न्यायका लागि लडेकी बुद्धमायाको फेरि आत्महत्याको प्रयास

काठमाडाै- मानसिक अस्पताल पाटनको गेटबाट छिरेर पाँच सय मिटर अघि बढेपछि पुगिन्छ साढे दुई तल्ले भवन जहाँ एकजना संघर्षकी देवीलाई समाजको दैत्य चिन्तनले अर्धचेत अवस्थामा पुर्याईदिएकोछ । तिनै देवीको दर्शन गर्न ४ अक्टोबर विहिबार विहान ११ बजे गेटभित्र पस्दा रोईकराई, होहल्ला र चिच्याहटले हाम्रो स्वागत गर्यो । कोहि मस्त निद्रामा यत्रतत्र फालिएका थिए । क्रन्दनका स्वरहरु अधिकाँश महिलाका थिए ।
हामीलाई बेड नम्बर ४२ मा पुग्नुथियो । परिचित अनुहार खोज्दै अगाडि बढ्यौं । नर्सहरुलाई सोध्दै त्यहाँ पुग्दा बेड नम्बर ४२ खाली थियो । यो बेड बुद्धमाया विश्वकर्माको नाममा रिजर्व गरिएकोथियो । तिनै बुद्धमाया जो जातीय भेदभाव बिरुद्ध डटेर लडेकि मात्र थिईनन्, दोषीलाई जेलको चौघेराभित्र ठेलिदिएकि पनि थिईन ।
कोठाबाहिर निस्किएपछि चौरमा पाँच जना मान्छेको बीचमा घेरिएर बसेकी बुद्धमाया टाढैबाट निराश र मलिन देखिन्थिन । नजिक पुग्दा थाहा भो– श्रीमान र दुई आफन्तको रोहबरमा दुई नर्सले बुद्धमायालाई काउन्सिलिङ गरिरहेकाथिए ।
३ दिनअघि अर्थात सोमवार आफ्नै सलले घाँटीमा पासो लगाई आत्महत्या गर्न खोजेकी बुद्धमायालाई नर्सहरुले बचाई निरन्तर निगरानीमा राखि काउन्सिलिङ् गर्दै आईरहेका रहेछन् । ‘ त्यसदिन हामीले नदेखेकोभए अनर्थ हुनेथियो ।’ काउन्सिलिङ्मा खटिएकी नर्स सविता खड्का भन्छिन्, ‘ दुई दिनमा धेरै परिवर्तन भएकोछ ।’
यो उनको दोश्रो आत्महत्याको प्रयास हो । बुद्धमायाले यसअघि असारमा पनि आत्महत्याको असफल प्रयास गरेकी थिइन ।

आत्महत्या कि हत्या ?
बुद्धमायाको अहिलेको दुर्दशा बुझ्न ६ महिना पछाडि फर्कनुपर्ने हुन्छ । घटना बैशाख १५ गते साँझको हो । बर्दिबास वडा नम्बर ४ को माईस्थान भब्सी हवलदार टोलमा बस्ने बुद्धमायाकै छिमेकी कमला गिरी र उनका भान्जा रामबाबु दाहालले पानी छोएको भन्दै बुद्धमाया र छोरी मनीषालाई गाली–बेइज्जत गर्दै कुटपिट गरे ।
अनाहकमा कुटाई खाएपछि बुद्धमायाले त्यसको प्रतिवाद गरिन । न्यायका निम्ति सम्बन्धित निकाय समक्ष पुगिन । गाउँलेले मिलापत्र गर्न दवाव र प्रभाव पार्दा समेत उनले आफ्नो अठोटलाई किन्चित डगमगाउन दिईनन । उनले न्याय पनि पाईन ।
जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन  २०६८ को दफा ३ र दफा ४ (३०) बमोजिमको कसुर गरेको ठहर गर्दै न्यायाधीश डण्डपाणि शर्माको इजलासले कमला गिरीलाई ६ महिना जेल र दश हजार जरिवाना तथा पीडितलाई ५० हजार क्षतिपूर्ति तिराउने फैसला गरेकोथियो । जिल्ला अदालत महोत्तरीको यो फैसला २४ असारमा सुनाईएको थियो ।
तर यहि फैसला बुद्धमायाको निम्ति अभिशाप बन्न पुग्यो ।
बुद्धमाया आफुले न्याय पाएकोमा खुशी हुँदै घर फर्किइन । तर गाउँलेहरु स्वागत हैन घृणा र दुरदुरले भरिएका शब्दहरुले आक्रमण गर्न आईपुगे । आफ्नै छिमेकीलाई जेल पठाउने कुलगाँर भन्दै उनीमाथि सबै एकोहोरो खनिए । बुद्धमायालाई उल्टै दोषी करार गरियो । समाज एकातीर आफु मात्र एकातर्फ भएपछि बुद्धमायालाई पनि ‘ऐ साँच्चिकै गल्ति मेरै रहेछ कि क्या हो ? मैले बेकारमा उजुरी गरेछु’ भन्ने चिन्ताले सताउन थाल्यो । सन्तापले भतभति पोल्न थालेपछि उनी राम्ररी निदाउन पनि सकिनन् ।
त्यसपछि बुद्धमायाले लिएको निर्णय कठोर मात्र थिएन, हाम्रो सामाजिक न्यायको बिकृत मुहार समेत उदाँगो हुने प्रकृतिको थियो । २७ असारका दिन उनले विष सेवन गरि आत्महत्याको प्रयास गरिन । उनलाई तत्काल शुभस्वस्तिक अस्पतालमा उपचार गरिएकोथियो । थप उपचार गर्न काठमाण्डौ लग्न भनिएपछि दलित अनलाईन डटकमको पहलमा ग्रिन सिटी अस्पतालमा निःशुल्क उपचार गराइएको थियो भने सहिद गंगालाल अस्पताल बासबारीका मुटु विशेषज्ञ डा.रामेश कोइरालाले निशुल्क शल्यक्रिया गरेका थिए ।

बेलैमा उद्दार गरिएकोले उनको ज्यान त जोगियो तर बुद्धमायाको दिमागमा बसेको दलित हुनुको भयावह पीडाको जलन झन झन दन्किदै जान थाल्यो । बुद्धमायालाई क्रुर जात ब्यवस्थाको मानसिक चक्रब्यूहले यस्तरी फसाँईदियो कि उनको मानसिक क्षमताले समेत त्यसको बोझ उठाउने सामथ्र्य राखेन ।
उनी बिक्षिप्त हुदैं जान थालिन । मानसिक अवस्था बिग्रदै जान थालेपछि १३ दिन अघि उनलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले दोश्रो चोटी आत्महत्याको प्रयास गरिन ।

अझै सुध्रिएको छैन
बुद्धमायाको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको भनाईमा यो १३ दिनको अवधिमा उनी धेरैचोटी गेटबाट बाहिर निस्किने प्रयास गरिन । उनी न श्रीमानसंग बोल्छिन्, न छोरीसंग खुल्छिन् । एकोहोरिएकिछन् । उनलाई औषधी खुलाउन समेत हम्मे हम्मे पर्छ । उनको अवस्था सुध्रन अझै समय लाग्ने बताईएको छ । केहि समयअघि ढपक्क बलेकी बुद्धमायाको शरिर निकै गल्दै गएको छ । अनुहारमा कुनै रस छैन । ओठ कलेटी परेर पक्क पक्क फुटेको छ ।
उनले हामीलाई पनि एकोहोरो हेरिरहिन । ‘मलाई मर्न मन छ मर्न दिनोस् ।’ धेरै करकाप गरेपछि उनी बोलिन्, ‘ मैले बाँचेर के गर्ने ?‘ हामीसंग बुद्धमायाले एक घण्टाको अवधिमा बोलेको यति मात्र हो ।
हिंजो तथाकथित उच्च जातका बिद्धानले बहुसँख्यक गरिब, सीमान्तकृत र कमजोर वर्गका मान्छेहरुलाई लुटेर खान सचेतनापूर्वक बनाएका जातीय ब्यवस्था (बर्णाश्रम ब्यवस्था) ले सयौं बर्ष यता आईसक्दा समेत आफ्नो रंग देखाउन छाडेको छैन । जातका आधारमा कल्ले के गर्ने कल्ले के नगर्ने जस्ता बिभेदकारी सामाजिक कानुन बनाईरहेको यस्तो ब्यवस्थाका पक्षपोषकहरुकै कारण आज संघर्ष र न्यायका देवी बुद्धमायाहरुलाई मानसिक सन्तुलन गुमाउन बाध्य पारिरहेकोछ । आत्महत्या गर्न बाध्य पारिरहेकोछ । आफुलाई दलित पददलितहरुको मसीहा दावी गर्ने र दुई तिहाईको दम्भ भर्ने कम्युनिष्ट राजमै यस्तो दुर्दशा भोग्नुपरिरहेकोछ ।
त्यसैले अब यी प्रश्नहरु नगरि भएको छैन – कुनै भौतिक अस्त्र प्रयोग नगरिकन मान्छेको वध गर्ने बिषाक्त शास्त्रको अझै कति प्रवद्र्धन गर्ने हो ? के बुद्धमायाहरुको हत्या गर्ने साँस्कृतिक स्वरुप धारण गरेर मान्छेको मगजमा राज गरेको जात ब्यवस्थालाई यसरी नै हुर्काईरहने हो ? के यस्तो अभिशप्तबाट मुक्त हुन अझै अरु बुद्धमायाहरुको पनि बलिदानी खोजेको हो ? हेर्न‘,छ, आफुलाई सर्वज्ञाता ठान्ने बौद्धिक ठेकेदार, मानवअधिकारवादी, संचारकर्मी, लोकतान्त्रिक गणतान्त्रिक दलहरुको चिन्ता र चासो ब्यक्त हुन अझै यस्ता कति ओटा दुर्घटना दोहोरिनुपर्ने हो ।


प्रकाशित | १९ आश्विन २०७५, शुक्रबार ०१:३४

Leave a Reply

Your email address will not be published. Required fields are marked *