त्यसपछि सोना पत्रकार भइन्

नवीन विभास

एक साँझ जिम्दार युवा र पाकाहरूको एक हूल सरासर गाउँको दक्षिणछेउमा एक्लै उभिएको झुप्रोनेर पुग्यो। तथानाम गाली गर्‍यो। त्यसपछि गाली तालमा झुप्रोमा आगो झोस्यो।

जलाउनुको कारण हूलले खुलायो, ‘तेरा छोराछोरी स्कुल गएपछि कसले चराउँछ हाम्रा बस्तुभाउ ? कसले गर्छ हाम्रा काम ? ’

‘छोराछोरी स्कुल पठाए नि ‘जिम्दार-सेवा’मा तलमाथि हुन दिन्नँ’ भनेपछि केही दिनमा खरानीमै फेरि झुप्रो उभियो।

झुप्रोबाट तीन बच्चा स्कुल गएपछि हूलले झुप्रो जलाएको थियो। र, जलाएको तेस्रोपालि थियो।

झुप्रोवाली दोजिया भएकी थिइन्। गर्भवतीलाई घाँस बोकेर उकालीओराली गर्ने ‘बल काम’ गाह्रो भयो। ‘जिम्दारले उभ्याएको घरमा बसी जिम्दारकै काम नगर्नेे’ भन्दै झुप्रो जलाएथे। त्यो थियो, दोस्रोपालि।

जिम्दार हूलले पहिलोपालि त्यस बेला जलाएथ्यो जस बेला झुप्रोबाट जेठो छोरो स्कुल गए।

चार वर्षीय बच्चा डोर्‍याउँदै जेठको धुपमा एउटी मधेसी दलित महिला डुमरीबाट उत्तरतिर हान्निइन्। पाँच फिटकी सावँली सुन्दरीको हातमा सानो पोको पनि थियो। पोकोमा लुगा र बच्चालाई भनेर दुई मुठी भुटेको चामल थियो।

मातापुत्र खाली गोडा जेठको मधेसी धुपमा यसरी उत्तरतिर हान्निँदै थिए कि, मानौं तिनलाई बिहेको साइत छोप्न हतार छ।

यो थियो, करिब ५० वर्षअघिको कुरा। र, ती महिला थिइन् सुमित्रा र बच्चा राजाराम।

कपिलवस्तु महाराजगन्जकी सुमित्रा र डुमरीका रामलखन खटिकले सानैमा बिहे गरेका थिए।

डुमरी पनि मधेसीमय थियो।

आमाजस्तै सोझा रामलखनपत्नी सुमित्रामा भने थोरतिनो ‘अक्कल’ थियो।

सुमित्रा सावँली सुन्दरतामा आफ्नै कान्छा देवरको गिद्दे नजर परेको थियो। पढालेखा मानिने देवरकै कुरा सुन्थे। कान्छा देवरले चार कक्षा पढेका थिए।

नमानेकै निहुँमा कान्छा देवर, देउरानी र सौतेनी सासूआमाले सुमित्रालाई दिनहुँजसो कुट्थे।

कि माइत जाने, कि आँखा चिम्लेर सहने, कि घर छाडेर अन्तै जाने, कि विद्रोह गर्ने। सुमित्रासामु चार बाटा देखिए।

विद्रोह गर्न पति रामलखनको आँट र साथ थिएन। त्यसैले ‘टाढै गएर आँखाकान लुकाउने’ कुरामा सुमित्राले पतिलाई मनाइन्। योजनअनुसार नै रामलखन केही दिनअघि नै हिँडेका थिए।

डुमरीबाट आठ किलोमिटर उत्तर लागेपछि आमाछोरा जंगलले घेरिएको मैटहवा पुगे। त्यहाँबाट पूर्वपश्चिम राजमार्ग निक्लन चार किलोमिटर जंगल काट्न पथ्र्यो भने इमिलिहा (भारत) पुग्न पनि चार किलोमिटर।

मैटहवाका जिम्दार घरमा बास बसे। जिम्दारले गाउँको दक्षिणतिर रहेको ‘डिह्’मा झुप्रो हालिदिए। डिह् न नम्मरी जग्गा हो न त ऐलानी।

१२÷१५ घरधुरी भएको मैटहवा मोटाएर अचेल ६० घरधुरी र जनसंख्या पाँच सय हाराहारी पुगेको छ। र, थारू बाहुल्य मैटहवामा पहाडी बाहुन र एक घर घर्तीमगर थपिएका छन्।

रामलखन गाउँको चौकीदार भए। सुमित्रा जिम्दार घरका काम गर्ने र गाउँभरिका बस्तुभाउ चराउने।

चौकीदारी गरेबापत रामलखनलाई प्रत्येक घरले वर्षको चार किलो चामल र एक मुठा धान दिए। परालसहितको धानबाट मुस्किलले दुई किलो चामल झथ्र्यो। यसैगरी, जिम्दारले चाडबाडमा ‘बकस’ भनी एक छाकको लागि चामल र दाल÷तरकारी दिए।

सुमित्रा चार जिम्दार घरमा काम गर्न थालिन्। त्यसबापत आमाछोरीलाई खान दिए।

छोराछोरी हातपात लागेपछि चार जिम्दारकहाँ गरिरहेको काम छाडिन्। बाँकी रह्यो, बस्तुभाउ चराउने। चराएबापत एक घरबाट वर्षमा चार माना धान दिए।

जिम्दारका बस्तुभाउ मात्र चराउने काम गर्न थालेपछि सुमित्राले केही समय बंगुर पालिन्। त्यसपछि भंैसी।

सुमित्रा दम्पती, सुमित्राका सासूससुरा र चार छोराछोरी गरी आठजनाको खटिक परिवार। फारुफारु गरी खाँदा (जिम्दारले दिएको खानेकुरा) चार महिना धान्यो। कनिकाको रोटी, दाल पिस्दा निस्केको चोकर र जंगलका खन्टी, गेँठ, सराई (सालको फल), बेलौती र जामुनेको पातले बाँकी आठ महिना टारे। मौसमअनुसार फल्ने जंगलका फलले खटिक परिवारलाई सघाए।

बकुलीपुर गाविसले पियन खोज्यो। रामलखनको हरुवाचरुवा मन पियनमा आसियो। रामलखनले निवेदन चढाए।

पियन छान्नेचाहिँ जिम्दारका पनि जिम्दार थिए। अन्तमा तिनले भने, ‘पियनले त आएका मान्छेलाई चिया पकाएर ख्वाउनुपर्छ। तेरो हातको चल्दैन त कसरी जागिर ? ’

रामलखन ठाउँको ठाउँ ठहरै भए।

खटिक जनसंख्या पाँच सय हजार हाराहारी छ। मधेसी दलितको पनि पिँधका खटिक बाँके, कपिलवस्तु र रूपन्देहीमा बस्छन्। रेडियोमा बोल्ने सोना पहिलो खटिक हुन्। सोना समाचार पढ्दै मिडिया टेक्नोलोजीमा स्नातकोत्तर गर्दैछिन्।

पढेलेखेका भनेर घरभित्र÷बाहिरकाले कान्छा देवरकै कुरा सुन्थे। दु:ख कसैले नसुनेपछि सुमित्राले ‘भीख मागेर भए पनि छोराछोरी पढाउने’ अठोट लिएकी थिइन्। त्यसैले जिम्दार छोराछोरीसमेत स्कुल नजाने मैटहवा गाउँबाट जेठापुत्र राजारामलाई स्कुल पठाइन्। राजारामलाई पछ्याउँदै लक्ष्मी, चन्द्र र सोना पनि स्कुल गए।

सोना थिइन्, रामलखन-सुमित्रा कान्छीपुत्री।

मैटहवाबाट बकुलीपुरस्थित श्रीजनकल्याण (हाले उच्च मावि) पुग्न दक्षिण-पश्चिमका हुसेनी सामुदायिक वन, डुमरा नर्सरी र बकुलीपुर नर्सरी गरी तीन जंगल पार गर्न पथ्र्यो। दूरी थियो, चार किलोमिटर।

स्कुलमा टिक्न महाभारत थियो।

शिक्षक र गैरदलित विद्यार्थीका कुटाइ र हेला सहन नसकी लक्ष्मीले बीचमै स्कुल छाडिन्।

हेडमास्टर थिए, (मधेसी बाहुन) नन्दकुमार गिरी। उनीसहित पहाडी र मधेसी गैरदलित शिक्षकले सोनाको नमस्कार फर्काउँदैनथे। शिक्षक जितरामले हिर्काएको डस्टरले सोना बेहोशसमेत भएकी थिइन्।

जिम्दारका बस्तुभाउ चराउने काममा सोना मन ढल्केको बेलामा शेषराम थारू, रामनाथ थारू र जानकी खनाल जस्ता शिक्षक र शिक्षिका पनि भेटिए; जसका मायामा सुरेली खेल्दै सोना-मन स्कुल फक्र्यो।

सोनाका बिदा दिन जिम्दारका बस्तुभाउसित जंगलमै बिते। रूख, चरा र तिनका गीतसित सोना स्वर गाँसियो। न पानी छोइएला भन्ने डर त न दलित भनी हेला गर्ला भन्ने पीर। चरा, रूख, हावा, फूल, पानी, गोरेटा कसैले नि दलित भनी विभेद गरेनन्।

सोना-मन त जंगलमा ढुक्क भयो।

जंगलबाट निस्कँदा पो सोना-पाइला लर्बराउँथे। कारण थियो, पाइलापाइलामा भेटिने मान्छे। तिनले त सोनालाई हेला गर्थे। कुट्थे।

कारण थियो, हिन्दु संस्कृतिले मान्छे नमानेको दलित। दलितको पनि मधेसी दलित थिइन्। सोना त मधेसी दलितको पनि दलित मानिने दलित (खटिक) महिला न थिइन्।

सोना-अक्षरले नयाँ कापीमा पोखिने बिरलै अवसर पाए। दाजुले लेखेका कापी पानीमा भिजाउँथिन्। मसी पानीसँगै बाटो लागेपछि दुईचार दिन घाममा सुकाउँथिन्। रोईरोई थाकेको मान्छे अनुहारजस्तो कापीमा लेख्थिन्।

जिम्दारले (कहिलेकाहीँ) रामलखनलाई दिएका खाजा खर्च र सुमित्राले मजदुरी गरेको पैसाबाट स्कुले फिस र कापी किताब जोहो हुन्थ्यो।

सावँली सोना थारू संस्कृतिमै हुर्किइन्। थारूपछि आफ्नो समुदायले बोल्ने अवधि सिकिन्।

घरछेवैमा नजिकै कुवा थियो। तर, डुमरीमा जस्तै खटिक परिवारको लागि थिएन।

कसैका भाडा छोइए नयाँ किन्न लगाउँथे। कुट्थे। यसरी डरैडरले डल्लो परी नल्का र कुवाको आश गर्न भन्दा खटिक परिवार खोला पुग्थ्यो। पिउने पानी लिन होस् वा लुगा धुन वा नुहाउन।

अरूले थालमा खाँदा सोना परिवारले पातमा खायो। अरू कुर्सी र खटियामा बस्दा सोना परिवार भुइँमा बस्यो। खटिकलाई खटिया भनी हियाए भने दलिद्री भनेर हेला।

दाउरा र मट्टितेल बालेर सोना दाजुबहिनी रातभर पढ्थे। बिस्तारै पढाइमा अब्बल देखिए। त्यसपछि स्कुलमा हेला र कुटाई ‘ग्राफ’ अलिकति ओर्लियो।

सोनाका लुगा कि पुराना सारीबाट बनेका हुन्थे कि त दिदीका।

‘कहिले पुराना साडीका लुगा लगाएँ त कहिले दिदीका लुगा गाँठो पारेर सानो बनाउँदै लगाएँ। १० कक्षा पुग्दासम्म नयाँ लुगा जीउमा परेन’, पछिल्तिर फर्केर लामो सास फेर्दै सोनाले भनिन्।

२०६२ मा एसएलसी गरिन् भने चन्द्रले ल्याब असिस्टेन्ट तालिम।

चन्द्र ६ कक्षा पुगेदेखि इमिलिहास्थित विष्ट मेडिकलमा काम थालेका थिए। पढाइलेखाइको जिम्मेवारी पनि मेडिकलले लियो। संयोगले एमबीबीएस पढ्न दलित राहत कोटामा चन्द्रले नाम निकाले। अहिले वीरगन्जमा पढ्दै छन्।

एक ब्याजपछिका विद्यार्थीलाई सोनाले घरमै ट्युसन पढाउन थालिन्। केही वर्ष पढाएपछि गाउँलेले महिनाको दुई सय पचास दिन थाले।

‘ट्युसन पढाउन थालेपछि बल्ल मैले नयाँ लुगा किनेँ’, सोनाले भनिन्।

१० कक्षा पढेर जेठा राजाराम रोजीरोटी खोजमा भारत पसे।

१२ पासपछि सोनाले जागिर खोजिन्। न चिनेका कोही न त हात लाग्ने ठाउँ कतै। केही सीप नचलेपछि सोनाले चारैतिर अँध्यारो देखिन्। त्यै अँध्यारोमा मृत्युले पछ्यायो।

भन्ने ठाउँ कि दिदी थिइन् कि त साथी सरिता थारू।

सुनाएपछि दिदीले भनिन्, ‘तेरै सहारामा आएँ। अब तँ नै नभएपछि भन् त मैले के गरूँ ? म पनि मरम् ? ’

त्यसपछि १८ वर्षकी सोना छाङाबाट खसिन्।

सानैमा बिहे भयो, लक्ष्मीको। जस्तो हुन्छ मधेसी दलितको। बिहे भएको थियो, ४५ किलोमिटर पश्चिम कुरौ नामक गाउँमा।

बिहेमा एउटा बेड (त्यस बेला ठूलो मानिन्थ्यो), आठवटा गाई र चालीस÷पैंतालीसवटा भाँडाकुडा दिए।

दुई छोराछोरी जन्मे। लक्ष्मीपतिले ‘दहेज कम भयो’ भनी कुट्न थाले। बेलाबेलामा खटिक परिवारले पाँच÷दस हजार नगद पनि दिए। कुटेर चित्त बुझेन। सौता हाले। त्यसपछि दुई छोराछोरी लिएर लक्ष्मी माइत आएकी थिइन्।

सरिताले पनि सम्झाइन्। बुटवलमा बस्ने आफ्ना दाजु राजेश र भाइकहाँ पठाइन्।

यो थियो २०६४।

रेडियो कपिलवस्तुमा तालिम खुल्यो। सखी सरिताले फोन गरिन्।

त्यो थियो २०६५ को चैत।

चेतरादेहीमा रेडियो घर थियो। जहाँ कपिलवस्तु सदरमुकामबाट पाँच किलोमिटर उत्तरहुँदै रामघाट नदी तरेर पुगिन्थ्यो।

फोन पछ्याउँदै सोनाचाहिँ सरिताको घर बकुलीपुर पुगिन्। त्यहाँबाट रेडियो घर २० किलोमिटर टाढा थियो।

सोना ४० किलोमिटर हिँडेरै रेडियो र सरिताको घर गरिन्।

तालिमबाट सोना पत्रकार भइन्।

केही महिनापछि रेडियोले साइकल दियो।

‘साइकलको पैयाँ ४० किलोमिटर दौडाउनु मेरा लागि उन्मुक्त पखेटाले अनन्त आकाशमा उडेजस्तै थियो’, उनले भनिन्।

दुई महिना स्वयंसेवा गरेपछि मासिक दुई हजार रुपैयाँ पाउने जागिरे भइन्।

यो थियो २०६६।

थारू र अवधीमा समाचार पढ्न थालिन्।

समाचार पढ्न थालेको सात वर्षपछि रेडियो स्टेसन म्यानेजर भइन्।

२०६६ वैशाख १ गते रेडियो कपिलवस्तुबाट पहिलोपालि एक मधेसी दलित महिला आवाज निक्लेको थियो। त्यो थियो, दिउँसो एक बजे थारू भाषाको समाचार।

समाचारवाचिका थिइन्, सोना खटिक।

सोनाअनुसार खटिक जनसंख्या पाँच सय हजार हाराहारी छ। मधेसी दलितको पनि पिंधका खटिक बाँके, कपिलवस्तु र रूपन्देहीमा बस्छन्।

सोना समाचार पढ्दै मिडिया टेक्नोलोजीमा स्नातकोत्तर गर्दैछिन्। रेडियोमा बोल्ने पनि सोना पहिलो खटिक हुन्। एमबीबीएस पढिरहेका चन्द्र पनि पहिलो खटिक हुन्।

अहिलेसम्म कुनै खटिक संसद्, अदालत, निजामती सेवा, सेना र पुलिसमा छैनन्।

दहेज माग्दै कुट्ने र सौता हाल्ने भिनाजुबाट (मुद्दा लडेर) दिदीलाई मुक्त गरिन्। २०६५ मा पितालाई हरुवाचरुवाबाट छुटाइन्। दुई वर्षअघि झुप्रो उभिएको ठाउँको (११ धुर) लालपुर्जा ल्याइन्। डिह् जग्गामा बसेका छिमेकीलाई पनि लालपुर्जा दिलाइन्।

बालबिहेबिरुद्ध विद्रोह गरेकी सोनाले खटिक समुदायमा बालबिहेविरुद्ध अभियान नै चलाएकी छन्।

१० वर्षयता सोना सानो स्वर कपिलवस्तु रेडियोबाट निरन्तर सुनिइरहेछ। कतिखेर थारू भाषामा त कतिखेर अवधिमा।

सिर्सिरे बतासजस्तै सुस्त सुइसुइ सोना स्वर त दु:खका सात सय सुदूर सफरपछि सुस्तरी सुनिने रेडियो कपिलवस्तुबाट झरेको हो। कोइराला, दाहाल, शाह, राणा र झा स्वर जस्तो कहाँ हो र ?

हजारौं सोना स्वर त सुनिन नपाई जिम्दार जीउमै बिलाएका छन्। शोषण उत्पीडन, दलित, महिला, बालबिहे, अशिक्षा, गरिबीभित्र बेपत्ता छन्।

सुमित्रा भइन् ६५ र रामलखन पुगे ६७। सोना ३० को घरमा छिरिन्।

साउनमा (काठमाडौं) आफ्ना पाइला फर्केर हेर्दा सोना सानो स्वर बेलाबेलामा अवरुद्ध भयो। काट्नुपर्ने उकाली सम्झेर सोना साँवलो अनुहार बेलाबेलामा गम्भीर देखियो।

सोना मातापिता त सोनाजस्तै हजारौं सोना आवाज ‘इन्क्लाब’ भएर निक्लेको सुन्न आतुर छन्।

सानो सोना स्वर।

कहिले सिर्सिरे बतासजस्तो सानो सोना स्वर फेरिएला आँधीमा र उडाउला विभेद ? कहिले सोनाहरूको बगाले गला गाँसिएलान् भत्काउलान् जातीय विभेद र गरिबी ? र, ‘सोना पें सुहागा’ सुनिएला ?

‘समता र न्याय लडाइँ त जस्ता कठिनाइ आए नि रोकिँदैन। धिमा होला, त्यो बेग्लै कुरा’, छुवाछूत र विभेदको औंसी रातमा पिलपिले टुकीजस्ती सोनाले ढुक्कसाथ भनिन्।

साँच्ची, मान्छेको जिन्दगी जिएको सोनाहरूलाई हेर्दै सोनामाता सुमित्राको आमामन कहिले फुल्ला हँ, हर्कले ?

साभार :अन्नपूर्ण पोष्ट


प्रकाशित | १३ आश्विन २०७५, शनिबार १६:१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *