेकाहिँ अलिकति झगडा पनि मिसिन पुग्छ। एकदिन प्रेम मिश्रित झगडा भयो यी दुई बीच। देवकाको चित्त दुख्यो । रुँदै फोनमा लोकेशसँग बोलिरहेकी थिइन्। पछाडिबाट उनकी आमाले सुनेकी रहिछन्। अलि–अलि पहिल्यैदेखि शंका थियो उनलाई। देवका सम्झिन्छन्, ‘कोसँग बोलेको होस्? भनेर उहाँले अलिअलि गाली गर्नुभो। मेरो फोन फुटालेर फालिदिनु भयो।’

त्यसपछि ८ दिनसम्म उनीहरुको कुराकानी हुन पाएन। पानीबिनाको माछा जस्तै छटपटाए दुवै। गत साउन १४ गते लोकेश देवकाको घर खोज्दै पुगे। देवकालाई नदेखेपछि फर्किएको खबर पाइन्। देवकाले पल्लो घरबाट फोन गरेर फर्काइन्। उनीहरुले भेटे गरे।  प्रेम बसेको तीन वर्ष भइसकेको थियो। देवकाले प्रेममा केही आवेश मिसाएर भनिन्, ‘बिहे गर्ने भए गरुम् जुम्  (गरौं जाउँ )।’

लोकेशले बाइकमा बस्न संकेत गरे। देवका बसिन्। त्यसपछि विवाह भयो। उनीहरु इलाम जाँन भनेर निस्केका थिए। साँझ परेकाले गाडी पाइएन। तीन दिन बर्मे गएर बसे। उनीहरु सानीआमा कहाँ बसेका थिए। त्यहाँ बस्दा प्रहरीले उनीलाई सम्पर्क गर्‍यो।

‘प्रहरीले केही हुँदैन फर्किनुहोस्’ भने। प्रहरीले आइडिया पनि सुझायो, ‘आमाबुवाका अगाडि राजीखुसीले विवाह गरेका हौं भनिदिनुहोला। उमेर पुगेको रहेछ, डराउनुपर्दैन।’

उनीहरु लोकेशको घर फर्के। घर पुगेकै दिन देवकाकी दिदी भने पुलिस लगेर सानीआमा पुगिन्। त्यहाँबाट सानीआमाको फोन आयो, ‘तिमीहरुलाई त पुलिसले खोज्दै यहाँसम्म आएको छ। भागिहाल।’ उनीहरु भागेर सिक्किम पुगे। त्यहाँ केही दिन बसे। उनीहरुलाई ५ दिनभित्र पुलिस स्टेशनमा हाजिर हुन भनिएको खबर पठाइयो। फर्केर आए।

जबर्जस्ती लगिएको भनेर प्रहरीमा निवेदन हालिएको रहेछ प्रहरीले देवकालाई केरकार गर्‍यो, ‘म आफ्नै खुसीले गएको हो’ भनिन्।

त्यसपछि देवका बुबाले ‘छोरी यहाँ आइज म गफ गर्छु’ भने।  ‘जे सोध्न’ छ यहीँ सबैको सामु सोध्नुस्। म आउँदिनँ,’ देवकाले अड्डी कसिन्।

देवकाले नमानेपछि जबर्जस्ती तानेर लगियो। घिसार्दै पुलिस स्टेशन भन्दा पर लगेर गेटबाहिर लिन खोजेका थिए।  तर,  दलित संघका सुरेश बराइली र वडाअध्यक्ष दिलिपले गेट बन्द गरे  र उनका जेठाजुले भिडियो खिच्न थाले।

त्यतिन्जेल मुकदर्शक बनेको प्रहरीले भिडियो खिच्न थालेपछि एकाएक आक्रोशित भयो। देवकालाई लिएर चौकीभित्र थुनिदियो। उनकी दिदी आइन्। उनले भनिन्, ‘भित्र मेरो दिदी आउनु भयो। मलाई घर हिँड अझै पनि केहि बिग्रेकाे छैन भन्नुभयो । तलाईं हामी काठमाडौं पठाइदिन्छौं। त्यहाँ एक दुई महिना बस विदेश जालिस् भनेर फकाउनुभयो।’

उनले आफूले प्रेम गरेको मान्छे छाड्न नसक्ने अड्डी कायम राखिन्। त्यसपछि आफ्नो बुबाले दिएको धम्की सम्झिन्छिन् देवका, ‘ल ठिक छ उसोभए हामीले जे गर्न सक्छौं गर्छौं। त्यसका लागि कहाँसम्म जानुपर्ने हो जान्छौं। नसके तँलाइ मारेर फालिदिन्छौं।’

देवकाका आफन्त गइसकेपछि वडाअध्यक्षको रोहबरमा प्रहरीले उमेर पुगेको कागज गरिदियो। उनीहरु घर फर्के। कागजमा भनिएको थियो, ‘देवकालाई केही भए लोकशलाई कारबाही गरिने।’

कागज गरे पनि अवस्था सामान्य भयो भनेर घर बसिरहेका थिए। विवाह भएको २० दिन भएको थियो। देवका घर बाहिर बसेर कोरीबाटी गर्दी थिइन्। लोकेश अर्को घरमा थिए। देवकाले आफ्नी दिदी आफूले नचिनेको तीनजना मान्छेसँग आइरहेकी देखिन्। उनले भनिन्,  ‘हेर्दै डरलाग्दा थिए। म झटपट तलको रुममा छिरें र लुकें।’

उनीहरुले बहिनी र भाइलाई लिन आएको र भोलि फर्काइने बताए।  त्यसो भनिरहँदा देवका बाहिर निस्किइन्। उनलाई आमा बिरामी रहेकाले खोजिएको उनीहरुले बताए। त्यसपछि गाउँलेले तलमाथि भए लोकेशलाई पक्रिने प्रहरीले कागज गरेकाले लैजान नदिने अड्डी कसे। ‘घरसम्म तीनजना मात्रै आउनुभएको रहेछ। तर, १५ जना लुकेर बसेका रहेछन्,’ देवकाले भनिन्, ‘एक–एक गरी आउन थाले।’

देवकाले ममी बिरामी भएको भए आफू फोनमा बोल्ने भन्दै अड्डी कसिन्।

घरमा यसरी अपरिचित मान्छे आउन थालेपछि लोकेशले प्रहरीमा उजुरी दिन चाहे। उनले भने, ‘हामीले त्यहाँ उजुरी दिन खोज्दा प्रहरीले यस्तो झगडा लफडाको उजुरी सुनिंदैन भन्नुभयो।’ उनले आफूलाई सुरक्षा चाहिएको भन्दा प्रहरीले आफ्नो सुरक्षा आफैं गर्ने भनेको उनी सम्झिन्छन्।

त्यसपछि उनीहरुलाई घरमा बस्न डरमर्नु भयो। काठमाडौं आए। तर, अहिले उनीहरुलाई सहयोग गर्नेहरुलाई फोन गरेर देवकाका माइतीले धम्काइरहेका छन्।

उनीहरु काठमाडौं आएपछि लोकेशको परिवारमाथि फेरि धरपकड भयो। ‘मेरो दिदीहरु गएर तिनीहरुलाई ५ दिनभित्र झिकाउनु भनेर प्रहरीलाई दबाब दिएछन्। प्रहरीले मेरो जेठाजुलाई उहाँको फ्रेसहाउसबाट पक्रेर लगे। उहाँले म ५ दिनभित्रमा ल्याउँछु भनेर छुट्नुभएछ।’

‘फेरि कागज गरिसकेपछि  हाजिर किन नगराएको भन्दै जेठाजुलाई पुलिसले लगे। हामीलाई न्याय कतैबाट छैन उल्टो दबाब छ,’ लोकेशले भने।

देवकालाई लाग्छ, ‘पुलिस प्रशासनले सहयोग गरेकाे भए यो कुरा उहिल्यै मिलिसक्थ्यो। उहाँहरुले मेरो कागजपत्र मगाइदिएर सहयोग गरेकोभए हाम्रो विवाह दर्ता भैसक्थ्यो।’

गाउँमा १४ वर्षको चेलीको बिहे हुँदा प्रहरी र ठूलाबडा मान्छे भोज खान गएको लोकेशले देखेका छन्। उनी प्रश्न गर्छन्, ‘तर हामी उमेर पुगेकोले राजीखुसी बिहे गर्दा किन यसरी दुःख दिइन्छ?’
उनीहरु न्यायको पर्खाइमा छन्। खुला आकाशमा स्वतन्त्र जीवन जिउन चाहन्छन्। घरीघरी उनीहरु बन्द कोठामा निस्सासिए जस्तै महसुस गर्छन्।

देवका भन्छिन्, ‘बाबाहरुलाई आफू भन्दा सानो जातकोसँग गएर इज्जत फाली भन्ने लागेको होला। तर, म आफ्नो खुसीले इज्जत साथ उहाँसँग आएकी हुँ। उहाँसँगै जीवन बिताउन चाहन्छु।’

लोकेशले आवेगमा देवकाका माइतीले त्यस्तो गरे होलान्  जस्तो लाग्छ। उनलाई एकदिन सबथोक भुलेर अपनाउनलान् भन्ने आसा पनि छ।

तर, अहिले लुक्नुको विकल्प देखेका छैनन्। किनकि मान्छेले आवेगमा त हो विवेक गुमाउने। समाज र प्रहरीले सहयोग गरेको भए परिवारको रिस शान्त हुन त समय लाग्दैनथ्यो जस्तो लाग्छ उनलाई।

आफन्तको रिसलाई एकदिन प्रेमले जित्ने सपना यो जोडीले देखेको छ। तर, समाजको ढोंगलाई केले जित्ने ?

आदर्शको बलियो कवचभित्र ढोंग रहेसम्म लोकेश–देवकाहरु कोठामा बन्दी जीवन बिताउन बाध्य भइरहनेछन्। विस्थापित भइरहनेछन्।

साभार : नेपाल लाइभ  डटकम


प्रकाशित | २४ आश्विन २०७५, बुधबार १९:३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *