भक्तबहादुर सुनारकाे छब्बीस वर्षदेखि ओछ्यानमै बास

कञ्चनपुर-जन्मेको छ महिनासम्म तन्दुरुस्त थियो । खुबै खेल्ने गर्दथ्यो । हाँस्थ्यो । हात समातेर आँगनमा हिँड्न खोज्थ्यो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का भक्तबहादुर सुनारले भने, “छ महिनापछि खुट्टा चल्न छाड्यो, शरीर सुक्दै गयो, ओछ्यान प¥यो ।”

आठ दशक काट्नै लागेका भक्तबहादुरले २६ वर्षीय छोरा मनोज सुनारबारे दुःखेसो पोख्दै भन्छन् , “उपचार गराउन धेरै ठाउँ पुगे पनि रोग नै ठम्याउन सकिएको छैन ।” छोराको उपचारका लागि उहाँले वैद्यदेखि चिकित्सकसम्म देखाएका छन् ।

छिमेकीले वैद्य लगाएपछि रोग निको हुन्छ भनेपछि उहाँले छ महीना वैद्यद्वारा झारफुकसमेत गरे पनि रोग निको भएको छैन । शरीरको तल्लो भाग पुरै सुक्दै गएको छ, उनले भने , “हिँडडुल त परको कुरा बस्नसमेत नसक्ने भएको छ । सानै छँदा ओछ्यान परेपछि बोल्नसमेत सक्दैन ।”

आर्थिक अवस्थाले भ्याएसम्म उनले काठमाडौँदेखि भारतको नयाँदिल्लीसम्म छोरालाई बोकेर चिकित्सकलाई देखाए पनि रोग निको भएन । दुई दशक काटेको छोरालाई शरीर नुहाउनेदेखि दिसापिसाबसमेत भक्तबहादुरले आफँ सफा गर्नुपरेको छ ।

चार छोरा र चार छोरीका बुवा भक्तबहादुरका मनोज सबैभन्दा कान्छा छोरा हुन् । छोराबुहारीले अहिले मनोजलाई ओछ्यानमा सुताउने, खाना खुवाउनेलगायतका काममा सहयोग पु¥याउँदै आएका छन् ।

कसैले पोलियो लागेको भन्छन् त कसैले प्यारालाइसिस भयो भन्छन् । रोग के लागेको हो यकिन छैन, रोग ठम्याउन नसक्दा उपचारसमेत हुन नपाएको उहाँले दुःखेसो पोखे।

उनले भने, “उपचार खर्च पाए राम्रो अस्पतालमा जचाउन पाए रोग निको पो हुथ्यो कि । मनमा उपचार गराउन नपाउँदाको चिसो पसेको छ । त्यसलाई मेटाउन सकिएको छैन ।”

“२६ वर्षदेखि ओछ्यानमै सुतेकै सुतेको छ । हामीजस्तै हिँडेको, कुरा गरेको देख्ने मन छ । कुन दैवले ठिक गरिदेला । अझै हिँड्छ, बोल्छ भन्ने आशा जीवितै छ”, उनकाे  ।


प्रकाशित | २४ आश्विन २०७५, बुधबार ०९:२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *